बुधबार, असोज १९, २०७९

प्रचण्ड, माधव र झलनाथको मनोग्रन्थीमा पसेको ओली भाइरस

संकेत कोइराला  |  काठमाडौं, बुधबार, माघ २६, २०७८

संकेत कोइराला

संकेत कोइराला

बुधबार, माघ २६, २०७८, काठमाडौं

नेपाल समय

बाघले जंगलमा गरेको भव्य विवाहमा नबोलाएको झोकमा एउटा मुसालाई बाघको सेखी झार्ने सनक चढेछ। सेखी त झार्ने तर कसरी? उसले आइडिया निकाल्यो– ‘आफ्नै सानदार विवाह गर्ने र बाघलाई ननिम्त्याउने।’ बाघलाई देखाउन झारेझुरेसँग लगनगाँठो कसेर भएन। कन्याको छनोटका लागि सूची तयार भयो। सूर्यजस्तो तेजवान् र शक्तिशाली संसारमा कोही छैन। सूर्यकै छोरी किन नमाग्ने? सूर्य खुसी पार्न अन्तरध्यानमा बस्यो। सूर्य सन्तुष्ट भएर नजिकै आई वर माग्न भने। उसले भन्यो– ‘म तपाईंकी छोरीसँग विवाह गर्न चाहन्छु।’

सूर्यले कूटनीतिक उत्तर दिए– ‘त्यो त मेरा लागि अहोभाग्य हुन्थ्यो तर मभन्दा शक्तिशाली त बादल हो। जसले मेरो शक्ति क्षीण गरिदिन्छ। बरु यो आग्रह बादलसँग गर।’ मुसोले बादलसँग उही माग दोहोर्‍यायो। बादलले पनि आफूलाई हावाले तह लगाउने हुनाले हावासँग प्रस्ताव राख्न भन्यो। हावा पनि के कम? उसले पनि पहाडले आफ्नो वेग रोकिदिने क्षमता राख्ने भएकाले पहाडसँग कुरा गर्न सुझायो। मुसो पहाडसामु उपस्थित भएर विवाहको प्रस्ताव राख्यो। पहाडले व्यथा सुनाउँदै भन्यो– ‘मभन्दा शक्तिशाली मेरो भीमकाय शरीरको फेदमा बस्ने काली नाम गरेको मुसा छ। त्यो मुसाले मेरो शरीर खनेर ओडार बनाएर थिलथिलो पारेको छ। उसको शक्तिका अगाडि म कायल भएको छु। तिनैको छोरीसँग बिहेको कुरा चलाऊ। तिम्रा लागि योभन्दा शक्तिशाली र उपयुक्त वधू मैले देखेको छैन।’ आफूलाई बलशाली ठान्ने मुसो अन्ततः मुसैसँग सम्बन्ध गाँस्न पुग्यो।  

केपी ओली नेतृत्वको सरकार हुत्याएपछि ओलीको पेलानमा परेका प्रचण्ड, माधव नेपाल र सत्ताको स्वादबाट धेरै समयदेखि विमुख शेरबहादुर देउवा नेतृत्वको कांग्रेसलाई फेरि रामराज्य आउने भ्रम थियो। तर एमसीसी नामको एउटा सानो त्यान्द्रो परियोजनाले यिनीहरुको तीनपुस्ते हैसियत देखाइदिएको छ। राज्यका नाममा आउने त्यो सहयोग मानौं व्यक्तिगत नाममा रहेको पुर्जा हो। अमेरिकाले काँधमा बन्दुक तेर्स्याउने जस्ता दुई कौडीका कुतर्कभित्र लुकेको रहस्य भनेको नेपालमा कमिसनबिना पैसा भित्रिने सबै प्वाल बन्द भइसकेको उदाहरण हो।

ओलीको पहिलो कर्तव्य भनेको पद्धति नभएर आफ्नो बजार प्रवर्धन गर्नु हो। शेरबहादुर देउवालाई ज्योतिषको भविष्यवाणीअनुरुप प्रधानमन्त्री आसनको गन्ती बढाउनु छ।

दलालीतन्त्र सिंहदरबारदेखि ब्रह्मनालसम्म हाबी हुँदा एजेन्टका पनि एजेन्टको यहाँ खाँचो छैन। नेपाल भन्ने सार्वभौम देश आकार सानो भए पनि विश्वमञ्चमा अमेरिका र नेपालको गन्ती उही हो। राष्ट्रसंघमा भारत, चीनको झण्डा पनि एउटै फहराउँछ। जुन हैसियतमा नेपाल छ। राष्ट्रसंघमा मतदान हुँदा स्टर्लिङ पाउन्ड र डलरमा भोटको मूल्य तलमाथि हुँदैन। तर यो देशका कार्यकारी प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री ५५ अर्बको एउटा परियोजनाका लागि कट्टुसम्म खोलेर गिडगिडाउँछन्। कूटनीति भन्ने विहंगम विषय हुन्छ, जसले विश्व चलाउँछ भन्ने सामान्य हेक्कासमेत छैन। त्यो पैसा नआए वा आए नेपाल धर्ती कायापलट हुने पनि होइन। जुन देशमा आर्थिक वर्षको अन्तिम महिना बिलमा काम गरेर पैसा सक्न हम्मे पर्छ भने पैसा नभएर विकास नभएको त हुँदैहोइन।

महिनौं, वर्षौंदेखि एमसीसीको प्रदूषण किन? समयको बर्बादीका त कुरै छोडौ, आफ्नो सन्तानका नाम भन्नसमेत घोत्लिनेहरु एमसीसी कण्ठस्थ गरेर बसेका छन्। एमसीसीले मन्दिर, मस्जिद, गुम्बा र चर्चको शान्ति पनि खोसिएको छ। माघमा कार्यकर्तालाई आइसक्रिमको व्यापार गर्न पठाउन पल्किएका कम्युनिस्टका लागि त यो पाखण्डको झन् ठूलो जामा भएको छ। यस विषयले मतभेद–मनभेद त्यो चुलीमा पुगेको छ कि बरु मुसलमानको सिया, सुन्नी समुदाय एक भएको खबर आए आश्चर्य नमाने हुन्छ तर नेताहरूको भाँडभैलोले समाजको मनोविज्ञान बिग्रने खतरा बढेको छ। उनीहरुको सत्तोसरापले केटाकेटी पँधेरे झगडामा उस्ताद होलान् भन्ने त्रास फैलिएको छ। केपी ओली, प्रचण्ड र माधव नेपालबीच एकताकाको चाटाचाट अहिले काटाकाटमा रुपान्तर भएको छ।

गुलामीतन्त्रको सुरुङमा फसेका नेताहरुको अवस्था न गरी खानु, न मरी जानुको घिटिघिटीमा छ। ओलीको पहिलो कर्तव्य भनेको पद्धति नभएर आफ्नो बजार प्रवर्धन गर्नु हो। शेरबहादुर देउवालाई ज्योतिषको भविष्यवाणीअनुरुप प्रधानमन्त्री आसनको गन्ती बढाउनु छ। नेताहरुको टाउकोमा  कर्मचारीले यसरी जाँतो घुमाएका छन् कि जुनसुकै पार्टी फेरिए पनि अबको आधा दशकमा संवैधानिक निकाय मात्र होइन, मन्त्रिपरिषद् सदस्यको ठूलो हिस्सामा उनीहरुले कब्जा जमाए भने आश्चर्य नमाने हुन्छ। सुकिलामुकिला वर्ग आफ्नो स्वार्थका लागि यति चलाख छ, आफूलाई चिप्ल्याइएको नेताहरुले एक दशकपछि पत्तो पाउँछन्। कन्याएर सिध्याउने हुँडार चरित्र यिनीहरुको जिनभित्र छ। अब त सरकारको मुख्यसचिव राजनीतिक नियुक्तिकै बनाए फरक नपर्ने अवस्था आइसक्यो। 

कसैको बैसाखीविना माओवादीको अस्तित्व हाडबिनाको जीवजस्तै बन्ने गरेको छ। सत्ताको बैसाखी हुनेबाहेक चुनावमा जितेर राजनीतिक वर्चस्व जमाउने हुति अब माओवादीले सधैंका लागि गुमाउने अवस्था छ। 

हिजोसम्म प्रचण्डलाई पशुपतिनाथभन्दा आफू आदरणीय रहेको भ्रम थियो। गिरिजाप्रसाद, शेरबहादुर, सुशील, झलनाथदेखि माधव नेपालसम्मलाई घाँस चर्न पठाएको आत्मरति थियो। अहिले ओली उनका लागि यस्तो दुस्शासन भएर उदाए कि थाल खाऊँ कि भात खाऊँ जसरी दिन काट्नुपरेको छ। पार्टीबाट निस्किएर पनि धर पाएका छैनन्। एकअर्कालाई अपमानको आँसु पिलाउन उनीहरुको माथापच्ची चलेको छ।

रन्किने, सन्किने यात्रामा लागेका उनीहरु चुनावपछि थन्किने निश्चित छ। ओलीले कतिबेला आफ्नो शक्तिपीठमा आगो झोसिदिने हुन् भन्ने त्राही–त्राहीले निद्रा भागेको धेरै भइसक्यो। कुनै बेला प्रचण्डका असली दासहरु अहिले ओलीको पाउमा अर्पण गरिरहेका छन्। प्राण जाने बेलामा रावणले रामसँग भनेका थिए– ‘तिम्रो भाइ तिमीसँगै छ त्यसैले जित्यौ। मेरो भाइ तिमीसँग भएकाले मैले हारें।’ कुलद्रोहको परिणाम खतरनाक हुन्छ। पूर्वमाओवादीका नेता स्वार्थको चास्नीमा भुलेर ओलीका रक्षक भएका छन्। प्रचण्डले खुँडा तरबारले मान्छे गिँडेर सफायालाई सार्थक बनाए। तर केपी ओलीले दाह्रा र नंग्रा झिकेर साँचो सफायाको प्रयोग गरिदिए। न सिकार गर्न सक्ने, न कसैले सिकार गरेर दिएको चिज चपाउने अवस्था प्रचण्डको छ। लुट्ने मनस्थितिका कार्यकर्ता भएकै कारण माओवादी विचार मदारी नाचभन्दा माथि उठ्न सकेन। कसैको बैसाखीविना माओवादीको अस्तित्व हाडबिनाको जीवजस्तै बन्ने गरेको छ। सत्ताको बैसाखी हुनेबाहेक चुनावमा जितेर राजनीतिक वर्चस्व जमाउने हुति अब माओवादीले सधैंका लागि गुमाउने अवस्था छ। 

प्रचण्ड, माधव र झलनाथको मनोग्रन्थीमा ओली भाइरस यसरी प्रवेश गरेको छ कि आफ्नै घरपरिवार र सुरक्षाका संयन्त्र पनि दृष्टिदोषमा परिसकेका छन्। ओलीले चलाउने एन्टीभाइरसका अगाडि यिनीहरु लुलो, धुलो हुन पुग्छन्। न जनयुद्धको तुरुप काम लाग्यो, न बहुमतको धम्की नै। माधव नेपालको त शुभेच्छा नै अछूत गर्ने ओलीले उनलाई कति भाउ दिन्छन् भन्नै परेन। प्रतिशोधका विद्यावारिधि ओलीले नेपालका अघिल्तिर निरीह भएर डेढ दशक घाट कुरेको बिर्सिएका छैनन्। पात्रो बनाएर चिनो लगाई–लगाई हिसाब चुक्ता गर्दैछन्।

झलनाथ खनालको अवस्था भात खान सर्पको नाम बेच्नुपर्ने हालतमा पुगेको छ। सरकारी कोषबाट करोडौं बुझेका उनको नैतिक धरातल कति गर्विलो र दर्विलो छ भन्ने लोभबाटै प्रमाणित हुन्छ। 

झलनाथ खनालको अवस्था भात खान सर्पको नाम बेच्नुपर्ने हालतमा पुगेको छ। सरकारी कोषबाट करोडौं बुझेका उनको नैतिक धरातल कति गर्विलो र दर्विलो छ भन्ने लोभबाटै प्रमाणित हुन्छ। यहाँ को शक्तिशाली, को कमजोरको मापदण्ड छैन। ओलीका आँगनमा झण्डावाल गाडी र नेताकार्यकर्ताको भीड हुँदा आफ्नो आँगन शून्य हुनुको पीडाको जगबाट वर्तमान सरकार उठेको हो। नेपालमा सरकारजस्तो महँगो चिजको उपहार लिएर प्रचण्ड र माधव नेपाल शेरबहादुर देउवाकहाँ हाजिर हुनुको मनोविज्ञानभित्र कम्ती पीडा लुकेको कहाँ छ र? हाम्रो आध्यात्मिक दर्शन पनि शक्तिसापेक्ष छ। निःशस्त्र मानिने गौतम बुद्ध, भगवान् राम, महादेव, कृष्णको उत्सव वर्षको एक दिन मनाइन्छ। तर रक्तमुछेल टाउकाको माला धारणा गर्ने देवीको आराधना १५ दिन चल्छ। दसैंको चहलपहल महिनौंघि हुन्छ। आखिर किन? त्यही मालाको कमाल हो। टाउकाको मालाको ठाउँ रुद्राक्षले लिएको हुन्थ्यो भने निश्चय नै दसैंको महिमागान यस्तो हुँदैनथ्यो।

देश बनाउन दम्भ हैन, इमान चाहिन्छ। आकारमा ठूलो भइरहन जरुरी छैन। काठमाडौं जत्रो सिंगापुरका जनताले भिसाका लागि संसारका कुनै देशमा लाइन लाग्न जरुरी छैन। बरु ‘मेरो देशमा पाइला टेकिदेऊ’ भनेर रातो कार्पेट बिछ्याउनेको ओइरो छ। एउटा दलदले जमिन स्वर्ग बनाउने लिक्वान युमा माइक मेनियाको भूत कहिल्यै सवार भएन। बरु देश निर्माणको भिजनका विषयमा सबैका भनाइ सुन्थे। विद्वत् समूहसँग बहस गर्थे। अन्तिममा उनको एउटै जिज्ञासा हुन्थ्यो– ‘यो निर्णय गर्दा सिंगापुरले कति पाउँछ, कति गुमाउँछ?’ जब गुमाउने बदलामा पाउने पल्ला भारी भएको निष्कर्ष निस्कन्थ्यो, उनी आँखा चिम्लिएर ल्याप्चे लगाउँथे। नेपालीको मानस्पटलमा दरिद्र मुलुकको दृश्य घुम्ने इथियोपिया दोहोरो आर्थिक वृद्धि दरको बाटोमा लागिसक्यो। अहिले त्यहाँ विकासको विकल्प विकास मात्र देख्न पाइन्छ। इथियोपियाबाट थाइल्यान्ड दैनिक सीधा हवाई सेवा छ। यो यथार्थसँग कति नेपाली जानकार छन्? आफ्नो देशलाई साँचो अर्थको देश बनाउने प्रयास यहाँ कहिल्यै भएन। जसले प्रयत्न गर्‍यो, त्यसको प्रयासमा चरु हाल्ने कर्तव्य सम्झेनौं। यो पुस्तौंपुस्ताबाट हुँदै आएको गल्ती हो। सबैभन्दा चुरो सत्य त के भने फेसबुकमा राष्ट्रियता पोख्यौं, उठायौं। चन्द्रसूर्य अंकित झन्डाको कपडामा गलफत्ती गर्‍यौं।

स्वदेशमा पृथ्वीनारायण शाहको सालिक उखेल्यौं, चीन गएर माओको सालिक परिक्रमा गर्‍यौं। गाईको मासुका विषयमा वाक्युद्ध गर्नमा रमायौं तर तारे होटलमा ‘बिफ’ मगाएर युद्धको रोडम्याप कोर्नेहरुको अनुहार सम्झिन दरकार राखेनौं। सबै नामका अगाडि जन थप्नुलाई राजनीतिक उपलब्धिको मापन बनाइयो। चालीस लाख नेपाली मुलुकबाहिर छन् ।

राजनीतिको मात यसरी लाग्यो कि घरबार साहुको नाममा बन्धकी राखेर अरबमा पसिना बगाउन गएको एउटा नेपाली कामदार सुत्केरी श्रीमतीलाई ज्वानो ख्वाउने खर्च पठाउन चुक्यो।

हो, संसार गाउँ बनेको अवस्थामा जो जहाँ जान, कर्म गर्न र पढ्न स्वतन्त्र छन्। तर ३ सय ६५ दिन देशलाई सराप्ने खेती कुन देशको सभ्यताभित्र पर्छ? कचौरा जत्रो देशमा खेलकुद टुँडिखेलभन्दा ठूलो भयो। सबैथोकको सट्टा अर्ती उत्पादन हुन थाल्यो। फेसबुकमा प्रकाशित दिउँसै रात पार्ने खालका अपराध र स्वार्थ प्रेरित वाणीहरुको बिस्कुनमा सबै रमाए। व्यक्तिपिच्छेका प्रवक्ता जन्माइए। विदेशमा चौकीदारी गर्नेलाई देशको मन्त्री, प्रधानमन्त्री भएको भ्रम पलाउन थाल्यो। राजनीतिको मात यसरी लाग्यो कि घरबार साहुको नाममा बन्धकी राखेर अरबमा पसिना बगाउन गएको एउटा नेपाली कामदार सुत्केरी श्रीमतीलाई ज्वानो ख्वाउने खर्च पठाउन चुक्यो। दमले ग्रस्त बाउआमाको स्वास्थ्योपचारमा सहायक बन्न बिर्सियो। बरु नेताको आतेजाते, लवाइखवाइ, बसाइको जिम्मा लिएर विमानस्थलमा खादा ओढाउँदै ऊसँग सेल्फी खिचेर फेसबुकमा अपलोड गरेको क्षण उसका लागि जीवनको सर्वाधिक सुखद र उपलब्धिमूलक घडी बन्न थाल्यो।

विश्वमा एक देशबाट अर्को देशमा काममा जानु अब सभ्यताभित्र पर्छ। तर नेपाली मात्र त्यस्ता कामदार हुन्, जसलाई मजदुरीभन्दा नेतागिरीको भोक छ। पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाका भाइ चीनमा मजदुरी गर्छन्। उनले दाजुको फुर्ती लगाएको समाचार मिडियामा कहिल्यै सार्वजनिक भएन। दाजु अमेरिकाको राष्ट्रपति हुँदा जागिर छोडेर किचेन क्याबिनेटको धुनी बाल्न अमेरिका फर्किएको खबर पनि कतै सुनिएन। 

अहिले अति समृद्ध मुलुक जापानको संविधान अमेरिकाले बनाइदिएको हो। अमेरिका नै त्यो देश हो, जसले जापानमा एटम बम खसालेर लाखौं निर्दोष जापानीको ज्यान लिएको थियो। तर त्यो देशमा अमेरिकाविरुद्ध प्रदर्शन भएको कसैलाई थाहा छैन। एक जापानी नागरिकलाई सोधियो– ‘यत्रो अप्रिय इतिहास हुँदा पनि जापानी नागरिक किन कहिल्यै अमेरिकाविरुद्ध प्रदर्शन गर्दैनन्?’ उसले दृढतापूर्वक जवाफ दियो– ‘आफ्नो देशमा आफ्नो शत्रुको विरोध गरेर लफडाबाजी गर्नु ती कमजोर निकम्माको कर्म हो। जो वास्तवमा केही गर्न चाहँदैनन्। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा जापानमा बनेका टेलिफोन, टीभी सेट राखिएका छन्। यो नै हाम्रो विजय र बदला हो।’

नेपालको सेतो सुन मानिने पानीबाट उत्पादन भएको बिजुलीको उज्यालोमा उभिएर भारतीय नेताले भर्चुअल बैठक गरेका दिन नेपाली मुटु नाङ्लोभन्दा फराकिलो हुने थियो। त्यो जवाफ अमेरिकासँग जापानले पत्थरको बदला फूल दिएको भन्दा कम कहाँ हुन्थ्यो र? 


प्रकाशित: February 9, 2022 | 13:32:51 काठमाडौं, बुधबार, माघ २६, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
विचार

अन्य दलका नेता भित्र्याउन 'अनलिमिटेड कम्पनी' बन्दै एमाले

पाँच दलीय गठबन्धन बनेपछि आफूले स्पेस नपाउने ठानेर नेकपा एमालेमा अन्य पार्टीका नेता, कार्यकर्ताहरू प्रवेश गर्ने क्रम बढेको छ। आउँदो चुनावमा टिकट कट्ने संकेत पाएपछि सत्तालोभले पार्टी प्रवेश गर्नेहरूको व्यवस्थापन गर्न एमालेलाई कालान्तरमा सकस पर्ने देखिन्छ।
नेपाल समय
विचार

संवैधानिक र राजनीतिक प्रणालीभित्र देखिएको अराजकता!

परिणामस्वरूप सात वर्षमै यो प्रणाली अराजकता उन्मुख देखिँदैछ। हिजोको व्यवस्थाभन्दा चरम राज्यशक्तिको दोहन र अपचलन आज खुलमखुल्ला भइरहेको छ। जसले जे गरे पनि हुने खालको अराजकतातर्फ राज्य प्रणालीका संयन्त्र उद्दत छन्।
नेपाल समय
विचार

सम्पादकीयः संविधान उल्लंघन गर्ने राष्ट्रपति राजीनामा देऊ

राष्ट्रपतिको अहिलेको कदमले विगतमा अधिनायकवादलाई काखी च्याप्न खोज्ने स्वार्थप्रेरित दलहरुको मुहारमा मुस्कान देखिएको भए पनि कालान्तरमा उनीहरुलाई नै पीर्ने निश्चित छ। त्यसकारण अहिलेको विकल्प भनेको राष्ट्रपतिले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु नै उत्तम हुनेछ।
नेपाल समय
विचार

मोदीको सर्वशक्तिमान् छवि कहिलेसम्म रहला?

हरतरहले नागरिकमाथि प्रधानमन्त्री मोदीको तस्बिर, भिडियो र ब्यानरको वर्षा गरिइराखिएको छ। नागरिकले चाहे पनि नचाहे पनि यो विषयलाई अनदेखा गर्न सक्ने अवस्था छैन।
नेपाल समय
विचार

च्याँखे दाउमा अल्झिएको गठबन्धन

गठबन्धनमा आवद्ध सबै दललाई आफ्नो सपनाको खेती गर्नु छ। सपनाको निम्ति गठबन्धनमा रहेका नेपाली कांग्रेस र इतर दलका आ–आफ्नै दुःख छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना