काठमाडौं- स्थानीय तहमा निर्वाचनको पालिकाको परिणाम धमाधम सार्वजनिक भइरहेको छ। परिणाम सार्वजनिक हुन बाँकी स्थानमा गणना जारी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ। यो चुनावमा कतिपय शीर्ष नेताकै वडा र गृहपालिकामा उनीहरूको पार्टीले पराजय भोगेको छ। कतिपय दलको ‘किल्ला’ भनेर दाबी गरिएको क्षेत्रमै अर्को पार्टीले चुनाव जितेको छ। त्यस्तै, देशका प्रमुख सहरमा स्वतन्त्र उम्मेदवारले पनि ठूला भनिएका दललाई 'आच्छुआच्छु' पारिरहेका छन्।
यति मात्र होइन, बागी उम्मेदवार पनि यसपालिको चुनावमा विजयी भएका छन्। सबैभन्दा धेरै बागी बन्ने परिस्थिति खडा गरेको कांग्रेसकै बागीले केही स्थानमा विजयी भएका छन्। यसले उम्मेदवार चयनमा केन्द्रको हस्तक्षेपलाई कार्यकर्ता मात्र होइन, मतदाताले समेत अस्वीकार गरेको भन्न यथेष्ट प्रमाण पुगेको छ। लामो समयदेखि एउटा दलले रजगज चलाएको, कुनै दल विशेषको 'विरासत' र 'गढ' भनिएका क्षेत्रमा अर्को दल विजयी भएको विषयमा केन्द्रित छ।
मेलम्ची नगरको प्रमुखमा कांग्रेस उम्मेदवार आइतमान तामाङ निर्वाचित भएका छन्। २०४८ को परिवर्तनपछि मेलम्ची नगर एमालेको किल्लाको रुपमा परिचित थियो। स्थानीत तह निर्वाचनमा जिल्लामै सबैभन्दा बढी मत खसेको यो नगरमा ११ हजार २५८ मत ल्याएर तामाङ विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार बालकृष्ण देउजालाई ९३ मतले पछाडि पार्दै कांग्रेस क्षेत्रीय सभापति रहेका तामाङले चुनाव जिते। देउजाले ११ हजार १ सय ६५ मत पाए।

उपप्रमुखमा भने एमालेकी उमा प्रधान निर्वाचित भइन्। प्रधान १० हजार १ सय ६४ मत ल्याएर उपप्रमुख हुँदा उनकी निकटतम प्रतिस्पर्धी राप्रपा उम्मेदवार कुमारी तामाङले ८ हजार ३ सय ५६ मत पाइन्। यहाँ प्रमुख र उपप्रमुखमा यहाँ कांग्रेस र राप्रपाबीच गठबन्धन भएको थियो। यद्यपि, प्रमुखमा कांग्रेस उम्मेदवार निर्वाचित हुँदा राप्रपाकी तामाङ भने पराजित भइन्।
उपप्रमुखको उम्मेदवारै नभएकौ कांग्रेसको रुख चिह्नमा २ हजार ३ सयभन्दा धेरै मत खसेको थियो। यसरी लामो समयदेखि आफ्नो गढ दाबी गरेर बसेको एमालेले कांग्रेसँग पराजय व्यहोर्नुपर्यो। स्थानीय नेताकाअनुसार यहाँ एमाले हार्नुमा पार्टी विभाजन कारण रहेको छ। एमाले विभाजन भएको मौकामा कांग्रेसले चुनावी नतिजा हात पारेको हो।
नेकपा एमालेको अर्को गढका नाममले चिनिने एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पर्ने दमक नगरपालिकामा राप्रपाले जितेको छ। राप्रपाका उम्मेदवार राम थापा मेयरमा निर्वाचित भएका हुन्।
साविक भोटेचौर, थकनी, सिन्धुकोट, हैवुङ, बाँसवारी, मेलम्ची, दुवाचौर, ज्यामिरे र शिखरपुर गाविस मिलेर बनेको मेलम्ची एमाले पकड नगर मानिन्थ्यो। अधिकांश तत्कालीन गाविसमा २०४९ देखि भएका हरेक चुनाव एमालेले जित्दै आएको थियो। तर, यो चुनावमा नगरका १३ मध्ये बहुमत ७ वडा कांग्रेसले जितेको छ भने एमालेले ६ वटा वडा जितेको छ।
000
नेकपा एमालेको अर्को गढका नाममले चिनिने एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पर्ने दमक नगरपालिकामा राप्रपाले जितेको छ। राप्रपाका उम्मेदवार राम थापा मेयरमा निर्वाचित भएका हुन्। थापाले १७ हजार ५२५ मत ल्याउँदा प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १६ हजार ६९९ मत प्राप्त गरेकी छन्।
दकमा नेतृत्वमा मात्र होइन, उपमेयरमा पनि एमाले पराजित भयो। कांग्रेसकी रेगिना भट्टराईले १७ हजार ७२ मत प्राप्त गर्दा एमालेका अम्विकाप्रसाद खनालले १६ हजार ५७४ मत प्राप्त गरेर दोस्रो स्थानमा पुगे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापा ३४ वर्षदेखि दमकको प्रमुख बन्ने चाहना राख्थे। उनी २०४३ सालदेखि मेयरको दौडमा थिए। यसपटक भने एमाले उम्मेदवार गीता अधिकारीलाई पराजित गर्दै दमक नगरपालिकाको मेयर बन्न उनी सफल भए। थापा कांग्रेस, माओवादीसहितको ६ दलीय गठबन्धनको उम्मेदवार हुन्।
हालसम्मको चुनावी इतिहासको नतिजाअनुसार दमक एमालेको परम्परागत किल्ला मानिन्थ्यो। २०४९, २०५४ र २०७४ मा भएका तीन वटै स्थानीय चुनावमा दमकको प्रमुख र उपप्रमुखसहित बहुसंख्यक सिटमा एमालेले जितेको थियो।
000
एमाले बलियो मानिने काभ्रेको पनौती नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका रामशरण भण्डारीले एमालेका भीम न्यौपानेलाई २ हजार २६७ मतान्तरले हराएका हुन्। भण्डारीले १४ हजार ५० ल्याउँदा न्यौपाने ११ हजार ७८३ मतमै रोकिए।

उपमेयरमा भने नेकपा एमालेकै गीता बन्जारा निर्वाचित भएकी छन्। बन्जाराले १२ हजार ३३७ मत ल्याएर नेकपा एकीकृत समाजवादीका छविलाल हुमागाईंलाई पराजित गरेकी हुन्। हुमागाईंको पक्षमा १० हजार ३८८ मत खसेको थियो। नेपाली कांग्रेसले १, ५, ९ र १० गरी चार वटा वडा जितेको छ। एमालेले २, ३, ४, ६, ७, ८ र ११ गरी सातवटा वडा जितेको छ। १२ नम्बर वडा नेकपा एकीकृत समाजवादीले जितेको छ।
तर, ०७४ को स्थानीय चुनावमा भने मेयरमा एमालेका भीम न्यौपाने १२ हजार २५६ मत प्राप्त गरी विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बिदुर बञ्जाराले ९ हजार १९० मत प्राप्त गरेका थिए।
000
दोलखाको भीमेश्वर नगरपालिकाको प्रमुख पनि ३० वर्षपछि पहिलोपटक कांग्रेसले जितेको छ। ईश्वरनाथ मानन्धर भीमेश्वरमा पहिलोपटक कांग्रेसबाट निर्वाचित नगरप्रमुख भएका छन्।
मानन्धर ८ हजार ७२३ मतसहित निर्वाचित हुँदा उनका प्रत्याशी एमालेका उमेदवार हरिवंश चौलागाईंले ७ हजार ३१ मत मात्र ल्याएका थिए। एक हजार ४२२ मतान्तरमा एमाले उम्मेदवारलाई पराजित गरेर भिमेश्वरमा पहिलोपटक कांग्रेस आएको छ।
-1653060228.jpg?p=768&s=d303cab2a2ff78c8d6cdbb880a831f20)
नगरपालिकाको पनि चरिकोट त अझ कम्युनिस्टको गढ मानिन्छ। जहाँ २०५१ सालमा कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालामाथि आक्रमण नै भएको थियो। आफूमाथि आक्रमण भएपछि त्यसबेला गिरिजाले 'माले, मण्डले, मसाल एउटै हुन्' भनेर गरेको भाषणको चर्चा अहिलेसम्म हुने गरेको छ। यसपटक भने यहाँबाट कांग्रेस नेतृत्वमा आएको छ।
000
इलाम सदरमुकाम रहेको इलाम नगरपालिकामा पनि २५ वर्षपछि नेपाली कांग्रेसले चुनाव जितेको छ। नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको गृहनगरसमेत रहेको इलाममा लामो समयपछि नेपाली कांग्रेसले जितेको हो। नेपाली कांग्रेसका उम्मेदवार केदार थापाले नेकपा एमालेका धिरेन चेम्जोङलाई हराउँदै नगर प्रमुखमा निर्वाचित भए।

थापाले १३ हजार एकसय ६५ मत पाउँदा चेम्जोङले १० हजार ५८७ मत प्राप्त गरेका छन्। उपप्रमुखमा पनि नेपाली कांग्रेसकी उम्मेदवार विष्णु दाहाल लिम्बूले एमालेकी सिता रिजाललाई उपप्रमुखमा पराजित गरेकी हुन्। दाहालको १३ हजार पाँच सय ४२ मत आउँदा एमालेकी रिजालको १० हजार ८८ मत पाएकी हुन्।
इलाम नगरपालिकामा २०४९ सालपछि कांग्रेस नगरको नेतृत्वमा पुग्न सकेको थिएन। २०५४ को स्थानीय निकाय निर्वाचनमा एमालेले मेयर र उपमेयर दुवै जितेको थियो। त्यसबेला एमालेका महेश बस्नेत मेयर र कृष्ण श्रेष्ठ उपमेयरमा निर्वाचित भएका थिए। २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि एमालेका महेश बस्नेत र उपप्रमुखमा सुशीला नेम्वाङ निर्वाचित भएका थिए।
000
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको मेयरमा एमालेले पहिलोपटक जित हात पारेको छ। नेकपा एमालेका उम्मेदवार किशोरकुमार लिम्बू मेयरमा निर्वाचित भएका हुन्। लिम्बूले ७ हजार १०४ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार भट्टले ६ हजार १७१ मत पाए।

उपमेयरमा भने नेपाली कांग्रेसकी गंगादेवी जोशी विजयी भइन्। जोशीले ६ हजार ३६५ मत ल्याएर निर्वाचित हुँदा उनकी निकटतम् प्रतिस्पर्धी एमालेकी खिमा चन्दले ५ हजार ८२२ मत ल्याएकी छन्। यसरी दोधाराचाँदनीमा २०४६ सालपछि पहिलो पटक एमाले नेतृत्वमा पुगेको हो।
दोधाराचाँदनी नेपाली कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको प्रभाव क्षेत्र पनि मानिन्छ।
000
यता, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को बुलिङटार गाउँपालिकामा दीपेन्द्र सुनारी मगर निर्वाचित भएका छन्। नेपाली कांग्रेसका निवर्तमान मेयर शशीकिरण बस्ताकोटीलाई १ सय ५१ मतले पराजित गरी उनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।

एमालेबाट उठेका दीपेन्द्रले ४ हजार ५९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी बस्ताकोटीले ३ हजार ९ सय मत ल्याएर दोस्रो बने। बुलिङटारमा आजसम्म कांग्रेसले पराजय बेहोर्नुपरेको थिएन। कांग्रेसलाई हराएर दीपेन्द्रले इतिहास रचेका हुन्।
२०५४ सालमा दीपेन्द्रकै बुबा शेरबहादुर सुनारी मगरलाई गाविस अध्यक्षमा कांग्रेसकै उम्मेदवारले हराएका थिए। वर्ष दिनअघि मात्र गाउँमै बस्ने गरी फर्केका दीपेन्द्रले २५ वर्षदेखि एमालेले हात पार्न नसकेको सफलता चुमेका छन्।
000
एमालेको गढ मानिएको बुटवल उपमहानगरपालिकामा पनि नेपाली कांग्रेसले अग्रता लिइरहेको छ। जबकी बुटवल नेकपा एमाले नेता विष्णु पौडेलको प्रभाव क्षेत्र मानिन्छ। यो समाचार तयार पार्दासम्म १७ वटा वडाको निर्वाचन परिणाम सार्वजनिक भएकोमा जम्मा ४ वडाध्यक्ष मात्रै एमालेले जितेको छ। यसमध्ये १० वडामा कांग्रेस, गठबन्धनबाट एक वडामा नेकपा माओवादी, एक वडामा नेकपा एकीकृत समाजवादी र एकमा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन्। एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतदान गरेको बुटवल उपमहानगरको वडा नम्बर ८ मा पनि एमाले पराजित भएको छ। यो वडामा २०४९ सालपछि एमाले कहिल्यै हारेको थिएन।

२०७० सालमा भएको दोस्रो पटकको संविधानसभा चुनावमा पूर्व–प्रधानमन्त्री बाबुराम भट्टराईलाई समेत एमालेका पौडेलले पराजित गरेका थिए। यसपछि त बुटवल एमालेकै ‘किल्ला’ का रूपमा परिभाषित भएको थियो। २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा निर्वाचित भएर एमालेले यसलाई थप पुष्टि गर्यो। तर, यसपटक भने बुटवलमा कांग्रेसले बाजी मार्ने संकेत देखिएको छ। यहाँ एमाले पराजित भएमा नराम्रो धक्का लागेको महसुस गर्ने देखिएको छ।
000
मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा एमालेले आफ्नो विरासत गुमाएको छ। मतगणनाको अन्तिम परिणाम सार्वजनिक नहुँदै निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारले हार स्वीकार गरिसकेका छन्। नेकपा एकिकृत समाजवादीकी मीना कुमारी लामा यहाँ विजेता भएकी छन्। यद्यपि यहाँको अन्तिम परिणाम सार्वजनिक हुन बाँकी छ।

यसअघि मकवानपुरको अधिकांश स्थानमा एमालेको वर्चस्व रहेको थियो। गत स्थानीय चुनावको नतिजाका आधारमा पनि मकवानपुरमा एमालेको वर्चस्व देखिन्छ। हेटौँडा उपमहानगरसहित ६ वटा पालिका जितेको थियो। कांग्रेस र माओवादी दुई–दुईवटामा सीमित भएका थिए। एमालेले हेटौँडा उपमहानगरको मेयर-उपमेयरसहित इन्द्रसरोवर, कैलाश, भीमफेदी, मनहरी र मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष नै जितेको थियो।
000
महोत्तरीको बर्दिबास नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसबाट बागी उठेका उम्मेदवारले जितेका छन्। यो क्षेत्र नेकपा माओवादी नेता गिरिराजमणि पोखरेलको प्रभाव क्षेत्र रहन्छ। ०६४ सालपछि यहाँ निरन्तर माओवादीले जित्दै आएको छ।

यसपटक भने कांग्रेसबाट विद्रोह गरेर उठेका स्वतन्त्र उमेदवार प्रह्लाद कुमार क्षेत्री मेयरमा निर्वाचित भए। उनले १४ हजार २१० मत ल्याउँदा प्रतिस्पर्धी माओवादी केन्द्रका राजु खड्काले ८ हजार ३२३ मत मात्रै ल्याएका छन्।
त्यसैगरी, उपमेयरमा पनि स्वतन्त्र उम्मेदवारी दिएकी तारादेवी महतो ९ हजार ७३६ मत ल्याएर निर्वाचित भएकी छन्। उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कृष्णमाया गौतमले ८ हजार १८५ मत ल्याइन्।
पार्टीले नै टिकट दिएका कांग्रेस उम्मेदवार चिरंजीवी हमालले भने १ हजार २६३ मत मात्र ल्याएका छन्। त्यस्तै, कांग्रेसबाटै उपमेयर उम्मेदवार अमिनाकुमारी महतोले १ हजार ७८५ मत पाएकी हुन्।
यसरी अन्य स्थानमा पनि शिर्ष नेताहरुले आफ्नो प्रभाव क्षेत्रमै आफ्नो पक्षमा जनमत पार्न सकेको देखिँदैन। कतै एमालेले, कतै कांग्रेसले त कतै मओवादीले एकअर्काको पकड क्षेत्रमा आफ्नो पक्षमा जित हात पारेका छन्।