सोमबार, असोज १७, २०७९

'पहिलो दल' बन्ने कांग्रेस दाबीका यस्ता ५ कारण

तीर्थराज बस्नेत  |  काठमाडौं, बिहीबार, चैत ३, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बिहीबार, चैत ३, २०७८, काठमाडौं

नेपाल समय
कांग्रेस केन्द्रीय समिति बैठक।

काठमाडौं- वैशाख ३० गते हुने स्थानीय निर्वाचन नजिकिएसँगै दलहरूमा चुनावी चटारो बढेको छ। सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरू ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान लिएर एक महिनाका लागि गाउँ पुग्ने क्रम सुरु भएको छ। 

गाउँ पुगेका कांग्रेसका नेताहरूको तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो शक्ति बन्ने दाबी गरिरहेका छन्। केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्मले भाषणमा अक्सर यो दाबी गर्न छुटाउँदैनन्। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यसअघिदेखि नै कांग्रेसले शानदार ढंगले चुनाव जितेर ५ वर्ष सरकार चलाउने दावी गर्दै आएका छन्।

केही दिन अघि चितवन पुगेका महामन्त्री थापाले भनेका थिए, ‘देशभरबाट ४५ लाख मत ल्याउन कांग्रेसलाई अरुको सहारा लिनुपर्छ भन्ने लाग्दैन।’ मंगलबार मात्रै संखुवासभा पुगेर अर्का महामन्त्री शर्माले पनि बहुमत ल्याउने दाबी दोहोर्‍याए।

उनले भनेका थिए, ‘कांग्रेस आफैं सरकारमा रहेर निर्वाचन गराउँदा (२०४८, ०५१, ०५६ सालमा) बहुमत ल्याएको थियो। ०७० मा पहिलो र ०६४ र ०७४ मा दोस्रो पार्टी बनेको थियो। दोस्रो पार्टी हुँदा पनि जनताको पक्षमा काम गर्ने पार्टी कांग्रेस नै रहेछ भनेर जनताले बुझिसकेकाले आगामी निर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गर्नेमा शंका छैन।’ महामन्त्रीद्वय मात्रै होइन, कांग्रेसका शीर्ष नेताको पनि यस्तै दाबी निरन्तर गर्दै आएका छन्। 

सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेललगायतका नेताहरू गठबन्धन कायमै राखेर जानुपर्ने पक्षमा अभिव्यक्ति दिइरहेका छन्। गत महाधिवेशनमा देउवासँग सभापतिमा भिडेका डा. शेखर कोइराला, महामन्त्रीद्वयलगायतका नेताहरू भने निर्वाचनमा जाँदा गठबन्धनको भारी बिसाउनुपर्ने पक्षको वकालत गरिरहेका छन्।

कांग्रेसले चार दलीय गठबन्धन सरकार सञ्चालन गरिरहेकाले गठबन्धन गर्नुपर्ने सत्ता साझेदारको दबाब पनि कांग्रेसलाई छ। यद्यपि चुनावी तालमेल वा नगर्ने विषयमा हाल चलिरहेको अभियान सकिएपछि तल्लो तहका कार्यकर्ताको भावनाअनुसार निर्णय गरिने कांग्रेसले बताउने गरेको छ। 

गठबन्धन गर्ने वा नगर्ने विषय नै नटुंगिएको अवस्थामा कांग्रेसको बहुमत आउने दाबी चाहिँ नेताहरूले किन र कसरी गरिरहेका छन् त? कार्यकर्ताको मनोबल बढाउन र चुनावी माहौल बनाउन कांग्रेसले तल्लो तहका कार्यकर्ताको भावनाअनुसार निर्णय गर्ने बताइरहेको छ। निर्वाचनअघि आफ्नो दल अझ ठूलो बन्ने कुरा नेताहरूले दाबी गर्नु नयाँ रणनीति होइन। कार्यकर्ताको मनोबल उच्च बनाएर र चुनावी माहौल आफ्नो पक्षमा बनाउन यस्ता 'टुल' प्रयोग गरिन्छ। 

राजनीतिक अध्येता शंकर तिवारीका अनुसार कम्युनिस्ट पार्टीको विभाजन, कांग्रेसभित्रको पछिल्लो एकता र पार्टीको निर्णय प्रभावित गर्ने स्थानमा युवा सहभागिताका कारण कांग्रेस नेतालाई त्यस्तो दाबी गर्न सहज भएको हो। जनताको भावना समेट्ने नीति, योजना र कार्यक्रम लिएर जान सके बहुमत ल्याउन कांग्रेसका लागि असम्भव नभएको उनको भनाइ छ। कांग्रेस ठूलो दल बन्ने नेताको दाबीका पछाडि मुख्यतया पाँच कारण देखिएका छन्।

पहिलो कारणः नयाँ मतदाता आकर्षित गर्ने

कांग्रेसले तीनै तहको निर्वाचनमा नयाँ मतदाता आफू तिर तान्ने प्रयास गर्ने भएको छ। नयाँ मतदाता आफूतिर आकर्षित गर्न सके चुनाव जित्न सकिने विश्लेषण कांग्रेसको छ। 

पहिलो पटक मतदान गर्ने युवाको भोट तान्न सबै दलले गर्नेछन्। मंसिरमा सम्पन्न पार्टीको १४औं महाधिवेशनबाट नेतृत्व तहमा युवाको सहभागिता बढेकाले नयाँ मतदाता आफूतर्फ आकर्षित गर्न सक्ने बुझाइ एकथरी नेताको छ। तर, त्यसका लागि नयाँ पुस्ताको भावना समेट्ने गरी नीति कार्यक्रम ल्याउनुपर्ने उनीहरुको तर्क छ। 

‘पार्टीको नेतृत्व तहमा युवा पुगेका छन्। अपेक्षा गरिएका नेता पार्टी पदाधिकारी बनेका छन्। त्यसले नयाँ पुस्तालाई आकर्षित गर्छ,’ तिवारी भन्छन्, ‘अहिले सामाजिक संजालमा गगन, विश्वप्रकाश र धनराजहरूको 'ग्र्याभिटी' बढी छ। तर नयाँ पुस्ताको भावना र सपनालाई सम्बोधन गर्ने गरी एजेन्डा लिएर जान आवश्यक छ।’ 

शंकर तिवारी

निर्वाचन आयोगका अनुसार यसपटक ३५ लाख नयाँ मतदाता थपिएका छन्। ‘अघिल्लो निर्वाचनमा एक करोड ४० लाख ७२ हजार मतदाता थिए। अहिले दाबी विरोध नभएको अवस्थामा १ करोड ७८ लाख मतदाता पुगेका छन्,’ आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने, ‘त्यसमा मृत्यु भएकाको संख्या घटाउँदा १ करोड ७६ लाख मतदाता हुने अनुमान छ। चैतको दोस्रो हप्तासम्म यकिन तथ्यांक सार्वजनिक गर्छौं।’ 

थपिएका ३५ लाख मतदातामा कांग्रेसका आँखा पुगेका छन्। ‘नयाँ मतदातालाई कन्भिन्स गर्ने प्रयत्न हामी गर्छौं। किनकी हामी प्रतिपक्षमा हुँदा होस् वा सरकारमा रहँदा एउटै कुरा गर्छौं। बोलीको टुंगो भएको दल रोज्न अभिप्रेरित गर्ने हो। युवाको सपना पूरा गर्न कांग्रेस सक्षम छ भनेर भरोसा दिलाउने हो,’ महामन्त्री विश्वप्रकाश शर्मा भन्छन्, ‘एमसीसी जस्ता परियोजना ल्याएर रोजगारीको अवसर सिर्जना गर्छौं। देशको ढुकुटी बलियो बनाएर आर्थिक समृद्धिको सपना पूरा गर्न हामी सक्छौं भनेर बुझाउने प्रयास हाम्रो रहन्छ।'

कांग्रेस सरकारले विगतमा गरेका काम र भविष्यका एजेन्डा हेरेर मतदाता 'कन्भिन्स' गर्ने उनको भनाइ छ। एक महिले अभियानबाट नै यो काम सुरु भएको उनले बताए।  

दोस्रो कारणः कम्युनिस्टमा फुट, कांग्रेस एकजुट 
प्रायः आन्तरिक विवादमा रुमलिइरहने कांग्रेसमा अहिले आन्तरिक एकता देखिएको छ। चुनावको मुखमा दल एकजुट हुँदा कांग्रेसका नेता उत्साहित छन्। पार्टीको आन्तरिक एकता बलियो हुनु र कम्युनिस्ट पार्टी विभाजित हुनुले पनि नेतालाई बहुमत ल्याउने दाबी प्रस्तुत गर्नमा हौस्याएको छ। 

२०७४ को स्थानीय तहमा केही स्थानमा कांग्रेस र माओवादी मिलेर निर्वाचन लडेका थिए। तर, कांग्रेस–माओवादीको गठबन्धन सफल भने भएको थिएन।

गत प्रतिनिधि सभा/प्रदेश सभा निर्वाचनमा मतदान हुँदै। तस्बिर : बीबीसी

पछि प्रतिनिधि सभामा कांग्रेस वाम गठबन्धनविरुद्ध चुनावमा गएको थियो। वाम गठबन्धनको जगमा बनेको नेकपा विभाजित भएर पुरानै अवस्था (एमाले र माओवादी) मा फर्किएको छ। अझ नेकपा एमाले समेत चोइटिएर नेकपा एकीकृत समाजवादी बनेको छ। यस्तो अवस्थामा निर्वाचन फेस गर्न सहज हुने र जित्न सकिने साझो आकलन कांग्रेसले गरिरहेको छ। 

कांग्रेस सामु दल एकजुट राख्न चुनौती पनि छ। महाधिवेशन गर्न नसकेर भंग गरिएका नेविसंघ, तरुण दल, महिला संघलगायतका भातृसंस्थाको तदर्थ समिति बनाउने विषयले कांग्रेसमा विवाद सिर्जना गर्न सक्छ। ती भातृसंस्थाको तदर्थ समिति बनाउँदा पार्टीभित्रका सबै समूहलाई समेटेर लैजानुपर्ने चुनौती सभापति देउवामाथि छ। भातृसंस्थाको तदर्थ समिति गठन गर्दा सन्तुलन बिग्रिएको अवस्थामा टिकट वितरणमा समेत समस्या पैदा हुन सक्छ। यस्तै अन्य दलसँगको तालमेलको विषयले पनि कांग्रेसमा मतभेद पैदा गर्न सक्छ। 

‘कांग्रेसले जित्ने मुख्य आधार चाहिँ कम्युनिस्टहरुका बीचमा एकता रहन सकेन, विभाजन भयो भन्ने कुरालाई प्रमुख विषय बनाइएको छ। अरु विभाजित भएर जित्ने कुरा भन्दा पनि आफू मजबुत भएर जित्ने कुरा महत्त्वपूर्ण हो। त्यसैले हामीले सैद्धान्तिक पक्षबाट आफूलाई प्रष्ट्याउन सक्नुपर्छ,’ नेता प्रदीप पौडेल भन्छन्, ‘कम्युनिस्ट विभाजनको लाभ पनि हामीले उठाउन सक्छौं।’ 

प्रदीप पौडेल।

महामन्त्री शर्मा पार्टीको महाधिवेशनपछि प्राप्त उर्जा र संगठनमा देखिएको एकता नै जितको प्रमुख आधार भएको बताउँछन्। ‘कांग्रेसको महाधिवेशनपछि पार्टीको संगठन सुदृढ भएको छ। आन्तरिक एकता छ। कम्युनिस्ट पार्टीहरु विभाजित छन्,’ शर्मा भन्छन्, ‘कांग्रेसभित्रको एकता र कम्युनिस्टको विभाजन कांग्रेसको निर्वाचन जित्ने आधार हो।’ 

तेस्रो कारणः न्यूट्रल र स्विङ भोट तान्ने प्रयास  
कांग्रेस नेताहरुले बहुमत ल्याउने दाबी गर्नु पछाडिको अर्को कारण हो– न्यूट्रल र स्विङ भोट तान्न सकिने विश्वास। निर्वाचन विज्ञानलाई हेर्ने हो भने तीन किसिमका मतदाता हुन्छन्। पहिलो–प्रतिबद्ध, दोस्रो–न्यूट्रल र तेस्रो– निर्वाचनको माहौल हेरेर स्विङ हुने मतदाता। प्रतिबद्ध मतदाता समयअनुसार फरक स्थानमा मत हाल्दैनन्।

नयाँ मदताता, न्यूट्रल र स्विङ भोटर माहोल अनुसार मत हाल्छन्। यस्ता मतदाता आकर्षित गर्न कांग्रेसले विगत पाँच वर्षको समीक्षा र तत्कालीन नेकपा नेतृत्वको सरकारको असफलतालाई भण्डाफोर गर्ने योजना अघि सारेको छ। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको निर्मम समीक्षा गर्ने र कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार गरेर न्युट्रल मतदाताको ध्यान खिच्ने प्रयासमा कांग्रेस छ। आगामी पाँच वर्ष तीन तहकै सरकारमा कांग्रेसले गर्ने कामको स्पष्ट मार्गचित्र लिएर जनता माझ जाने तयारीमा कांग्रेस छ।

चौथो कारणः अन्य दलका मतदाता तान्ने प्रयास 
विभाजित अवस्थामा रहेका कम्युनिस्ट पार्टी र तराई केन्द्रित दलका मतदाता आफूतर्फ तान्न सकिने विश्लेषण कांग्रेसले गरेको छ। खासगरी कम्युनिस्ट पार्टीकै निराश मतदाता आकर्षित गर्न सकिने बुझाइ कांग्रेसको छ।

अघिल्लो निर्वाचनमा बाँडिएका सपना नेकपा नेतृत्वको सरकारले पूरा गर्न नसकेको र पार्टी पनि विभाजित भएर तीन टुक्रा भएकाले कम्युनिस्ट पार्टीलाई मत दिएका मतदाता निराश रहेको बुझाइ कांग्रेसमा छ। त्यस्ता मतदाता आफू तर्फ तान्न सक्ने हो भने बहुमत ल्याउन सकिने निष्कर्ष कांग्रेसको छ। 

‘२०७४ सालमा मतदान गर्न लाइनमा उभिँदै गर्दा देखेका सपना र गरेको विश्वास कसले तोड्यो? कांग्रेसलाई त जनताले प्रतिपक्षमा बस्ने म्यान्डेड दिएको हो। हामी प्रतिपक्षमै थियौं,’ महामन्त्री शर्मा भन्छन्, ‘तर, हामी सरकारमा जानुपर्ने अवस्था आइलाग्यो। त्यो अवस्था कसका कारणले सिर्जना भएको हो? हामीले मुलुकको नेतृत्व सम्हालेपछि के–के गर्‍यौं र के गर्छौं भनेर हामी बुझाउनेछौं।’ 

२०७४ सालको मतपरिणामलाई हेर्ने हो भने समानुपातिकतर्फ कांग्रेस र एमालेबीच प्रतिस्पर्धा देखिन्छ। अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले ३१ लाख २८ लाख ३९८ समानुपातिक मत ल्याएको थियो। एमालेले एमालेले ३१ लाख ६३ हजार ४९८ मत ल्याउँदा माओवादीले १३ लाख ३ हजार ७२१ समानुपातिक मत पाएको थियो। यस्तो अवस्थामा नयाँ मतदाता, न्यूट्रल र स्विङ मत आफू आफू तर्फ आकर्षित गर्न सके समानुपातिक तर्फ करिब १४ लाख मत थप्न सकिने र ४५ लाख मत ल्याउन सकिने आकलन कांग्रेस नेताहरूको छ। 

पाचौँ कारणः प्रभावकारी एजेन्डा र चुस्त चुनावी रणनीति

कांग्रेसले यसपटक प्रभावकारी एजेन्डा र चुस्त चुनावी रणनीति बनाएर चुनावमा होमिने तयारी गरेको बताएको छ। फरक रणनीतिका साथ चुनावी प्रचार गर्ने उसले बताएको छ। 

‘यो निर्वाचनमा कांग्रेसले १० वर्षसम्मको दृष्टिकोण सार्वजनिक गर्नुपर्‍यो। प्राथमिकता, कार्ययोजनाको फेहरिस्त लिएर निर्वाचनमा जान सकियो भने कांग्रेसलाई विकासवादी पार्टीका रूपमा पनि स्वीकारेको अवस्था छ,’ नेता पौडेल भन्छन्, ‘कांग्रेस जे भन्छ, त्यो गर्छ भन्ने एउटा सन्देश पनि बाहिर गएको छ। त्यसैले हामीले राष्ट्रिय, अन्तर्राष्ट्रिय मित्रको सहयोगमा विकासका लागि सहयोग जुटाउन सक्ने स्थिति छ।’

उनी कांग्रेस अतिवादी नभएको र आफ्ना कमजोरी सच्चाउन तयार रहने विश्वास जनतालाई दिलाउने गरी अघि बढ्ने बताउँछन्। ‘हामी अतिवादी होइनौं। त्रुटी, कमजोरी महसुस गरेर सच्चाउन उदार भएर जान सक्छौं,’ उनी भन्छन्, ‘देशको नेतृत्व कांग्रेसले गर्छ भन्ने कुरालाई हामीले बारम्बार प्रमाणित गरिसकेका छौं। तर, राजनीतिले डेलिभर गर्न सक्दैन भन्ने जुन निराशा छ। त्यसलाई चिर्न कार्ययोजनालाई प्रष्ट ढंगले ल्याउन सक्नुपर्छ।’

कांग्रेस नेता शेखर कोइराला, महामन्त्री गगथ थापालगायत।

यस्तै, कांग्रेसले यसपटक चुनावी प्रचारका क्रममा ‘चार एम’को रणनीति अख्तियार गर्ने तयारी गरेको छ। मेसिन, मेकानिक, मेसेज र म्यासेन्जरको रणनीति अनुसार कांग्रेसले चुनावी प्रचार गर्नेछ। मेसिन भनेको संगठनमा ध्यान दिने भन्ने हो। मेकानिक (चुनावी रणनीति) पार्टीले गर्ने आन्तरिक सर्कुलर हो। तल्लो तहका हरेक कार्यकर्तालाई जिम्मेवारी दिने र टोल समिति गठन गरेर टोल केन्द्रित प्रचार गर्ने नीति कांग्रेसले लिएको छ।

त्यसका लागि कांग्रेसले ६ हजार ७४३ वडा समितिमा सर्कुलर जारी गरेर निर्वाचन केन्द्रीत रणनीति तर्जुमा गर्न सहज हुने गरी टोल कार्यसमितिले आफ्नो क्षेत्रभित्रका कांग्रेस सदस्यहरूको विवरण, दाताको विवरण, नयाँ मतदाताको अद्यावधिक विवरण टिप्न घरदैलोमा पुग्ने, समस्या सुन्ने, संवाद गर्नेलगायत काम गर्न निर्देशन दिएको छ। 

‘टोल कार्यसमितिका सदस्यलाई निश्चित घर (१० वटा घर) या मतदाता संख्या (५० मतदाता) बाँडफाँड गरी ती मतदातासँग नियमित भेटघाट गर्ने, दुःखसुखमा सामेल हुनेलगायतको जिम्मेवारी दिने,’ परिपत्रमा उल्लेख छ। 

म्यासेज भनेको निर्वाचनमा जाँदा के सन्देश दिने भन्ने हो। त्यसका लागि कांग्रेसले अघिल्लो सरकारका कमजोरीको भण्डाफोर गर्ने तयारी गरेको छ। राष्ट्रिय तथा स्थानीय मुद्दाबारे जानकारी दिने र त्यसका लागि प्रत्येक वडा/पालिकाले चुनावी घोषणा पत्र बनाउने तयारी कांग्रेसको छ। एमसीसीबारेका भ्रम निवारण गर्न कांग्रेसले पुस्तिका नै तयार गरेर देशभर जनता माझ लैजाँदैछ। त्यसमा एमसीसीबारे फैलाइएका भ्रम र यथार्थ समेटिएको छ। र मेसेन्जरकारुपमा पार्टीका नेताहरु रहनेछन्। 

चुनाव जित्ने दुई मुख्य र सहायक कारण छन् : महामन्त्री शर्मा

अहिलेको निर्वाचनमा बितेका ५ वर्षको समीक्षा हुनेछ। पाँच वर्षमा सरकारले के गर्यो? त्यसको समीक्षा चुनावमा हुन्छ। पाँच वर्षको समीक्षा गर्दैगर्दा कांग्रेसले चुनाव जित्ने मुख्य २ आधार छन्। 

कांग्रेसको महाधिवेशनपछि पार्टीको संगठन सुदृढ भएको छ। आन्तरिक एकता कायम छ, सँगै कम्युनिस्ट पार्टीहरु विभाजित अवस्थामा छन्। कांग्रेसभित्रको एकता र कम्युनिस्ट पार्टीहरुको विभाजन नै कांग्रेसको निर्वाचन जित्ने मुख्य आधार हो। 


दोस्रो आधार जनताले २०७४ सालमा मतदान गर्न लाइनमा उभिँदै गर्दा देखेका सपना र गरेको विश्वास कसले तोड्यो? कांग्रेसलाई त जनताले प्रतिपक्षमा बस्ने म्यान्डेड दिएको हो। हामी प्रतिपक्षमै थियौं। तर, हामी सरकारमा जानुपर्ने अवस्था आइलाग्यो, त्यो अवस्था कसका कारणले सिर्जना भएको हो? 

यो पाँच ५ र्षको अवधिमा दुई वटा सरकार बने। केपी शर्मा ओली नेतृत्वको सरकार दुई वटा कम्युनिस्ट पार्टीलाई पत्याएर जनताले दिएको मतमा आधारमा बनेको हो। 

अहिलेको सरकार कम्युनिस्ट पार्टीभित्रको झगडा र विभाजनका कारण विशेष अवस्थामा बनेको सरकार हो। तर, कुन सरकारले कसरी काम गर्‍यो भन्ने पनि महत्त्वपूर्ण हुन्छ। 

जनताले विश्वास गरेर मत दिएर बनाएको सरकारले कोरोना कालमा के गर्‍यो? जनताको जीवन रक्षा गर्न छाडेर हाँच्छ्यू गरे कोरोना उड्छ निर्वतमान सरकारका प्रधानमन्त्री ओलीले भन्या होइन? अमेरिकामा डोनाल्ड ट्रम्पले चुनाव किन हारे? केही त राम्रो काम गरेका थिए होलान्। तर, उनी जनताको जीवन रक्षा गर्ने कुरामा चुके। नेपालमा पनि ओली नेतृत्वको सरकारले के गर्यो? त्यो छर्लङ्गै छ। 

यो पाँच वर्ष र दुई सरकारको कुरा गर्ने हो भने पनि हामी चार कुराले हामी मजबुद छौं। अहिलेको सरकारको मुख्य जिम्मेवारी संविधानको रक्षा गर्ने थियो। संविधानको रक्षा गर्ने सन्दर्भमा सरकार सफल बनेको छ। दोस्रो, नागरिकको जीवन रक्षा र महामारी नियन्त्रण गर्ने जिम्मेवारी थियो। यो सरकार बन्ने वित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मै खोप, खोप र खोप भनेर प्रतिवद्धता जनाउनुभएको थियो। खोप अभियानलाई तिव्र बनाउने र हरेक नागरिकलाई खोप दिने कुरामा सरकार सफल भएको छ। 

तेस्रो, जनताको समृद्धिको सपना पूरा गर्ने सन्दर्भमा पनि यो सरकारले काम थालिसकेको छ। ओलीको पालामा संसद्‍मा दर्ता भएको एमसीसी परियोजना अहिलेको सरकारले अनुमोदन गराएको छ। यस्तै ठूला परियोजना ल्याएर मुलुकलाई समृद्धितर्फ डोहोर्‍याउने अभियान सुरु भइसकेको छ। 

चौथो, अब निर्वाचन मार्फत प्रणालीको रक्षा गर्नुपर्ने छ। त्यसका लागि पनि कांग्रेसको आवश्यकता छ भन्ने कुरा पुष्टि भइसकेको छ। यी चार कुरा हामी जनता माझ लैजान्छौं र बुझौउँछौं। 

यो निर्वाचनमा थपिने मतदातालाई बुझाउने प्रयत्न हामी गर्छौं। किनकि हामी प्रतिपक्षमा हुँदा होस् वा सरकारमा रहँदा एउटै कुरा गर्छौं। बोलीको टुंगो भएको दल रोज्न अभिप्रेरित गर्ने हो। युवाहरुको सपना पूरा गर्न कांग्रेस सक्षम छ भनेर भरोसा दिलाउने हो। देशको ढुकुटी बलियो बनाएर आर्थिक समृद्धिको सपना पूरा गर्न हामी सक्छौं भनेर बुझाउने प्रयास हाम्रो रहन्छ। कांग्रेस सरकारले विगतमा गरेका काम र भविष्यका एजेन्डा हेरेर मतदाता कन्भिन्स गर्ने हाम्रो प्रयास रहन्छ।


प्रकाशित: March 17, 2022 | 11:30:25 काठमाडौं, बिहीबार, चैत ३, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
राजनीति

दलहरुले समानुपाति उम्मेदवारको बन्दसूची सच्याउने समय सकियो

निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सहभागी हुने दलहरूलाई समानुपातिक नामावलीमा त्रुटि भए सच्याएर पेस गर्न आज (आइतबार) अपराह्न ५ बजेसम्मको समय दिएकोमा समय सकिएको हो।
नेपाल समय
राजनीति

प्रतिनिधिसभामा कुन क्षेत्रका उमेदवारले कति खर्च गर्न पाउँछन्? (सूचीसहित)

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा उमेदवारले गर्न पाउने खर्चको अधिकतम हद तोक्ने निर्णय गरेको छ।
नेपाल समय
राजनीति

प्रतिनिधि सभा सदस्यको टिकट पाउने निश्‍चित भएका कांग्रेस ३६ नेताहरु

कांग्रेस नेताहरुले भने समानुपातिक तर्फ को-को लाई उमेदवार बनाउने भ‍न्‍ने समेत टुंगो लगाउन सकेको छैन। समानुपातिकतर्फको सूचीमा सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाको समूहका बीचमा सहमति पनि जुटेको छैन्। समानुपातिक तर्फको नामलाई आइतबार अन्तिम टुंगो लगाउनुपर्ने छ।
नेपाल समय
राजनीति

कांग्रेसमा समानुपातिक सिट बाँडफाँट: शेखर कोइरालालाई २५ प्रतिशत, देउवालाई ठूलो भाग

समानुपातिकमा करिब २५ प्रतिशत हिस्सा शेखर समूहलाई दिइएपछि पार्टी सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलाई आफूले राखेको ७५ प्रतिशतभित्रै समेट्नेछन्।
नेपाल समय
राजनीति

देउवाले भने- राजनीतिमा सधैं एकैनास हुँदैन र गठबन्धनमा पनि दायाँबायाँ हुँदैन

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिमा सधैं एकनास नहुने बताएका छन्। उनले गठबन्धनलाई आगामी चुनावसम्म लगेर जाने र यसमा कुनै दायाँबायाँ नहुने पनि बताएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना