काठमाडौं– नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले नेता गुरुङले एमसीसी परियोजना यथास्थितिमा अनुमोदन नहुने स्पष्ट पारेका छन्। उनले सो परियोजना संशोधनसहित राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे।
संशोधन नभएसम्म संसदमा टेबुल नहुने उनले बताए। एमसीसीको विषयमा वर्तमान गठबन्धन रहँदासम्म गठबन्धनमा सहमति गरेर जानुपर्ने उनले उल्लेख गरे। प्रधानमन्त्रीले गठबन्धनको सहमति बिना एमसीसी परियोजना अगाडिीबढाएमा गठबन्धन स्वतः समाप्त हुने उनले बताए।
उनले भने, ‘गठबन्धन छोड्ने कि नछोड्ने भन्ने त उहाँ (प्रधानमन्त्री)को कुरा हो। उनले गठबन्धन छोडेर एमसीसी लिएर जानुभयो भने त गठबन्धन स्वतः समाप्त भयो त। मलाई लाग्छ गठबन्धन छोडेर उहाँ त्यो रुपले लाग्नुहुन्छ जस्तो लाग्दैन।’
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न स्थानीय तह निर्वाचनसम्बन्धी ऐन संशोधन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
नेता गुरुङले कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगावै निर्वाचन गरिसक्नुपर्ने ऐनको व्यवस्था भएकाले वैशाख ३० गते निर्वाचन गर्दा पनि कानुनी जटिलता हुनसक्ने बताएका हुन्।
सम्भव भएमा वर्तमान ऐन संशोधन गर्नुपर्ने र संसद् अवरोधका कारण ऐन संशोधन सम्भव नभएमा संविधानको व्यवस्था अनुसार कार्य अवधि सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने उनको भनाइ छ। ऐन र संविधान बाझिएको अवस्थामा मूल कानुन भएको हिसाबले संविधानको व्यवस्था अनुरुप नै निर्वाचन गर्नुपर्नेमा उनले जोड दिए। उनले भने, ‘ कानुनी प्रश्नहरु उठ्न सक्ला भन्ने लाग्छ। तर निर्वाचन गर्नुको त विकल्पै छैन। त्यसमा त समस्या छैन। ऐनको डेडलाइन हेर्दा ऐन संविधानसँग बाझिएको छ।’
नेता गुरुङले राष्ट्रियता र संविधानको रक्षाका निम्ति वर्तमान सत्ता गठबन्धन बनेको उल्लेख गर्दै ती मुद्दाहरु यथावत् रहेकाले स्थानीय निर्वाचनमा पनि गठबन्धन कायम राख्नुपर्ने बताए। यद्यपि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा भने सल्लाह गर्न बाँकी नै रहेको उनले स्पष्ट पारे।
उनले भने, ‘गठबन्धन त अहिलेको आवश्यकता अनुसार प्रजातन्त्रको रक्षा, राष्ट्रियताको रक्षा, संविधानको रक्षाको विषयलाई लिएर बनेको हो। यी मुद्दाहरु, विषयहरु अझै पनि यथावत् नै छन्। त्यो आवश्यकता अनुसार गठबन्धन निरन्तरतामा लानुपर्छ भन्ने त देखाउँछ। तर निर्वाचन भनेको प्रतिस्पर्धा पनि हो फेरि। सहमति भित्रको प्रतिस्पर्धा पनि हो। निर्वाचनमा के गर्ने भन्ने विषयमा गठबन्धनमै सल्लाह गरेर तय हुन्छ।’