काठमाडौं- स्थानीय तहको निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न सबै दलका शीर्ष नेता करिब १५ दिन चुनावी कार्यक्रममा जुटे। कतै दलको एकल आयोजनामा, त कतै गठबन्धनका नाममा भएका सभामा दलका प्रमुख नेताले सम्बोधन गरे। यी सभामा सबै दुई समानता भेटिए- नेताहरूको भाषणशैली, एजेन्डा/घोषणापत्रको विस्मरण।
पाँचदलीय सत्ता गठबन्धनले चुनावीसभाका मञ्चलाई नेकपा एमाले र केपी शर्मा ओलीविरुद्ध खनिन, लोकतन्त्र र संविधानको दुहाई दिएर मतदातालाई धम्की दिन प्रयोग गरे। त्यति मात्र होइन, गठबन्धनको मञ्च आफैंभित्रका असन्तुष्टि, आशंका र आक्रोश पोख्ने थलो पनि बन्यो। गठबन्धनका नेताहरुले आफैंभित्र गुम्सिएको उकुसमुकुसपना 'ओकल्ने' प्रयास गरे।
एमालेका चुनावीसभा सत्ता गठबन्धनमाथि तिखो प्रहार गर्न केन्द्रित रह्यो। चुनावी कमान्डर आफैं बनेका अध्यक्ष ओली विपक्षीमाथि गाली गरेरै रमाए। चुनावीसभामा उपस्थित कार्यकर्ताले ओलीको बोलीमा परर ताली पिटेपछि सभा विसर्जन हुन्थ्यो।
दलहरुका शीर्ष नेताले मतादातालाई पार्टीको एजेन्डा बुझाउने चेष्टा गरेनन्। बरु विपक्षीमाथि सर्वाधिक तल्लो स्तरमा गाली गर्ने प्रतियोगिताका प्रतिस्पर्धीजस्ता देखिन्थे शीर्ष नेता। लोकतन्त्रमा जायज एजेन्डामा विपक्षीको आलोचना गर्नु अस्वाभाविक होइन। स्वस्थ आलोचनाले दलहरुलाई सच्चिने अवसर दिन्छ। आलोचनाले गल्तीको महसुस गराउँछ भने त्यो जतनताको दृष्टिकोणबाट हेर्दा र दलको आफ्नै जीवनको दृष्टिकोणबाट हेर्दा पनि फाइदाजनक नै सावित हुनेछ। तर, आलोचनाका नाममा विना तथ्य, तल्लो स्तरमा झरेर एकअर्काको आलोचना गर्ने कुरा न देश र जनताका लागि सुखद् हुन्छ, न दल र नेताका लागि फाइदा नै। बरु त्यसले नेताहरुको चेतनास्तर, बौद्धिकता र क्षमतामाथि प्रश्न खडा गर्छ। त्यति मात्र होइन, जनताप्रति उनीहरुको वास्तविक दृष्टिकोण पनि उधेल्छ।
स्थानीय तहको निर्वाचन प्रचारका लागि भएका सभामा नेताहरुले दिएका अभिव्यक्तीले उनीहरुको कद बढाएन, घटाइदियो। राजनीतिप्रति उब्जिएको वितृष्णालाई मलजल गर्यो। जनतामा आशाको सञ्चार गराउने सन्दर्भमा दल र नेता असफल बने र फेरी एकपटक राजनीति र दलहरुप्रति जनता नजरमा आह्रालो यात्रामा रहेको आशंकाले थप बल प्राप्त गर्यो। क्षणिक ताली पाउने प्रयासले दल र नेतालाई तत्कालीन रुपमा त फाइदा नै होला। तर, त्यसले राजनीति थप विकृत बनाउने छ।
प्रधानमन्त्री शेरबहादुर देउवामा देखिएको अत्यास, एमाले अध्यक्ष ओलीले देखाएको छुद्रता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धम्की र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको लघुताभासले के संकेत गर्छ? निर्वाचनपछिको राजनीतिक कोर्समा यसको असर हुन्छ? चुनावी प्रचारका क्रममा दलका शीर्ष नेताले दिएका अभिव्यक्ति र त्यसको अन्तर्यको खोजीमा यो सामग्री केन्द्रित छ।
संविधानको कल्पनाबाहिर देउवा अभिव्यक्ति
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा छोटो भाषण गर्ने राजनीतिज्ञमा पर्छन्। तर उनका भाषणमा आक्रोश, रिस, आवेग प्रशस्तै हुन्छ। बेलाबेला उनी तथ्यभन्दा बाहिर रहेर बोल्ने गर्छन्। यसपटकका चुनावी सभामा भने देउवाको भाषणमा आक्रोश, रिस र आवेगभन्दा पनि अत्यास बढी देखियो। खासगरी सत्ता गठबन्धनको चुनावी तालमेल असफल हुने जोखिम कम गर्ने प्रयास देउवाले गरे। त्यही प्रयासमा उनी आफ्नै कार्यकर्ता माथि रुखो सुनिए। चितवनमा बागी उम्मेदवारी दिएकाहरुतर्फ संकेत गर्दै उनले भनेका थिए, 'हिजो बीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्नेहरु आज गठबन्धनका विरुद्धमा लागेका छन्। हामीलाई थाहा छैन र!'
-1649321361.jpg?p=768&s=dd4e17a075aece031ac9c6d49b27ee59)
गठबन्धनका दलका नेताहरुको तारिफ गरेर आफ्ना कार्यकर्तामाथि रुखो सुनिएका देउवालाई कतै २०७४ सालमा खानुपरेको धोकाको पुनरावृत्ति हुने डर देखिन्छ। २०७४ सालको स्थानीय निर्वाचनमा स्थानीय तहको निर्वाचनमा सत्तासाझेदार नेकपा माओवादी केन्द्रसँग कांग्रेसले केही तहहरुमा तालमेल गरेको थियो। तर तालमेल सफल हुन सकेन। सोही कारण माओवादी कांग्रेसको साथ छाडेर एमालेसँग मिल्न पुगेको थियो। एमाले र माओवादी मिल्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसले लज्जास्पद हार व्यहोरेको थियो।
पार्टी र मुलुक आफैंले नेतृत्व गरिरहेको बेला भोग्नुपरेको त्यो असफलता देउवाले भुलेका छैनन्। पार्टी पराजयको अपजसको भारी बिसाउन यसपटक गठबन्धन सफल बनाउने, गठबन्धनलाई निरन्तरता दिएर संघीय निर्वाचनसम्म पुग्दा पार्टीलाई पहिलो बनाउने योजनामा देउवा छन्। आफ्नो योजना देउवाले बेलाबखत सार्वजिनिक रुपमै व्यक्त गरिरहेका छन्। सोही कारण उनी गठबन्धनमा आवद्ध दलहरुलाई चिढ्याउन चाहँदैनन् र प्रसंशा गरिरहेका छन्। वैशाख २२ गते चितवनको भरतपुरमा आयोजित चुनावी सभामा बोल्दै देउवाले भनेका थिए, 'मलाई गठबन्धनले नै प्रधानमन्त्री बनाएको हो। प्रधानमन्त्री भएपछि नै ८४ प्रतिशत सहित म पार्टीको सभापित बनेको हुँ।' त्यसो त उनले माओवादी अध्यक्ष दाहाललाई सबैभन्दा सहज नेताका रुपमा समेत चित्रित गर्न भ्याएका थिए।
असन्तुष्ट कार्यकर्ताप्रति कडा चेतवनी दिँदै देउवा गठबन्धनका दल र नेताको तारिफमा मात्र केन्द्रित छैनन्, एमाले र ओलीको आलोचना पनि गर्दै आएका छन्। आफू प्रधानमन्त्री बन्नुअघि देउवा ओलीको आलोचनामा खासै समय खर्च गर्दैनथे। ओली प्रधानमन्त्री हुँदा दुई पटक प्रतिनिधिसभा विघटनको असफल प्रयासलाई देउवाले पछिल्लो समय आलोचनाको विषय बनाउन थालेका छन्। उनले वैशाख २४ गते बुटवल पुगेर भनेका थिए, 'विरोध गर्नकै लागि प्रजातन्त्र हो। अरूले प्रतिपक्षले विरोध गरिहाले संसद भंग गरिदिने? अहिलेको संविधानले रहरका आधारमा, लहडका आधारमा जथाभावी संसद भंग गर्नै पाउँदैन। ओलीजी पार्लियामेन्ट चल्न नि नदिने, भंग गरेको गर्यै गर्ने, उहाँको पार्टीलाई जिताएर के गर्ने?’
देउवाले हरेक सभामा ओलीले प्रतिनिधिसभा विघटनको प्रयास गरेको स्मरण गर्छन्। तर सोमबार भनेर उनी यस्तै टिप्पणी गर्दा चिप्लिए। उनले संविधानको व्यवस्थासमेत ख्याल नगरी अभिव्यक्ति दिए। प्रधानमन्त्रीको पदमा बसेका नेताले त्यो संविधानले कल्पना नै नगरेको विषयमा बोल्नु शोभनीय होइन। सोमबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले ओलीले जिते स्थानीय तह नै भंग गरिदिन सक्ने बताए।
ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेको सम्झिँदै देउवाले भनेका थिए, 'हामीले जित्यौं भने संसद् भंग गर्दैनौं। विकास निर्माण गर्छौं। ओलीले त भोलि स्थानीय सरकारलाई भंग गरिदिन सक्छन्। प्रदेश भंग गरिदिन्छु भनेकै थिए।' संविधानले भने स्थानीय सरकार भंग हुने कल्पना गरेको छैन।
देउवाले निर्वाचनको पूर्वसन्ध्यामा ओलीका असंवैधानिक कामको स्मरण गराउँदै अस्थिरतावादी र विघटनकारी चित्रित गर्दै आफ्नो पक्षमा भोट तान्ने प्रयास गरेको देखिन्छ। वर्तमान निर्वाचन प्रणाली अनुसार कुनै एक दलको बहुमत आउने सम्भावना नरहेका विषयलाई देउवा बराम्बार दोहोर्याइरहन्छन्। चुनावअघि भएपनि चुनावपछि भएपनि गठबन्धनका आवश्यक रहेकाले गठबन्धन बलियो बनाउने ध्याउन्नमा देउवा देखिएका छन्।
ओलीका छुद्र भाषण
एमाले अध्यक्ष ओलीका चुनावी भाषण गालीगलौज र छुद्रतामा केन्द्रित रहे। उनले चुनावीसभालाई सत्ता गठबन्धनका दलहरु माथि तिखो प्रहार गरेर मतदाता आफ्नो पक्षमा पार्ने कोसिस गरे। खासगरी कांग्रेसको घोषणाप्रति उनको आक्रोश देखियो। उनले कांग्रेसको घोषणापत्रलाई 'पागलहरुको प्रलाप'का रुपमा चित्रित गरे। यस्तै नेकपा फुटेर पूर्ववत् अवस्थामा फर्किएको माओवादी केन्द्र र एमालेबाट टुक्रिएर बनेको नेकपा (एकीकृत समाजवादी) र ती दुई दलका शीर्ष नेतामाथि उनले छुद्र टिप्पणी गरिरहेका छन्। माओवादी र नेकपा एससँग कांग्रेसको गठबन्धनप्रति पनि ओलीले प्रहार गर्ने गरेका छन्।

वैशाख २४ मा विराटनगर पुगेका ओलीले कांग्रेसबारे भनेका थिए, 'कांग्रेस किन यति धेरै कमजोर बनिरहेको छ। यस्तै अवस्था हो भने वैशाख ३० गतेको स्थानीय तह निर्वाचनपछि गठबन्धनको टाइँटाइँ फिस हुनेछ। कांग्रेस पनि धरातलमा आउनेछ।'
चितवनमा पुगेर ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्री रेणु दाहालको उम्मेदवारी र कांग्रेसको सहयोगलाई लिएर तिखो प्रहार गरेका थिए। ‘कांग्रेसका नेता/कार्यकर्ताप्रति सहानुभूति छ। कसरी मन थामेका होलान्। प्रचण्डकी छोरी जिताउनुपर्ने। जिन्दगीभर कांग्रेस भनेर हिँडेका साथीहरू हेर्नुस् त पोहोर पनि ढाट्यौं यसपालि पनि ढाट्यौं गीतजस्तै,' उनले भनेका थिए, 'पहिले पनि उनैलाई जिताए। अहिले पनि उनै। उनलाई जिताए प्रचण्ड खुसी र उत्साहित हुनुहुन्छ रे। २० वर्ष गठबन्धन रहन्छ रे। कांग्रेसका कार्यकर्ताको हालत! २० वर्ष छोरी बोक, त्यसपछि ज्वाइँ, भाइ बोक, भतिजा बोक।'
माओवादी केन्द्रप्रति पनि ओली तिखो प्रहार गर्छन्। माओवादी शान्ति प्रक्रियामा आएदेखि नै ओली माओवादीप्रति आक्रामक देखिन्थे। नेकपा विभाजन भएपछि उनको त्यो क्रममा अझ पाइन लागेको छ। 'जुकाजसरी यसको जिउमा टाँसिदा रगत पिउन पाइन्छ कि भनेर कहिले कांग्रेसँग मिल्छ, कहिले एमालेसँग। अहिले चाहिँ छोरीलाई भोट नमिल्ने भएकाले एमालेसँग टाँस्सिन आइहाल्न सकेको छैन,' उनले सोमबार ललितपुरमा भनेका थिए, 'माओवादीलाई किन चाहियो घोषणापत्र? अरुको घरमा पाहुना लाग्ने बानी परेकाले आफ्नो घरमा किचन बनाइरहनुपर्छ र? कहिले यसको घरमा गएर खायो, कहिले त्यसको घरमा। आधाभन्दा बढी कार्यकर्ता एमालेमा आइसके। अलिअलि बाँकी भएका पनि आउँछन्। माओवादी केन्द्र अब सुराहीको बिर्कोजस्तो मात्रै भयो। भित्र रित्तो छ।’
ओली नेकपा एसका अध्यक्ष माधवकुमार नेपालप्रति झन बढी आक्रमक सुनिन्छन्। वैशाख २३ गते नेपालको गृहजिल्ला रौतहट पुगेर ओलीले नेपाललाई कुलांगारको संज्ञा दिएका थिए। नेपाल आफ्नै पार्टी सिध्याउने कुलांगार भएको ओलीको आरोप थियो। त्यसअघि चितवनमा नेपालले एमालेलाई कुहिएको फर्सीको संज्ञा दिएका थिए। जवाफमा ओलीको प्रत्युत्तर थियो, 'माधव नेपालले एमाले भनेको कुहिएको फर्सी हो भने। एमाले कुहिएको फर्सी होइन, माधव नेपाल कुहिएको फर्सी हो।'
ओलीले ज्योतिषशास्त्रको हवला दिँदै गठबन्धनमाथि मनोवैज्ञानिक त्राससमेत सिर्जना गर्ने प्रयत्न गरिरहेका छन्। ‘प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाजी ज्योतिषमा असाध्यै विश्वास गर्नुहुन्छ। त्यसैले जेठको महिना कस्तो छ, असारको महिना कस्तो छ? मैले दिन नै तोकिदिएको छु, असार १७, कस्ता-कस्ता ग्रह, दशा, नक्षत्रहरू कहाँ छन्, एकपल्ट ज्योतिषीलाई बोलाएर हेर्न लगाउनुस्,’ देउवालाई ओलीले त्रास देखाएका छन्।
राजनीतिक विश्लेषक भने भाषणमा देखिने ओलीको छुद्रता पराजित मानसिकताको पराकाष्ठा भएको टिप्पणी गर्छन्। 'ओलीले कांग्रेस र गठबन्धनमाथि विगत केही सातादेखि तिखो प्रहार गर्दै आउनुभएको छ। गठबन्धन कायम रहँदा आफू पराजित हुने र गठबन्धन विजयी हुने देख्नुभएको छ। सोही कारण उहाँ हतोत्साही र आतंकित भएको देखिन्छ,' विश्लेषक गेजा शर्मा वाग्ले भन्छन्, 'उहाँको टिप्पणी पराजित मनासिकताको द्योतक हो।'
प्रचण्डको धम्की र नेपालको लघुताभास
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावीसभामा मतदाता र दलका नेताहरूलाई समेत धम्की दिन प्रयोग गरेका छन्। गठबन्धनका पक्षमा मत नदिए गठबन्धन तोडिन सक्ने त्रास समेत उनले देखाउँदै आएका छन्।
-1650279612.jpg?p=768&s=43f0241933fb1b3b92ef2c40ffe4d4ad)
'यो गठबन्धन राष्ट्रको आवश्यकता हो। यो गठबन्धन गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो। देशको जनताको समृद्धि र विकासको आवश्यकता हो भन्ने नबुझेर हालिँदैन हसियाँ हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,’ भरतपुरको सभामा प्रचण्डले भनेका थिए। कांग्रेसीले रेणुलगायत आफ्नो दलका उम्मेदवारलाई भोट नदिए एमालेसँग मिल्न सक्ने पनि चेतावनी पनि दिन भ्याए। ‘कतिपय बेला एमालेका कतिपय साथीहरु होइन हामी नै मिलौँ भन्न आउँछन् आजभोलि। म राजनीतिक दलहरुको फैसला हेर्न चाहन्छु। जनताको फैसला के हुन्छ, त्यसलाई शिरोपर गरेर अगाडि बढ्छ,’ उनले भनेका थिए।
त्यसो त प्रचण्ड गठबन्धनका बारेमा पनि चर्को सुनिने गर्छन्। सोमबार कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा आइतबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले कांग्रेसप्रति आशंका गर्दै अझै गठबन्धन ‘क्लियर’ नभएको बताएका थिए। ‘नेपाली कांग्रेसको एक जना स्थानीय नेतासँग पनि मेरो कुरा भयो। शेरबहादुर देउवासँग कुरा गरेर कांग्रेसले जसरी उम्मेदवारी दिएको छ, त्यो खारेज नहुने हो भने हामी एक्लै चुनाव लड्नुपर्छ। हाम्रा लागि बेइमानी र षड्यन्त्र स्वीकार्य छैन,’ प्रचण्डले भनेका थिए।
नेपाली राजनीतिका अस्थिर पात्रको छवि बनाएका प्रचण्ड बेलाबेला धम्की र चेतावनीको भाषा बोल्छन्। र राजनीतिक कार्ड फालेर कित्ता परिवर्तन गरिरहन्छन्। राजनीतिक गणितको जोडघटाउ गरेर फाइदा हुने अवस्थामा उनी राजनीतिक ध्रुव परिवर्तन गरिरहन्छन्। र स्थानीय निर्वाचनमा सफलता हात नपरे अर्को फड्को हान्नुपर्ने जोखिमलाई हेरेर प्रचण्डले धम्की र चेतावनीको भाषा बोलिरहेको बुझ्न कठिन छैन। ‘अहिले पनि गठबन्धन कुनै पनि हिसाबले टुट्नसक्ने डरले पनि त्यस्ता अभिव्यक्ति दिइरहेको देखिन्छ। प्रचण्डका शब्दहरु हेर्ने हो भने आफ्नै गठबन्धनभित्रका मान्छेलाई विश्वस्त पार्न नसकेको देखिन्छ,’ राजनीतिक विश्लेषक राजेन्द्र महर्जन भन्छन्, ‘उहाँको जहिले पनि एउटा खुट्टा भुइँमा हुन्छ भने अर्को चाहिँ अन्तै टेक्न तयार भएर बसेजस्तो हुन्छ।’
विश्लेषक वाग्ले प्रचण्डले मतदाताई धम्काएर गठबन्धन ब्रेक हुने चेतावनीसहित कांग्रेसको मत तान्ने कोशिस गरेको बताउँछन्। 'प्रचण्डले मतदाता धम्काएकै हो। उनले खासगरी कांग्रेसले भोट हालेनौं भने माओवादी पराजित हुन्छ र गठबन्धन ब्रेक हुन्छ भनेर धम्काएर कांग्रेसको भोट तान्न खोजेको देखिन्छ,' वाग्लेले भने, 'प्रचण्ड विश्वसनीय मान्छे होइन। पहिले कांग्रेससँगको सहकार्य छाडेर बाम गठबन्धन गरेर चुनावमा गए। फेरी कांग्रेससँगै मिल्न आएका छन्। उनी अवश्विसनीय र अवसरवादी पात्रका रुपमा देखिन्छन्। उनको आम चरित्र नै त्यही हो। भरतपुरमा उनले दिएको अभिव्यक्ति र विगत केही दिनका अभिव्यक्तिलाई विश्लेषण गर्दा उनको आम चरित्रको पुष्टि भएको देखिन्छ।'
नेकपा एसका अध्यक्ष नेपाल एमाले अध्यक्ष ओलीप्रति आक्रमक सुनिँदै आएका छन्। हरेक चुनावीसभामा उनले ओलीको आलोचना गर्ने गरेका छन्। आइतबार पोखरामा आयोजित चुनावीसभामा उनले भनेका थिए, 'ओली व्यक्तिवादी व्यक्ति हुन्। उनले आफूबाहेक अरु कसैलाई पनि दुई कौडीको महत्त्व दिँदैनन्। अपमान गर्दै हिँड्छन्। कुसंस्कार बोकेर हिँडेका छन्,' उनले भनेका थिए, ‘व्यक्तिवादी र अरुलाई होच्याउने, अपमान गर्ने र कुसंस्कार बोकेका व्यक्तिले अगुवाइ गरेको पार्टी गतिलो हुने कुरै छैन। त्यस्तो दक्षिणपन्थी प्रतिगामी शक्तिविरुद्ध हामीले गठबन्धन कायम गरेर अत्यन्तै सही निर्णय लिएका छौँ।’
त्यसअघि चितवनमा उनले एमालेलाई कुहिएको फर्सीको संज्ञा दिएका थिए। त्यसो त नेपाल गठबन्धनप्रति नै संशय व्यक्त गरिरहन्छन्। वैशाख २३ गते काठमाडौंमा आयोजित चुनावीसभामा उनले गठबन्धनप्रति शंसय व्यक्त गर्दै भनेका थिए, 'अहिले पनि कतिपयलाई लाग्न सक्छ, एक्लै गरेर देखाउन सक्छौं। तर यो भ्रमबाट मुक्त हुन आवश्यक छ।'
त्यसो त उनले सार्वजनिक रुपमै गठबन्धनभित्र नेकपा एसको अवमूल्यन भएको बताउँदै आएका छन्। चुनावीसभाका मन्चमा मात्रै होइन् मिडियामा उनले गर्ने गुनासो पनि उही नै छ। 'थोरै ठाउँमा मात्रै गठबन्धनका उम्मेदवार सहमतिका आधारमा उठेका छन्। कतिपय ठाउँमा हाम्रो अवमूल्यन गरिएको छ,' उनले एक अन्तर्वार्तामा भनेका छन्, 'हामीलाई उपयोग गर्ने सोच पनि होला । यसले हाम्रो चित्त दुःखेको छ, नराम्रो लागेको छ। तर चित्त दुखाएर बस्ने बेला होइन। हामीले काम गरेर जनताको मन र विश्वास जित्नुछ।'
नेपालको पार्टी जन्मिएको एक बर्ष पनि पुगेको छैन्। गत भदौमा नेपाल नेतृत्वको नेकपा एस जन्मिएको हो। यसअर्थमा उनको दल पहिलो पटक जनतामा परीक्षण हुँदैछ। यस्तो अवस्थामा नेपालले गठबन्धनको बलियो साथ खोजेका पनि छन्। तर भागवण्डामा उनको चित्त बुझेको छैन। भागवण्डा पाएको ठाउँमा आफ्ना उम्मेदवार जिताउन कांग्रेस माओवादीका मतदातालाई रिझ्याउनुपर्नेमा नेपाल लघुताभासमा रुमलिएको देखिन्छ।
विश्लेषक वाग्ले अहिले गठबन्धनका प्रति कांग्रेस र देउवा प्रतिवद्ध देखिएकोले प्रचण्ड र नेपालले मनोवैज्ञानिक शोषण गरिरहेको टिप्पणी गर्छन्। 'गठबन्धनमा इमान्दार कांग्रेस देखिन्छ। संविधान र लोकतन्त्रका लागि यो गठबन्धन बनेको हो। एकल चुनाव जाँदा फाइदा कांग्रेसलाई हुन्थ्यो। अहिले प्रचण्ड र माधव नेपालको पार्टीले कांग्रेसकै भोटले जित्नुपर्ने अवस्था छ। प्रधानमन्त्री गठबन्धनप्रति प्रतिबद्ध हुनुहुन्छ,' वाग्ले भन्छन्, 'सोही कारण कांग्रेस र प्रधानमन्त्रीको राजनीतिक र मनोवैज्ञानिक शोषण चाहिँ माधव प्रचण्डले गरिरहेका छन्। कांग्रेसकै भोटले जित्नुपर्ने पार्टीले कांग्रेसलाई नै धम्काउनु भनेको राजनीतिक कृतघ्नताको पराकाष्ठा हो।'
के राजनीतिक कोर्स परिवर्तनको संकेत देखिन्छ?
गठबन्धनभित्रको असन्तुष्टिसँगै प्रचण्डकी धम्की र ओलीका अभिव्यक्तिले चुनावपछि राजनीतिक कोर्स परिवर्तनको संकेत गर्छ त? विश्लेषक वाग्ले यसमा स्थानीय तह निर्वाचनको मतपरिणाले धेरै अर्थ राख्ने टिप्पणी गर्छन्। अस्थिर र अविश्वसनीय चरित्र भएका प्रचण्ड कसरी अघि बढ्छन् त्यसले आगामी राजनीतिक कोर्सको दशा र दिशा तय गर्नेछ। तर प्रचण्डसँग अब नयाँ कोर्समा अघि बढ्ने स्वभाविक र प्राकृतिक विकल्प भने बाँकी छैन।
-1639905987.jpg?p=768&s=4df223ac834d1acb8ac00adf16f5dc8a)
'स्थानीय निर्वाचनको परिणामपछि मात्रै राजनीतिक कोर्स कसरी अघि बढ्छ भन्न सकिन्छ। निर्वाचन परिणामपछि प्रचण्ड कसरी अघि बढ्छन् त्यसले निर्भर गर्छ। तर उनीसँग अब स्वभाविक र प्राकृतिक विकल्प छैन,' उनी भन्छन्, 'यो गठबन्धन नै लोकतन्त्रको रक्षाका लागि बनेको हो। लोकतन्त्र र संविधानको भविष्य यही गठबन्धनले सुरक्षित गर्ने हो। र स्थानीय निर्वाचनको मनोवैज्ञानिक प्रभाव त गठबन्धनमा पर्ला। तैपनि गठबन्धन नै ब्रेक हुने अवस्था सिर्जना हुँदैन भन्ने लाग्छ।'
तर निर्वाचन परिणामको मनोवैज्ञानिक असर गठबन्धनमा मात्रै देखिने छैन। त्यो एमालेमा पनि देखिन सक्नेछ। स्थानीय तहको मत परिणाम पछि ओलीले गठबन्धन भत्काउने प्रयत्न गर्न सक्नेछन्। त्यसको संकेत ज्योतिष शास्त्रको नाममा उनले असार १७ लाई देखाएका छन्। 'ओलीले स्थानीय परिणाम आएपछि गठबन्धन टुटाउने अन्तिम प्रयास गर्न सक्छन्। त्यो अवस्थामा प्रचण्ड र माधव नेपालले के गर्छन्? अहिले नै भन्न सकिन्नँ,' वाग्ले भन्छन्।