काठमाडौं- नेपाली कांग्रेसले १४औं महाधिवेशनमा नीतिलाई थाती राखेर नेतृत्व मात्र चयन गर्यो। नेतृत्व चयन गर्न भएको महाधिवेशन सकिएको ६ महिनाभित्र नीति महाधिवेशन गर्ने निर्णय गराएर नेतृत्व चयनमा होमिएको कांग्रेसमा उक्त समयसीमा गुज्रिसक्दा पनि नीति महाधिवेशनको एजेन्डाले पार्टीका कुनै पनि निकाय/तहमा प्रवेश पाएको छैन। नीति महाधिवेशनका विषयमा कांग्रेसका नेताहरू मौनप्राय: छन्।
यसअघि नीति र नेतृत्व एकसाथ चयन हुने गरेको भएपनि २०७८ मंसिर २४-२६ को १४औं महाधिवेशनले नेतृत्व मात्रै छानेको थियो। १४औं महाधिवेशनलाई नेतृत्व चयनमा मात्र केन्द्रित गर्ने निर्णय २०७८ कात्तिक २९ गतेको केन्द्रीय समिति बैठकले गरेको थियो। त्यसयता नीति महाधिवेशनको कुराले पार्टीका तहमा प्रवेश नपाएको हो। महाधिवेशन अन्तर्गत भएको नेतृत्व चयनको परिणाम सार्वजनिक भएलगत्तै कांग्रेसका महामन्त्रीमा चुनिएका युवानेताद्वय गगन थापा र विश्वप्रकाश शर्माले नीति महाधिवेशनलाई आफूहरूले प्राथमिकतामा राख्ने बताएपनि यो विषय कांग्रेसमा गौण बनेको हो।
राष्ट्रिय महाधिवेशनलगत्तै राष्ट्रियसभाको निर्वाचन, विवादका कारण हुन नसकेका जिल्ला र प्रदेशका अधिवेशन र स्थानीय तहको निर्वाचनमा होमिएको कांग्रेसले नीति महाधिवेशनबारे छलफल गर्न समय पाएको छैन। स्थानीय तहको निर्वाचनसमेत सकिइसकेकाले कांग्रेसले अब नीति महाधिवेशनका विषयलाई छलफलमा उठाउने कांग्रेसका केही नेताहरूको तयारी छ।
महामन्त्री विश्वप्रकाश शर्माका अनुसार पार्टीका आगामी बैठकमा नीति महाधिवेशनबारे छलफल हुनेछ। तर स्थानीय तहको निर्वाचन सकिएलगत्तै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चर्चाले कांग्रेसको नीति महाधिवेशनलाई छायामा पारिदिएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि नीति महाधिवेशन हुनेमा आशंका भने कायमै छ।
'पहिला नीतिचाहिँ साझा रुपले बन्थ्यो, अनि आएको नेतृत्वले त्यो बोकेर जाने भयो। त्यसैले हामीले नेतृत्वले नीति महाधिवेशन गरेर टुंगो लगाउनुपर्छ भन्यौं,' महामन्त्री शर्मा भन्छन्, 'गोलमोटल रुपमा नीति पनि पास गरियो, कार्यक्रम पनि पास गरियो भनेर झारा टार्नुभन्दा बरु अलिकति समय लिएर पर्याप्त बहस गर्नु राम्रो हुन्छ भनेर छुट्याइएको थियो। तर, त्यसलगत्तै निर्वाचनमा केन्द्रित हुनु परेकोले हामीले नीति अधिवेशन गर्न नपाएका हौँ। अब हामी नीति महाधिवेशन लगायतका एजेन्डामा छलफल गर्छौं।'

पार्टीका कतिपय नेताहरु भने नीति महाधिवेशन हुनेमै शंका गर्छन्। महाधिवेशनबाट नीति र नेतृत्व चयन छुट्याउने काम भएकाले अब छुट्टै नीति महाधिवेशन नहुने सम्भावना बढेको तर्क ती नेताहरुको छ। महाधिवेशनमा महामन्त्रीका उम्मेदवार भइसकेका नेता प्रदीप पौडेल महाधिवेशनबाट नीति र नेतृत्व चयनलाई छुट्टाउने निर्णय नै गलत भएको बताउँछन्। सोही कारण नीति महाधिवेशनको बहस नै बेकार भएको उनको तर्क छ।
'महाधिवेशनमा नेतृत्व चयन एकातिर, नीति अर्को तिर बनाउने विषय नै ठिक थिएन। त्यसकारण नीति महाधिवेशनको बहस बेकारको कुरा हो,' उनी भन्छन्, 'नीतिका आधारमा नेतृत्व चयन गर्नुपर्ने हो। त्यो भएन। नीति नै नहेरी नेतृत्व छान्ने, अनि अहिले छुट्टै नीति महाधिवेशनको बहस गर्ने कुराको रूप र सार मिल्दैन।'
एउटा निर्वाचन सकिएर अन्य दुई निर्वाचनमा होमिनुपर्ने अवस्थामा नीति महाधिवेशन हुन नसक्ने उनको दाबी छ। 'यो गर्नलाई भनिएकै होइन। यो 'असम्भव' कुरा हो। अहिले हामी एउटा चुनाव सकेर अर्को चुनावको तयारीमा छौं। यो बेला नीति महाधिवेशन कहाँ हुन्छ? अहिले हुँदैन। नीति महाधिवेशन गर्न शीर्ष तहका नेताहरू नै तयार छैनन्,' पौडेल भन्छन्।

पार्टीका नीतिबारेको छलफल अब महासमिति बैठकबाट गर्नु उचित हुने बताउँछन्। कांग्रेसको विधान अनुसार महासमितिको बैठक प्रत्येक वर्ष एक पटक बस्नुपर्ने व्यवस्था छ। यद्यपि पछिल्लो समय एक कार्यकालमा एउटा मात्रै महासमिति भएको पाइन्छ। यसपटक महाधिवेशनमा राजनीतिक प्रतिवेदन, कार्यदिशा र पार्टीले लिने कार्यक्रमबारे छलफल नभएकोले नीति अधिवेशनको सट्टा महासमिति बैठकबाट पनि नीतिहरू पारित गर्न सकिने उनको भनाइ छ। 'अब हुने के हो भने महासमितिको बैठक बोलाएर त्यसमै छलफल गर्ने हो। त्यही गर्नुपर्छ,' पौडेल भन्छन्।
नेता गुरुराज घिमिरे भने प्रतिनिधिसभा र प्रदेशसभा बैठकअघि नीति महाधिवेशन बोलाउनुपर्ने बताउँछन्। 'विधानको व्यवस्थालाई नजरअन्दाज गरेर हुँदैन। हामीले विधान पालना गर्ने जाँगर नचलाउँदा समस्या देखिएको छ। वैधानिक प्रबन्ध अनुसार नीति महाधिवेशन गराउन अग्रसरता देखाउनुपर्छ,' घिमिरे भन्छन्, 'हाम्रो सार्वजनिक छवि खस्किएको अवस्था छ। यदि नीति महाधिवेशन गर्न अग्रसरता नदेखाउने हो भने अझ खस्कँदै जान्छ। पार्टीमाथि गम्भीर प्रश्न उठ्छ। आम निर्वाचनको संघारमा त्यो राम्रो हुँदैन। त्यसकारण निर्वाचन अघि नीति महाधिवेशन गर्नुपर्छ।'
महामन्त्री शर्माको तर्क मान्ने हो भने कांग्रेस नीति बिहिनतामा छैन। पार्टीको घोषणापत्रमा नीति र दृष्टिकोण उल्लेख गरेको उनको दाबी छ। 'महामन्त्री गगन थापा नेतृत्वको टिमले बनाएको घोषणापत्रमा नीतीको कुरो, वर्तमानको कुरो, विगतको कुरो, दृष्टिकोणको कुरा सबै समाहित छ। त्यसैले नीति शून्यतामा हामी अघि बढिरहेका छौं भन्ने होइन,' शर्मा भन्छन्।
तर घिमिरे भने शर्माको तर्कसँग असहमत देखिन्छन्। कार्यसमिति गतिशील भएर काम नगरेको उनके दाबी छ। 'कार्यसमितिले गतिशील भएर काम गरेको देखिएको छैन। अहिले संसदीय बोर्डले पूर्णता पाएको छैन। कार्यसम्पादन समितिको हालत उही छ। विभाग गठन हुन सकेका छैनन्। कोषाध्यक्ष नै नियुक्त भएको छैन। नीति प्रशिक्षण प्रतिस्ठानले बनेको छैन भातृ संस्थाको कुरै नगरौं,' उनी भन्छन्, 'भातृ संस्थाका विधानको उल्लंघन भएको र अनुशान हिनतामा चलिहरेको रमिते भएर हामीले हेरिरहेका छौं । नीति विहिनताको उदाहरण यो भन्दा के हुन सक्छ।'
घिमिरे घोषणपत्र देखाएर नीति विहिनता छैन भन्नु उपर्युक्त तर्क नभको बताउँछन्। 'घोषणापत्र भनेको सरकारमा गएपछि के गर्ने भन्ने हो। संघिय, प्रदेश र स्थानीय सरकारहरुले गर्ने योजना घोषणापत्रमा समेटिन्छन्। त्यसो हो भने तीन तहका सरकार भनेका पार्टी हो त? त्यो त राज्यमा गएर काम गर्ने कुरा न हो। पार्टीको आन्तरिक जीवन त फरक हो,' उनी भन्छन् , 'सदस्य बाँड्ने, नविकरण गर्ने, कार्यकर्तालाई प्रशिक्षित गर्ने, पार्टी प्रति उठेका प्रश्नका निरुपण गर्ने, अरु पार्टीप्रति प्रश्न उठाउनेसँगै पार्टीले लिने आर्थिक, राजनीतिक र कुटनीतिक नीतिमा प्रष्टता चाहिन्छ।'

घिमिरे नीति महाधिवेशनको नयाँ अभ्यास भएको तर नीति महाधिवेशन अपरिहार्य भएको तर्क गर्छन्। 'अघिल्ला महाधिवेशनमा नीति कार्यक्रम माथि पनि छलफल हन्थ्यो यसपटक नेतृत्व मात्र चयन भयो। त्यसकारणा पाँच बर्ष कस्तो नीति अख्तियार गर्ने, पाँच बर्षका कार्यक्रम के हुने ? नीति कार्यक्रम भएन पार्टीलाई कसरी चलाउने? पार्टी गतिशिल बनाउन नीति चाहिन्छ। त्यसरकाण निर्वाचन अघि नै भेला बोलाएर नीति महाधिवेशन गर्दा राम्रो सन्देश जान्छ।'
१४औँ महाधिवेशनअघि कांग्रेसको वैधानिकता जोखिममा परेको थियो। कांग्रेस विधानको धारा १७ को उपधारा १ अनुसार हुने चार वर्षे कार्यकाल सकिएर पनि डेढ वर्ष व्यतीत भइसकेको थियो। विधान मात्रै होइन, कांग्रेस केन्द्रीय समितिले नेपालको संविधान २०७२ को धारा २६९ को उपधारा ४ (ख) अनुसार ५ वर्षको सुविधा पनि व्यतीत गरेको थियो। कोरोना महामारीका कारण विशेष परिस्थिति उत्पन्न भएको भन्दै सोही धारा र उपधारा अन्तर्गतको ६ महिनाको सुविधा पनि कांग्रेस केन्द्रीय समितिले उपभोग गरिसकेकाले उसलाई तत्काल महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यता आइपरेको थियो। त्यस्तो बेला जसरी पनि महाधिवेशन गर्नुपर्ने भएकाले उसले नीति महाधिवशेन गर्दा थप समय लाग्ने भन्दै उसले नेतृत्व चयनको मात्र महाधिवेशन गरेको थियो।

नीति महाधिवेशन सर्नुको अर्को पनि कारण थियो। महाधिवेशनका बेला नेतृत्व चयनलाई मात्र प्राथमिकता दिँदा नीतिबारे छलफल नै हुन छोडेको कांग्रेसकै नेताहरूले टिप्पणी गर्ने गरेका थिए। ताली बजाएर प्रतिवेदन पास गर्ने तर घनीभूत छलफल नहुने आरोपलाई चिर्न समय लिएर नीतिगत विषयमा राम्रो बहस गर्ने र त्यसबाट निस्किएको निष्कर्षले पार्टीको वैचारिक धरातल प्रष्ट पार्ने कांग्रेसका केही नेताहरूको योजना पनि थियो। तर नेतृत्व चयन महाधिवेशन सकिएको ६ महिना बित्दा पनि नीति महाधिवेशन अधिकांश नेताको चासोको विषयसूचीबाटै हटेको छ।