सोमबार, असोज १७, २०७९

गगनकै 'आइडिया'मा आइपुग्यो गठबन्धन

तीर्थराज बस्नेत  |  काठमाडौं, आइतबार, फागुन १५, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

आइतबार, फागुन १५, २०७८, काठमाडौं

नेपाल समय
कांग्रेस महामन्त्री गगन थापा।

काठमाडौं– संसद् सचिवालयमा दर्ता भएको ३२ महिनापछि एमसीसी सम्झौता गत आइतबार प्रतिनिधिसभामा टेबुल भयो। लामो समयको रस्साकस्सीपछि एमसीसी प्रतिनिधिसभामा टेबुल त भयो। सँगै संसद्भित्र र बाहिर विरोधसमेत चर्कियो।  

एमसीसीमाथि छलफल गर्न बोलाइएको प्रतिनिधिसभाको बैठक दुई पटक (फागुन १२ र १३) मा स्थगन हुन पुग्यो। सत्तारुढ गठबन्धन भत्कने अवस्था आइलागेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवा र उनी नेतृत्वको दल नेपाली कांग्रेस एमसीसी सम्झौता अनुमोदन गराउन सक्रिय रहे। तर, सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी अनुमोदन हुन नदिन लागिपरे। सत्ता गठबन्धनको यही दाउपेचले मुलुकको राजनीति तरल बन्न पुगेको थियो।  

तर, यो एक सातामा चुलिएको राजनीतिक खिचातानी अन्ततः मत्थर हुने विन्दुमा आइपुगेको छ। एमसीसीमा प्रश्न उठेका विषयमा ‘व्याख्यात्मक घोषणा’को पूरक प्रस्ताव सहित अनुमोदन गर्न माओवादी केन्द्र र नेकपा (एस) सहमत भएका छन्। सत्तारुढ गठबन्धनले एमसीसी संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको छ। गठबन्धनको यो निर्णयसँगै सडकदेखि सदनसम्मको विरोध त मत्थर हुने नै छ, सँगै सत्ता गठबन्धनको आयु पनि लम्बिएको छ। 

के हो गगनको ‘आइडिया’?

१० दिनअघि बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक एमसीसी संसद्मा टेबुल गर्ने कि नगर्ने भन्नेमा केन्द्रित थियो। प्रधानमन्त्री देउवा सहितका कांग्रेस नेताहरु एमसीसी टेबुल गर्नुपर्ने अडानमा थिए। तर, माओवादी र नेकपा (एस)का नेताहरु एमसीसी संसद्मा टेबुल गर्न नदिने अडानमा थिए। सोही बैठकमा कांग्रेस महामन्त्री गगनकुमार थापाले मध्यमार्गी प्रस्ताव अघि सारेका थिए। 

थापाले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउने सन्दर्भमा उठेका प्रश्नहरूको निवारणका लागि संसद्बाटै साझा संकल्प प्रस्ताव पारित गरेर जान सकिने नयाँ आइडिया गठबन्धनमा प्रवेश गराएका थिए। ‘जे जति प्रश्न उठेका छन्, त्यसलाई स्पष्ट पारौं। यदि भविष्यमा नेपालको हितविपरीत कुनै काम भएमा सम्झौता खारेज गर्न तत्पर छौं भनेर संकल्प प्रस्ताव पनि पारित गरौं,’ गगनले भनेका थिए, ‘यसो गर्दा सबैको सरोकार सम्बोधन हुन्छ।’ 

एमसीसीमाथि छलफल गर्न बोलाइएको प्रतिनिधिसभाको बैठक दुई पटक (फागुन १२ र १३) मा स्थगन हुन पुग्यो। सत्तारुढ गठबन्धन भत्कने अवस्था आइलागेको थियो।

तर, गठबन्धनका दलले गगनको प्रस्तावलाई गम्भीर रुपमा लिएनन्। बरु ‘चिज धेरै अघि बढेको’ टिप्पणी गरे। गगनको प्रस्ताव सुनेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भनेका थिए, ‘गगनजी! चीज त्योभन्दा धेरै अगाडि बढिसक्यो। अब संसद्मा एमसीसीको पक्षमा मत दिन सक्दैनौं।’

फागुन ५ को त्यो बैठकपछि बसेका गठबन्धनका अन्य बैठकमा गगनको त्यो प्रस्तावका बारेमा गम्भीर रुपमा कसैले छलफल गरेका थिएनन्। त्यही बीचमा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवाद थालेका थिए। कांग्रेस–एमालेको संवाद र प्रधानमन्त्री देउवाको अडानकै कारण सत्ता साझेदार दल गत आइतबार बिहान एमसीसी संसद्मा टेबुल गर्न दिन तयार भए। आइतबार दिउँसो १ बजे बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता प्रतिनिधिसभामा टेबुल गरे। 

कार्कीले एमसीसी टेबुल गरिरहँदा माओवादी केन्द्र र नेकपा (एस)का केही सांसदले उठेर विरोध जनाएका थिए। उता, दुवै दलका कार्यकर्ता सडकमा आन्दोलित थिए। फागुन ८ गते टेबुल गरिएको एमसीसी सम्झौताबारे सैद्धान्तिक छलफल गर्न १२ गतेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको थियो। सोही दिन बिहान प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भेट भएको थियो। दुई नेताबीचको भेटपछि गठबन्धन नै विसर्जनको डिलमा पुगेका थियो।

देउवाले प्रचण्डलाई भनेका थिए–एमसीसी अनुमोदन गर्न सघाउनुस्। गठबन्धन कायमै राखेर अघि बढौं। यदि सघाउनुहुन्न भने म प्रधानमन्त्रीबाट हट्नुपरे हट्छु, तर एमसीसी अनुमोदन गराएरै छाड्छु।’ देउवाको प्रस्ताव प्रचण्डले अस्वीकार गर्दै भनेका थिए– यथास्थितिमा एमसीसी अनुमोदन हुन हुँदैन। जबरजस्ती अनुमोदन गर्न खोजे विपक्षमा मत हाल्छौं। त्यसपछि हामी सरकारमा होइन, सडकमा हुनेछौं।’  

प्रचण्डको जवाफपछि झस्किएका देउवाले १२ गतेको प्रतिनिधिसभा बैठक एक दिन पर धकेल्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका थिए। देउवाकै आग्रहमा बैठक एक दिन पर धकेलिएको थियो। तर, प्रतिनिधिसभाको बैठक धकेलिनुमा प्रचण्डको जवाफ मात्रै कारक थिएन। एमसीसीमाथिको सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावमा मत विभाजन माग्ने र सरकारको प्रस्ताव अल्पमतमा पार्ने माओवादी तयारीको सूचना देउवाले पाएका थिए। जसका कारण प्रतिनिधिसभा स्थगित गर्न आग्रह गरेको देउवाले एमाले नेताहरुसँगको छलफलमा बताएका थिए। 

देउवाले प्रचण्डलाई भनेका थिए–एमसीसी अनुमोदन गर्न सघाउनुस्। गठबन्धन कायमै राखेर अघि बढौं। यदि सघाउनुहुन्न भने म प्रधानमन्त्रीबाट हट्नुपरे हट्छु, तर एमसीसी अनुमोदन गराएरै छाड्छु।’ देउवाको प्रस्ताव प्रचण्डले अस्वीकार गर्दै भनेका थिए– यथास्थितिमा एमसीसी अनुमोदन हुन हुँदैन। जबरजस्ती अनुमोदन गर्न खोजे विपक्षमा मत हाल्छौं। त्यसपछि हामी सरकारमा होइन, सडकमा हुनेछौं।’  

१२ गतेको बैठक स्थगित भएपछि कांग्रेस–एमालेका नेताहरुबीच निरन्तर संवाद हुन थाल्यो। बिहीबार दुई पटक भएको छलफल सहमति उन्मुख भएका समाचार बाहिरिन थाले। त्यसले माओवादी र नेकपा (एस)लाई झस्काइदियो। जसका कारण एमसीसी अनुमोदन हुनै नदिने अडानमा रहेका दुई दल गठबन्धन पनि नटुट्ने, एमसीसी अनुमोदन पनि गर्ने गरी वैकल्पिक उपायमा छलफल गर्न शुक्रबार बिहान तयार भए।