मंगलबार, कार्तिक ९, २०७८

संविधान दिवस : मधेश केन्द्रित दलले अझै अंगाल्न सकेनन् संविधान

कतै 'ब्ल्याक-आउट', कतै खुशियाली त कतै संविधान खारेजीको माग
जयन्त ठाकुर  |  काठमाडौं, आइतबार, असोज ३, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

आइतबार, असोज ३, २०७८, काठमाडौं

नेपाल समय

जनकपुरधाम- नेपालले नयाँ संविधान पाएको आइतबार ६ वर्ष पूरा भएको छ। ६ वर्ष अगाडि २०७२ साल असोज ३ गते संविधानसभाबाट बहुमतको आधारमा नयाँ संविधान जारी गरिएको थियो। ६ वर्ष अगाडि संविधान जारी भइरहँदा एकातर्फ खुसियालीमा दिपावली मनाइँदै थियो भने मधेशमा 'ब्ल्याक-आउट' गरिँदै थियो। संविधान जारी भएकै दिन मधेश आन्दोलनमा सहभागी भएका तीन जनाको प्रहरीको गोली लागि मृत्यु भयो। यद्यपि मधेश र मधेशवादी दलको विरोधको स्वरका बीच संविधान जारी भयो।

पछि सोही संविधानलाई टेकेर मधेश केन्द्रित दलकै नेताहरु स्थानीय तहदेखि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी मात्रै भएनन् मन्त्रीसम्म पनि भए। प्रदेश २ मा त तत्कालीन राजपा र समाजवादी पार्टीको नेतृत्वमा सरकार नै गठन भयो। यद्यपि संविधान जारी भएको ६ वर्ष भइसके पनि अहिलेसम्म मधेशवादी दलले नयाँ संविधानलाई अँगाल्न नसकेको देखिएको छ।

शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन दिएको जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले औपचारिक रुपमै विरोधका कार्यक्रमहरु गरेर कालो दिवस मनाएको छ। दुबै दलका नेता कार्यकर्ताहरु जिल्ला-जिल्लामा संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा रहेको भन्दै विरोध जनाएका छन्।

जनकपुरधाममा संविधान दिवसको विरोधमा लोकतान्त्रिक समाजवादी पार्टीले विरोध र्‍याली निकालेको छ। लोसपाका प्रदेशसभा सदस्य परमेश्वर साहको नेतृत्वमा लोसपाका नेता कार्यकर्ताहरुले विरोध र्‍याली निकालेको हो। र्‍याली जनकपुरधामको विभिन्‍न चोकको परिक्रमा गरेको थियो।  



उनीहरुले असोज तीन, कालो दिन भन्दै जनकचोकदेखि विरोध र्‍याली निकाल्दै नगरको विभिन्‍न भागको परिक्रमा गरी पुनः जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

विरोध र्‍यालीमा सहभागीहरुले यो विभेदपूर्ण संविधानले मधेशी जनताको हक अधिकार संरक्षण नगरेको तथा सरकारले मधेशका जनताको अधिकारको ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरिरहेको भन्दै उनीहरुले संविधान अपूर्ण रहेको भन्दै विरोधमा प्रदर्शन गरेका हुन्।

प्रदेशसभा सदस्य परमेश्वर साहले नेपालको संविधानमा मधेशी, आदिवासी, जनजाती, मुस्लिम, थारुलगायत सबैको अधिकार सुनिश्चित हुनुपर्ने माग गरे। आफूहरुले आफ्नो आवाज बुलन्द गरिरहँदा शासकको गोली बर्साएर संविधान जारी गरेको दिन अझै हाम्रो मानसपटलमा ताजै रहेको उनको भनाइ थियो। संविधानमा मधेशी जनताको अधिकार सुनिश्चित नगरिएकोले आफूहरुले असोज ३ लाई कालो दिनको रुपमा मनाउँदै आएको उनले बताए।

संविधान संशोधन गर्नुपर्ने, झुठा मुद्दाहरु खारेजी गर्नुपर्ने, मधेशीलाई प्रताडित गर्ने काम बन्द गर्नुपर्ने, सबै नेपाली नागरिकको संविधान बनाउने कोशिस गर्नुपर्नेलगायतका माग आफूहरुको रहेको बताउँदै यी मागहरु पूरा नभएसम्म असोज ३ लाई कालो दिनकै रुपमा प्रत्येक वर्ष मनाइ रहेको बताए। 

यता प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टीले संविधान दिवसकै दिन संविधान संशोधन विषयक अन्तरकृया कार्यक्रम गरेको छ। सो अन्तरकृया कार्यक्रममा जसपाका नेता कार्यकर्ताहरुको सहभागिता रहे पनि प्रदेश सरकारका मन्त्रीहरुको भने सहभागिता थिएन ।