काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्तापक्षीय गठबन्धनले देश चलाउन नसकेको उल्लेख गर्दै ताजा जनादेशमा जानुपर्ने बताएका छन्। एमालेको थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार पदबहालीका क्रममा पत्रकारलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको अवस्था मुलुकले लामो समय धान्न नसक्ने भएकाले तत्काल ताजा जनादेशमा जानुपर्ने बताएका हुन्।
यसअघि पनि पार्टीको आन्तरिक द्वन्द्वका कारण असंवैधानिक रुपमा संसद् विघटन गरी ताजा जनादेशमा जानुपर्ने बताएका ओलीले १० औं महाधिवेशनपछि फेरि त्यही कुरा दोहोर्याएका हुन्। उनले भने, 'गठबन्धनको सरकारबाट देश चलिरहेको छैन। यो सबैलाई अनुभूत भएको विषय हो। यो अवस्था देशले लामो समय भोगिरहन सक्दैन। छिटोभन्दा छिटो ताजा जनादेशमा जाऔं।'
अहिले हरेक क्षेत्रलाई निकम्मा बनाइएको उल्लेख गर्दै अहिलेको गठबन्धनले लोकतन्त्र भत्काउने काम गरेको आरोप लगाए। उनले भने, 'लोकतन्त्रलाई भत्काउने काम गरिएको छ। बिगार गर्ने काम भइरहेको छ। कतिपय घटकको काम त बिगार्ने र भत्काउने मात्र छ। अहिले सर्वोच्च अदालत, बार आदिमा यस्तै देख्न सकिन्छ।' ओलीले अहिले अदालतमा अन्योलपूर्ण अवस्था रहनुमा पाँच दलीय गठबन्धन जिम्मवार रहेको आरोप लगाए। गठबन्धनबाट अदालतको हुर्मत लिने काम भइरहेको उनको भनाइ छ।
‘यस्तो अस्थिरता लामो समयसम्म हुनु हुँदैन। अप्राकृतिक र नीतिहीन गठबन्धन अनुचित काममा लिप्त छ। लोकतान्त्रिक मूल्य मान्यतामा चल्ने सरकार मुलुकले चाहेको छ। ताजा जनादेशबाट मात्र समस्याको समाधान निस्कन सक्छ।’
ओलीले पार्टीबाट निकालिएका व्यक्तिलाई राखेर सरकार चलाइरहेको भन्दै आश्चर्य व्यक्त गरे। उनले भने, ‘यस्तो अस्थिरता लामो समयसम्म हुनु हुँदैन। अप्राकृतिक र नीतिहीन गठबन्धन अनुचित काममा लिप्त छ। लोकतान्त्रिक मूल्य मान्यतामा चल्ने सरकार मुलुकले चाहेको छ। ताजा जनादेशबाट मात्र समस्याको समाधान निस्कन सक्छ।’
उनले सबै दलका गतिविधिलाई जनताले मूल्यांकन गरिरहेकाले उपयुक्त फैसला पनि जनताले नै दिने बताए। ओलीले भने, ‘जनतामा जान डराउने तर अन्यत्रबाट सत्ता प्राप्त गर्ने राजनीति नै हुन सक्दैन। अब देश राजनीतितर्फ फर्कन पर्छ।’ ओलीले एमालेको जिल्ला अधिवेशन र प्रादेशिक अधिवेशन चाँडै सम्पन्न गरिने र जनसंगठनलाई पनि थप सक्रिय बनाइने बताए।
अध्यक्ष ओलीले दसाैं महाधिवेशन भव्यतापूर्वक सम्पन्न भएको बताए। उनले महाधिवेशनको सफलताले आत्मविश्वास बढाएको पनि भनाइ राखे।' राष्ट्रिय राजनीति अन्योलग्रस्त र गत्यावरोधपूर्ण अवस्थामा रहेको भन्दै उनले अब पार्टीको ध्यान त्यसलाई सही बाटोमा अगाडि बढाउने काममा केन्द्रित हुने बताए।
महाधिवेशनले तय गरेका लक्ष्य पूरा गर्न पार्टी अघि बढ्नेसमेत उनले प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, 'महाधिवेशन अनेक कोणबाट अत्यन्त सफल भएको छ। महाधिवेशनमा लोकतान्त्रिक अभ्यास, सहमतिका अभ्यास, सर्वसम्मतिका अभ्यास र निर्विरोधका अभ्यास भए।’
महाधिवेशनमा कार्यकर्ताको विशाल उपस्थितिले उल्लासपूर्ण रुपमा सम्पन्न भएको उनले बताए। उनले भने, 'त्यस्तो जनसहभागिता नेपालको इतिहासमै पहिलोपल्ट भयो।’ महासचिव शंकर पोखरेलले दसौं महाधिवेशनको उद्घाटनसत्र नेपालको इतिहासै पहिलोपटक भव्य रुपमा सम्पन्ने भएको दाबी गरेका छन्।