काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट दुई भातृसंस्थाका अध्यक्ष र एक शुभेच्छुक संस्थाका पदाधिकारी केन्द्रीय सदस्यमा निर्वाचित भए। कांग्रेसका कार्यकर्ता उत्पादन गर्ने 'कारखाना' मानिएको नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, तरुण दलका अध्यक्ष जितजंग बस्नेत जिम्मेवारीमै रहेका बेला केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। यस्तै शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी पनि केन्द्रीय सदस्यमा निर्वाचित भए।
केन्द्रीय सदस्यमा निर्वाचित भएपछि युनियनको महासचिवको जिम्मेवारीबाट शिवाकोटी अलग भइसकेका छन्। पार्टी विधानले दुईथरी जिम्मेवारी बहन गर्न नमिल्ने भन्दै शिवाकोटी महासचिव पदको जिम्मेवारीबाट अलग भएपनि नेविसंघ र तरुण दलका अध्यक्ष बस्नेत भने दोहोरो जिम्मेवारीमै छन्। उनीहरुले पार्टी विधानको व्यवस्था बेवास्ता गर्दै पूर्वजिम्मेवारीमा समेत फर्किएर गतिविधि गरिरहेका छन्।
विधान कुल्चिएर भातृसंस्थाको अध्यक्षकै हैसियतमा गतिविधि
पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भएपछि विधानअनुसार ढुंगाना र बस्नेत भातृसंस्थाको अध्यक्षबाट पदमुक्त भइसकेका छन्। नेपाली कांग्रेसको विधान विधानको धारा ४२ को १ (ङ) अनुसार भातृसंस्थाको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि पदमा निर्वाचित वा मनोनित भएमा भातृसंस्थाको पद स्वतः हुन्छ।
‘पार्टीको कुनैपनि तहको पदाधिकारी वा सदस्य भ्रातृ संघको पदाधिकारी वा सदस्य हुने छैन। भ्रातृ संघको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भएमा निजको भ्रातृ संघको पद स्वतः रिक्त हुनेछ,’ विधानमा व्यवस्था छ।
पार्टी विधानअनुसार नेविसंघ र तरुण दलको अध्यक्षबाट पदमुक्त भइसकेका ढुंगाना र बस्नेतले अध्यक्षकै हैसियतमा गतिविधि गरिरहेका छन्। बस्नेतले पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसका दिन देशभर कार्यक्रम गर्न जिल्ला अध्यक्षहरुका नाममा सर्कुलर जारी गरेका थिए। विधानअनुसार पदमुक्त भएपनि बस्नेत अधिवेशन अघि जिम्मेवारी छोड्ने पक्षमा देखिँदैनन्। अहिले पनि तरुण दलको नेतृत्वमा आफैं रहेको र अधिवेशन गराएर मात्रै जिम्मेवारीबाट अलग्गिने उनको भनाइ छ।
‘अहिले अध्यक्षको हैसियतमा मैले नै तरुण दल चलाइरहेको छु। मैले नै अधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नेछु। विधानको व्यवस्थाका बारेमा जानकार छु। तर, पार्टीले अधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नु भनेको छ,’ बस्नेत भन्छन्, ‘मलाई मात्रै होइन, सबै भातृसंस्थाका अध्यक्षहरुलाई पार्टी यही निर्देशन दिएको छ।’
बस्नेतले आफू पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भएपछि तरुण दलका अन्य तीन पदाधिकारीसँग छलफल समेत गरेका छैनन्। तरुण दल कसरी चलाउने, जिम्मेवारी छाड्ने कि नछाड्ने भन्ने विषयमा छलफल हुन नसकेको एक पदाधिकारी बताउँछन्।
‘विधान अनुसार त उहाँ हाम्रो अध्यक्ष रहनुभएन। तर, अहिलेसम्म उहाँले नै तरुण दल चलाइरहनुभएको छ। के गर्ने भन्ने बारेमा घनिभूत छलफल भएको छैन,’ तरुण दलका एक पदाधिकारी भन्छन्, ‘अब अहिलेकै समितिलाई पूर्णता दिएर अघि बढ्ने महाधिवेशन गराउने हो वा तदर्थ समिति बनाएर महाधिवेशनमा जाने भन्ने दुई विकल्प छन्। हेरौं के हुन्छ।’
ढुंगाना विद्यार्थी संगठनका संयुक्त छलफलदेखि सरकारको ध्यानाकर्षण गराउने सन्दर्भसम्म नेविसंघ अध्यक्षकै हैसियतमा उपस्थित हुने गरेका छन्। शुक्रबार मात्रै मेडिकल कलेजका समस्या समधान गर्न माग गर्दै विद्याथी संगठनहरुले जारी गरेको विज्ञप्तिमा ढुंगानाको हस्ताक्षर छ।
मेडिकल कजेलमा देखिएको समस्या समाधानका गर्ने सन्दर्भमा गृहमन्त्री बालकृष्ण खाँणसँग विद्यार्थी संगठनका नेताहरुसँगको छलफलमा ढुंगाना उपस्थित थिए। गृहमन्त्री खाँणसँगको छलफलका क्रममा नेविसंघ अध्यक्षको हैसियतमा ढुंगानाले विद्यार्थीहरुलाई दमन र शोषण गर्ने निजी मेडिकल कलेजमाथि तत्काल कारबाही गर्न माग गरेका थिए। विधानअनुसार पदमुक्त भइसकेपनि नेविसंघ अध्यक्षकै हैसियतमा सक्रिय रहेका ढुंगानासँग नेपाल समयले प्रतिक्रिया लिने प्रयास गरेको थियो। तर, उनीसँग सम्पर्क हुन सकेन।
केन्द्रीय समितिले दोहोरो जिम्मेवारी सम्हाल्न भनेको छैनः उपसभापति गुरुङ
तरुण दलका अध्यक्षसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य बस्नेतले भनेजस्तो पार्टीले अधिवेशन गराएर मात्रै जिम्मेवारी हस्तान्तरण गर्न निर्देशन नदिएको उपसभापति धनराज गुरुङ बताउँछन्। विधानअनुसार भातृसंस्थाका अध्यक्ष वा पदाधिकारी पार्टीको जिम्मेवारीमा निर्वाचित भइसकेपछि स्वतः पदमुक्त हुने वैधानिक व्यवस्थालाई बुझ्नुपर्ने उनको भनाइ छ।
‘भातृसंस्थाका महाधिवेशन ६ महिना भित्रै हुने स्थिति रह्यो भने एकखाले निर्णय होला। होइन भने तदर्थ समिति बनाएर अघि बढ्नुपर्छ,’ गुरुङ भन्छन्, ‘विधानको व्यवस्था अनुसार त नेविसंघ र तरुण दल नेतृत्वविहीन भएका छन्। अब को नेताले के निर्देशन दियो भन्ने कुराको खास अर्थ रहन्न। सभापति, उपसभापति वा महामन्त्रीले जिम्मेवारीसहितको निर्देशन दिएर हुँदैन नि। केन्द्रीय समितिले दिनुपर्यो। केन्द्रीय समितिले केही निर्णय गरिसकेको छैन।’
कस्तो त नेविसंघ र तरुण दलको अवस्था?
कांग्रेसको नर्सरी भनेर चिनिएको विद्यार्थी भ्रातृसंस्था नेविसंघको महाधिवेशन प्रत्येक २ वर्षमा गर्नुपर्ने वैधानिक व्यवस्था छ। तर, विगत ५ वर्षदेखि नेविसंघको महाधिवेशन हुन सकेको छैन। २०७३ सालमा भएको महाधिवेशनबाट नैनसिंह महर अध्यक्ष भएका थिए। उनले दुई वर्ष र थप गर्न मिल्ने ६ महिना गरी साढे दुई वर्ष नेविसंघ चलाए। महरले नियमित अधिवेशन गराउन सकेनन्। फलस्वरुप उनले राजीनामा दिए।
महरको राजीनामापछि २०७६ माघ १६ मा कांग्रेसले नेविसंघको कार्यसमिति भंग गर्दै राजीव ढुंगानाको अध्यक्षतामा तदर्थ समिति बनायो। समितिलाई ६ महिनाभित्र महाधिवेशन गर्ने जिम्मेवारी दिइएको थियो। तर, ढुंगाना नेतृत्वको समितिले ६ महिनाभित्र महाधिवेशन गराउन सकेन। र, गत साउन ३० गते तेस्रो पटक ६ महिनाका लागि म्याद थप गरिएको छ।
यसअघि २०७७ साउन १६ र २०७७ माघ १३ गते नेविसंघको म्याद ६–६ महिनाका लागि थपिएको थियो। नेविसंघको महाधिवेशन गराउने जिम्मेवारी पाएका ढुंगाना १४औँ महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भए। तेस्रो पटक म्याद थप्नुपर्ने अवस्थामा पुगेको नेविसंघ कांग्रेसको सबैभन्दा ठूलो भ्रातृसंस्था हो। गुटबन्दी र नेताहरूको व्यक्तिगत स्वार्थको सिकार बनेको नेविसंघ लामो समयदेखि भद्रगोल अवस्थामा छ।
कांग्रेसले तरुण दलको म्याद तेस्रो पटक थपिसकेको छ। २०७३ सालमा तरुण दलको पोखरामा भएको महाधिवेशनबाट जितजंग बस्नेत सर्वसम्मत अध्यक्ष चुनिएका थिए। सहमतिकै आधारमा उपाध्यक्ष उत्तमकुमार चापागाईं, महासचिव भूपेन्द्रजंग शाही र कोषाध्यक्ष विद्वान् गुरुङ चुनिए। कार्य समितिको म्याद सकिएर तेस्रो पटक थपिएको म्यादसमेत सकिन लागेको छ। तर, ६ वर्ष अवधिमा न तरुण दलको ९५ सदस्यीय समिति बन्न कार्यसमितिले पूर्णता पायो, न त नियमित महाधिवेशन नै हुन सकेको छ।