काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेतृहरूले संघको तदर्थ समितिको नेतृत्व छात्रालाई दिन माग गरेका छन्। यस्तो माग गर्दै नेविसंघका नेतृहरूले कांग्रेसका नेताहरुलाई ज्ञापनपत्र बुझाउन थालेका छन् ।
उनीरूले शुक्रबार पार्टीका पदाधिकारीहरूलाई ज्ञापनपत्र बुझाएका छन्। पार्टी महासमिति सदस्यसमेत रहेकी पूर्व केन्द्रीय सदस्य प्रेमिका रानाले नेविसंघको केन्द्रीय कार्यसमितिमा छात्रा नेतृत्व ल्याउन भन्दै ज्ञापनपत्र बुझाएको बताइन्।
‘ऐतिहासिक विरासत बोकेको पार्टी नेपाली समाजलाई रूपान्तरण गर्न सभापतिज्यूको नेतृत्वमा समावेशी कांग्रेस र समावेशी देश बनाउने एतिहासिक कार्य सम्पन्न भएको कुरा गौरवमय रूपले नेपाली इतिहासमा दर्ज भएको कसैबाट लुकेको छैन। हामी नेपाल विद्यार्थी संघका छात्राहरू पनि सभापतिको समावेशी कांग्रेस निर्माण गर्ने अभियान सफल पार्न नेविसंघ केन्द्रीय अध्यक्षको जिम्मेवारी बहन गर्न सक्षम छौँ र सो जिम्मेवारी प्रदान गरिदिन हुन अनुरोध गर्दछौँ,’ ज्ञापनपत्रमा भनिएको छ।