काभ्रेपलाञ्चोक जिल्लाको चौरिदेउराली गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)बाट रेणुका चौलागाई निर्वाचित भइन्। नेकपा (एमाले)का जितराम लामालाई ७६५ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित उनले ६ हजार २२८ मत पाएकी हुन्। गाउँपालिकामा काङ्ग्रेस र माओवादीबीच चुनावी तालमेल थियो। उपाध्यक्षमा काङ्ग्रेसका शेरबहादुर तामाङ निर्वाचित भएका छन्।
'विभिन्न क्षेत्रबाट सल्लाह र सुझाव लिने काम भइरहेको छ। मतदातालाई धन्यवाद भन्ने जुलुसमा धेरै उत्साहित छन्/थिए। महिलाहरू अझ बढी उत्साहित हुनुहुन्छ,' उनले भनिन्। महिलालाई प्राथमिकतामा राख्दै पालिकाको सम्पूर्ण क्षेत्रमा विकास पुर्याउने उनको योजना रहेको छ।
‘गृहिणी तथा आम महिलाको व्यक्तित्व विकासको लागि सामाजिक, राजनीतिक क्षेत्रमा चेतना स्तर बढाउन आवश्यक छ,’ उनले थपिन्, 'ग्रामीण क्षेत्रका महिलालाई उत्पादनमा जोड्न खेतीपाती र पशुपालनलाई व्यवसायिक बनाउने र सिपमूलक तालिमसहित रोजगारीको व्यवस्था मिलाउन पहल गर्छु।'
कांग्रेस र एमालेका तुलनामा माओवादीमा टिकट लिन केही सहज भएको उनको अनुभव छ। त्यसैले टिकट लिन उनले ठूलो समस्या खेप्नुपरेन, दलमा सर्वसम्मत भइन्। २०६४ मा संविधानसभा सदस्य भइसकेकाले पनि पार्टीमा आफूलाई सहज भएको उनको अनुभव छ। देशको संविधान लेखेर उनी त्यही संविधानअनुसार बनेको स्थानीय तह हाँक्ने जिम्मेवारीमा चुनाव जितेर पुगेकी छन्।
समानुपातिकबाट सांसद बन्दा महिलालाई दयामायाले दिइएको पद जस्तो लाग्यो उनलाई। त्यसप्रति आम मानिसको दृष्टिकोण राम्रो नभएको उनले महसुस गरिन्। कार्यकारी पदमा रहेर काम गर्न महिला पनि पुरुषसरह सक्षम रहेकाले दयामायामा मात्र सीमित हुन नचाहेको उनको भनाइ छ।
'स्थानीय तह भनेको जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने ठाउँ भएकाले केन्द्र छाडेर स्थानीय सरकार राजेको हो,’ संविधान सभा सदस्यबाट गाउँसभा नेतृत्वसम्म पुगेकी उनले भनिन्, 'गाँउपालिकाको अध्यक्षले गाँउको आवश्यक परिर्वतनलाई नजिकबाट नियाल्दै विकास गर्न सक्छन्। संविधान सभामा रहेर संविधान बनाउन भूमिका खेलेँ। त्यही संविधानलाई कार्यान्वयन गर्न स्थानीय तहमा आएकी हुँ।'
000
विद्यार्थी जीवनबाटै राजनीतिमा चासो राख्ने रेणुका सानैदेखि 'विद्रोही' स्वभावकी थिइन्। २०५० मा अखिल क्रान्तिकारी काभ्रेको विद्यार्थी संगठनमा आबद्ध उनले २०५२ सालमा जनवादी विवाह गरिन्। विवाह हुँदा उनी २०५२ अखिल क्रान्तिकारी काभ्रेको कोषाध्यक्ष थिइन्।
बाजा बजाएर, आँगन पोलेर, सिन्दुरपोते लगाएर विवाह हुन्थे। उनले फरक तरिकाले विवाह गरिन्- जनवादी। राजनीति गर्नका लागि बिहे गरेको बताउने उनी भन्छिन्, ‘मेरो विवाह मैनबत्ती बालेर, हात मिलाएर भयो। सयौँ मानिस अगाडि थिए। भाषण गरेर विवाह भयो,' उनले विवाहको क्षण सम्झिइन्।
‘छोरी राजनीति गर्ने र बाहिर धेरै हिड्ने भएकाले आमाबुबा पिर गर्नुहुन्थ्यो। सत्र वर्षको हुँदै धेरै ठाउँबाट विवाहको कुरा आइसकेको थियो,’ उनी सुनाउँछिन् ‘राजनीतिक पृष्ठभूमि नभएको परिवारमा विवाह गरिदिन हतार गर्नुहुन्थ्यो।’
विवाह हुँदा उनले विद्यालयीय शिक्षा पूरा गरेकै थिइनन्। श्रीमान नवीन गौतम जनयुद्धमा होमिएका थिए। प्रहरीले श्रीमान् कहाँ छन् भन्दै विद्यालयमै आएर दुःख दिन्थे। २०५३ सालमा उनलाई एक महिनासम्म स्थानीय चौकीकै हिरासतमा राखिएको थियो। त्यस समयमा शारीरिक तथा मानसिक यातना खेप्नुपरेको उनी बताउँछिन्।
-1653482623.jpg?p=768&s=d771d80c413d3ef729cc4309dbb3b8e3)
‘परीक्षाको समयमा पनि प्रहरी सोधपुछको लागि आउँथे। परीक्षा दिएको बेलामा पनि हलभित्रै छिरेर अनेक प्रश्न गर्थे,’ त्यस्तो अवस्थामा एसएलसी दिनुपरेकाले पास हुन नसकेको उनले बताइन्।
२०५३ सालमा उनकी आमाजु विन्दा चौलागाईं गर्भवती थिइन्। गर्भवती विन्दालाई प्रहरीको गाडीले हानेर मारेको उनको आरोप छ।
घरमा छोरी गुमाएको र बुहारीलाई पनि सोधपुछको लागि प्रहरीले बिहानराति जतिबेला पनि लैजाने भएकाले उनको सुरक्षाको चिन्ता घरमा सबैलाई थियो। घरमा सुरक्षित नभएपछि उनी परिवारकै सल्लाहमा घर छाडिन्। 'घरमा हुँदा प्रचण्ड, बाबुराम कहाँ छन् भन्दै तत्कालीन राज्य संयन्त्रले विभिन्न प्रकारका यातना दिन्थ्यो। प्रहरीको यातना सहन नसकेर कति पटक बेहोस पनि भएकी छु,' उनले जनयुद्धका सास्ती सुनाइन्।
घरबाहिरको जिन्दगी गाह्रो हुने भएपनि जस्तोसुकै कठिनाइको पनि सामना गर्छु भनेरै जनयुद्धमा लागेकी थिइन् उनी। जतिसुकै दुःख पाएपनि हरेश नखाई निरन्तर राजनीतिमा लागेको उनले बताइन्। भूमीगत जीवनमा धेरै दुःख सहनुपर्यो। मध्यमवर्गीय परिवारमा हुर्किएकी उनले परिवार र गाउँबाहिरको जीवन देखेकी थिइनन्।
‘६ महिनामा एकपटक मात्र भात खान पाउने, पानीमा उसिनेको तरकारी खाँदा राम्रो खान र लाउन नपाएका मानिसको बारेमा नजिकबाट थाहा पाएँ,’ संघर्षले देश देख्ने अवसर दिएको उनले सुनाइन्।
जनयुद्ध चलिरहेकै बेला २०५५ मा अखिल नेपाल महिला संघ क्रान्तिकारी काभ्रेको अध्यक्ष बनिन् रेणुका। २०५६ सालमा उनको श्रीमान नवीन गौतम र आमाजू कमला शर्मालाई कोठाबाटै प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेपछि आजसम्म उनीहरू फर्किएका छैनन्। उनीहरूको अवस्था अज्ञात छ। आफ्ना दुई सन्तान बेपत्ता भएको पीडा आमाले सहन सकिनन्। सासूआमाको हृदयघात भएर मृत्यु भयो। यसै क्रममा २०५६ मा नेकपा माओवादी काभ्रे जिल्ला कमिटी सदस्य बनिन्।
-1653482623.jpg?p=768&s=429b083469065ed4f27f43d4e761044d)
जनयुद्धकै क्रममा उनले दाजु कमल चौँलागाई, जेठाजु यानप्रसाद गौतम र एक जना आमाजू बिन्दालाई गुमाउनुपर्यो। श्रीमान् र एक जना अर्की आमाजू कमलाको अवस्था अझसम्म अज्ञात छैन। बेपत्ता र सहिद गरी ५ जना सदस्य परिवारमा नभएपछि अभिभावकको जिम्मेवारी पनि रेणुकाकै काँधमा छ।
२०५८ सालमा उनी पक्राउ परिन्। दुई वर्ष जेल जीवनको कष्टकर समयपछि २०६० सालमा उनी रिहा भएकी थिइन्। २५ दिन पाँचखाल ब्यारेकमा हिरासतमा रहिन्। हनुमान ढोकामा २५ दिनसम्म खाना नखाई हिरासतमा बसिन्। छाउनी ब्यारेकमा उनको सात दिन बित्यो।
जेलमा रहँदा तीन महिनासम्म कपडा फेर्न नपाएको अनुभव अझैसम्म ताजै छ उनलाई। जेलमा स्विटर बुन्न सिकिन्। तीन महिनामा बुनेको स्विटर बेचेर कुर्ता सुरुवाल किनेर कपडा फेरेकी थिइन्।
जेलबाट फर्किएपछि पुनः राजनीतिमा सक्रिय भएकी थिइन्। २०६३ सालमा १२ बुँदे सहमतिसहित शान्ति सम्झौता भयो। राजनीति सहज भयो।
२०६४ सालबाट उनले पढाइलाई निरन्तरता दिइन्। कक्षा १२ सम्म अध्ययन गरेकी उनी २०६४ मा नै संविधानसभामा समानुपातिकबाट सदस्य बनिन्। हाल माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य र माओवादी केन्द्र काभ्रेपलाञ्चोकको सह–इन्चार्जको जिम्मेवारीमा उनी छन्।
जनयुद्धको परिणामले राजनीति तथा अन्य क्षेत्रमा महिला सहभागिता बढेको रेणुकाको अनुभव छ। गाउँपालिकाको नेतुत्व पाउनु पनि जनयुद्धकै नतिजा रहेको उनको भनाइ छ। राजनीतिक कारणले परिवारका सदस्य गुमाएकी उनले सहिदका सपना पूरा गर्न पनि राजनीतिलाई सेवाको माध्यमका रूपमा प्रयोग गर्ने र निरन्तर लागिरहने कुरामा दृढ छिन्।