सोमबार, माघ १६, २०७९

अस्तित्वको लडाइँले तीन कोइराला तीनतिर

तीर्थराज बस्नेत  |  काठमाडौं, शनिबार, कार्तिक ६, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शनिबार, कार्तिक ६, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- गत असोज २३ गते नेपाली कांग्रेसकी नेतृ सुजता काइरालाले गरेको टिप्पणीले कांग्रेसको आन्तरिक राजनीति तरंगित बन्‍यो। सात दशक लामो राजनीतिक पृष्ठभूमी बोकेको सबैभन्दा पुरानो दल कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ। यहीबेला नेतृ कोइरालाले गरेको टिप्पणीले पार्टीभित्र तरंग सिर्जना गरेको हो।

सुजताको टिप्पणी थियो- वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालासँग पार्टी हाँक्ने क्षमता छैन। पौडेलका बारेमा उनले भनिन्, ‘रामचन्द्रजीको सानो सोच र मुटु छ। उहाँले गिरिजाप्रसाद कोइरालालाई दुःख दिनुभयो, सुशील कोइरालालाई दुःख दिनुभयो । रचनात्मक काम गर्नुहुन्‍न, दुःख मात्र दिनुहुन्छ। रामचन्द्रजीसँग अब म छैन, नेता मानेर हिंड्न सक्दिनँ।’ 

उनी त्यतिमा मात्र रोकिइनन्। शशांकप्रति पनि उनी आक्रोशित थिइन्। ‘शशांकजीको लाइफस्टाइल सभापति बन्‍न लायक छैन। बीपीको छोरा भन्दैमा कसैले भोट दिँदैनन्, काम हेरेर भोट दिन्छन्। त्यसैले म शशांकलाई समर्थन गर्न सक्दिनँ।’

खासगरी कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको क्याबिनेटमा वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालले मन्त्री नबनाएपछि सुजताले पौडेल र कोइरालाको साथ छोडेको घोषणा गरेकी हुन्।  

‘सुजाता दिदीलाई मन्त्री बनाउने वचन दिइएको थियो। गिरिजाबाबुकी छोरी, त्यसमाथि महिला पनि। धोका दिइयो, त्यसको प्रतिक्रियास्वरुप उहाँले रामचन्द्र दाइ र शशांक दाइका विषयमा टिप्पणी गर्नु भएको हो,’ कोइराला परिवारको सानिध्यमा रहेर राजनीति गरिरहेका एक नेता भन्छन्, ‘कारण जे होस्, महाधिवेशनको संघारमा सुजाता दिदीको यो टिप्पणीको गहिरो अर्थ छ।’

कोइराला परिवारका उत्तराधिकारीहरुबीचको खटपटले १४ औं महाधिवेशनबाट पार्टी नेतृत्वमा कोइराला परिवारको पुनरोदयलाई धक्का दिएको विश्लेषण भइरहेको छ। 

सुजताको यो टिप्पणीले कांग्रेसको संस्थापक कोइराला परिवारको उत्तराधिकारीबीचको बेमेललाई प्रष्ट पार्छ। १४औं महाधिवेशनको मुखमै सुजताको यो टिप्पणीले कोइराला परिवारभित्रको तिक्तता थप बढेको छ। 

कांग्रेसको नेतृत्व लामो समय कोइराला परिवारको वरिपरि घुमेको छ। बीपीले २५, मातृकाप्रसादले ४, गिरिजाप्रसादले १४ र सुशीलले ६ वर्ष गरी कोइरालाहरुले ४९ वर्ष कांग्रेसको नेतृत्व गरेका छन्। कोइराला परिवारबाहेक सुवर्ण शम्शेरले २ र कृष्णप्रसाद भट्टराईले २० वर्ष कांग्रेसको नेतृत्व गरेका छन्। १३ औं महाधिवेशनबाट देउवाले कांग्रेसको नेतृत्व गरिरहेका छन्।

देउवाको नेतृत्वमा कांग्रेस कमजोर बनेको टिप्पणी पार्टीभित्र र बाहिरबाट हुँदै आएको छ। र, १४ औं महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा पुग्‍ने प्रयत्‍न कोइराला परिवारले गरिरहेको छ। कांग्रेसको राजनीतिमा अहिले कोइराला परिवारका तीन जना नेता छन्– बीपी पुत्र शशांक, नोना पुत्र शेखर र गिरिजाप्रसाद पुत्री सुजता। यस्तो अवस्थामा कोइराला परिवारका उत्तराधिकारीहरुबीचको खटपटले १४ औं महाधिवेशनबाट पार्टी नेतृत्वमा कोइराला परिवारको पुनरोदयलाई धक्का दिएको विश्लेषण भइरहेको छ। यद्यपी तीन कोइराला सक्रिय रहेको वरिष्ठ नेता पौडेल समूहमा मुख्यरुपमा चार जना सभापतिका आकांक्षी देखिन्छन्- पौडेल, शशांक, प्रकाशमान सिंह र शेखर। उनीहरुबीच सहमतिको प्रयास भइरहेको भनिए पनि आफू कुनै पनि हालतमा पछि नहट्‍ने दाबीसमेत गरिरहेका छन्। चारै जना न त मिल्न सकेका छन् न त मिलाइएका नै।

तीन कोइराला तीनतिर 

कोइराला परिवारका तीन नेताहरु शशांक, शेखर र सुजाताबीचको बेमेल सार्वजनिकरुपमा देखिँदै आएको छ। तीनजना नै कोइराला परिवारको विरासत धान्‍ने उत्तराधिकारीकारुपमा आफूलाई अर्थ्याइरहेको छन्। १४ औं महाधिवेशनमा तीन जनाले नै सभापति पदमा दाबी गरेका छन्। उनीहरु मध्ये पनि शेखर र शशांक भने एकअर्कालाई नछोड्ने मनस्थितीमा देखिन्छन्। १४औं महाधिवेशनबाट कांग्रेसमा कोइराला परिवारको विरासत फर्किएला? उत्तराधिकारी को होला? प्रश्‍न थप पेचिलो बन्दै गएको छ।

त्यसो त १३औं महाधिवेशनमा पौडेल समूहबाट महामन्त्रीका आकांक्षी थिए- शशांक र शेखर। तर, अन्तिम समयमा पौडलको रोजाइमा बीपीपुत्र शशांक परे। एकपटक भाइका लागि त्याग गर्ने भन्दै शेखर केन्द्रीय सदस्य लडे र पपुलर मतसहित विजयी भए। पौडेलले महामन्त्री नपत्याएपछि शेखर देउबासँग पनि नजिक हुन सकेनन्। सोही कारण १४औं महाधिवेशनमा सभापतिमा लड्ने तयारीस्वरुप देश दौडाहामा निस्किए। 

 शशांक पनि शेखरको देश दौडाह र आफ्नाबारे उनले गरेका टिप्पणीप्रति सन्तुष्ट नरहेको उनी निटक नेताहरु बताउँछन्। 

शशांक महामन्त्रीमा निर्वाचित त भए, तर उनको कार्यशैलीका विषयमा भने न शेखर सन्तुष्ट देखिएका छन्, न त सुजता नै। सुजताले त हालै शशांकको कार्यशैलीका विषयमा सार्वजनिकरुपमा असन्तुष्टि पोखेकै छन्। शेखरले एक वर्षअघि नै आफ्नो असन्तुष्टि पोखेका थिए। उनले भनेका थिए, 'शशांकलाई महामन्त्री छोड्नु मेरो भुल थियो।' १४औं महाधिवेशनमा सभापति शशांकलाई छोडेर अर्को भुल दोहोर्‍याउन नचाहेको उनले बताएका थिए। शेखरले सार्वजनिकरुपमा दिएका अभिव्यक्तिले पनि त्यसको पुष्टि गर्छ। तर, शशांकको दाबी पनि उस्तै छ। सभापति देउवालाई पराजित गर्न सक्ने एकमात्रै पात्र आफू भएको दाबी उनले पटक–पटक गर्दै आएका छन्। शशांक पनि शेखरको देश दौडाह र आफ्नाबारे उनले गरेका टिप्पणीप्रति सन्तुष्ट नरहेको उनी निटक नेताहरु बताउँछन्। 

कांग्रेसको एउटा जमात शशांकमा उनका पीता बीपीको अनुहार देख्छ। तर,बीपीको छोराकारुपमा उनले पाएको ‘सेन्टिमेन्ट’ अनुसारको काम भने उनले गर्न सकेका छैनन्। ०६४ सालको संविधानसभा निर्वाचनमा उनी कोइराला परिवारबाट निर्वाचन जित्‍ने एक्ला सदस्य थिए। १३औं महाविधेशनपछि शशांकलाई कांग्रेस कार्यकर्ताले बीपीको उत्तराधिकारीकारुपमा कांग्रेस कार्यकर्ताले महामन्त्रीको कुर्सीमा विराजमान गराए। तर, महामन्त्रीकारुपमा उनले कमजोर कार्यसम्पादन गरेको सुजाताको मात्रै होइन उनको समूहका अन्य नेताहरुको बुझाइ पनि उस्तै नै छ। ‘महामन्त्रीकारुपमा उहाँको कार्यसम्पादन त सबैले देखेकै छन्। त्यसैले उहाँका विषयमा सुजाता दिदीले त्यस्तो टिप्पणी गर्नु भएको हो,’ अर्का एक नेता भन्छन्, ‘हाम्रो बझाइ पनि त्यही नै हो।’

सुजातामा पनि धेरै कांग्रेसीहरू गिरिजाप्रसादको अनुहार देख्छन्। गिरिजाप्रसादले शेखर र शशांकलाई भन्दा सुजातालाई अघि बढाउने प्रयत्‍न पनि गरेका थिए। त्यसका लागि उनले आफ्नो अन्तिम कालमा सुशीललाई कार्यवाहक सभापति बनाएको तर्क गर्नेहरु पनि छन्। 

शेखरले कार्यकर्ता पंक्तिमा राम्रो छाप बनाएका छन्। उनी राजनीतिक मामिलामा प्रस्ट दृष्टिकोण त राख्छन्। यद्यपि उनी पोर्टफोलियोमा केन्द्रीय सदस्य मात्रै रहेको र शशांक र सुजाताजस्तो बीपी वा गिरिजाप्रसादको ‘लिगेसी’ नभएको टिप्पणी पार्टी भित्रैबाट हुने गरेको छ। कोइराला परिवारका तीन नेताबीच बेलाबखतमा देखिने तिक्तता कस्तो हो? कोइराला परिवार नजिक रहेका ती नेता भन्छन्, ‘उहाँहरुको तिक्तता व्यक्तिगत होइन। यो विरासतको झगडा हो। सभापति को बन्‍ने, विरासत कसले फर्काउने भन्‍ने प्रतिस्पर्धा पनि हो।’ 

सुजाताको टिप्पणीको अर्थ के हो? त्यसले शशांकको सभापति बन्‍ने यात्रामा असर गर्छ त? भन्‍ने प्रश्‍नमा ती नेताको जवाफ छ, ‘सुजाता दिदीको त्यो टिप्पणीले शशांकलाई सभापति हुन घाटा गर्छ नै। बीपी संस्थापक नेता हो। सबैले उहाँलाई मान्छन्। तर, बीपीसँग काम गरेको नेता–कार्यकर्ता कमै मात्र बाँकी छन्। तर, गिरिजाबाबुसँग काम गरेका नेता–कार्यकर्ताको अहिले पनि वर्चश्व छ। यो मात्रै होइन, कोइराला परिवारका तीन नेतामध्ये दुई एक ठाउँमा आउँदा अर्कोलाई घाटा पनि गर्छ।’ 

कोइराला परिवारभित्रको तिक्तता सार्वजनिकरुपमा सतहमा आएपनि तीन नेताले आफू निकट नेताहरुसँग भने एकअर्काका विषयमा टिप्पणी भने गर्दैनन्। ‘आफू निकटका नेता–कार्यकर्तासँग उहाँहरुले एक अर्काकाबारेमा टिप्पणी गर्नुहुन्‍न। किनभने उहाँहरुले एकअर्कालाई मजाले चिन्‍नुभएको छ। एकअर्काको क्षमता र सामर्थ्य उहाँहरुले राम्ररी बुझ्नु भएकै छ,’ उनी भन्छन्।

पारिवारिक कलह स्थापनाकाल देखि नै

नेपाली कांग्रेसको स्थापनाकालदेखि नै बीपी र मातृकाबीच टकराव थियो। उनीहरुले एकले अर्कालाई ‘भारतपरस्त’ र ‘राजा परस्त’को आरोप लगाउँदै आएका थिए। 

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण भएपछि मातृका पार्टीको सभापति बनेका थिए। प्रजातन्त्र स्थापनापछि बनेको सरकारका गृहमन्त्री बीपी बने। गृहमन्त्री रहेकै बेला आक्रमणको प्रयास भए पछि बीपीले मोहन शमशेरसँग बस्‍न नसक्ने निष्कर्ष निकालेर प्रधानमन्त्री फेर्नुपर्ने प्रस्ताव राखेका थिए। जसलाई सभापति मातृकाले स्वीकार गरे। राजा त्रिभुवनले पनि कांग्रेसको प्रस्ताव स्वीकार गरे। तर, को प्रधानमन्त्री हुने भन्‍ने विषयमा कांग्रेसमा विवाद चुलियो। बीपी र मातृकाबीच त्यही बेला टकराव चुलिएको थियो। बीपी आफैं प्रधानमन्त्री बन्‍न चाहान्थे। तर, भारत भने मातृकालाई प्रधानमन्त्रीकारुपमा देख्‍न चाहान्थ्यो।

भारतीय समाजवादी नेता जयप्रकाश नारायणले दिल्लीमा बोलाएर दुई भाइबीच सम्झौता गराइदिए। उनको मध्यस्थतामा मातृकाले कांग्रेस सभापतिबाट राजीनामा दिने, बीपी सभापति हुने सम्झौता भयो। त्यसपछि मातृकाले सभापति छाडे, बीपी सभापति भए।

कांग्रेसका संस्थापक नेतामध्येका एक विश्वबन्धु थापाका अनुसार त्यही घनचक्कारकाबीचमा सभापतिको हैसियतमा मातृकाले प्रधानमन्त्रीमा आफ्नो नाम सिफारिस गरेका थिए। मोहन शमशेर नेतृत्वको सरकारबाट राजिनामा दिएका बीपीलाई मातृकाले प्रधानमन्त्रीमा आफ्नो नाम सिफारिस गरेर धोका दिएको उनको बुझाइ छ।

त्यही कारण मातृका प्रधानमन्त्री भएपछि बिपी सरकारमा गएनन्। तर, बीपीले मातृकाको हातबाट पार्टी नेतृत्व आफूमा ल्याउन प्रयत्‍न गर्न थाले। ‘पार्टी नेतृत्व आफूलाई दिन बीपीले गरेको प्रस्ताव मातृकाले अस्वीकार गरेपछि उनीहरुबीचको तिक्तता बढ्दै गयो,’ थापाले भन्छन्, ‘त्यसपछि भारतीय समाजवादी नेता जयप्रकाश नारायणले दिल्लीमा बोलाएर दुई भाइबीच सम्झौता गराइदिए। उनको मध्यस्थतामा मातृकाले कांग्रेस सभापतिबाट राजीनामा दिने, बीपी सभापति हुने सम्झौता भयो। त्यसपछि मातृकाले सभापति छाडे, बीपी सभापति भए।’

सभापति बनेपछि बीपीले कार्यसमितिमा आफ्नो बहुमत बनाए। विपी नेतृत्वको कार्यसमितिले सरकारले राम्रो काम नगरेको भन्दै राजीनामा गर्न निर्देशन दियो। पार्टीले फिर्ता बोलाएपछि मातृका फिर्ता आउनुपर्ने थियो। तर मातृकाले विपी कार्यबहाक सभापति भएको भन्दै सरकारबाट फिर्ता आउन मानेनन्। निर्णय लिन महासमिति बैठक बोलाइयो। महासमितिमा बीपीको प्रस्ताव पारित भयो। त्यसपछि जनकपुरमा भएको महाधिवेशनमा बीपीसँग मातृका पराजित भए।

पहिला राष्ट्रिय प्रजा पार्टी खोलेर मातृकाले प्रधानमन्त्रीबाट राजीनामा गरे। राजा त्रिभुवनले राष्ट्रिय प्रजा पार्टीको नेता भनेर पुनः मातृकालाई प्रधानमन्त्री बनाएका थिए। २०१२ सालमा भएको छैटौं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका सुवर्णसम्शेरले राजासँग कुरा गरेर निर्वाचन हुने भएपछि मातृकाले राष्ट्रिय प्रजा पार्टीलाई कांग्रेससँग एकीकरण गरेका थिए। २०१५ सालमा भएको निर्वाचनमा मातृकालाई भने चुनाव लड्न दिइएन। कांग्रेसले दुई तिहाई बहुमत ल्याएपछि बीपी प्रधानमन्त्री बनेका थिए। पार्टी राजनीतिमा बीपीले सँधै कर्नरमा पारेपछि मातृका पञ्चायत आएपछि राजासँग लागेर यूएनको राजदूत बनेका थिए। 

बीपी र मातृकाको टकरावको असर अहिलेसम्मै कायम रहेको टिप्पणी हुने गरेको छ। त्यसो लामो समय कांग्रेसको नेतृत्व सम्हालेका गिरिजाप्रसादले बीपी पुत्रहरुलाई सहयोग नगरेको टिप्पणी गर्नेहरु पनि छन्।

कांग्रेसको नवौं महाधिवेशनमा पूर्वाञ्‍चल क्षेत्रबाट केन्द्रीय सदस्य रहेका बीपी पुत्र प्रकाश कोइराला विजयकुमार गच्छदारसँग पराजित भए। सो महाधिवेशनमा गिरिजाबाबुबाट आफूलाई सहयोग नभएको गुनासो प्रकाशले गर्दै आएका छन्। यही गुनासो बढ्दै जाँदा प्रकाशले गिरिजाप्रसादसँग फरक मत मात्रै राखेनन्, राजाको मन्त्री बने र कांग्रेस त्याग्‍न राजी भए।

प्रकाशमा अहिले  पनि कांग्रेसको नेतृत्व एकपटक ‘बीपीकै विरासत’ मा फर्काउने हुटहुटी बाँकी नै छ। त्यही हुटहुटीका कारण भाइ शशांकलाई कांग्रेसको भाबी सभापति बनाउन उनले पहल गरिरहेका छन्। 

त्यसो त गिरिजाप्रसादले बीपी पुत्रहरु माथि मात्रै होइन नोनापुत्र शेखरलाई समेत अघि बढाउन नचाहेको टिप्पणी गर्नेहरु पनि छन्। ०४६ सालपछि नेपाली राजनीतिमा कोइराला परिवारबाट प्रकाशबाहेक बीपीका भाइ केशव-नोना कोइरालाका दुबै छोरा निरञ्‍जन र शेखरलाई नियुक्ती दिँदै राजनीतिमा ल्याउने प्रयास भएको थियो। निरञ्‍जनलाई पर्यटन मन्त्रालयको सल्लाहकार र शेखर पहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बनेका थिए। त्यो बेला विपी पुत्र प्रकाश कोइराला मात्रै राजनीतिमा सक्रिय थिए। तर, गिरिजाप्रसादको प्रधानमन्त्रित्वकालमा नोना र सुजाताबीच मनमुटाव चर्कियो। 

हिजो जस्तो कांग्रेसमा कोइरालाको मात्रै वर्चश्व छैन। कोइराला नै बिडो थाम्छन् भन्‍ने पनि होइन। कोइराला परिवारलाई हिजो कै परिवेशमा बुझ्‍न उचित हुँदैन।’ 

गिरिजाप्रसादले शेखरलाई भन्दा छोरी सुजताको राजनीतिक उचाइलाई माथि उठाउन प्रयास गरेको भन्दै नोना निकै दुःखी रहेको कोइराला परिवारको आरोह-अवरोहलाई नजिकबाट नियालेका ती नेता बताउँछन्। यद्यपि गिरिजाप्रसाद सत्तामा रहँदा शेखरले नजिक बसेर काम भने गरेका थिए। त्यतिबेला सुजातालाई पार्टीका तर्फबाट नेतृत्व गराउँदै उपप्रधानमन्त्रीका रूपमा सरकारमा पठाएका थिए। एकातर्फ गिरिजाप्रसादको निकटमा रहेर शेखरले काम गर्नु र गिरिजाप्रसादले सुजतालाई आफ्नो उत्तराधिकारीकारुपमा अघि बढाउने प्रयास गर्नुले बीपी पुत्रहरुलाई झस्काएको थियो। प्रकाश कोइराला राजनीतिमा सक्रिय रहेकै समयमा गिरिजाप्रसादले आफ्नो उत्तराधिकारीकारुपमा सुशीललाई अघि बढाए। त्यसको कारण थियो- गिरिजाप्रसादको बलियो उत्ताधिकारीका रूपमा परिवारका अन्य कुनै सदस्य देखा नपर्नु। गिरिजाप्रसादले छोरी सुजातालाई राजनीतिक रूपमा अगाडि बढाउन खोजेका थिए। त्यसका लागि उनले उपप्रधानमन्त्री बनाएका थिए। तर, पार्टीको नेतृत्व गर्ने सवालमा सुजाता कमजोर नै देखिइन्। सुजताको कमजोर कार्यसम्पादनलाई हेरेर गिरिजाप्रसादले अन्तिम  समयमा सुशीललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिए।

२०१५ साल देखि नै निकट भएर काम गरे पनि सुशीललाई गिरिजाप्रसादले उत्तराधिकारी बनाउँछन् भन्‍ने धेरैलाई लागेको थिएन। कृष्णप्रसाद भट्टराईसँग सम्बन्ध बिग्रिएको अवस्था थियो। कृष्णप्रसादले आफ्नो उत्तराधिकारीको रुपमा शेरबहादुर देउवालाई अगाडि सारेका थिए। सोही कारण गरिजाप्रसादले सुशीललाई च्याप्‍नु परेको थियो। तर, सुशीलले बीपी र गिरिजाप्रसादका पिता कृष्णप्रसाद कोइरालाको वंशजलाई प्रतिनिधित्व गर्दैनन्, सुशील। उनी गिरिजाप्रसादकी आमा दिव्याकुमारीकी साहिँली बहिनी कुमुदिनीदेवीका छोरा हुन्।

पारिवारिक टकरावको तुष कोइराला परिवारमा अझै बाँकी छ। र, वंशको उत्तराधिकारीकारुपमा दाबी गर्ने प्रतिस्पर्धा तीन नेताबीच चलिरहकै छ। सुजाताको पछिल्लो अभिव्यक्तिपछि शेखर र सुजता नजिक देखिन्छन्। एजेन्डामा शशांक र पार्टी छोडेर हिँडेका दाइ प्रकाश एकै ठाउँ देखिन्छन्। खासगरी हिन्दु राज्यका बारेमा शशांकले बेलाखबतमा दिँदै आएका अभिव्यक्तिले पनि त्यसको पुष्टि गर्छ। अर्कोतर्फ शेखर र सुजाता भने परिवर्तनका एजेन्डालाई स्वीकार गरेर अघि बढ्नुपर्नेमा एकमत देखिन्छन्। तर, विरासतको लडाँइमा शेखर र शशांकबीच प्रतिस्पर्धा देखिन्छ। ‘खासगरी अहिले शेखर र शशांकबीच प्रतिस्पर्धा देखिन्छ। उहाँहरुले एकले अर्कालाई नछोड्ने स्थिती छ। भलै ग्राउन्डमा को बलियो छ? त्यो अर्कै पाटो हो। तर, एकले अर्कोलाई त्याग गर्ने स्थिती चाहिँ देखिएको छैन।’ 

राजनीतिक विश्लेषकहरु भने कोइराला परिवारलाई हिजोकै परिवेशमा बुझ्‍न नहुने तर्क गर्छन्। पार्टीमा थुप्रै नेताहरुको उदय भइसकेकाले कांग्रेस र मुलुकको नेतृत्वको बिडो तीन कोइरालामध्ये एकले मात्रै थाम्‍न सक्छन् भनेर विश्लेषण गर्न नहुने उनीहरुको तर्क छ। ‘अहिले जुन खालको अन्तरकलह देखिएको छ। त्यो कसरी अघि बढ्छ भनेर अहिले नै भन्‍न सकिन्‍नँ। तीन कोइराला एकै ठाउँ रहन्छन् वा रहँदैनन्? कोइराला इतर समूहसँग कसरी पावर शेयर हुन्छ? त्यसमा पनि भर पर्छ,’ राजनीतिक विश्लेषक डा. विष्णु दाहाल भन्छन्, ‘उहाँहरुका बीचमा विरासतको लडाइँ देखिन्छ। तर, हिजो जस्तो कोइरालाको मात्रै वर्चश्व छैन। कोइराला नै बिँडो थाम्छन् भन्‍ने पनि होइन। कोइराला परिवारलाई हिजो कै परिवेशमा बुझ्‍न उचित हुँदैन।’ 

अर्का विश्लेषक डा. शोभाखर कँडेल अघिल्लो महाधिवेशनमा झैं तीन कोइराला मिलेर जाने अपेक्षा सुजताको टिप्पणीले विथोलिएको बताउँछन्। ‘शशांक महामन्त्रीको भूमिकामा खरो उत्रन सक्नुभएन। त्यसैले सुजाताको यस्तो टिप्पणी आएको हो। यसले १३औं महाधिवेशनमा झैं तीन जना मिलेर अघि बढ्ने कुरामा खलल पुर्याएको छ,’ उनी भन्छन्, ‘उहाँहरु तीन जना विरासत फर्काउने प्रयासमा त हुनुहुन्छ। तर, कार्यनीति के हो भन्ने चाहिँ स्पष्ट छैन।’


प्रकाशित: October 23, 2021 | 07:05:00 काठमाडौं, शनिबार, कार्तिक ६, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

बक्स अफिसमा नयाँ रेकर्ड बनाउँदै पठान

फिल्मले सबैभन्दा छोटो समयमा ४ सय करोडभन्दा बढीको व्यापार गर्ने हिन्दी चलचित्रको रेकर्ड पनि कायम गरेको छ। चौथो दिनमात्र पठानले १०० करोडभन्दा बढीको बिजनेस गरेको छ।

रवि लामिछानेले लिए नागरिकता

लामिछानेले जिल्ला प्रशासन काठमाडौंमा अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि दोस्रो पटक नेपाली नागरिकता लिएका हुन्।

लाइन मिचेर नागरिकता लिन सीडीओ कार्यालय पुगे रवि

रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्। आइतबार दिउँसो १२ बजे उनी नागरिकता लिन सीडीओ कार्यालय पुगेका हुन्।

रविको राजीनामापछि रास्वपाको पहिलो बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ।

प्रथम सरस्वती कराते कपको उपाधी इचङुनारायण र ब्रह्मास्मी स्कुललाई

प्रथम सरस्वती कप सिनियर/जुनियरको उपाधी इचङुनारायण डोजो र ब्रह्मास्मी स्कुलले जितेको छ।

चितवन-२ मा उपनिर्वाचन हुने, अयोग्य ठहरिएका रवि चुनाव लड्न पाउलान्?

पुनः नागरिकता प्राप्त गरेसँगै चितवन क्षेत्र नम्बर २ मा अब हुने उपनिर्वाचनमा उनी सहभागी हुन सक्नेछन्। तर त्यसअघि अन्य कसुरमा उनीमाथि कारबाही नभएको अवस्थामा मात्रै उपनिर्वाचनमा उम्मेदवार हुन पाउने छन्।

मुक्तिनाथ बैंकका गार्डले सांग्रिलाको एटीएम फुटाउन खोजेपछि...

एटीएम फोडेर पैसा झिक्न खोज्ने एकजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

रविको राजनीतिक यात्रा: ६ महिनामा अविश्वसनीय छलाङ, अचानक उपलब्धि शून्य

उनले हासिल गरेका उपप्रधान तथा गृहमन्त्री र सांसद पद गएको छ। त्यतिमात्र नभएर उनी आफैंले ६ महिनाअघि गठन गरेको पार्टीबाट पनि उनी बेदखल भएका छन्। रविको आफ्नै शब्दमा भन्ने हो भने उनी अनागरिक भएका छन्।

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीबाट तीन जना पक्राउ

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ।

लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङजा खुदी घर भएका पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए।

थप समाचार

नेपाल समय
राजनीति

सरकार सञ्चालन साझा नीति र कार्यक्रमबाट हुन्छ : महासचिव पोखरेल

विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सहमति खोज्नु रहेको बताए।
नेपाल समय
राजनीति

वामदेव र रावल नेकपा एसमै आउने घनश्याम भुसालको ठोकुवा

नेकपा एसले मुलुकमा एकीकृत वाम नेतृत्व गर्ने र यसमा धेरै कम्युनिस्ट नेताहरू जोडिने भुसालको तर्क।
नेपाल समय
राजनीति

माओवादी स्थायी कमिटी बैठक सुरु, राष्ट्रपति चयनबारे छलफल हुँदै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार पनि बसेको छ।
नेपाल समय
राजनीति

सहिदको बलिदान गणतन्त्रको प्रतिफल : प्रधानमन्त्री प्रचण्ड

सहिद दिवस राजनीतिक दलका लागि राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुन प्रेरणा स्रोत बनेको प्रधानमन्त्री प्रचण्डको धारणा।
नेपाल समय
राजनीति

कांग्रेस सभापति देउवासँग अमेरिकी उपविदेशमन्त्री न्युल्यान्डको भेट

धुम्बाराहीस्थित निवासमा अमेरिकी उपविदेशमन्त्री र देउवाबीच भेटवार्ता भएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना