काठमाडौं– माओवादी केन्द्रले आगामी राष्ट्रिय सम्मेलनका लागि केन्द्रीय प्रतिनिधिहरु पठाउने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ। पार्टीको शुक्रबार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। उनले भने, ‘केन्द्रीय प्रतिनिधिहरू पठाउने ठाउँ धेरै छन्। उनीहरु सबैलाई फेरि थप प्रस्ताव तयार गरेर अर्को बैठकमा ल्याउने गरी अध्यक्षलाई जिम्मा दिएको छ।’
प्रतिनिधि छान्ने विषयमा पनि छलफल भएको महराले बताए। उनले राष्ट्रिय सम्मेलनमा हरेक प्रदेशले ३० जना ल्याउने र बाँकी पार्टी सदस्य नवीकरण संख्याका आधारमा थप्ने निर्णय भएको छ।
यस्तै बैठकले विधान संशोधन गर्न पाँच सदस्यीय उपसमिति गठन गरेको छ। उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव छन्। उपसमितिलाई मंसिर २५ गतेसम्म विधान संशोधन मस्यौदा तयार पार्न समयसीमा दिइएको महराले बताए।
यस्तै पार्टीले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यहरुको प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको छ। बैठकले राष्ट्रिय सम्मेलनका लागि व्यवस्थापन गर्न विभिन्न उपसमिति बनाएको छ। हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय भएको हो।
राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरेको पनि महराले बताए। प्रवक्ता महराले लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गर्नको लागि स्थायी कमिटीले अनुमति दिएको बताए। उनले राष्ट्रिय सम्मेलनबाट हरेक प्रदेशमा घाइते र अपांगको हकहित सुरक्षित गर्ने निर्णय गरिएको पनि बताए।