आइतबार, साउन २९, २०७९

देउवाको तजबिज नमिल्दा सचेतक र दलको उपनेता चयन अन्योलमा

तीर्थराज बस्नेत  |  काठमाडौं, सोमबार, जेठ ३०, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

सोमबार, जेठ ३०, २०७९, काठमाडौं

नेपाल समय
फाइल तस्बिर।

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेस विगत ११ महिनादेखि प्रमुख सचेतकविहीन बनेको छ। २०७८ असार २९ गते तत्कालीन प्रमुख सचेतक बालकृष्ण खाण गृहमन्त्री बनेसँगै कांग्रेस संसदीय दल प्रमुख सचेतकविहीन बन्‍न पुगेको हो। खाणले कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेकै दिन गृहमन्त्रीको शपथ लिएका थिए। 

त्यसयता कांग्रेस प्रमुख सचेतक बिना नै संसदमा भाग लिँदै आएको छ। योबीचमा संसद्मा देउवाले विश्वासको मत लिए, सरकारले प्रतिस्थापन विधेयक ल्यायो, बहुचर्चित एमसीसी परियोजना पारित भयो, सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याइसकेको छ भने बजेट पारित हुने क्रममा छ। तर, सत्ताको नेतृत्वकर्ता कांग्रेस भने प्रमुख सचेतक बिना नै संसदमा भाग लिइरहेको छ। 

संसद्‌का महत्वपूर्ण विषयमा प्रमुख सचेतकले अन्य दलसँग संवाद गर्ने, कार्यव्यवस्था परामर्श समितिमा भाग लिने र दलको धारणा राख्‍ने काम गर्छन्। त्यसकारण संसदीय अभ्यासमा प्रमुख सचेतकको भूमिकालाई महत्वपूर्ण मानिन्छ। देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास गर्ने पार्टी दाबी गर्ने कांग्रेस भने प्रमुख सचेतक नियुक्त गर्न उदासिन देखिएको छ। 

नेपाली कांग्रेस संसदीय दलको विधान अनुसार संसदीय दलको नेतासँग आवश्यकता बमोजिम दलको उपनेता, प्रमुख सचेतक, सचेतक र सदस्य सचिव नियुक्त गर्न पाउनेछ। तर, देउवाले आफू प्रधानमन्त्री बनेपछि प्रमुख सचेतक खाणलाई गृहमन्त्री बनाए।

प्रमुख सचेतक नियुक्त गर्ने एजेन्डा उनको प्राथमिकतामा परेको देखिँदैन। अब प्रतिनिधिसभाको यो कार्यकाल ६ महिना बाँकी छ। यस्तो अवस्थामा देउवाले प्रमुख सचेतक नियुक्त गर्ने सम्भावना न्यून रहेको कांग्रेस सांसदहरु नै बताउँछन्। 

संसद्मा पार्टीको उपस्थितीलाई जबरजस्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रमुख सचेतक नियुक्तिमा भने चासो नदेखाएकाले अब प्रमुख सचेतक नियुक्त हुने सम्भावना कम देखिएको टिप्पणी सांसदहरुको छ। 

पुष्पाजीलाई बनाउँदा अपग्रेड पनि हुन्थ्यो। तर, उहाँको जोड प्रमुख सचेतक बन्‍नुमा भन्दा मन्त्री बन्‍नेमा रह्यो। मीनजीको चर्चा पनि नभएको होइन। तर, उहाँ सर्वस्वीकार्य बन्‍न नसकेको हो कि जस्तो देखियो। संस्थापन समूहभित्र यी दुई जना मात्रै चर्चामा आएका पात्र हुन्। बाँकी शेरबहादुर दाइले क-कसलाई आश्वसन दिनुभएको छ भन्‍ने मेरो जानकारीमा छैन।

कतिपय अवस्थामा नेता (सांसद) व्यवस्थापनका गर्न धेरैलाई आश्वसन दिँदा देउवा अप्ठ्यारोमा परेको बुझाइ एक सांसदको छ। जसका कारण प्रमुख सचेतक नियुक्तिमा समस्या आइपरेको उनी बताउँछन्। ‘कतिपय अवस्थामा शेरबहादुर दाइ आफ्नो अनुकुलतका लागि जसले जे माग्यो हुन्छ, भनिदिनुहुन्छ। तर, एकभन्दा बढी मान्छेलाई एकै पदमा हुन्छ भनिदिँदा कार्यान्वयन गर्न समस्या हुन्छ। अहिले पनि भएको त्यही हो,’ ती सांसद् भन्छन्।  

तर, अर्का एक सांसद भने प्रमुख सचेतकको रिक्तताको विषय पार्टी र मिडियामा समेत ओझेल परेको टिप्पणी गर्छन्। ‘शेरबहादुर दाइले बालकृष्ण दाइलाई गृहमन्त्री बनाउनुभयो। प्रमुख सचेतक रिक्त भयो। त्यसपछि पार्टीमा पनि यो विषय आझेलमा पर्‍यो। मिडियाले पनि यो विषय उठाएनन्,’ उनी भन्छन्, ‘मिडियामा यो विषय आएको भए दबाब हुन्थ्यो। त्यसो नहुँदा शेरबहादुर दाइले प्रमुख सचेतक नियुक्त गर्न चासो देखाउनुभएको छैन।’ 

उनका अनुसार सचेतक पुष्पा भुसाल र सांसद मीन विश्वकर्माको चर्चा प्रमुख सचेतकका लागि चल्दै आएको छ। तर, भुसालको प्राथमिकता प्रमुख सचेतकमा भन्दा मन्त्रीमा रहेको र विश्वकर्मा सर्वस्वीकार्य बन्‍न नसकेकाले समस्या आइपरेको उनको बुझाइ छ।

‘पुष्पाजीलाई बनाउँदा अपग्रेड पनि हुन्थ्यो। तर, उहाँको जोड प्रमुख सचेतक बन्‍नुमा भन्दा मन्त्री बन्‍नेमा रह्यो। मीनजीको चर्चा पनि नभएको होइन। तर, उहाँ सर्वस्वीकार्य बन्‍न नसकेको हो कि जस्तो देखियो,’ ती सांसद् भन्छन्, ‘संस्थापन समूहभित्र यी दुई जना मात्रै चर्चामा आएका पात्र हुन्। बाँकी शेरबहादुर दाइले क-कसलाई आश्वसन दिनुभएको छ भन्‍ने मेरो जानकारीमा छैन।’ 

तर, संस्थापन समूह बाहिरबाट प्रमुख सचेतक बनाउनुपर्दाको अवस्थामा डा. मिनेन्द्र रिजाल उपयुक्त भए पनि त्यो सम्भावना नरहेको उनी बताउँछन्। ‘मिनेन्द्रजी सर्वस्वीकार्य बन्‍न सक्नुहुन्थ्यो। पार्टीको महामन्त्रीमा पराजित भएपछि मन्त्रीबाट राजीनामा दिनुभएको छ। तर, अहिलेसम्म शेरबहादुर दाइले केन्द्रीय सदस्य त मनोनित गर्नुभएको छैन भनेपछि प्रमुख सचेतक त परको कुरा रह्यो।’

कार्यव्यवस्था परामर्श समितिको बैठकमा पार्टीको धारणा राख्‍ने लगायतका काममा प्रमुख सचेतक नुहँदा केही असहज हुने गरेको सांसदहरुको अनुभव छ। ‘कार्यव्यवस्था परामर्श समितिको दौरानमा प्रमुख सचेतकहरुले धारणा राख्‍ने प्रचलन छ। त्यस्तो अवस्थामा अलि असहज हुनेगर्छ। अहिले प्रमुख सचेतकको रिक्ततामा पुष्पाजीले सबै काम गर्दै आउनुभएको छ,’ ती सांसदले सुनाए। 

यस्तो छ प्रमुख सचेतक नियुक्तिको प्रक्रिया 

राजनीतिक दल सम्बन्धी ऐन-२०७३ ले संसदीय दलका पदाधिकारीको परिकल्पना गरेको छ। ऐनको दफा २६ को १ र २ ले यो व्यवस्था गरिएको छ। दफा २६ को (१)मा भनिएको छ, ‘संसदीय दलमा त्यस्तो दलका नेताका अतिरिक्त आवश्यकता अनुसार उपनेता, सचेतक वा सदस्य सचिव रहनेछन्।’ त्यसैगरी उपदफा (२) मा भनिएको छ, ‘सम्बन्धित दलको विधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक संसदीय नेताले संसदीय दलका सदस्य मध्येबाट उपनेता वा सदस्य सचिव मनोनयन गर्नेछ।’ 

कांग्रेस संसदीय दलको विधानको धारा १४ मा प्रमुख सचेतक र सचेतक नियुक्तीको व्यवस्था छ। धरा १४ (१)मा भनिएको छ, ‘नेताले प्रतिनिधि सभा संसदीय दलको कुनै एक सदस्यलाई मुख्य सचेतकमा मनोनयन गर्नेछ।’ 

सोही धाराको (२) मा प्रमुख सचेतकको सिफारिसमा नेताले प्रतिनिधिसभा र राष्ट्रियसभामा सचेतक मनोनयन गर्ने व्यवस्था छ। 

यस्ता छन् प्रमुख सचेतकका काम, कर्तव्य र अधिकार :

- संसद्मा प्रस्तुत हुने नीति, कार्यक्रम तथा विधेयकहरु बारे कार्यसमितिको निर्णय संसदीय दलका सदस्यहरुलाई उपलब्ध गराउने। 

- सदस्यद्वारा पेश गरिने ध्यानाकर्षण, सार्वजनिक महत्वको प्रस्ताव, संकल्प आदि प्रस्ताव पेश गर्न अनुमति दिने र पार्टीको नीति विपरीत दर्ता भएका त्यस्ता प्रस्तावहरुलाई नीति अनुरुप पेश गर्न वा फिर्ता लिने व्यवस्था मिलाउने। 

- सदस्यका बिच व्यापक समझदारीको वातावरण सृजना गरी सरकारमा रहेको वा सरकारलाई समर्थन गरेको भए सरकारको पक्षमा, प्रतिपक्षमा रहेको भए पार्टीको मान्यता अनुरुपको संसदीय कार्यको पक्षमा समर्थन जुटाउने। 

- संसद्मा विचारार्थ पेश हुने वा पेश भएको विषयमा सदस्यको कुनै औचित्यपूर्ण असहमति वा सुझाव भए दलका नेता तथा सरकारलाई अवगत गराउने। 

- नेतासँग परामर्श गरी संसदको कुनै पनि विषयमा अन्य दलका नेता तथा सदस्यहरुसँग समझदारीका सम्भावना पहिल्याउने। 

- संसद्मा निर्णयार्थ पेश हुने कुनै पनि विषयमा संसदीय दलको नीति, कार्यसमितिको निर्णय वा नेताको निर्देशनमा मतदानका सम्बन्धमा सदस्यहरुलाई मौखिक वा लिखित निर्देशन दिने। 

- संसद्को कारवाहीमा दलीय सहभागिता गराउने कार्य व्यवस्थित गर्ने। 

- संसद्को‌ नियमावलीले तोकेको अन्य कार्य गर्ने, गराउने। 

- प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँग सम्पर्क राखी संसदका कार्यमा सहयोग पुर्‍याउने। 

- संसद्को बैठक र संसदका सबै समितिहरुमा भए गरेका काम कारवाई तथा सो सम्बन्धमा पार्टी र अन्य राजनीतिक दलहरुको स्थिति समेतका बारेमा संसदीय दलको नेतालाई निरन्तर जानकारी गराउने, नेताबाट आवश्यक निर्देशन लिई सो अनुरूप कार्यगर्ने । 

- संसद्मा‌ छलफलका लागि प्रस्तुत विषय, विचाराधीन प्रस्ताव वा विधेयकमा संसदीय दललाई प्राप्त समय अनुसार सदस्यलाई बोल्न समय तोक्ने, सदस्यलाई संसदको काममा क्रियाशील भइरहन र पूर्ण तयारीका साथ संसदको बहसमा भाग लिन प्रेरित गर्ने, संसदीय दलका तर्फबाट प्रभावकारी प्रस्तुतिका लागि आवश्यक सहयोग तथा उत्प्रेरणा दिने, प्रस्तुत विषयको सन्दर्भ र औचित्यका आधारमा आवश्यकतानुसार सदस्य, कार्यसमिति, संसदीय दल वा नेता संग बैठक वा विचार विमर्श गर्ने, गराउने । 

- संसद्मा सम्पादन भएका काम र आगामी कार्यसूची बारे नेता, कार्य समिति, संसदीय दल र आवश्यकतानुसार पार्टीलाई निरन्तर जानकारी गराउने, संसद र समितिहरुको बैठकमासंसदीय दलका तर्फबाट अख्तियार गर्नु पर्ने नीति र कार्ययोजना बारे छलफल गरी कार्यान्वयन गर्ने, गराउने । 

- संसद् र समितिको बैठकमा संसदीय दलको अनुशासन कायम राख्ने कार्य गर्ने, 

- संसद्मा संयुक्त कार्ययोजना तयार गर्नु पर्ने विषयमा अन्य दलका सचेतकसंग सम्पर्क गर्ने ।

२८ महिनादेखि उपनेता रिक्त

त्यसो त कांग्रेस संसदीय दलमा प्रमुख सचेतक मात्रै होइन २८ महिनादेखि उपनेता पद पनि रिक्त अवस्थामा छ। संसदीय दलका उपनेता रहेका विजयकुमार गच्छदार सांसदबाट निलम्बित भएसँगै उपनेता रिक्त भएको भएको हो।

संसदीय दलका नेता देउवाले गच्छदारलाई २०७४ फागुन २१ गते उपनेतामा चयन गरेका थिए। संसदीय दलको निर्वाचनमा देउवाको प्रस्तावक रहेका गच्छदारलाई उपनेतामा नियुक्त गरेका थिए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा गच्छदारले फोरम लोकतान्त्रिकलाई कांग्रेसमा विलय गराएका थिए। 

तर, गच्छदार २०७६ माघ २२ गते संसद्‌बाट निलम्बित भएका थिए। प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय गर्दा बालुवाटारको सरकारी जग्‍गामा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको घटनामा दोषी रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनको सांसद पद निलम्बनमा परेको थियो। गच्छदार निलम्बनमा परेसँगै रिक्त रहेको उपनेतामा देउवाले अहिलेसम्म कसैलाई पनि नियुक्त गरेका छैनन्।  

संसद्लाई उपसभामुख नचाहिएकै हो? 

प्रमुख सचेतक नियुक्तिमा कांग्रेस जति उदासिन देखिएको छ, सत्तारुढ गठबन्धन उपसभामुख नियुक्तिमा पनि उति नै उदासिन देखिँदै आएको छ। विगत २८ महिनादेखिको उपसभामुखको रिक्तता अहिलेसम्म पूर्ती हुन सकेको छैन। २०७६ माघ ६ गते डा. शिवमाया तुम्बाहाङफेले राजिनामा दिएपछि उपसभामुख पद रिक्त छ।

संविधानले एकै दलबाट सभामुख र उपसभामुख बनाउने कुरामा बन्देज लगाएको छ। तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको मुद्दा लागेपछि पदबाट राजिनामा दिएका थिए। त्यसलगत्तै तत्कालीन नेकपाले अग्निप्रसाद सापकोटालाई सभामुखमा अघि सारेको थियो। सापकोटालाई सभामुख बनाउने पार्टीको निर्णयपछि तुम्बाहाङफेले राजिनामा दिएकी थिइन्। सापकोटा ०७६ माघ १२ गते सभामुखमा निर्वाचित भएपनि संसद्‌ले अहिलेसम्म उपभासमुख पाउन सकेको छैन। 

अहिले नेकपा माओवादी केन्द्रका तर्फबाट सापकोटा सभामुख पद छन्। यस्तो अवस्थामा सत्ता गठबन्धनमा रहेकामध्ये एक दलबाट उपसभामुख बनाउने सक्ने अवस्था थियो। तर, यो एजेन्डामा प्रधानमन्त्री देउवा मात्रै होइन, गठबन्धनमा रहेका अन्य दलले समेत मौनता साँधेका छन्। केही दिन अघि मात्रै संसद्मा उपसभामुखको रिक्तताको प्रश्न उठेको थियो।

सत्तारुढ कांग्रेसका सांसद् अमरेशकुमार सिंहले उपसभामुखको रिक्ततालाई लिएर प्रश्न उठाएका थिए। उनले भनेका थिए, ‘हामीले कस्तो संसदीय व्यवस्था अगाडि बढाउनु खोजेका छौं? उपसभामुख पद चाहिएन भने पदै खारेज गरौं। चाहिन्छ भने उपसभामुखको पद अहिलेसम्म नियुक्ति किन भएन? उपसभामुखको कारणले सभाको खर्च बढ्छ भने उपसभामुख पद खारेज गरौं।’ उपसभामुखको रिक्ततामाथि संसद्मा प्रश्न उठेपनि प्रधानमन्त्री देउवा र सत्तारुढ गठबन्धनको प्राथमिकतामा भने यो एजेन्डा परेको देखिँदैन।


प्रकाशित: June 13, 2022 | 07:26:26 काठमाडौं, सोमबार, जेठ ३०, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

निर्मला प्रकरण : 'शंकास्पद दोषी' विष्टको बचाउ गर्ने परिवार नै पीडित!

निर्मला हत्या प्रकरणमा प्रहरीले विष्टलाई दोषी करार गर्न खोजेको थियो। आरोप विष्टले स्वीकार पनि गरेका थिए। तर स्थानीयले विष्टको मानसिक सन्तुलन ठीक नभएको र प्रहरीले ‘भीआईपी’ अपराधी जोगाउन ‘निर्दोष’लाई 'बलिको बोको' बनाउन खोजेको भन्दै आन्दोलन गरेका थिए। त्यो भीडमा विष्टबाट यतिबेला दुर्व्यवहार भोगेकी किशोरीको परिवार पनि सहभागी थियो।

०६४ सालमा केपी ओलीलाई हराएका लिङ्देन खोज्दैछन् अर्को 'चान्स'

२०६४ सालको चुनावमा केपी ओलीलाई झापा क्षेत्र नम्बर ५ बाट हराएर चर्चामा आएका लिङ्देन पुनः उनैसँग आउँदो मंसिरको निर्वाचनमा भिड्ने मुडमा छन्।

'सहायक श्रीमान'ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड

अमेरिकाको एटलान्टामा अगस्त ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा पाण्डे निर्देशित ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो।

पञ्चायत र प्रजातन्त्रमा चुनाव गराएका सूर्यप्रसाद श्रेष्ठ, जसले बिर्सन सक्दैनन् यस्ता घटना

२०४३ को राष्ट्रिय पञ्चायतको चुनाव र प्रजातन्त्र पुनर्स्थापछिको बहुदलीय चुनाव गराउने अवसर पाएर राजा, कांग्रेस, कम्युनिस्टको रोजाइमा परेका पूर्वनिर्वाचन आयुक्त हुन् सूर्यप्रसाद श्रेष्ठ।

धरातल बिर्सिएका हुन् त धराने मेयरले?

मेयर साम्पाङका हरेक गतिविधि अपरिपक्व लाग्ने गरेका छन्। नीति निर्माण तहमा रहेका उनी घरी रुने, घरी केटाकेटी पाराले सामाजिक सञ्जालमा प्रस्तुत हुने बानीले कार्यपालिका सदस्यहरु आफूहरुलाई लाज लाग्ने गरेको बताउँछन्।

गाउँपालिकासँगको विवादले दुई ठूला सिमेन्ट उद्योगको उत्पादन प्रभावित, गुम्दै करोडौं राजस्व

कपुरकोट गाउँपालिकाले क्लिंकर उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा बोक्ने टिपर सञ्चालनमा अवरोध गरेपछि दुई महिनादेखि सिमेन्ट उत्पादन प्रभावित भएको हो।

त्यसैले विश्वविद्यालयजस्तो छैन त्रिवि

राजनीतिक दलहरूको संगठित दोहन र आन्दोलनका नाममा विद्यार्थी संगठनहरूको निरन्तरको बार्गेनिङले त्रिविलाई खोक्रो बनाइरहेको छ।

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

थप समाचार

नेपाल समय
राजनीति

निर्वाचनका लागि आयोगमा हालसम्म ३९ दल दर्ता

सरकारले निर्वाचनको मिति घोषगा गरेलगत्तै आयोगले निर्वाचनमा भाग लिनको लागि दल दर्ता गर्न आह्वान गरेकोमा अहिलेसम्म ३९ दल दर्ता भएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
नेपाल समय
राजनीति

'एमालेले इलामका जनतालाई गुमराहमा राख्यो'

मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका विषयमा कांग्रेस इलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य एवम सांसद सुजाता परियारले पार्टीका आकांक्षीहरुलाई व्यवस्थापन गर्दै सबै एकढिका भएर अघि बढ्नुपर्ने बताइन।
नेपाल समय
राजनीति

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४० दल दर्ता, कांग्रेसले पनि थाल्यो प्रक्रिया

राष्ट्रिय मान्यता प्राप्त नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलले आसन्न निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराएको आयोगले जनाएको छ।
नेपाल समय
राजनीति

निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका छन्।
नेपाल समय
राजनीति

रचनात्मक विद्रोह गर्न शेखर समूहका कार्यकर्ताद्वारा नेताहरुलाई आग्रह

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका कार्यकर्ताहरुले रचनात्मक विद्रोह गर्न आग्रह गरेका छन्। पछिल्लो समय भातृसंस्थामा सभापति शेरबहादुर देउवाले आफू अनुकूलका व्यक्तिहरुलाई मनोनय गरेपछि शेखर समूहका युवा तथा विद्यार्थीहरुले आफ्नो समूहका नेताहरुले रचनात्मक विद्रोह गर्न आग्रह गरेका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना