सोमबार, माघ १६, २०७९

जसलाई नेता बनायो, उसैले थला पार्‍यो नेविसंघ

तीर्थराज बस्नेत  |  काठमाडौं, मंगलबार, असोज ५, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, असोज ५, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- नेपाली कांग्रेसको वर्तमान नेतृत्व नेपाल विद्यार्थी संघ (नेविसंघ) पृष्ठभूमिबाट आएका नेताहरूको हातमा छ। कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा २०२८ सालमा नेविसंघ अध्यक्ष बनेका थिए। २८ वर्षमा नेविसंघको नेतृत्व गरेका देउवाले १३औं महाधिवेशनबाट कांग्रेसको नेतृत्व गरिरहेका छन्। 

१३औं महाधिवेशन देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल नेविसंघकै संस्थापक सदस्य हुन्। उपसभापति विमलेन्द्र निधि पनि नेविसंघका पूर्वअध्यक्ष हुन्। 

महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत पनि नेविसंघ पृष्ठभूमिबाटै कांग्रेसको राजनीतिमा आएका हुन्। महामन्त्री खड्का र सहमहामन्त्री महत नेविसंघको महामन्त्री भइसकेका नेता हुन्। प्रवक्ता विश्वप्रकाश शर्मा पनि नेविसंघमा अध्यक्ष भइसकेका नेता हुन्। उनीहरूबाहेक कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिमा नेविसंघका १३ जना पूर्वअध्यक्ष अटाएका छन्। 

नेविसंघका पूर्वअध्यक्षहरू ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँड, एनपी साउद, धनराज गुरुङ, गोविन्द भट्टराई, किशोरसिंह राठौर, गुरुराज घिमिरे, प्रदीप पौडेल र कल्याण गुरुङ छन्। यस्तै कांग्रेस केन्द्रीय सदस्यहरू डा. रामशरण महत, दिलबहादुर घर्ती, उमा रेग्मी, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, हृदयराम थानी, महेन्द्र यादव, डा. चन्द्र भण्डारी, सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, गगन थापा, बद्री पाण्डे पनि नेविसंघका पूर्वपदाधिकारी हुन्। 

मंसिर ९ देखि १३ गतेसम्म १४औं केन्द्रीय महाविधेशन गर्ने गरी कांग्रेसले वडा तहको अधिवेशन गरिरहेको छ। वडा अधिवेशन चलिरहँदा नेताहरूले उम्मेदवारी घोषणा गरिरहेका छन्। सभापति र महामन्त्रीको उम्मेदवारी घोषणा गर्ने अधिकांश नेताहरुको साइनो नेविसंघसँग छ। ती नेताहरूमध्ये कोही नेविसंघको अध्यक्ष भइसकेका हुन् भने कोही पदाधिकारी। 

देउवा दाहोरिएर सभापति बन्ने दाउमा छन्। वरिष्ठ नेता पौडेल १३औं महाधिवेशनमा घाइते भएकाले १४औं महाधिवेशनबाट मल्हम लगाउने योजनामा छन्। उपसभापति निधिले सम्पर्क कार्यालय खोलेर सभापति लड्ने तयारी गरिरहेका छन्। कल्याण गुरुङ सभापतिमा उम्मेदवारी घोषणा गरेर आवश्यक तयारी गरिरहेका छन्। सभापतिका यी तीनै आकांक्षीको साइनो नेविसंघसँग जोडिएको छ। यद्यपि आगामी महाधिवेशनमा सभापति पदका आकांक्षी अरु नेता पनि छन्, कतिपय आकांक्षी खुलिसकेका छैनन्।  

गुटबन्दी र नेताहरूको व्यक्तिगत स्वार्थको सिकार बनेको नेविसंघ लामो समयदेखि भद्रगोल छ। 

नेविसंघमा महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका गगन थापाले कांग्रेस महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्। थापाले १३औं महाविधेशनमा पनि महामन्त्री पदमै प्रतिस्पर्धा गरेका थिए। तर, पराजित बने। अहिले पार्टीका प्रवक्ता समेत रहेका नेविसंघका पूर्वअध्यक्ष विश्वप्रकाश शर्माले पनि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्। पूर्वअध्यक्षहरू ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड, एनपी साउद, डा. मिनेन्द्र रिजाल, धनराज गुरूङ, गुरुराज घिमिरे, प्रदीप पौडेलले समेत महामन्त्री पदमा आकांक्षा देखाएका छन्। यद्यपि उनीहरुले औपचारिक रूपमा उम्मेदवारी घोषणा भने गरिसकेका छैनन्।  

नेविसंघलाई नै राजनीतिक जग बनाएका नेताले कांग्रेसको नेतृत्व गरिरहेको र आगामी महाधिवेशनमा पनि सभापतिदेखि पदाधिकारीसम्मका अधिकांश आकांक्षी नेविसंघबाटै उदाएका नेताहरुले दाबी गरिरहेको अवस्था छ। तर, पार्टी नेतृत्व जन्माउने कांग्रेसको उर्भर नर्सरी भने यतिबेला जीवनमरणसँग संघर्षरत छ। पार्टीका एक नेताका अनुसार यतिबेला नेविसंघको शरीर त छ तर, आत्मा छैन। भएको शरीर पनि पूर्ण छैन। पूर्ण र स्वस्थ शरीर नुहँदा नेविसंघ शिथिल अवस्थामा छ। दीर्घरोगले ग्रस्त भएर अस्पतालको शय्यामा छटपटाइरहेको मानिसको जस्तो हालतमा नेविसंघ छ। त्यो पनि आफैंले उत्पादन गरेको नेताले माउ पार्टीको नेतृत्व गरिरहँदाको बखत। 

नेविसंघको महाधिवेशन प्रत्येक २ वर्षमा गर्नुपर्ने वैधानिक व्यवस्था छ। तर, विगत ५ वर्षदेखि नेविसंघको महाधिवेशन हुन सकेको छैन। २०७३ सालमा भएको महाधिवेशनबाट नैनसिंह महर अध्यक्ष भएका थिए। उनले दुई वर्ष र थप गर्न मिल्ने ६ महिना गरी साढे दुई वर्ष नेविसंघ चलाए। महरले नियमित अधिवेशन गराउन सकेनन्। फलस्वरुप उनले राजीनामा दिए। 

महरको राजीनामापछि २०७६ माघ १६ मा कांग्रेसले नेविसंघको कार्यसमिति भंग गर्दै राजीव ढुंगानाको अध्यक्षतामा तदर्थ समिति बनायो। समितिलाई ६ महिनाभित्र महाधिवेशन गर्ने जिम्मेवारी दिइएको थियो। तर, ढुंगाना नेतृत्वको समितिको ६ महिनाभित्र महाधिवेशन गराउन सकेन। र, साउन ३० गते तेस्रो पटक ६ महिनाका लागि म्याद थप गरिएको छ। यसअघि २०७७ साउन १६ र २०७७ माघ १३ गते नेविसंघको म्याद ६–६ महिनाका लागि थपिएको थियो। 

नेविसंघको महाधिवेशन प्रत्येक २ वर्षमा गर्नुपर्ने वैधानिक व्यवस्था छ। तर, विगत ५ वर्षदेखि नेविसंघको महाधिवेशन हुन सकेको छैन।

गुटबन्दी र नेताहरूको व्यक्तिगत स्वार्थको सिकार बनेको नेविसंघ लामो समयदेखि भद्रगोल छ। महाधिवेशन गर्न नसकेर पटक–पटक म्याद थप भइरहेको अवस्थामा पार्टी सभापति देउवाले भदौ २० गते कांग्रेसमा गाभिएको लोकतान्त्रिक फोरम सांगठनिक संरचना मिलाउने नाममा सुनसरीका कपिलेश्वर यादवलाई नेविसंघको महामन्त्री नियुक्त गरेका छन्। १२७ सदस्यीय तदर्थ कार्यसमितिले पूर्णतासमेत पाउन सकेको छैन। 

नेविसंघको अहिलेको अवस्थालाई पूर्वअध्यक्ष गुरुङ एक शब्दमा भन्छन्, ‘दुर्भाग्य!’ नर्सरी नै सुख्खा भएपछि बगैंचा हराभरा हुन नसक्ने उनको भनाइ छ। ‘अहिले केन्द्रीय सभापतिदेखि पदाधिकारी र केन्द्रीय समितिमा नेविसंघबाट आएका हामी धेरै नेताहरु छौं। आगामी महाधिवेशनमा कांग्रेस पदाधिकारी दाबी गर्ने अधिकतर नेता नेविसंघ पृष्ठभूमिकै हुनुहुन्छ। तर, नेविसंघ अहिले शिथिल छ। महाधिवेशन हुन सकेको छैन,’ गुरुङ भन्छन्, ‘यो लज्जास्पद स्थिति हो। नेविसंघ नेता–कार्यकर्ता उत्पादन गर्ने नर्सरी हो। अब नर्सरीकै दुरवस्थामा भएपछि बगैंचा कसरी समृद्ध होला? यसतर्फ सोच्नुपर्छ।’

अर्का पूर्वअध्यक्ष गुरुराज घिमिरेका शब्दमा नेविसंघ पार्टीका नेता–कार्यकर्ता उत्पादन गर्ने कारखाना हो। तर, कारखाना कमजोर बन्द हुने अवस्था आउँदा भोलि पार्टीले सक्षम नेतृत्व पाउन नसक्ने उनको तर्क छ। ‘यो दुःखलाग्दो स्थिति हो। नेविसंघको महाधिवेशन समयमा होस् भनेर बारम्बार दबाब दियौं। तर, हाम्रो मागको सुनुवाइ भएन,’ उनी भन्छन्, ‘पार्टीको शक्तिको र सामर्थ्यको स्रोत हो, नेविसंघ। पार्टीको जनशक्ति उत्पादन गर्ने कारखाना हो। पार्टी नेतृत्व नेविसंघलगायतका भातृसंस्थाबाट आपूर्ति गरिन्छ। पार्टीको कार्यकर्ता मात्रै त्यहाँबाट सप्लाई गर्ने होइन। त्यहाँबाट नेता पनि सप्लाई गर्ने हो। त्यो कारखाना जीर्ण बनेको अवस्थामा भोलि पार्टीले सक्षम नेतृत्व कसरी प्राप्त गर्छ?’ 

नेविसंघ पावर हाउस भएको र त्यहाँबाट उत्पादित ऊर्जा पार्टीमा आउने भएपनि अहिले ऊर्जाको आपूर्ति हुन नसकेर लोडसेडिङ भएको घिमिरेको भनाइ छ।

टाट पल्टिएको नर्सरीः न पानी पुगेको छ, न मल : श्रीकृष्ण अनिरुद्र गौतम, राजनीतिक विश्लेषक 

राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतमका अनुसार २०४६ पछि गतिहीन बनेको नेविसंघमा राजनीतिक रूपमा दबाब सिर्जना गर्ने शक्ति सकिएको बताउँछन्। नेविसंघलाई नेताहरूले आफ्नो स्वार्थअनुकुल प्रयोग गरेको तर नेविसंघका नेताहरूमा त्यसको चेत नभएकाले पनि कांग्रेसको नर्सरी दाबी गर्ने नेविसंघ जीर्ण अवस्थामा पुग्नु परेको उनको भनाइ छ। बाँकी उनकै शब्दमा:

नेविसंघको सन्दर्भमा मेरो फरक दृष्टिकोण छ। नेविसंघ किन बनाइएको थियो? किनकि कांग्रेसले नेविसंघको स्थापनाकालमा प्रत्यक्ष रुपमा गतिविधि गर्न पाइरहेको थिएन। नेताहरु निर्वासित अवस्थामा थिए। पार्टी प्रतिबन्धित थियो। तर, पार्टीमा कार्यकर्ता र सदस्य पंक्तिको गतिविधि ठप्प बनाउन हुँदैन भन्ने थियो। पार्टीमा आउने नयाँ सदस्य को मार्गप्रसस्त गर्नु पर्ने थियो।

२०१७ साल पुस १ गते जुन दिन राजा महेन्द्रले कु गरे। सोही दिन तरुण दलको उद्घाटन भएको थियो। बीपी कोइरालाले पार्टीमा आउने नयाँ र युवा नेता कार्यकर्तालाई तरुणदलमा परिपक्व बनाउने र पार्टी राजनीतिमा ल्याउने उद्देश्य राख्नुभएको थियो। र, तरुण दललाई पाठशाला बनाउन चाहानुभएको थियो। तर, राजा महेन्द्रको कदमपछि उहाँको योजना असफल बन्यो। त्यही पृष्ठभूमिका आधारमा नेविसंघ गठन भएको हो। पार्टी गतिविधि गर्नका लागि पनि त्यो आवश्यकता महसुस गरियो। नेपाली कांग्रेस रूचाउने तन्नेरीहरुले उनीहरुको पहलमा नेविसंघमा स्थापित भएको र त्यसलाई नेताहरुले अनुमोदन गरे।

नेतृत्वमा भएकाहरुमा महाधिवेशनका लागि दबाब सिर्जना गर्ने शक्ति भएन। त्यसो भएको भए ५० वर्षका व्यक्तिलाई नेविसंघको अध्यक्ष बनाउनुपर्ने अवस्था आउने थिएन। 

तर, ०४६ सालको जनआन्दोलन र प्रजातन्त्र पुनःस्थापनापछि भने नेविसंघका विषयमा विभिन्न कोणबाट बहस भएको थियो। नेविसंघ जुन प्रयोजनका लागि प्रयोजनका लागि स्थापना भएको थियो, त्यसको औचित्य सकिएको होइन र? विद्यार्थी राजनीतिको भरमा कार्यकर्ता निर्माण गर्ने हो र? यी कोणबाट बहस भएका थिए। नेविसंघ स्वतन्त्र पनि भएन। काम गर्न पनि पाएन। पार्टीको छत्रछाँयामा बस्नुपर्‍यो। नयाँ कार्याक्रम पनि ल्याउन सकेन। ०४६ सालपछि नेविसंघ गतिहीनता आयो। त्यसपछि त समस्या देखिँदै आएको छ। प्रजातन्त्र पुन:स्थापनापछि कांग्रेसले नेविसंघको विकल्पका रुपमा अरु नै संयन्त्र बनाउनु पर्दथ्यो। नेविसघंलाई विद्यार्थीको भविष्य खेल्ने थलोका रुपमा बनाइन हुँदैन थियो। त्यसैले यो विस्तार आकर्षणको विषय नभएर विकर्षणको विषय हुँदै गयो। 

नेतृत्वमा भएकाहरुमा महाधिवेशनका लागि दबाब सिर्जना गर्ने शक्ति भएन। त्यसो भएको भए ५० वर्षका व्यक्तिलाई नेविसंघको अध्यक्ष बनाउनुपर्ने अवस्था आउने थिएन। नेविसंघको नेतृत्वमा भएकाहरुमा निर्भरता भयो। उनीहरुलाई नेताहरुले प्रयोग गर्ने, व्यानर बोक्ने, गुट निर्माण गर्ने काममा सक्रिय बनाए। अब यसलाई कांग्रेसको नर्सरी नै मान्ने हो भने पनि यो टाट पल्टिएको नर्सरी हो। त्यहाँ न मल पुगेको छ, न पानी। त्यो नर्सरीमा नयाँ बिरुवा छैनन्, बढ्न नसकेका र बुढा विरुवा छन्।  

नेविसंघको इतिहास

२००७ सालमा आएको प्रजातन्त्र त्यसको ठिक १० वर्षपछि २०१७ सालमा तत्कालीन राजा महेन्द्रबाट खोसियो। प्रजातन्त्र खोसिएको ठिक १० वर्षपछि प्रजातन्त्र पुनःस्थापनाको प्रमुख उदेश्य राखेर कांग्रेसले युवा विद्यार्थीलाई एकजुट बनाउन २०२७ सालमा नेविसंघको स्थापना गरेको थियो। २०२७ वैशाख ६ गते कांग्रेसका तत्कालीन कार्यबाहक सभापति कृष्णप्रसाद भट्टराईले नेविसंघको पहिलो महाधिवेशन काठमाडौंको स्वयम्भूमा उद्घाटन गरेका थिए।  नेविसंघको पहिलो अध्यक्ष थिए– विपीन कोइराला। कोइरालापछि नेविसंघले अहिलेसम्म १९ जना अध्यक्ष पाइसकेको छ।

पञ्चायती व्यवस्थामा कांग्रेसका विद्यार्थी नेताहरू संगठित हुँदै ०२७ सालमा नेविसंघ स्थापना भएको थियो। विपिन कोइरालाले मार्सलजुलुम शाक्यलाई एक मतले पराजित गरेर पहिलो सभापति भएको ५१ वर्षसम्म आइपुग्दा १९ जना नेविसंघको अध्यक्ष भइसकेका छन्।  जसमा ६ निर्वाचित, ५ सर्वसम्मत र ८ अध्यक्ष तदर्थ समितिबाट आएका छन्। 

नेविसंघका १९ अध्यक्षमध्ये एक जनाले मात्रै समयमै अर्थात् निर्वाचित भएको दुई वर्षे कार्यकालभित्रै महाधिवेशन गरी नेतृत्व हस्तातरण गरेका छन्। २०५७ सालमा आठौँ महाधिवेशनबाट अध्यक्ष भएका विश्वप्रकाश शर्माले ०५९ मा नवौँ महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए। तर, अरू कुनै पनि सभापतिले नियमित कार्यकालमा नेतृत्व हस्तान्तरण गर्न सकेनन्। निर्वाचित नेतृत्वले महाधिवेशन गर्न नसक्ने, तर तदर्थ समितिलाई महाधिवेशन गराउन सहयोग गर्ने पार्टीको नीतिले पनि नेविसंघ गुटगत राजनीतिले ग्रस्त छ। 

०२७ सालमा विपिन कोइराला अध्यक्ष भएको दुई वर्ष नपुग्दै ०२८ सालमा शेरबहादुर देउवा सर्वसम्मत रूपमा नेविसंघ अध्यक्ष भएका थिए। पञ्चायती व्यवस्था उत्कर्षमा पुगेको त्यो समयमा दोस्रो महाधिवेशन गराउन देउवालाई ९ वर्ष लाग्यो। देउवा जेल परेकाले बलबहादुर केसी कार्यवाहक अध्यक्ष बनाइएका थिए। ०३६ सालमा देउवा नेतृत्वले तेस्रो महाविधेशन गराउँदा विमलेन्द्र निधि सभापतिमा चुनिए। 

विश्वप्रकाश शर्माको समितिले ०५९ सालमा गराएको महाधिवेशनबाट गुरु घिमिरे निर्वाचित भए। तर, घिमिरे नेतृत्वको समितिले महाधिवेशन गर्न सकेन। 

बीपी कोइरालाले सर्वसम्मत रूपमा अध्यक्ष बनाएपनि तीन वर्ष बित्दासमेत निधिले महाधिवेशन गर्न सकेनन्। त्यसपछि निधि जिम्मेवारीबाट बाहिरिए। निधि बाहिरिएपछि ०३९ सालमा ज्ञानेन्द्रहादुर कार्कीको नेतृत्वमा तदर्थ समिति गठन भयो। कार्की नेतृत्वको तदर्थ समितिले ०४० सालमा गराएको चौथो महाधिवेशनबाट बलबहादुर केसी सर्वसम्मत अध्यक्ष बने। डा. प्रकाशशरण महत केसीका प्रतिस्पर्धी भए पनि पार्टीले नेतृत्वका लागि निर्वाचन गराएको थिएन। 

केसीले चार वर्षपछि ०४४ सालमा गराएको पाँचौँ महाधिवेशनबाट बालकृष्ण खाँड सर्वसम्मत रूपमा अध्यक्ष भए। खाँडले चार वर्षपछि महाधिवेशन गराए। ०४८ भएको छैटौँ महाधिवेशनबाट एनपी साउद अध्यक्ष निर्वाचित भए। साउदले स्वर्गीय नवीन्द्रराज जोशीलाई पराजित गरेका थिए। साउदले नेविसंघ महाधिवेशन गराउनका लागि उद्घाटन गरेर पनि सम्पन्न हुन सकेको थिएन। महाधिवेशन गर्न नसकेपछि साउदले राजीनामा दिए। 

साउदको राजीनामापछि तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले ०५३ सालमा धनराज गुरुङलाई तदर्थ समितिको अध्यक्ष बनाए। अध्यक्ष भएको ७ महिनामै गुरुङले महाधिवेशन गराए। सातौँ महाधिवेशनबाट गोविन्द भट्टराई अध्यक्ष बनेका थिए। भट्टराईले चार वर्षपछि ०५७ सालमा आठौँ महाधिवेशन गराउँदा विश्वप्रकाश शर्मा निर्वाचित भए। शर्माले किशोरसिंह राठौरलाई पराजित गरेर अध्यक्ष बनेका थिए। 


०५८ सालमा कांग्रेस फुटेपछि कांग्रेस प्रजातान्त्रिकबाट किशोरसिंह राठौर तदर्थ समितिका अध्यक्ष भए। उनी नेतृत्वको समितिले सोही वर्ष गराएको महाधिवेशनबाट कल्याण गुरुङ अध्यक्ष बने। निर्वाचित भएको दुई वर्षमै विश्वप्रकाशले महाधिवेशन गराएर गुरु घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए। कल्याण गुरुङ नेविसंघको सभापति भए पनि उनलाई महाधिवेशन गराउने म्यान्डेट प्राप्त थिएन। उनी कांग्रेस प्रजातान्त्रिकनिकट नेविसंघ अध्यक्ष थिए। 

विश्वप्रकाश शर्माको समितिले ०५९ सालमा गराएको महाधिवेशनबाट गुरु घिमिरे निर्वाचित भए। तर, घिमिरे नेतृत्वको समितिले महाधिवेशन गर्न सकेन। 

त्यसपछि ०६१ सालमा केशव सिंहको नेतृत्वमा तदर्थ समिति बन्यो, तर उनले पनि महाधिवेशन गर्न सकेनन्। पोखरामा महाधिवेशन उद्घाटन भयो। प्रतिनिधि छनोटका विषयमा भएको विवाद चुलिएपछि पार्टीले महाधिवेशन नै स्थगित गरिदियो। त्यसपछि महेन्द्र शर्माको नेतृत्वमा ०६२ सालमा तदर्थ समिति बन्न पुग्यो। शर्मा नेतृत्वको समितिले ०६४ सालमा १०औँ महाधिवेशन गर्दा प्रदीप पौडेल सभापतिमा निर्वाचित भए। तर, उनी नेतृत्वको समितिले पनि महाधिवेशन गर्न सकेन।

२०६९ सालमा रञ्जित कर्णको नेतृत्वमा तदर्थ समिति बन्यो। कर्ण नेतृत्वका समितिले २०७३ सालमा गराएको महाधिवेशनबाट नैनसिंह महर अध्यक्षमा निर्वाचित भए। तर, उनले पनि महाधिवेशन गराउन सकेनन् र २०७६ सालमा राजीव ढुंगानाको नेतृत्वमा तदर्थ समिति बनाइएको छ। महाधिवेशन गराउन ६ महिनाको समय पाएका ढुंगानाको कार्यकाल पटकपटक थप भइसकेको छ, अझै कतिपटक ६ महिने कार्यकाल थप गराउने हुन् भन्ने प्रश्नको उत्तर सभापति देउवासँगै छ। 

नेविसंघमा को कहिले भए अध्यक्ष? 

पहिलो महाधिवेशन २०२७ : विपिन कोइराला (निर्वाचित)

दोस्रो महाधिवेशन २०२८ : शेरबहादुर देउवा (सर्वसम्मत)

तेस्रो महाधिवेशन २०३६ : विमलेन्द्र निधि (सर्वसम्मत)

२०३९ : ज्ञानेन्द्रबहादुर कार्की (तदर्थ) 

चौथो महाधिवेशन २०४० : बलबहादुर केसी (सर्वसम्मत)

पाँचौँ महाधिवेशन  २०४४ : बालकृष्ण खाण (सर्वसम्मत)

छैटौँ महाधिवेशन २०४८ : सालमा एनपी साउद (निर्वाचित) 

२०५३ : धनराज गुरुङ (तदर्थ) 

सातौँ महाधिवेशन २०५३ : गोविन्द भट्टराई (सर्वसम्मत)  

आठौँ महाधिवेशन २०५७ : विश्वप्रकाश शर्मा (निर्वाचित) 

आठौँ महाधिवेशन (पार्टी फुट्दा) किशोरसिंह राठौर तदर्थ समितिका सभापति, 

कल्याण गुरुङ निर्वाचित

नवौँ महधिवेशन २०५९ : गुरुराज घिमिरे (निर्वाचित)

२०६१ : केशव सिंह (तदर्थ समिति) 

२०६२ : महेन्द्र शर्मा (तदर्थ समिति)

१० औँ महाधिवेशन २०६४ : प्रदीप पौडेल (निर्वाचित)

२०६९ : रञ्जित कर्ण (तदर्थ समिति) 

११औँ महाधिवेशन २०७३ : नैनसिंह महर (निर्वाचित) सभापति 

२०७५ माघ २ मा समय सकिएपछि महरद्वारा राजीनामा 

२०७६ माघ १६ : राजीव ढुंगाना (तदर्थ)


प्रकाशित: September 21, 2021 | 08:20:00 काठमाडौं, मंगलबार, असोज ५, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

बक्स अफिसमा नयाँ रेकर्ड बनाउँदै पठान

फिल्मले सबैभन्दा छोटो समयमा ४ सय करोडभन्दा बढीको व्यापार गर्ने हिन्दी चलचित्रको रेकर्ड पनि कायम गरेको छ। चौथो दिनमात्र पठानले १०० करोडभन्दा बढीको बिजनेस गरेको छ।

रवि लामिछानेले लिए नागरिकता

लामिछानेले जिल्ला प्रशासन काठमाडौंमा अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि दोस्रो पटक नेपाली नागरिकता लिएका हुन्।

लाइन मिचेर नागरिकता लिन सीडीओ कार्यालय पुगे रवि

रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्। आइतबार दिउँसो १२ बजे उनी नागरिकता लिन सीडीओ कार्यालय पुगेका हुन्।

रविको राजीनामापछि रास्वपाको पहिलो बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ।

प्रथम सरस्वती कराते कपको उपाधी इचङुनारायण र ब्रह्मास्मी स्कुललाई

प्रथम सरस्वती कप सिनियर/जुनियरको उपाधी इचङुनारायण डोजो र ब्रह्मास्मी स्कुलले जितेको छ।

चितवन-२ मा उपनिर्वाचन हुने, अयोग्य ठहरिएका रवि चुनाव लड्न पाउलान्?

पुनः नागरिकता प्राप्त गरेसँगै चितवन क्षेत्र नम्बर २ मा अब हुने उपनिर्वाचनमा उनी सहभागी हुन सक्नेछन्। तर त्यसअघि अन्य कसुरमा उनीमाथि कारबाही नभएको अवस्थामा मात्रै उपनिर्वाचनमा उम्मेदवार हुन पाउने छन्।

मुक्तिनाथ बैंकका गार्डले सांग्रिलाको एटीएम फुटाउन खोजेपछि...

एटीएम फोडेर पैसा झिक्न खोज्ने एकजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

रविको राजनीतिक यात्रा: ६ महिनामा अविश्वसनीय छलाङ, अचानक उपलब्धि शून्य

उनले हासिल गरेका उपप्रधान तथा गृहमन्त्री र सांसद पद गएको छ। त्यतिमात्र नभएर उनी आफैंले ६ महिनाअघि गठन गरेको पार्टीबाट पनि उनी बेदखल भएका छन्। रविको आफ्नै शब्दमा भन्ने हो भने उनी अनागरिक भएका छन्।

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीबाट तीन जना पक्राउ

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ।

लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङजा खुदी घर भएका पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए।

थप समाचार

नेपाल समय
राजनीति

सरकार सञ्चालन साझा नीति र कार्यक्रमबाट हुन्छ : महासचिव पोखरेल

विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सहमति खोज्नु रहेको बताए।
नेपाल समय
राजनीति

वामदेव र रावल नेकपा एसमै आउने घनश्याम भुसालको ठोकुवा

नेकपा एसले मुलुकमा एकीकृत वाम नेतृत्व गर्ने र यसमा धेरै कम्युनिस्ट नेताहरू जोडिने भुसालको तर्क।
नेपाल समय
राजनीति

माओवादी स्थायी कमिटी बैठक सुरु, राष्ट्रपति चयनबारे छलफल हुँदै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार पनि बसेको छ।
नेपाल समय
राजनीति

सहिदको बलिदान गणतन्त्रको प्रतिफल : प्रधानमन्त्री प्रचण्ड

सहिद दिवस राजनीतिक दलका लागि राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुन प्रेरणा स्रोत बनेको प्रधानमन्त्री प्रचण्डको धारणा।
नेपाल समय
राजनीति

कांग्रेस सभापति देउवासँग अमेरिकी उपविदेशमन्त्री न्युल्यान्डको भेट

धुम्बाराहीस्थित निवासमा अमेरिकी उपविदेशमन्त्री र देउवाबीच भेटवार्ता भएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना