सोमबार, असार १३, २०७९

काठमाडौंका 'हर्क साम्पाङ' जसलाई महानगरले जिताएन

अनिल यादव  |  काठमाडौं, शुक्रबार, जेठ १३, २०७९

अनिल यादव

अनिल यादव

शुक्रबार, जेठ १३, २०७९, काठमाडौं

नेपाल समय
तस्बिर : दिनेश श्रेष्ठ

बुधबार मतगणना नसकिँदै काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित भइसकेको थियो। जताततै जित्नेहरुका कथा आइरहेका थिए, अनि उनीहरुले नै शुभकामना पाइरहेका थिए। 

कुनैबेला धरान उपमहानगरको कार्यालयमा प्रवेशसम्म नपाउने हर्क साम्पाङ अर्थात् एक आम मान्छे त्यहाँको मेयरमा चुनिएपछि सामाजिक सञ्जाल उनकै वाहवाहीमा रंगिरहेको थियो। उनको सडक संघर्ष, उनको सादगीपनसँग फिदा भइरहेका थिए  मानिस।

यहीबेला सम्झनामा आए, सुमन सायमी। जो काठमाडौंका लागि ‘हर्क साम्पाङ’जस्तै एक स्वतन्त्र उम्मेवार थिए। सायद जितेको भए धरानमा हर्कको जस्तै यता उनले गरेको सडक संघर्ष र आन्दोलनबारे धेरै चर्चा हुन्थ्यो होला। तर ठूला दल र सेलिब्रेटी उम्मेदवारहरुको भिडले छायामा परेपछि सायद अब उनी चिनिनलाई अर्को एउटा जित नै पर्खनुपर्नेछ। 

बुधबार दिउँसो पराजित हुँदै गरेका यी उम्मेदवारलाई जब हामीले अन्तर्वार्ताका लागि फोन गर्‍यौं, उनी काठमाडौं महानगरको मतगणनास्थल राष्ट्रिय सभागृहमै रहेछन्। ‘ढिलै भए पनि सम्झिनुभयो, खुशी लाग्यो। नत्र त मिडियाले नदेखेको देख्दा म पनि मेयरको उम्मेदवार हुँ र जस्तो पो लाग्न थालेको !’ ठट्टैठट्टामा उनले हामीतिर तिखो वाण हाने। सायद त्यो समग्र मिडियाप्रति नै थियो। 

हुन पनि हो उनको उम्मेदवारीबारे मिडियामा खासै चर्चा हुन सकेको थिएन। न कुनै सार्वजनिक कार्यक्रम या टेलिभिजन शोहरुमा काठमाडौंका मेयर उम्मेदवारहरुलाई बहसमा ल्याउँदा उनलाई निम्ता नै गरिएको थियो। 

शुक्रबार बिहान र्‍यापर तथा सिभिल इन्जिनियर बालेन्द्र (बालेन) शाह औपचारिक रुपमा काठमाडौं महानगरको मेयर घोषित भए। त्यसपछि विजय जुलुशलाई धन्यवाद र्‍यालीमा बदले। र, यो र्‍यालीमा बालेनसँगै देखिए, सायमी। जो काठमाडौंको भूमि, भाषा, सम्पदा र संस्कृति बचाउन विगत १० वर्षदेखि निरन्तर आन्दोलनमा छन्। जसले काठमाडौंकै मेयर बन्न स्वतन्त्र उम्मेदवारी दिँदा १३ हजार ७७० मत पाए। 

पत्रकार नारायण वाग्लेले भनेझैं अत्यधिक आश गरिएका बालेनले यतिखेर बधाई पाउँदै गर्दा कसैले भुल्नु हुँदैन– मेयर उम्मेदवार सुमन सायमीलाई प्राप्त नौ प्रतिशत स्वतन्त्र मत काठमाडौंको रैथाने भूमि, भाषा, संस्कृति, पहिचान मास्ने ‘विकास’ विरुद्धको अभिमत हो। त्यो पक्ष यहाँ सुनिनुपर्ने प्रतिपक्ष हो। 

फेरि फर्कौं बुधबारतिरै। फोन गरेकै साँझ सायमीसँग भेट तय भयो। झमझम परेको पानीले काठमाडौंको मौसम पूरै चिसिएको थियो। नयाँ बानेश्वरस्थित माउन्टेन मग कफी सपमा हामी उनलाई पर्खिरहेका थियौं। उनी दिनभर मतगणनास्थल बसेर सिधै यता आउँदै थिए। 

मेयरका अरु चर्चित प्रत्यासीहरु बालेनले उछिन्दै गर्दा मत गणनास्थलमा खासै देखिएनन् तर सायमी हरेक दिन त्यहाँ पुग्थे। यतिसम्म कि गणनास्थलमा उनी आफैँ आफ्नो प्रतिनिधि पनि बस्थे। काठमाडौंको ‘कोर सिटी’को मतगणना सुरु भएपछि उनको मत ह्वात्तै बढिरहेको थियो। चुनाव चिन्ह् थियो, आँखीझ्याल। जब गणकहरु लगातार ‘आँखीझ्याल, आँखीझ्याल’ भन्थे, वरपर गाइँगुइँ सुरु हुन्थ्यो, अनि कसैले सोध्थ्यो, ‘को हो यो आँखीझ्यालको सुमन सायमी?’ जवाफमा सायमी स्वयम् बोल्थे, ‘म हुँ हजुर।’ त्यसपछि माहोल रमाइलो हुने नै भयो। 

निलो कोटमा कालो टीसर्ट पहिरिएका उनै सायमी हातमा डायरीसहित आइपुगे, कफी सपमा। हँसिलो अनुहारले कुनै पराजयको संकेत गर्थेन, बरु अर्को जित धैर्य भएर पर्खिरहेजस्तो। 

कम्युनिष्ट नेता जीवनराज मानन्धरका छोरा हुन्, सायमी। मेयरको उम्मेदवारीपछि मात्रै उनको राजनीतिक यात्रा सुरु भएको हो। नत्र यो १० वर्ष उनको परिचय अभियन्ताकै रुपमा थियो। त्योभन्दा अघिसम्म उनको परिचय भनेको व्यवसायीको हो। कालिमाटीमा उनको पुर्ख्यौली मिठाइ पसल छ, स्वीट केभ (जीवन दाइया पसः)। सात कक्षा पढ्दादेखि नै उनी त्यो पसलमा बस्थे, मिठाइ बेच्ने। कैयौं वर्षसम्म उनले त्यहाँ मिठाइ बेचे। १० जना बाल्यकालका साथी मिलेर पार्टी प्यालेस पनि खोलेका छन्। 

तर, यो १० वर्षयता उनी व्यवसायमा सक्रिय छैनन्, कसैको घरमा डोजर नलागोस्, कसैको भूमि, भाषा र संस्कृतिमा अतिक्रमण नहोस् भनेर निरन्तर आन्दोलनमा होमिएका छन्, सडकमा लडिरहेका छन्। तर, उनी एकाएक व्यवसाय परिवारको जिम्मा लगाएर किन यतातिर होमिए? हामीले उनको राजनीतिक उदयको क्षितिज जान्न चाह्यौं। त्यसपछि उनी ०७२ सालतिर फर्किए। 

कुनैबेला धरान उपमहानगरको कार्यालयमा प्रवेशसम्म नपाउने हर्क साम्पाङ अर्थात् एक आम मान्छे त्यहाँको मेयरमा चुनिएपछि सामाजिक सञ्जाल उनकै वाहवाहीमा रंगिरहेको थियो। उनको सडक संघर्ष, उनको सादगीपनसँग फिदा भइरहेका थिए  मानिस। यहीबेला सम्झनामा आए, सुमन सायमी।

नेपालीहरुका लागि भूकम्पले क्षतविक्षत बनेको साल हो, ०७२ साल। काठमाडौंमै सयौंका घर भत्किएको थियो। घाउ राम्रोसँग पुरिन नपाउँदै यही सालको अन्त्यतिर एक बिहान कालिमाटी तरकारी बजार नजिकै एउटा ठूलो डोजर आइपुग्यो, प्रहरी प्रशासन लिएर। त्यहीँनेर थियो, सायमीको पुरानो घर। 

त्यो घर जहाँ भूमिगतताका वामपन्थीहरु बैठक बस्थे। मदन भण्डारी, केपी ओली, सीपी मैनालीहरु आइरहन्थे। राष्ट्रप्रति विद्या भण्डारीले त्यही घरमा दुई छोरी राखेर संगठन विस्तार गर्न जान्थिन्। अनि यो त्यही घर पनि हो जहाँ मदन भण्डारीले पहिलोपल्ट सार्वजनिक भएर अन्तर्वार्ता दिएका थिए। 

उपत्यका विकास प्राधिकरणले पठाएको त्यो डोजरले त्यसदिन उनीसँगै अरु धेरैको घर भत्काउन लागेको थियो। मिठाइ पसलमा ग्राहक कुरिरहेका सायमी डोजर देखेर अत्तालिए। त्यसअघि राजनीतिप्रति कुनै तृष्णा नभएको, आन्दोलनको भिडहरुमा पनि सधैं पछाडि हुन रुचाउने उनी त्यसदिन थामिन सकेनन्। थामिने कुरा पनि थिएन, वर्षौदेखि अनेकौं स्मृतिसहित बाँचिरहेको उनको घर कसैले भत्काउन जो खोज्दै थियो। 

‘मैले सहन सकिनँ, मैले सिधै मेरो घरलाई विनाकारण छुने आधार मागेँ,’ सायमी सम्झन्छन्, ‘किनभने मैले अवैधानिक तरिकाले बनाएको घर थिएन त्यो। 

कसैले माथिको आदेश भन्दै मेरो घरमा डोजर कसरी हान्न सक्छ? जबकी मैले कर तिरेको थिएँ, सबै कागजात थियो। अनि मसँग संवैधानिक हक थियो, सम्पत्तिको हक थियो। त्यसै कहाँ भत्काउन पाउँछ र मेरो घर! मैले दिइनँ।’ 

त्यसपछि डोजर लिएर आउनेहरुले ‘घर छुन्न, पेटीमात्रै फुटाउँछु’ पनि भने। तर, त्यसमा पनि सायमी तयार भएनन्। प्रतिकारमा भने, ‘पेटी फुटाएपछि हाम्रो हिँड्ने अधिकार गएन त? खुट्टा भाँचियो भने तपाईंले क्षति तिर्ने हो?’ 

त्यसपछि विवाद चर्कियो। अन्त्यमा उनीहरु बारमात्रै भत्काएर फर्किए। ‘यसरी डोजर हान्नेहरु खासगरी शनिबारको दिन आउँछन् माथिको आदेश भन्दै,’ सायमीले भने, ‘त्यसदिन सरकारी कार्यालय पनि बन्द हुन्छ। माथि आदेश दिनेसँग सम्पर्क गर्न पाइँदैन। त्यसैले कसैलाई भन्न नपाओस् हो भनेर शनिबार आउने। जनप्रतिनिधिलाई फोन गर्‍यो भने उनीहरु चिप्लोमात्रै घस्ने, मतलब नै गर्दैनन्।’ 

आफ्नो घरमा डोजर आएपछि बल्ल सायमीले राज्यको दमन महसुस गरे। त्यसपछि कानुनी कुरा पनि अध्ययन गर्न थाले। थानकोट आसपासका अन्य यस्ता पीडितहरुसँग पनि सहजीकरण गर्न थाले। त्यसपछि मौलिक हकका निम्ति भन्दै आफ्नो नेतृत्वमा गठन गरे, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति। सुरुमा ३२ नम्बर वडाका पीडितहरु सहभागी भए त्यो समितिमा। उनीहरुको आवाजले एउटा आन्दोलनको रुप नै लियो। 

‘खासमा हाम्रो घर भत्काउन आउँदा त हामीलाई ज्यानसँगै खेलेको महसुस भयो,’ सायमी सम्झन्छन्, ‘तर, ज्यानसँग खेल्दा पनि कोही किन नबोल्ने होला? मलाई बेस्सरी हिर्कायो यो प्रश्नले। २० औं लाख लगानी गरेर बनाएको हुन्छ घर। सरकारले दिने क्षतिपूर्तिले त त्यसलाई फुटाउन पनि पुग्दैन, बनाउन त परै जाओस्। यो कस्तो न्याय हुन्छ?’

आफ्नो घरमा डोजर लाउन पाइँदैन भन्दै सायमीको नेतृत्वमा १०६ जना पीडित मुद्दा हाल्न सर्वोच्च अदालत पुगे। अदालतले कानुन बमोजिम गर्नु भन्दै पीडितको पक्षमा स्टे अर्डर दियो। ‘किनभने कानुनमा त कहीँ थिएन त्यसरी भत्काउनुु भनेर,’ सायमीले भने, ‘त्यसपछि मैले आदिवासीको हक अधिकारबारे अध्ययन गरेँ। मुद्दा अन्तर्राष्ट्रिय अदालतसम्म दर्ता गर्यौं। अन्तर्राष्ट्रिय श्रम संगठन जेनेभामा पनि मुद्दा हाल्यौं। त्यताबाट श्रम मन्त्रालयमा वार्ता गर्नु भनेर पत्र नै आयो। वार्ता बस्यो पनि तर सुनुवाइ भएन। हामीले आवाज उठाइरह्यौं। अन्ततः अन्तर्राष्ट्रिय चासो नै देखिएपछि सरकार पछि हट्न बाध्य भयो।’ 

आन्दोलनका क्रममा ०७३ साल वैशाख २० गते सायमीको नेतृत्वमा उपत्यका बन्द पनि गरिएको थियो।

‘खासमा हाम्रो घर भत्काउन आउँदा त हामीलाई ज्यानसँगै खेलेको महसुस भयो,’ सायमी सम्झन्छन्, ‘तर, ज्यानसँग खेल्दा पनि कोही किन नबोल्ने होला? मलाई बेस्सरी हिर्कायो यो प्रश्नले। २० औं लाख लगानी गरेर बनाएको हुन्छ घर। सरकारले दिने क्षतिपूर्तिले त त्यसलाई फुटाउन पनि पुग्दैन, बनाउन त परै जाओस्। यो कस्तो न्याय हुन्छ?’

त्यसपछि काठमाडौंका मौलिक सम्पदा, संस्कृति र सम्पदाको संरक्षणमा पनि होमिन थाले सायमी। त्यसका लागि उपत्यका सरोकार मञ्च पनि गठन गरे। ‘यहाँ हरिसिद्धीमा रहेको १७ सय वर्ष पुरानो चैत्यहरु पनि सिध्याउन लागेका थिए। त्यो त देशको सम्पत्ति हो नि। त्यसलाई जोगाउनुपर्छ भनेर पनि आन्दोलन भयो। हामीले मुद्दा पनि हाल्यौं। अहिले रोकिएको अवस्था छ,’ सायमीले भने।

यत्तिकैमा ०७४ असोजमा सर्वोच्च अदालतबाट सरकारलाई निर्देशनात्मक आदेश जारी भएको पूर्ण पाठ पनि आयो। यसले उपत्यकाव्यापी सडक विस्तारले पीडित भएकाहरु खुशी भए। पीडितसँग सहमतिबिना क्षतिपूर्ति र मुआब्जाको कुरा नगर्न आदेश जारी भएपछि डोजर आक्रमण बन्द भयो। 

यत्तिकैमा ०७४ सालमा स्थानीय निर्वाचन भयो। जनप्रतिनिधि चुनिए। ‘त्यसपछि राज्यले उपत्यकाभर सडक विस्तार गर्न तिनै जनप्रतिनिधिको काँधमा राखेर बन्दुक चलाउन थाल्यो। प्रशासनले केही गर्न नमिल्ने आदेश जारी भएपछि पीडितहरुबीच नै द्वन्द्व सिर्जना गर्ने अवस्था सिर्जना गरियो। कसैलाई धेरै क्षतिपूर्तिको लोभ देखाएर भन्न थालियो, ‘उसले त मान्यो, तैंलेचाहिँ किन नमान्ने? तैनि हामीले हार खाएनौं। आन्दोलन जारी राख्यौं। राखिरहेकै छौं।’

०००

०७६ असार ४ गतेको गुठी आन्दोलनबारे धेरैलाई थाहा हुनुपर्छ। ०४६ को जनआन्दोलनमा जस्तै त्यसदिन उपत्यकामा टोल–टोलबाट मान्छेहरु जम्मा भएर माइतीघर मण्डलामा पुगेका थिए। यो आन्दोलन सरकारले ल्याएको गुठी विधेयक विरुद्धको थियो। सामुदायिक गुठीलाई सिधै राज्यको स्वामित्वमा लाने र त्यस मातहत रहेका जग्गा–जमिन भू–माफियालाई पोस्ने योजनाअनुसार यो विधेयक ल्याइएको उनीहरुको आरोप थियो। गुठीमा स्वायत्तता र सुशासन हुनुपर्छ भन्ने यहाँको मान्यता थियो। 

तर, गुठियारसँग छलफल नगरी सरकारले विधेयकको मस्यौदा तयार गरेपछि यो मर्मविपरीत भएको भन्दै उपत्यकावासी आन्दोलनमा होमिएका थिए। र, यो आन्दोलनको पनि अग्रपंक्तिमा थिए, सुमन सायमी। ‘सुरुमा हामी २ सय जनाजति थियौं, माइतीघरमा विरोध गर्दा। तर, त्यतिबेला हामीलाई पानीको फोहोरा हान्न थालियो,’ सायमी सम्झन्छन्, ‘हाम्रै भूमिमा हामीलाई राज्यबाट यस्तो अन्याय? पटक्कै चित्त बुझेन। त्यसपछि असार ४ गते विरोध सभा गर्ने तय भयो। तर, त्यसको अघिल्लो दिन नै सरकारले विधेयक फिर्ता लिने निर्णय गर्‍यो। तैपनि हामीले त्यो कार्यक्रमलाई रोकेनौं। विरोध सभालाई खबरदारी सभामा बदल्यौं। आन्दोलन ऐतिहासिक र रचनात्मक भयो। सरसफाइ गर्‍यौं, पानी बाँड्यौं, हिजो दमन गर्ने प्रहरीलाई पनि फूलगुच्छा दिएर प्रेम गर्‍यौं। त्यहीकारण हाम्रो आन्दोलन विश्वभर चिनियो।’

त्यसपछि सायमीले खोकनाको आन्दोलनको नेतृत्व गरे। सरकारले खोकनाजस्तो सांस्कृतिक भूमिमा फास्ट ट्र्याक ल्याएर त्यहाँको सभ्यता नै सिध्याउन खोजेपछि उनको नेतृत्वमा त्यहाँ आन्दोलन चल्यो। सायमीलाई लाग्छ, त्यतिबेला झन्डै त्यहाँ टिकापुर घटनाजस्तै हालत भयो। ‘उर्वर, ऐतिहासिक र रोजगारसँग जोडिएको भूमि हो त्यो,’ उनी भन्छन्, ‘तर, फास्ट ट्र्याकको अलाइनमेन्ट नै परिवर्तन हुनुपर्छ भन्ने हाम्रो माग थियो। राजनीतिक दलको आ–आफ्नै स्वार्थ त्यहाँ देखिएको थियो। तर कसैले राम्रो सँग देख्न चाहेन, त्यहाँको महत्व। सरकारले खोकनालाई उत्खनन् गर्दा यो विश्वको ११ औं सूचीमा पर्छ। यसको आफ्नै रहनसहन छ। यसले कहिल्यै दसैं मनाउँदैन। तेलको उत्पादन पनि यही हुन्छ। अनि यस्तो ऐतिहासिक महत्वको ठाउँलाई सिध्याउन लाग्दा हामी कसरी मौन बस्ने?’

यसरी काठमाडौंको भूमि, भाषा, सम्पदा र संस्कृतिको बचाउमा निरन्तर होमिरहे, सायमी। ‘अकुपाइ टुँडीखेल’ अभियान पनि उनकै नेतृत्वमा चलेको थियो। टुँडीखेललाई सेनाले अतिक्रिमण गर्नु गलत हो भन्ने आन्दोलनको मर्म थियो। ‘एसियाको ठूलो ग्राउन्ड हो नि त्यो,’ सायमी भन्छन्, ‘वातावरणका हिसाबले, कोर सिटीमा पानी जानेदेखि लिएर अरु धेरै कुरासँग जोडिएको छ त्यो ग्राउन्ड। तर बोर्डरमा बस्नुपर्ने आर्मीले कब्जा गरिरहेको छ। सहरको बीचमा सेना यसरी बस्नुहुन्न भन्ने पनि हाम्रो माग थियो। अझै छ।’

सायमीलाई लाग्छ, स्मार्ट सिटी र राष्ट्रिय गौरवको योजना भन्दै काठमाडौंको सांस्कृतिक र ऐतिहासिक महत्वलाई यहाँ सिध्याउन खोजिँदैछ। ‘देशलाई सिंगापुर बनाउने भन्छन् तर यो त आफैमा ऐतिहासिक महत्व बोकेको सहर हो नि। यसलाई जगेर्ना पो जरुरी छ त, होइन र? अनि काठमाडौं जोगाउने दायित्व त यहाँ बस्ने सबैको होइन र? यहाँको खास रैथानेको मात्रै हो र?,’ उनको प्रश्न छ। 

कतिले यहाँको समुदायलाई अलग्गै राखेर हेर्दा या जातिय कुरा उठाउँदा उनलाई चित्त दुख्छ। ‘यो यहाँको समुदाय होइन, खासमा सभ्यता हो,’ उनी भन्छन्, ‘यसैले त हो नेपाललाई परिचय दिएको। यहीँकै लिपी र भाषाले गर्दा त हो नेपाल नामकरण भएको। अनि जातिय कुरा किन उठाउने? यहाँको मुद्दा यहाँको मात्रै होइन, राष्ट्रियको मुद्दा हो। यत्ति त सबैले बुझौ भन्ने मेरो आग्रह हो।’


१० वर्षयता उपत्यकाको भूमि संरक्षणका निम्ति आन्दोलनमा होमिएका सायमी सरकारसँग निरन्तर लडिरहेका छन्, मुद्दा हालिरहेका छन्। उनका अनुसार यस्ता पीडित छन्, जसको घर राज्यले लगिसक्यो तर क्षतिपूर्तिबापत दिन्छु भनेको रकम अहिलेसम्म दिएको छैन। ‘चावहिलका एकजना पीडितको ६ करोडको घर सक्कियो तर अहिलेसम्म क्षतिपूर्ति पाएका छैनन्,’ उनले भने, ‘क्षतिपूर्ति माग्न जाँदा जाँदा उनको जुत्तामा प्वाल परिसक्यो तर अहँ राज्यले सुन्दै सुन्दैन। यही कारण कतिपय त डिप्रेसनमा गएर सुसाइड गरेका केसहरु पनि छन्। कतिपय अझै डिप्रेसनबाटै गुज्रिरहेका छन्। सरकारले मापदण्ड तोक्न पायो तर तोक्दा त्यसले के असर गर्छ, खासमा यहाँ त्यसको अध्ययन नै भएको छैन। त्यहाँ सांस्कृतिक सम्पदा हुनसक्छन्, त्यो सबै पाटो हेर्नुपर्‍यो नि। केही अध्ययन नगरी सरकारले हचुवाको भरमा टेन्डर आह्वान गर्न त भएन नि।’

०००

बुबा कम्युनिष्ट नेता भएका कारण सायमीलाई धेरैले पार्टीगत राजनीति गर्न र बुबाको विरासत सम्हाल्न दबाब नदिएका होइनन्। तर, उनले राजनीतिक दलको धरातलमा रहेर काम गर्न रुचाएनन्। उनलाई लाग्यो, त्यता लागेँ भने त मेरो जोगिएको घर पनि भत्किन्छ। 

दलगत राजनीति गर्दा आन्दोलनको नेतृत्वकर्ताका हिसाबले उनी एकजनालाई नेताहरुले पद र पैसाको लोभ पनि नदेखाएका होइनन्। ‘तर बहुसंख्यकलाई घरबारविहिन बनाएर एक्लै माथि उठ्न मैले सकिनँ। त्यसैले स्वतन्त्रबाटै मेयरको उम्मेदवारी दिएँ।’

‘मेयर नै किन?’ यी तमाम समस्याहरुलाई लिएर निरन्तर आवाज उठाइरहँदा, आन्दोलन गरिरहँदा पनि राज्यले सुनेर पनि नसुनेझैं गरेपछि सायमीलाई लाग्यो– हाम्रो समस्या समाधानका लागि अब हामी आफैं नीति निर्माण तहमा पुग्नुपर्छ। 

खासमा उनी संसदीय चुनावको तयारीमा रहेछन्। तर, यो स्थानीय निर्वाचनमा दलहरुले उठाएका मेयरका उम्मेदवारहरु चित्त नबुझेपछि आफैं उम्मेदवारी दिने निर्णयमा पुगे। त्यो पनि चुनाव आउनु एक महिना अघिमात्रै। ‘किनकी म ग्रासरुटबाटै काम गरिरहेको थिएँ। यहाँ एक किसिमको जग मेरो बसिसकेको थियो। त्यसैले महानगरवासीको सेवा गर्न सक्छु कि भनेर उम्मेदवारी दिएको थिएँ।’

बुबा कम्युनिष्ट नेता भएका कारण सायमीलाई धेरैले पार्टीगत राजनीति गर्न र बुबाको विरासत सम्हाल्न दबाब नदिएका होइनन्। तर, उनले राजनीतिक दलको धरातलमा रहेर काम गर्न रुचाएनन्। उनलाई लाग्यो, त्यता लागेँ भने त मेरो जोगिएको घर पनि भत्किन्छ। 

ढिलो उम्मेदवारी दिँदा र प्रचार गर्न ढंग नपुग्दा पनि आफ्नो उम्मेदवारीबारे धेरैले थाहा नपाएको उनले महसुस गरेका छन्। त्यसमाथि सार्वजनिक बहसका कार्यक्रमहरु स्पेस नपाउँदा पनि आफू पछाडि परेको उनलाई लागेको छ। ‘प्रायः बहसतिर पनि तीन–चारजना मेयरबीच नै सवालजवाफ भयो। मैले स्पेस नै पाइनँ। त्यसपछि आफैं सोसल मिडियामार्फत् हल्का कुरा राख्न थालेँ। तैपनि अरुजसरी प्रचार गर्न भ्याइनँ, सकिनँ।’ 

यहाँका मुद्दाका निम्ति लडिरहेकाले ह्विम आयो भने जित्छु कि भन्ने कहीँकतै लागेको थियो। यद्यपि त्यस्तै ह्विमका कारण अर्का स्वतन्त्र उम्मेदवार बालेनले जिते, यसमा भने उनी खुशी छन्। 

‘काठमाडौंको विकासका निम्ति बालेन र मेरो भिजनमा लगभग समानता नै थियो। फरक यत्ति हो, म १० वर्षदेखि त्यसकै लागि सडकमा संघर्ष गरिरहेको थिएँ, तर उहाँको संघर्ष अब सुरु हुँदैछ,’ उनले भने। 


काकाकुल धरानमा पानीको मुद्दा उठाइरहेका हर्क साम्पाङको जितबाट पनि औधी खुशी सुनिए, सायमी। आ–आफ्नो ठाउँका विकासका निम्ति साम्पाङ र सायमी जसरी आन्दोलनमा होमिएका थिए, त्यस हिसाबले हेर्दा उनीहरु दुवै उस्तै–उस्तै लाग्छन्। दुवैको उम्मेदवारी परिणाम अघिसम्म चर्चामा नआएको पनि हो। फरक यत्ति हो, धरानका जनताले चुपचाप मत दिएर हर्कको उम्मेदवारीलाई अनुमोदन गरिदिए, सायमीले भने अर्को चुनाव कुनुपर्ने भयो। जसरी हर्कले अघिल्लो स्थानीय चुनावमा ५ सय मत कटाउँदा पनि धैर्य भए र यसपटक जितेरै छाडे। 

यतिखेर हर्कले चुनाव जित्दा त्यहाँ उनले पानीको मुद्दा उठाउँदा प्रहरीले पक्राउ गरेका कथाहरु सार्वजनिक भइरहेका छन्। यस्तै कथा यहाँ सुमन सायमीसँग पनि छन्। उपत्यकामा जहाँ जहाँ डोजर पुग्थ्यो, त्यहीँ त्यहीँ रोक्न पुग्थे सायमी। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिइहाल्थ्यो, ८–९ घन्टा थुन्थ्यो, अनि एकैपल्ट छोड्थ्यो साँझ। यत्तिन्जेलसम्म डोजरले घरहरु भत्किसकेका हुन्थे। 

यस्तो त धेरैपटक भयो। ०७८ सालको एउटा घटनाचाहिँ उनले बिर्सिएका छैनन्। बालाजु बाइपासतिर अदालतले स्टे अर्डर दिएको ठाउँमा सूचना केन्द्र बनाउन लागिएको थियो। त्यसको विरोधमा पीडितहरुले बार भत्काएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। 

त्यहीँ पुगेका थिए, सायमी। बालाजु प्रहरी चौकीमा गएर उनी पीडितसँग उनको मातृभाषा (नेपाल भाषा)मा कुरा गरिरहेका थिए। यत्तिकैमा नजिकै रहेका एकजना प्रहरीले ‘नबुझ्ने भाषा नबोल्नु’ भन्दै मलाई थर्काए। ‘मेरै ठाउँमा मेरो भाषा बोल्न पाउनु मेरो संवैधानिक अधिकार होइन र,’ सायमीले प्रहरीलाई प्रश्न गरे।

त्यसपछि प्रहरीले ‘बढी बोल्छस्’ भन्दै उनलाई घिसार्न थाल्यो। ‘थुन्ने भए, थुन तर, म मेरो भाषा नै बोल्छु। बरु नबुझ्ने भए यहाँ बुझ्ने मान्छे लिएर राख,’ उनले अड्डी कसिरहे। 

त्यसपछि प्रहरीले उनलाई अरु पीडितहरुसँगै हिरासत लगेर थुनिदियो। साँझ भएपछि छाड्नलाई हिरासतबाहिर निकाल्यो।  

तर सायमीले मानेनन्। उनले उल्टै प्रश्न गरे, ‘मलाई अघि किन समातिस् र अहिले किन छोड्दैछस्? पहिला यसको जवाफ चाहियो।’ जवाफ नपाएसम्म रिहा गर्ने बेला गरिने कागजमा उनले हस्ताक्षर गर्न मानेनन्। ‘त्यसपछि उनीहरुले मलाई अभद्र व्यवहारमा मुद्दा चलाएर ७ दिन हिरासतमा राखे, मसहित ८ जना थियौं, ६ जना पीडित पनि थिए,’ उनले सम्झिए, ‘त्यहीबेला मैले देख्न पाएँ, प्रहरीले निर्दोषलाई कसरी थुन्छ भन्ने। हिरासतमा राखेर अनुसन्धान गर्ने नाममा प्रहरीले जुन समय पाउँछ, यहाँ त्यसको व्यापक दुरुपयोग भएको महसुस गरेँ।’

त्यतिबेला सायमीको समूहका वकिलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेपछिमात्रै प्रहरीले उनीहरुलाई छाडेको थियो। 

पक्राउपछि सरकारी वकिलको कार्यालयमा म्याद थप गर्न लाँदा प्रहरीले उनलाई त्यहाँ वकिलबाट बयानसम्म गराएको रहेनछ। ‘प्रहरीले आफैं साइन गराएर पनि म्याद थप गर्दोरहेछ भन्ने मैले त्यहीँ थाहा पाएँ। त्यसैले मैले साइन गरेको थिइनँ, तैपनि म्याद थप भयो,’ उनले सम्झिए। रिहा भएपछि यही कुरा उनले महान्याधिवक्ताको कार्यालयसम्म पुगेर राखेका छन्। 

०७८ सालमै गाईजात्राको दिन पनि उनी पक्राउ परेका थिए। त्यो पनि बालाजु बाइपासतिर घर भत्काउँदाकै घटना थियो। त्यतिबेला पनि उनी विनाकारण हिरासतमा राखेको भन्दै बाहिर निस्किन मानेका थिएनन्। ‘तर पनि जबर्जस्ती धकेलेर मलाई बाहिर हुत्याइदिएका थिए,’ उनले भने, ‘त्यसपछि हामी बाहिर अनसन नै बसेका थियौं। प्रहरीको यो दमनबारे मैले पछि मानवअधिकार आयोगतिर उजुरी पनि हालेको थिएँ। प्रहरीलाई पनि विपक्षी बनाएर रिट हालेपछि मात्रै त्यतातिर डोजर आउन छाडेको थियो।’ 

०००

जुन हिसाबले उनी अभियानमा लागेका थिए, त्यसरी हेर्दा सायमीलाई अनुमान थियो, कम्तीमा २०–२५ हजार मत त आउला। तर, झन्डै १४ हजार मतमात्रै आयो। यद्यपी ५५ जना मेयरका उम्मेदवारमध्ये चौथो त भए। 

उनलाई आफूले उठाएका मुद्दाप्रति ठूलो भरोसा थियो। तर, ढिलो उठेकै कारण अर्का स्वतन्त्र उम्मेदवार बालेनलाई त्यसको फाइदा पुग्यो भन्ने उनलाई लाग्छ। ‘यद्यपि मैले परिवर्तन खोजेको हो। मतदाताले बालेनलाई चुनेर पनि परिवर्तनको समर्थन गरे, म यसमा खुशी छु,’ उनले भने। 

त्यसो त बालेन र उनको टिम पनि सायमीसँग खुशी छ। ‘कोर सिटी’मा सायमीले भोट काटिदिएका कारण आफूहरुलाई जित निकाल्न सहज भएको उनीहरुको विश्लेषण छ। यो कुरा उनीहरुले सायमीसँग भनेका रहेछन्। त्यतिमात्रै होइन, सायमीलाई सँगै सहकार्य गरौं भन्ने प्रस्ताव पनि पुगेको छ। आज बालेनको धन्यवाद र्‍यालीमा सायमी पनि सँगै देखिनुले केही संकेत पनि गरेको छ। 

‘बालेनलाई तपाईंले केही सुझाव दिनुभएको छ?,’ हामीले सोध्यौं। जवाफमा उनले भने, ‘बालेनजीलाई मैले भनेको छु, अब विचार गरेर काम गर्नुस्। स्वतन्त्र उम्मेदवारलाई जनताले विश्वास गरेका छन्। यसको कदर भएन भने यो महानगरमा फेरि अर्को स्वतन्त्रले जित्न ३० वर्ष लाग्नेछ।’ 

उनलाई आफूले उठाएका मुद्दाप्रति ठूलो भरोसा थियो। तर, ढिलो उठेकै कारण अर्का स्वतन्त्र उम्मेदवार बालेनलाई त्यसको फाइदा पुग्यो भन्ने उनलाई लाग्छ। ‘यद्यपि मैले परिवर्तन खोजेको हो। मतदाताले बालेनलाई चुनेर पनि परिवर्तनको समर्थन गरे, म यसमा खुशी छु,’ उनले भने। 

सायमी आफ्नो कामको चर्चा आफैँ गर्न रुचाउँदैनन्। भन्छन्, ‘व्यापारी परेँ, नेताको जस्तो भाषण गर्न पनि जानेको थिइनँ। जनताको समस्या बुझेको थिएँ। त्यसको समाधान बुझेको थिएँ तर प्रचार गर्न जानिनँ। सधैँ काममै विश्वास राखेँ, राखिरहन्छु। व्यापारमा झैँ राजनीतिमा पनि व्यवस्थापन नै आवश्यक हो भन्नेचाहिँ थाहा छ। यसको ज्ञान पनि छ, तर सीमित समयका कारण यसपालि त्यो प्रयोग गर्न सकिएन।’ 

‘अहिले पाएको मत तपाईंका लागि के हो?,’ हामीले लगत्तै अर्को जिज्ञासा राख्यौं। मुस्कुराउँदै उनी बोले, ‘यो मैले हल्ला गरेर पाएको मत होइन, सडक र संघर्षबाट पाएको मत हो। खासमा विश्वासको मत हो। यसलाई मैले गुम्न दिने छैन, बरु थप्दै थप्दै जानु छ।’

यो मत संख्याले आफूसँग ठूलो अभिमत रहेछ भन्ने महसुस गराएको छ उनलाई। ‘म खासमा निकै उत्साहित भएको छु,’ उनले भने, ‘अब हामी हाम्रो समस्या समाधान गर्ने आफ्नै विचार बोकेको पार्टी गठन गर्नेबारे छलफल गर्दैछौं। अबको संसदीय निर्वाचनमा म काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्दैछु। अहिलेको चुनावबाट धेरै सिकियो, अब जित्ने गरी उठ्नेछु।’

यसो भन्दै गर्दा अहिले पनि उनले हारेको महसुस गरेका छैनन्। भन्दै थिए, ‘मतगणनाभर सारा उम्मेदवारहरु मलाई हेरिरहेका थिए। एमाले र कांग्रेसका मान्छेहरु कोर सिटीमा प्रवेश गरेपछि सुमन सायमीले बालेनको मत काट्छ भनिरहेका थिए, उता बालेनका मान्छेहरुचाहिँ केशव स्थापित र सिर्जना सिंहको मत मैले काट्छु भनिरहेका थिए। यो बीचमा मैले जुन मत पाएँ, त्यो साँच्चै निर्णायक र सम्मानजनक छ। शाहरुख खानको फिल्ममा एउटा डायलग छ नि– ‘हारकर भी जित्ने वालेको बाजिगर कहेते हेँ’। खासमा मलाई लाग्छ, म पनि बाजिगर भएँ, किनभने मैले हारेर पनि जितेँ।’ 


प्रकाशित: May 27, 2022 | 16:07:21 काठमाडौं, शुक्रबार, जेठ १३, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चन्द्रागिरिको जंगलमा हराएका तीन विदेशी भीरमा भेटिए

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ।

...अनि पटक-पटक मर्ने प्रयास गरेकी थिइन् दिलमायाले

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर फर्किएँ। बच्चाले दुःख पाउँछ भनेर मर्न सकिनँ...

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीले फालेको सल नालीमा भेटियो, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाँक्लै थियो।

कांग्रेसभित्र यसरी 'फ्रन्ट डोर' ढकढक्याउँदैछन् विनोद चौधरी

म कांग्रेस एकदमै कमजोर भएको अवस्थामा प्रवेश गरेको हुँ। मेरो बाँकी राजनीतिक जीवन कांग्रेसमै बित्छ। कांग्रेसमै रहेर पार्टी र देशका लागि केही गर्ने हो। परिवर्तन ल्याउन भूमिका खेल्ने हो। म मेरो योजनामा असफल भएँ भने राजनीतिमा विश्राम लिएर आराम गरेर बस्छु।

गोर्खा सैनिकको सम्झनामा त्यो फोकल्यान्ड युद्ध

‘बिहानको १० बजेसम्म घाम देखिँदैन। जताततै तिखा चट्टान, ढुंगा र घासे मैदान। चार मोजा र बुट लगाउँदा सम्म नथेगिने चिसो। घरिपानी, घरि असिना, घरि हिउँ। रुखपात छैन, झारपात मात्र कस्तो ठाउँ होला!’

नेपालबाट बेलायत जाने मौसमी कामदार बढे, सरकार भन्छ- ऐनले चिन्दैन

कोराना महामारीपछिको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन बेलायत सरकारले विभिन्न मुलुकबाट मौसमी रोजगारका लागि आवेदन मागिरहेको छ। तर नेपालको श्रम ऐनमा मौसमी रोजगारसम्बन्धी व्यवस्था नहुँदा नेपाली श्रमिकलाई अप्ठेरो पारिरहेको छ।

साडियो माने : धुलाम्य मैदानदेखि लिभरपुलको लोभलाग्दो रवाफसम्म

बाल्यावस्थादेखि बलसँगै लडिबुडी गरेका मानेले फुटबलमा पाएको जादूयी सफलतापछि जन्मथलो बम्बालीमा उम्रिँदै छन् सयौं मानेहरू।

'मानवताको सहर' बुटवलमा दलितले कोठा भाडा पाउँदैनन्

जातका आधारमा हुने विभेदलाई कानुनले निषेध गरेको र बुटवलमा मानव भएर बाँच्न मानवताको सहर नारा तय गरिए पनि त्यसैलाई खिल्ली उडाउँदै जातीय भेदभावको घटना सार्वजनिक भएको हो।

रवि लामिछाने र रमेश खरेलबीच सहकार्यको विषयमा छलफल

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

थप समाचार

नेपाल समय
राजनीति

प्रचण्डले भने - दलहरुले केही गरेनन् भन्‍नु परिवर्तन र जनताको अपमान

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषय विचार गोष्ठीमा उनले राजनीतिक परिवर्तन पछाडि दलहरूले केही गरेनन् भन्नेमा कुनै सत्यता नरहेको जिकिर गरे।
नेपाल समय
राजनीति

मेटमणिलाई क्‍वार्टर छिर्न हतारो, डेरामा गाडी राख्‍ने ठाउँ नै नभएको गुनासो

नेकपा एकीकृत समाजवादीबाट नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीलाई पुल्चोकस्थित मन्त्री क्‍वार्टर प्रवेश गर्ने हतारो भएको देखिन्छ। उनले पुल्चोकस्थित सरकारी निवास खाली नहुँदा समस्या भएको बताएका छन्।
नेपाल समय
राजनीति

जबजको मार्गमा नै समृद्ध नेपाल र सुखी नेपालीको संकल्प पूरा हुन्छ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको बहुदलीय जनवादको मार्गमा समाजवादको आधार तय गर्न सके समृद्ध नेपाल र सुखी नेपालीको संकल्प पूरा हुने बताएका छन्।
नेपाल समय
राजनीति

बजेट राष्ट्रिय सभाबाट पनि पारित

संघीय संसद्‌को राष्ट्रिय सभाबाट पनि विनियोजन विधेयक पारित भएको छ। राष्ट्रिय सभाको सोमबारको बैठकले विनियोजन विधेयक- २०७९ (बजेट)लाई बहुमतले पारित गरेको हो।
नेपाल समय
राजनीति

गृहमन्त्रीले भने– एसपीपीमा सहभागी नहुने निर्णय अमेरिकालाई पठाइसक्यौं

गृहमन्त्री बालकृष्ण खाणले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आबद्ध नहुने निर्णय अमेरिकालाई पठाइएको बताएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना