सोमबार, माघ ३, २०७८

महाधिवेशनपछिको कांग्रेस

कांग्रेसका १२ 'हस्ती'को राजनीतिक भविष्य अब कस्तो होला?

तीर्थराज बस्नेत  |  काठमाडौं, बिहीबार, पुष ८, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बिहीबार, पुष ८, २०७८, काठमाडौं

नेपाल समय

 काठमाडौं- भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनले केही नेतालाई स्थापित गरिदिएको छ भने केही नेताको ओज कमजोर बनाइदिएको छ। विगत लामै समय अघिदेखि कांग्रेसवृत्तमा बहसमा आएको तर १३औँ महाधिवेशनपछि प्रखर बन्न थालेको पुस्तान्तरणको मुद्दालाई सशक्त बनाएको यो महाधिवेशनले केही नेतालाई स्थापित गर्दा केहीको राजनीतिक भविष्यमाथि आश्वस्त हुने आधार भत्काइदिएको हो। 

पछिल्लो महाधिवेशनबाट पुस्तान्तरण भएको भनिएपनि कांग्रेस रुपान्तरणको एजेन्डालाई अब कसरी सम्बोधन गरिन्छ भन्ने चाहिँ हेर्न बाँकी छ। पुस्तान्तरण र रुपान्तरणको मुद्दा स्थापित गर्दै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई युवा पुस्ता भनिने गरेकाले पनि पुस्तान्तरण भन्न थालिएको हो। महाधिवेशनले सभापति फेर्न नसकेकाले अब पार्टीमा रूपान्तरणका लागि महामन्त्रीद्वयले कसरी सहकार्य गर्लान् भन्ने उत्तर प्रतीक्षित छ। 

१३ जना पदाधिकारी हुने व्यवस्था भएको कांग्रेसमा सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काबाहेक सबै नयाँ अनुहारलाई स्थापित भएका छन्। पार्टी पदाधिकारीमा नयाँ अनुहारको वर्चश्व देखिँदा स्थापित अनुहारको राजनीतिक भविष्य भने 'ग्रे जोन'मा देखिएको राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेको भनाइ छ।

उमेरका हिसाबले होस् वा १४औं महाधिवेशनको नतिजा र उनीहरुका कर्मका कारण नै किन नहोस्, शीर्ष र 'सिनियर' नेताहरुको राजनीतिक भविष्यबारे चर्चा बाक्लिएको छ। १५औं महाधिवेशनमा युवा पुस्ताले सशक्त दाबी गर्ने तर केही नेताको उमेरले सक्रिय राजनीतिक जीवनलाई साथ नदिन सक्ने भएकाले कतिपय नेताको राजनीतिक भविष्य किनारामा पर्न सक्ने आकलन भइरहेका छन्। 

हुन त, सरलभन्दा वक्र रेखामा बढी रमाउने भनिने राजनीतिमा असम्भव र थकावट शब्द नै नहुने भनी स्व. मदन भण्डारीको भनाइ थियो। भण्डारीको भनाइ पूर्ण रूपमा असत्य नभए पनि सदासर्वदा सही नै सावित हुन्छ भन्न पनि सकिन्न। कांग्रेसमा फेरिएको राजनीतिक (गुटगत) समीकरणले पनि कसलाई कुन कित्तामा उभ्याउँछ भनेर यसै भन्न सक्ने अवस्था छैन। तर नेताहरूका क्रियाकलाप केलाउँदा र महाधिवेशनको धपेडीबाट भर्खरै लयमा फर्कन थालेका कांग्रेस कार्यकर्ताहरूका अनौपचारिक कुराकानी सुन्दा यसपालिको महाधिवेशनमा पराजित भएका र प्रतिस्पर्धामै नउत्रिएका केही नेताहरू १५औँ महाधिवेशनसम्म कता पुग्छन् यकिनका साथ भन्न सकिने अवस्था छैन।

महाधिवेशनले केही नेताहरुलाई राजनीतिक अवकासको बाटो देखाइदिएको टिप्पणी राजनीतिक विश्लेषकहरुले गर्न थालिसकेका छन्। ‘यो महाधिवेशनले केही कांग्रेस नेतालाई अवकाशको बाटो देखाइदिएका छन्,’ राजनीतिक विश्लेषक वाग्ले भन्छन्, ‘उनीहरुको सम्मानका लागि पनि यो उपयुक्त समय हो।’ 

कस्तो होला यी नेताको राजनीतिक भविष्य?  

रामचन्द्र पौडेल

राजनीतिक भविष्य ‘ग्रे जोन'मा पुगेका सबैभन्दा सिनियर नेता हुन्, रामचन्द्र पौडेल। १३औं महाधिवेशनमा सभापतिमा पराजित पौडेल १४औं महाधिवेशनमा पनि प्रतिस्पर्धामा उत्रन चाहन्थे। तर, उनले आफ्नो समूहको व्यवस्थापन गर्न सकेनन्। 

आफ्नै नेतृत्वको गुटका एकभन्दा बढी नेता सभापतिका लागि चुनावी प्रतिस्पर्धामा उत्रिए। नेता व्यवस्थापन गर्न चुकेका पौडेल यसपटक न उम्मेदवार बने, न त नेतृत्व चयन प्रक्रियामै सहभागी बनेर आफ्नो गुटमा पकड कायम राख्न सके। 

अन्तिम समयमसम्म आफू नै गुटको साझा उम्मेदवार हुने पौडेलको प्रयास सफल त भएन नै, आफ्नो गुटको नेता रहिराख्ने औजार पनि उनले साथमा राख्न चाहेनन्। डा. शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको उम्मेदवार भइछाड्ने अडानबाट पछि नहट्दा पौडेल तटस्थ बस्ने निर्णयमा पुगे। पौडेल नेतृत्वको समूहमा आबद्ध र उम्मेदवार चयन प्रक्रियामा सहभागी भएका नेताका अनुसार सिंहले मानिदिए पौडेलका नाममा सहमति गर्न कोइराला तयार थिए। तर, सिंहले मानेनन्। जसका कारण पौडेल आफ्नो समूहका साझा उम्मेदवार बन्न नसकेका हुन्।

गुटमा आफू साझा उम्मेदवार बन्न नसकेपछि विरक्तिएका रामचन्द्र पार्टीकै साझा नेता दाबी गर्दै मतदान प्रक्रियालाई पनि बहिष्कार गरे। पौडेलको यही बहिष्कारका कारण कांग्रेस राजनीतिबा पौडेल बहिष्करणमा परे आश्चर्य मान्न नहुने कांग्रेसका एक जिल्ला सभापति बताउँछन्। मतदानका दिन आफू समग्र कांग्रेसको साझा नेता बन्ने दाबी गर्दै पौडेल आफ्नै निवासमै थिए। 

रामचन्द्र पौडेल

सभापति देउवाका समकालीन नेता पौडेलको राजनीतिक भविष्य के हुन्छ? यो प्रश्नको उत्तर अनिश्चित छ। नेतृत्व चयन प्रक्रियाबाट अलग भएको घोषणापछि सभापति देउवा नेता पौडेललाई भेट्न बोहोराटार पुगेका थिए। त्यही बेला देउवालाई पौडेललाई भनेका थिए, ‘स्वास्थ्य ठिक राखेर बस्नुस्, तपाईलाई राष्ट्रको खाँचो छ।’

देउवाले पौडेललाई दिएको सुझावलाई लिएर राजनीतिक वृत्तमा अनेक अनुमान भइरहेका छन्। कतिपयले पौडेललाई भावी राष्ट्रपतिका रुपमा अर्थ्याएका छन्। तर पौडेलका लागि सहज भने देखिँदैन। किनकि पौडेललाई राष्ट्रपति बनाउन कांग्रेसले एकल बहुमत प्राप्त गर्नुपर्नेछ। तर मिश्रित निर्वाचन प्रणाली अपनाइने चुनावमा कुनै पनि पार्टीलाई एकत बहुमत पुर्‍याउन निकै सकसपूर्ण छ।

निर्वाचनपछि कांग्रेस ठूलो दल बनेर गठबन्धनको सरकार बनाउनुपर्ने अवस्थामा कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पाउने अवस्था नरहन सक्छ। पौडेललाई राष्ट्रपति बनाउनकै लागि कांग्रेसले प्रधानमन्त्री त्याग गर्छ भन्नु अतिरञ्जना मात्र हुन सक्छ। त्यसो भए पौडेलले आफ्नो समूह सक्रिय बनाएर १५औं महाधिवेशनमा प्रतिस्पर्धा गर्न आउलान् त? त्यस्तो सम्भावना पनि क्षीण छ। एक त पौडेलको उमेरले पनि उनलाई साथ नदिन सक्छ। अर्कोतर्फ पार्टीमा युवाहरूको हस्तक्षेप बढेकाले १५औं महाधिवेशनसम्म उनको उम्मेदवारी असान्दर्भिक हुन सक्छ। 

अब पौडेलको राजनीतिक भविष्य सभापति देउवाको निर्णयमा निर्भर हुने देखिन्छ। ‘अहिलेको महाधिवेशनमा उहाँले नेतृत्व चयनको प्रक्रियाबाट अलग भएपछि पार्टीको कार्यकारी भूमिकामा आउने सम्भावना रहेन। उहाँका लागि अवकाश लिने उपयुक्त समय थियो। महाधिवेशनमार्फत् कार्यकर्ताले पौडेलको पुस्तालाई अवकाश लिने सन्देश दिएका छन्। तर पार्टी सभापति हुने सम्भावना रहेपनि राष्ट्रपति हुने उहाँको आकांक्षा हुने संभावना कायमै छ,’ विश्लेषक वाग्ले भन्छन्, ‘त्यसैले उहाँको राजनीतिक भविष्य नवनिर्वाचित सभापतिको निर्णयमा निर्भर हुन्छ।’ 

त्यसो त कतिपयले पौडेलले अब बीपी कोइराला र गणेशमान सिंहले जीवनको उत्तरार्धमा गरेजस्तै भूमिका निर्वाह गर्नुपर्ने बताउने गरेका छन्। त्यसका लागि उनले पार्टीभित्र भन्दा पनि बाहिर बसेर भूमिका खेल्न सक्ने राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको भनाइ छ। 

‘उमेरको ख्याल गर्दा उहाँले पार्टीभित्र सक्रिय राजनीति गर्ने सम्भावना कम छ। पार्टीको संरचनाभित्र बसेर काम गर्ने भन्दा पनि बीपी कोइराला, गणेशमान सिंहले जीवनको उत्तरार्धमा गरेको भूमिकामा रहँदा पौडेललाई सुहाउँछ,’ उनी भन्छन्, ‘पौडेल नेपाली राजनीतिमा त्यागी र सक्षम व्यक्तित्व हुन्। उहाँले आफ्नो स्थान नेपालको समृद्धिमा खोज्नुपर्छ। पार्टीभित्र त फोहोरी खेल पनि हुन्छ। यस्ता खेलबाट मुक्त हुन सके उहाँको भूमिका सकिएको छैन। जनतासँग प्रत्यक्ष जोडिएका मुद्दा उठाउनुपर्छ अब उहाँले।’

कृष्णप्रसाद सिटौला

१३औं महाधिवेशनमा आफ्नो समूह बनाएर सभापतिमा प्रतिस्पर्धा गरेका सिटौला यसपटक कुनै पदका आकांक्षी रहेनन्। बरु यसपटक उनको गुट देउवा समूहमा विलय भयो। सभापतिमा देउवालाई समर्थन गरी प्रदीप पौडेललाई महामन्त्रीको प्रत्यासी बनाउन सफल भएका सिटौलाले आफूलाई कांग्रेसभित्र निर्णायक शक्तिका रुपमा अर्थ्याउँदै आएका थिए, तर सिटौलाको दाबीलाई यस पटकको महाधिवेशनको अंकगणितले पुष्टि गरेन। उनी कमजोर ठहरिए। 

कृष्णप्रसाद सिटौला

पहिलै चरणमा देउवालाई सभापति बनाए आफू निर्णायक शक्ति रहेको पुष्टि हुने र महामन्त्रीमा आफू निकट पौडेलाई जिताउने सिटौलाको लक्ष्य असफल भएपछि उनी कमजोर बनेको बताउने नेताहरूको कमी छैन कांग्रेसमा। 

महाधिवेशनको पूर्वसन्ध्यामा आफू प्रतिस्पर्धाभन्दा बाहिर रहेर कांग्रेसमा तेस्रो धारको नाममा परिचित उनी नेतृत्वको समूहलाई संस्थापन समूहमा विलय गराएका सिटौला अब निर्णायक हुने सम्भावना लगभग सकिएको छ। पहिलो चरणमा नै देउवाले जित निकालेका हुन्थे भने सिटौला संस्थापन समूहका 'किङ मेकर' हुने थिए। सिटौलाले ठूलै मत क्याप्चर गरेको हुन सक्ने देउवा समूहको विश्लेषणले मतदान अघिसम्म बलिया देखिएका सिटौला पहिलो चरणको मतदानको नतिजापछि एकाएक खस्किए बरु सिटौलाको उक्त स्थानमा यसपाली प्रकाशमानले बाजी मारे। त्यसैले देउवा समूहमा उनको बार्गेनिङ पावर कमजोर हुने देखिन्छ। 

विश्लेषक आचार्यका शब्दमा सिटौलालाई अब देउवाले दिने भूमिका सिमित हुनेछन्। ‘सिटौलाजीको आवाज सुनिँदैन। पब्लिकमा गएर उनले भाषण गर्दा जनताले पत्याउँदैनन्। उनको आवाज पार्टीभित्रका खास कार्यकर्ताबीच सुनिन्थ्यो। यसपटक उनी सभापतिमा नउठेर शेरबहादुरजीको सहयोगी भए,’ आचार्य भन्छन्, ‘जनताले कुनै भूमिकामा उनलाई खोज्दैनन्। पार्टीले उनको भूमिका सीमित गरिदिन सक्छ।’ 

त्यसो त सिटौलाले अब पार्टीमा स्वतन्त्र भूमिका बनाउन नसक्ने दाबी गर्छन्। आफू बन्न भन्दा पनि कसैलाई 'बिर्गान' उनले आफ्नो ऊर्जा खर्चन सक्ने विश्लेषण आचार्यको छ। ‘सिटौला फेरि पनि पार्टीभित्र घुस्रिने हो र देउवाले दिएको भूमिकामा बस्ने हो। उनले अब आफ्नो स्वतन्त्र भूमिका बनाउन सक्दैनन्,’ पुरञ्जन भन्छन्, ‘कसैलाई बिगार्नका लागि आफ्नो ऊर्जा भने खर्च गर्न सक्लान् सिटौलाले।’

विजयकुमार गच्छदार 

उपसभापति पदमा धनराज गुरुङसँग २ मतले पराजित गच्छदारको पनि राजनीतिक भविष्य सहज छैन। एकातर्फ बालुवाटार जग्गा प्रकरणको मुद्दा, अर्कोतर्फ पार्टीभित्रको पराजयले उनलाई धक्का लागेको छ। त्यसकारण उनी राजनीतिक अवकाशको संघारमा छन्। बालुवाटार जग्गा प्रकरणपछि धुमिलिएको इमेज, पार्टीभित्र र बाहिर खस्कँदै गएको जनधारले गच्छदारको राजनीतिक भविष्य दाउमा परेको छ। 

विजयकुमार गच्छदार

शेखर कोइराला 

‘एकपटक, यसैपटक’को नारा दिएर सभापतिमा प्रतिस्पर्धा गरेका शेखर पराजित भए पनि शक्तिकेन्द्रको नेताका रुपमा स्थापित गर्न सफल भए डा शेखर कोइराला। ४० प्रतिशत मत ल्याएका शेखर नेतृत्वको समूह पार्टीभित्र निर्णायक शक्तिको रुपमा रहनेछ। शेखर समूहले पार्टीमा भाग नखोज्ने बताइसकेको छ। तर, विचारको सम्मान भने हुनुपर्ने त्यो समूहका नेताहरुले बताइरहेका छन्। तर, १५औं महाधिवेशनसम्म आइपुग्दा शेखर नै सभापतिका उम्मेदवार रहनेसम्भाना भने कम हुने छ। किनकी उनी आफैंले अब सभापतिमा प्रतिस्पर्धा नगर्ने बताइसकेका छन्। 

shekhar_koirala
शेखर कोइराला

‘सम्मानजनक मत ल्याएर एउटा शक्तिकेन्द्रको रुपमा शेखर कोइरालाको उदय भएको छ। तर, उहाँले अब पुनः सभापतिमा प्रतिपस्पर्धा नगर्ने र युवालाई अघि बढाउने बताउनुभएको छ। आफ्नो वचनमा अडिग रहे उहाँ (शेखर) १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुनु हुने छैन,’ विश्लेषक वाग्ले भन्छन्। 

सिंह र निधि

सभापतिमा प्रतिस्पर्धा गरेर पराजित भएका पूर्वमहामन्त्री प्रकाशमान सिंह र निवर्तमान उपसभापति विमलेन्द्र निधि राजनीतिमा सक्रिय रहिरहने देखिए पनि सभापति देउवाले उनीहरूको भविष्य प्रभावित गरिदिन सक्छन्। त्यसो त नेतृत्व परिवर्तनको एजेन्डालाई केन्द्रबन्दु मानेको दाबी गर्ने यी दुवै नेता दोस्रो चरणमा 'यु टर्न' भएर देउवालाई विकल्पहीन नेता मानेपछि कतिपय नेताहरूले उनीहरुको भूमिकामा प्रश्न तेर्स्याइसकेका छन्। तर यसको चित्तबुझ्दो जवाफ उनीहरूले दिने प्रयासै गरेका छैनन्। यसकारण उनीहरुको आलोचना पनि भइरहेको छ भने केहीलाई आक्रोशित समेत बनाएको छ। 

सिंह १२ वर्षपछि 'शेर' समूहमा पुगेका छन् भने निधि बुढानीलकण्ठबाट विद्रोह गरी बाहिर निस्किएको दाबीमा ६ महिना नटिक्दै पुरानै कित्तामा पुगेका छन्।

प्रकाशमान सिंह

उता उनको पहिचानमा संकट भने यथावत छ। सभापतिमा शेखर कोइरालालाई छोडेर देउवालाई सहयोग गर्न पुगेका निधिले प्रदेश नम्बर २ को प्रदेश अधिवेशनमा देउवाविरुद्ध शेखरसँग मिलेर प्रतिस्पर्धा गर्न पुगेका छन्। यसले निधिको कांग्रेसभित्रको आन्तरिक राजनीतिमा रहँदै आएको पकड क्षयीकरण मात्र गरेको छैन, उनको ढुलमूले चरित्रसमेत उदांग्याइदिएको छ। 

१५औं महाधिवेशनमा सिंह र निधि सभापतिको प्रत्यासी रहने सम्भावना छ। तर, यसपटक उनीहरुले अपेक्षाकृत मत ल्याउन सकेनन्। त्यसको असर आगामी महाविधेशनमा पनि देखिने छ। देउवाको समूहमै रहने हो भने पनि देउवाको उत्तराधिकारीका रुपमा सभापतिको प्रत्यासी हुन उनीहरुलाई सहज देखिँदैन। किनकि देउवा समूहबाट उपसभापति निर्वाचित भएका पूर्णबहादुर खड्कालगायतका नेता चुनौतीका रुपमा उभिन सक्ने छन्। 

निधि

‘सिंह र निधिले यसपटक अपेक्षाकृत मत ल्याउन सक्नुभएन। यदि अपेक्षाकृत मत ल्याउनुभएको भए उहाँहरुको आफ्नै शक्तिकेन्द्र हुन्थ्यो,’ विश्लेषक वाग्ले भन्छन्, ‘त्यसो हुँदा आगामी महाधिवेशनमा सभापतिमा सशक्त रुपमा दावी गर्ने अवस्था रहन्थ्यो। तर, उहाँहरुले दावी पेस गर्ने जनधार कमजोर देखियो।’ 

शशांक र सुजाता 

निवर्तमान महामन्त्री कोइराला केन्द्रीय सदस्यमा दोस्रो लोकप्रिय मत पाएर विजयी भएका छन्। १५औं महाधिवेशनमा उनी सभापतिको उम्मेदवार हुने सम्भावना बलियो छ। त्यसो त यसपटक दाजु शेखरका पक्षमा नखुलेको र देउवासँग हात मिलाउन पुगेको भनेर शशांकको आलोचना पनि भइरहेको छ।  

शशांक।

शशांक महामन्त्री हुँदा देखिएको निष्क्रियतालाई धेरैले आलोचना गर्ने गरेका छन्। १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुन उनले कस्तो तयारी गर्नेछन्, पार्टीभित्र उनको सक्रियता कस्तो रहन्छ? धेरै कुरा यिनै विषयमा निर्भर रहन्छन्। तर, पदाधिकारीमा युवापुस्ताको उदय कांग्रेस हाँक्ने उनको अभिलाषाको बाधक बन्ने सम्भावना उत्तिकै छ। १५औं महाधिवेशनमा युवापुस्ता नै निर्णायक हुने देखिन्छ। 

प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिको उम्मेदवार बनेकी सुजाता कोइरालाको राजनीतिक भविष्य संकटमा छ। दाजु शेखरलाई छाडेर सिंहको प्यानलमा खुलेर उपसभापतिमा पराजित भएपछि कांग्रेस पदाधिकारीमा कमब्याक गर्ने सम्भावना लगभग सकिएको छ।

महत, आचार्य र केसीहरू

यसपटक पदाधिकारीमा प्रतिस्पर्धा नगरेका र केन्द्रीय सदस्यमा निर्वाचित भएका रामशरण महत, अर्जुन नरसिंह केसी, बलबहादुर केसीलगायतका नेताहरु १५औं महाधिवेशनमा राजनीतिक अवकासको तयारीमा हुनेछन्। अहिले राजनीतिक अवकासको पूर्वसन्ध्यामै रहेका उनीहरू यसपटक पदाधिकारीका स्वभाविक दाबेदार थिए। तर, संस्थापन इतर समूहबाट साझा उम्मेदवार नबन्दा उनीहरुको पदाधिकारी बन्ने सपना पूरा हुन पाएन। 

अर्जुननरसिंह केसी

संस्थापन इतर समूहबाट २ जना उम्मेदवार हुनु मात्रै होइन उनीहरुभन्दा जुनियर नेताहरुले सभापतिमा प्रतिस्पर्धा गरेका कारण उनीहरु पदाधिकारीमा प्रतिस्पर्धामा उत्रन चाहेनन्। आगामी महाधिवेशनमा उनीहरु पदाधिकारी वा सभापतिमा प्रतिस्पर्धा गर्ने सम्भावना कम छ। कारण- उमेर र युवा पुस्ता।  

उपसभापतिमा पराजित महेश आचार्यको राजनीतिक भविष्य पनि दाउमा छ। संस्थापन इतर समूहमा सक्रिय भएपनि स्वतन्त्र उम्मेदवारी दिएर पराजित हुनुपरेको अवस्था र निष्कृय रहने उनको बानीका कारण उनीको कमब्याकको सम्भावनालाई लगभग टारिदिएको छ।  

संस्थापन समूहको दोस्रो पुस्ता 

१४औं महाधिवेशनमा संस्थापन समूहबाट उपसभापतिमा पूर्णबहादुर खड्का विजयी भए। त्यसको अर्थ स्वाभाविक रुपमा देउवाको उत्तराधिकारी खड्का हुने सक्ने आकलन हुन थालेका छन्। महामन्त्रीमा डा. प्रकाशशरण महतको पराजय र ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, एनपी साउद पदाधिकारीमा आउने मौका नपाएको अवस्थामा खड्का देउवाका उत्तराधिकारीका रुपमा रहने चर्चा सुरु भएको छ। 

महतले महामन्त्री जितेका भए देउवाका सामु विकल्प रहन्थ्यो। अर्कोतर्फ कार्की, खाँण र साउद पदाधिकारी रहन्थे भने पनि १५औं महाधिवेशनमा देउवाको उत्तराधिकारी हुने सम्भावना प्रबल हुन्थ्यो। तर, त्यस्तो भएन। समग्रमा भन्दा खड्काका लागि अनुकुल बनेको महाधिवेशन महतका लागि प्रतिकूल भइदियो। महामन्त्रीमा व्यहोरेको पराजयपछि महत पनि किनारा परे। 

यस्तै कार्की, खाँड र साउद पनि केन्द्रीय समितिमा निर्वाचित भएका छन्। तर, उनीहरुका लागि पनि यो महाधिवेशन त्यति अनुकुल भने रहन सकेन।

‘कार्की, खाँड र साउद पदाधिकारी निर्वाचित भएका हुन्थे भने अर्को पटक नेतृत्वमा दावी गर्ने अवस्था रहन्थ्यो। तर, अहिले उहाँहरु पदाधिकारी हुनुभएन,’ विश्लेषक वाग्ले भन्छन्, ‘अब अर्को पटक उहाँलाई नेतृत्व दावी गर्न गाह्रो देखिन्छ। किनकी उहाँहरुको पुस्तालाई गगन–विश्वप्रकाशहरुको पुस्ताले ओभरटेक गरिसकेको छ।’  


प्रकाशित: December 23, 2021 | 20:16:15 काठमाडौं, बिहीबार, पुष ८, २०७८
तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

काठमाडौं, बिहीबार, पुष ८, २०७८

थप समाचार

प्रधानन्यायाधीशलाई कारबाही माग गरिएको रिट दरपीठ

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि छानबिन गरी कारबाही गर्न परमादेश माग गरिएको रिटलाई सर्वोच्च अदालतले दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ।

ओमिक्रोन तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी

सरकारले नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट पनि स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

चुच्चे नक्सामा बढ्यो भारतको हैकम, कूटनीतिक पहलमा यसरी पन्छियो सरकार

'सरकारको प्रवक्ताले बोल्ने त एउटा कुरा भयो, अर्को परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाउनुपर्थ्यो। अर्को कुरा भारतीय दूतावासले विज्ञप्ति निकालेपछि दिल्लीस्थित नेपालको दूतावासले विज्ञप्ति निकाल्नुपर्थ्यो।'

लिपुलेकमा सडक विस्तारबारे कांग्रेसपछि सरकार पनि बोल्यो

सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भएको स्पष्ट पारेको छ।

प्रतिनिधिसभाको बैठक १६ गतेलाई सारियो

प्रतिनिधिसभाको बैठक माघ १६ गतेलाई सारिएको छ।

सोमबारका लागि डाकिएको राष्ट्रियसभा बैठक स्थगित

राष्ट्रियसभाको माघ ३ गते सोमबार दिउँसो १ बजे तय भएको बैठक पुनः स्थगित भएको छ।

ट्रेंडिंग

नेपाल समय
राजनीति

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
नेपाल समय
शिक्षा

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।
नेपाल समय
समाज

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’
नेपाल समय
संवाद

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?
नेपाल समय
श्रृंखला

पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमार गुरुङले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C