सोमबार, असोज १७, २०७९
नेपाल समय
कांग्रेस केन्द्रमा नयाँ पुस्ता-३

कांग्रेस केन्द्र ताक्दै आन्दोलनले जन्माएका यी विद्यार्थी नेता

प्रेम चन्द  |  काठमाडौं, शुक्रबार, मंसिर २४, २०७८
प्रेम चन्द

प्रेम चन्द

काठमाडौं, शुक्रबार, मंसिर २४, २०७८

०५२ देखि ०६३ सालसम्म। यो त्यो अवधि हो जतिबेला माओवादी र सरकारबीच सशस्त्र द्धन्द चलिरहेको थियो। माओवादीले जंगलबाट सुरु गरेको युद्ध गाउँ हुँदै सहरसम्मै छिरिरहेको थियो। 

यो यस्तो समय थियो जतिबेला माओवादीको समर्थन गर्नेहरुले सत्ता पक्षबाट दुःख पाइरहेका थिए, अनि सत्ताको गुनगान गाउनेहरुले माओवादीबाट।  

राजाविरुद्ध बोल्नु या गणतन्त्रको पक्षको वकालत गर्नु त झन् जोखिम थियो। ०५७ सालमा जब तत्कालीन राजाले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई अपदस्थ गर्दै शासन सत्ता हातमा लिए, त्यसपछि भने सहरमा गणतन्त्रको पक्षमा आवाज बाक्लै उठ्न थालेको थियो। ०५९ सालमा जब दरबार हत्याकाण्ड भयो, त्यसपछि राजाको विरोध झन् बढेको थियो। 

राजाविरुद्ध सडकमै उत्रिरहेका थिए, नेपाली कांग्रेसका कार्यकर्ताहरु। कांग्रेसको भातृ संगठन नेविसंघ पनि कडा विरोधमा उत्रिएको थियो। र, त्यही भीडमा ‘अब राजा काम छैन’भन्दै आन्दोलनमा उत्रिएका एक पात्र हुन्, कुन्दनराज काफ्ले।

उनी आन्दोलनको अग्रमोर्चामा थिए। यतिसम्म कि उनको विद्रोही स्वाभावबाट तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नै प्रभावित बनेका थिए। ०६० तिरको कुरा हो, उनीसँग प्रभावित भएर भेट्न घरमै बोलाएका थिए उनलाई।  ‘तर छोटो भेट भयो। करिब दुई मिनेटमात्रै,’ उनी सम्झन्छन्, ‘उहाँ बोलिराख्नुभयो, म सुनिरहेँ। उहाँको नेतृत्व नै त्यस्तै थियो, सुनिरहुँ लाग्ने।’

०००

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट काठमाडौंमा सुरु भइसकेको छ। र, यसपटक थुप्रै युवाहरु महाधिवेशन प्रतिनिधि चुनिएर काठमाडौं आइसकेका छन्। त्यहीकारण धेरैले यसपटक कांग्रेसको केन्द्रमा युवा अनुहारको अपेक्षा गरेका छन्। 

कुन्दन त्यस्तै एक पात्र हुन्, जसले यो महाधिवेशनमा आफूलाई केन्द्रीय सदस्यको उम्मेदवारका रुपमा उभ्याएका छन्। महाधिवेशनमा उम्मेदवारी दिँदै गर्दा उनी पटकपटक गिरिजालाई सम्झिरहन्छन्। भन्छन्, ‘गिरिजाबाबुको त्यो नेतृत्व अहिले खुब मिस भइरहेको छ, त्यसकारण पनि हामी युवा अनुहार अब कांग्रेसको केन्द्रमा आउन आवश्यक छ।’

कुन्दनसँग गिरिजासँग जोडिएको अनेक किस्सा छन्। एकपटक विराटनगरबाट काठमाडौंको फर्कंदाको किस्सा उनलाई आफ्नो राजनीतिक जीवनमा अर्थपूर्ण लाग्छ। त्यतिबेला काठमाडौंको चाबहिल चोकमा राजा विरुद्धकै आन्दोलन चलिरहेको थियो। 

आन्दोलनले गाडी जाम भइरहेको थियो। त्यसको मर्कामा पर्ने एक पात्र थिए, गिरिजा। चावहिलको जाममा परेपछि उनले आफ्नो सुरक्षागार्डको मोबाइलबाट कुन्दनलाई फोन गरे। 

अनि सोधे, ‘कुन्दनबाबु, चावहिलमा के भइरहेको हो?’ 

उनी आन्दोलनको अग्रमोर्चामा थिए। यतिसम्म कि उनको विद्रोही स्वाभावबाट तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नै प्रभावित बनेका थिए।

जवाफमा कुन्दनले राजाविरुद्ध आन्दोलन भइरहेको जानकारी गराए। जब गिरिजाले चावहिलको जाममा आफू पनि परेको सुनाए, कुन्दनले तत्काल ‘तपाईंलाई अप्ठ्यारो परेको भए, हामी आउँछौं नि भन्ने जवाफ फर्काए। 

तर, गिरिजा मानेनन्। ‘म रातोपुलको बाटो भएर निस्किसकें, तिमीहरु आन्दोलन गर,’ गिरिजाको जवाफ थियो। 

‘गिरिजाबाबुले त्यति भन्दा पनि शरीरमा भाइब्रेसन आउँथ्यो। यस्तो पो नेता भन्ने लाग्थ्यो। तर, अहिलेको नेतृत्वबाट त्यस्तो हौसला पाउन सकिएन,’ त्यसकारण पनि यो कांग्रेसको यो महाधिवेशनमा युवा हस्तक्षेप आवश्यक देख्छन् उनी। 

०००

राजाको विरुद्ध बोल्न नपाइने समयमा राजाविरुद्ध आन्दोलन गर्दाका कुन्दनका किस्सा यतिमै सकिँदैनन्। 

०६१ सालमा पशुपति क्याम्पसको स्ववियू सभापतिमा निर्वाचित भएपछि कुन्दन आफ्ना एक जना साथीको घरमा पुगेका थिए। त्यहाँ कुराकानीकै सिलसिलामा उनले भन्दिए, ‘मलाई राप्रपा, एमाले, माओवादी सबैका समर्थकले भोट दिएका कारण मैले स्ववियू सभापतिमा जितेको हुँ। त्यसैले म अब कम्युनिष्टको पनि नेता भएँ।’

त्यस भेलामा सहभागी उनका सहकर्मीमध्ये एक कुमार सुब्बा माओवादीका समर्थक थिए। उनले त्यस्तो हुन नसक्ने चुनौती दिँदै कुन्दनले भन्ने गरेको गणतन्त्र र अन्यले भन्ने गरेका व्यवस्थाका सम्बन्धमा जनमत संग्रह गर्न आग्रह गरे। 

कुमारको उक्त प्रस्तावमा कुन्दन राजी भए। उनका माओवादी समर्थक साथीले साम्यवादी गणतन्त्रको वकालत गर्थे। तर, कुन्दनले गणतन्त्रमात्रै भन्थे। त्यतिबेला राजनीतिक दलहरुले चाहिँ ‘संवैधानिक राजतन्त्र’  भन्ने गर्थे। 

यिनै विषयलाई लिएर उनीहरुबीच करिब २ सय वटा शैक्षिक संस्थामा जनमत संग्रह गर्ने सहमति भयो। कुन्दनले यो कुरा तत्कालीन पार्टी सभापति गिरिजा प्रसाद कोइरालालाई पनि जानकारी गराए। सुरुमा विश्वस्त हुन नसकेका कोइरालाले त्यतिबेला कुन्दनलाई सोधे, ‘सक्छौ त?’ 

कुन्दनले बडो आत्मविश्वासका साथ भने, ‘सक्छु।’

त्यसपछि खगेन्द्र संग्रौलालाई निर्वाचन आयुक्त राखेर विभिन्न शैक्षिक संस्थामा जनमत संगह गरियो। त्यही बेला राजाले प्रहरी हस्तक्षेप गर्न लाएर धरपकड पनि भयो। जनमत संग्रहको नतिजा आउन करिब ३० देखि ४० दिन लाग्यो। 

जतिबेला मत गणना भइरहेको थियो, कुन्दन प्रहरी हिरासतमा पुगिसकेका थिए। हिरासतभित्रै उनले जनमत संग्रहको परिणाम सुने, गणतन्त्रको पक्षमा ९३ प्रतिशत मत। 

कुन्दन स्ववियू सभापति भएकै बेला गणतन्त्रको पक्षमा चर्को नारा त लाग्थ्यो तर, प्रत्यक्ष रुपमा राजाको विरोध गर्न सहज थिएन। त्यतिबेलै बजारमा खाद्यान्नको महँगी बढिरहेको थियो। मूल्यवृद्धिको विरुद्ध विद्यार्थी नेताका रुपमा कुन्दन अघि सरे। सँगसँगै राजाको विरोध पनि गर्नु थियो। उनले उपाय फुराए, एक तिरमा दुई शिकार गर्ने। अर्थात्, राजाको प्रतीकका रुपमा मूल्यवृद्धिको लास बनाउने र आर्यघाटमा जलाउने। 

‘हामी राजाको विरोध गर्दै थियौं, सँगसँगै मूल्यवृद्धिको पनि विरोध गुर्नपर्ने भयो,’ कुन्दन सम्झन्छन्,‘त्यसैले हामीले कपाल खौरेर, कालो पहिरनमा राजतन्त्रको प्रतीकका रुपमा (प्रत्यक्ष रुपमा राजतन्त्र भन्नसक्ने अवस्था थिएन) एउटा लास बनायौं र मूल्यवृद्धि भन्दै सबै आन्दोलनकारीले कपाल मुण्डन गरेर शंख फुक्दै पशुपति आर्यघाटमा जलाउन लग्यौं। त्यतिबेला हामी ४ देखि ५ हजार विद्यार्थी थियौं। बीचमा पुलिसले लाठी चार्ज पनि गर्यो। कतिको टाउको फुट्यो, फुट्यो हिसाब छैन। तर, हामी रोकिएनौं।’ 

जतिबेला मत गणना भइरहेको थियो, कुन्दन प्रहरी हिरासतमा पुगिसकेका थिए। हिरासतभित्रै उनले जनमत संग्रहको परिणाम सुने, गणतन्त्रको पक्षमा ९३ प्रतिशत मत। 
राजदरबार हत्याकाण्ड भएपछि मुलुकभरि नै राजाको विरोध झन् बढ्दै थियो। राजाले मुलुकका लागि भन्दा पनि आफ्नो हितमा मात्रै काम गरेको आरोप बढिरहेको थियो। कुन्दनलाई पनि त्यस्तै लाग्थ्यो, राजा हटाउनैपर्छ, राजा नहटेसम्म देश बन्दैन। 

तर, राजा भने दिनदिनै नागरिक अभिनन्दन भन्दै जनताको घरदैलोमा पुगिरहन्थे। त्यतिबेला राजालाई नै चुनौती दिनेगरी कुन्दनले फुराएको अर्को आइडिया पनि कम रोचक छैन। 

उनले पाँच वटा घुमन्ते कुकुरको शरीरमा ‘श्री’ लेखिएको कागज र टाउकोमा श्रीपेच पहिरिदिए, अनि छाडिदिए स्वतन्त्र। ‘हामी एकदमै गणतन्त्रवादी भइसकेको बेलामा राजा अभिनन्दन लिँदै हिँड्थे,’ कुन्दन सम्झन्छन्, ‘घरमा मलाई मार्ने हल्ला फैलिएकाले आमा खुब रुनुहुन्थ्यो, मेरो छोरोलाई मार्ने भए भनेर। तर, राजा नागरिक अभिनन्दनका लागि बाहिर निस्किरहन्थे। अघोषित संकटकालजस्तैै थियो। जनमत संग्रह गरेपछि कुन्दनलाई राजाले गोली ठोकेर मार्छ भन्ने हल्ला पनि चल्यो। तर, म रोकिइनँ। राजाविरुद्ध आन्दोलन चर्किरहेका बेला जबर्जस्ती अभिनन्दनमा हिँडेको सुहाएको थिएन। त्यसैले प्रतिकात्मक रुपमा कुकुर पठाइदिएँ।’

जब यो आइडियाबारे प्रहरीलाई सूचना पुग्यो, कुकुर पठाउनु अघिल्लो दिन नै कुन्दन पक्राउ गरे। तर, उनका अन्य सहपाठीहरुलाई यो काम फत्ते गरेरै छाडे। ‘यो थाहा भएपछि थुप्रै पुलिसका भ्यानहरु पशुपति क्याम्पस घेर्न आइपुगेका थिए,’ कुन्दन सम्झन्छन्, ‘हामीलाई पक्राउ गरियो। करिब दुई महिना हिरासतमा राखियो। तर, बाँकी साथीहरुले त्यो काम फत्ते गरेरै छाडे। त्यसपछि त विरोधको यो शैलीले देशव्यापी रुप नै लियो। हामीले कुकुर अभिनन्दन गरेपछि मुलुकभरि कहीँ बाघ अभिनन्दन भए, कहीँ गधा त कहीँ बाँदर।’

०००

कुन्दन कैयौंपल्ट राजाविरुद्धको आन्दोलनमा मसालजुलुस निकाल्दै नारायणहिटी दरबारअघि उत्रिए। ०७५ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले अभिव्यक्ति स्वतन्त्रता संकुचित हुने गरी मिडिया विधेयक ल्याउन खोज्दा होस् या ओली  सरकारमा भएका भ्रष्टाचारका विरुद्ध, उनी अग्रपंक्तिमा रहेर सडक आन्दोलनमा होमिए।  

विद्रोही स्वभावका कुन्दनलाई कतिपयले कांग्रेसभित्रको कम्युनिस्टको आरोप पनि लगाउने गर्छन्, तर उनी त्यसलाई स्वीकार्दैनन्। भन्छन्, ‘त्यो सरासर गलत हो, म विपीको कांग्रेस हो। जुन कुरा बोल्छ, त्यो पूरा गरेरै छाड्ने कांग्रेस हुँ।’

राजनीतिक पृष्ठभूमि 

कुन्दनको पारिवरिक पृष्ठभूमि पनि राजनीतिक हो। त्यसैले सानैदेखि उनमा राजनीतिप्रतिको झुकाव बढेको उनी ठान्छन्। उनका बुबाआमा दुवै कांग्रेसी हुन्। चालिसको दशकमा पहिलो पटक स्थानीय निकायको चुनाव हुँदा उनकी आमा दोलखाको तामाकोशी गाविस अध्यक्षमा निर्वाचित भएकी थिइन्। 

विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका कुन्दनचाहिँ ०५५ सालतिर काठमाडौंको चावहिलस्थित पशुपति क्याम्पसको स्ववियू सदस्य निर्वाचित भएका थिए। ०५६ सालमा पशुपति क्याम्पसमा नेविसंघको सचिव भएका थिए। त्यसपछि ०५७ सालमा स्ववियूको सचिव भए। ०५८मा नेविसंघको क्याम्पस सभापति भए। अनि, ०६१ सालमा भएको स्ववियू चुनाव हुँदा उनी पशुपति क्याम्पसबाट स्ववियू सभापति निर्वाचित भए। 

पछिल्लो समय गणतन्त्रका कारण जनतामा राजनीतिक चेतना बढेको उनको बुझाइ छ। ‘जनतामा चेतना बढेको छ, गाउँमा सरकार छ, गणतन्त्रका उपलब्धि छैन नै भन्नु त गलत हो,’ उनी भन्छन्, ‘संघीयता नै गणतन्त्रको उपलब्धि हो। हिजो नागरिकले सरकारलाई कुरा राख्न पनि नपाउने अवस्था थियो। तर, अहिले सरकारलाई नागरिकले आफ्नो कुरा राख्न पाउने वातावारण त बनेको छ। स्थानीय सरकार गाउँ–गाउँमा पुगेको छ। यो गणतन्त्रकै उपलब्धि हो। तर, समृद्धिको पाटोमा भने हामी चुकेकै हो। जुन गणतन्त्रको परिकल्पना गरेर हामी आन्दोलनमा होमिएका थियौं, त्यो पूरा हुन नसकेकै हो।’

कुन्दन कैयौंपल्ट राजाविरुद्धको आन्दोलनमा मसालजुलुस निकाल्दै नारायणहिटी दरबारअघि उत्रिए। 

गणतन्त्र प्राप्तिका लागि कैयौंपटक सडकमा होमिएका कुन्दनलाई आज लाग्छ, अब कांग्रेसले देशको आर्थिक समृद्धिका लागि समय खर्चिनुपर्छ। ‘त्यतिबेला गणतन्त्रका लागि हामीले टाउको फुटाएका थियौं, कुटाइ खाएका थियौं, जेलनेल भोगेका थियौं, अब भने कांग्रेसले समृद्धिको लागि समय खर्चिनुपर्छ,’ उनी भन्छन्, ‘समृद्धिका लागि संकल्प गरेर भ्रष्टाचार अन्त्य गर्नुको विकल्पै छैन। हरेक क्षेत्रमा रहेको भ्रष्टाचारको न्यूनीकरण गर्नु नै समृद्धि हो। हिजो हाम्रो आन्दोलन चेतनाकै हो। अब भने समृद्धिको मुद्दा बन्नुपर्छ, बनाउनुपर्छ। र, कांग्रेस केन्द्रमा पुगेपछि नयाँ पुस्ताले यसको कार्यान्वयनमा बलियो आवाज उठाउनैपर्छ।’

०००

कुन्दन दुई दशकदेखि नेविसंघको राजनीतिमा छन्। विद्यार्थी राजनीतिबाट पेन्सन पाक्ने बेला भइसक्दा पनि अझै आफूहरुलाई विद्यार्थीको ट्याग भिराउँदा चाहिँ उनलाई चित्त दुख्छ। 

वरिष्ठ नेताहरुलाई उनको आग्रह छ, ‘अब त तिमीहरु विद्यार्थी हो भन्दै हामीलाई रोक्न नखोज्नुस्, युवाहरुलाई अवसर दिँदा घाटा होइन, झन् फाइदा हुन्छ, यति त बुझ्नुस्।’

कांग्रेसको १३औं महाधिवेशनताका कुन्दन दोलखा जिल्लाबाट पार्टी सभापतिका प्रत्यासी नै थिए। तीन कार्यकाल उनी दोलखाबाट महाधिवेशन प्रतिनिधिका रुपमा निर्वाचित भइसकेका छन्। भन्छन्, ‘म फिल्ड वर्कर हो। पार्टी र देशका लागि काम गरेको मेरो अनुभव छ। म त्यस्तो धेरै आदर्शवादी र विद्धान पनि होइन, तर, काम गर्ने जाँगर र हुटहुटी छ। यसका लागि अवसरको खाँचो छ।’

कुराकानी बिट मार्ने क्रममा उनले थपे, ‘मलाई यो पनि थाहा छ, कांग्रेसलार्ई सुधार्न अब युवाहरु सानेपासम्म पुग्नैपर्छ। त्यसैले यसपटक मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ।’  

यो पनि

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
राजनीति

दलहरुले समानुपाति उम्मेदवारको बन्दसूची सच्याउने समय सकियो

निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सहभागी हुने दलहरूलाई समानुपातिक नामावलीमा त्रुटि भए सच्याएर पेस गर्न आज (आइतबार) अपराह्न ५ बजेसम्मको समय दिएकोमा समय सकिएको हो।
नेपाल समय
राजनीति

प्रतिनिधिसभामा कुन क्षेत्रका उमेदवारले कति खर्च गर्न पाउँछन्? (सूचीसहित)

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा उमेदवारले गर्न पाउने खर्चको अधिकतम हद तोक्ने निर्णय गरेको छ।
नेपाल समय
राजनीति

प्रतिनिधि सभा सदस्यको टिकट पाउने निश्‍चित भएका कांग्रेस ३६ नेताहरु

कांग्रेस नेताहरुले भने समानुपातिक तर्फ को-को लाई उमेदवार बनाउने भ‍न्‍ने समेत टुंगो लगाउन सकेको छैन। समानुपातिकतर्फको सूचीमा सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाको समूहका बीचमा सहमति पनि जुटेको छैन्। समानुपातिक तर्फको नामलाई आइतबार अन्तिम टुंगो लगाउनुपर्ने छ।
नेपाल समय
राजनीति

कांग्रेसमा समानुपातिक सिट बाँडफाँट: शेखर कोइरालालाई २५ प्रतिशत, देउवालाई ठूलो भाग

समानुपातिकमा करिब २५ प्रतिशत हिस्सा शेखर समूहलाई दिइएपछि पार्टी सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलाई आफूले राखेको ७५ प्रतिशतभित्रै समेट्नेछन्।
नेपाल समय
राजनीति

देउवाले भने- राजनीतिमा सधैं एकैनास हुँदैन र गठबन्धनमा पनि दायाँबायाँ हुँदैन

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिमा सधैं एकनास नहुने बताएका छन्। उनले गठबन्धनलाई आगामी चुनावसम्म लगेर जाने र यसमा कुनै दायाँबायाँ नहुने पनि बताएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना