शनिबार, मंसिर १८, २०७८
  • गृहपृष्ठ
  • विचार
  • प्रचण्डसँगको संगतले यतीजस्तै बन्यो कांग्रेस–एमालेको समाजवाद

प्रचण्डसँगको संगतले यतीजस्तै बन्यो कांग्रेस–एमालेको समाजवाद

संकेत कोइराला  |  काठमाडौं, बिहीबार, असोज २८, २०७८

संकेत कोइराला

संकेत कोइराला

बिहीबार, असोज २८, २०७८, काठमाडौं

नेपाल समय

‘भोलि म तिम्रा लागि जहाँबाट भए पनि रोटी ल्याइदिन्छु। पानी पिएर सुत। निदाएपछि भोक पनि बिर्सिन्छ।’ बच्चाले पेटभरि पानी खायो र कुकुरझैं गुँडुल्किएर सुत्यो। बच्चाकी आमाको आँसु भरिएर आयो। भोकाएको बच्चासँगै उनी पनि सुत्न गइन्। निद्रा कसरी लाग्थ्यो र! दुवैका आँखा अघिल्तिर आकाश घुमिरह्यो। आमाले बच्चाको आँखामा पुलुक्क हेरिन्। बच्चाको अनुहारमा भोकको ज्वारभाटा दन्किरहेको देखिन्थ्यो। ‘आमा, निद्रा आएन एउटा कथा सुनाउनुस न।’ हाँसिरहेको चन्द्रमा हेरेर टोल्हाउँदै बच्चाले अनुरोध गर्‍यो। आमाले सोधिन– ‘चन्द्रमाको कथा सुन्छौ?’ ‘उहूँ’ राजारानीको नि ‘उहूँ’ सुन्दर परीहरुको कथा सुन्छौ त? सुन्दिनँ। त्यसो भए जादू बत्तीको कथा सुनाऊँ? नाइँ आमा नाइँ कृपा गरेर बरु मलाई रोटीको कथा सुनाउनुस् न। छोराको आर्तनाद सुनेर विक्षिप्तजस्तै भएकी आमा उसलाई अँगालोमा बेरेर भक्कानिँदै रुन थालिन्। 

आफैंले जन्माएका सन्तान काखी डोरीले घाँटी बाँधेर किन मार्छन्? पासो लागेको डोरी बेचेर करोडपति हुने सपनाले एउटी निर्दोष महिलाको ज्यान लिने बुद्धि कहाँबाट पलाउँछ? भाडाका मान्छे लगाएर छोरीले जन्म दिने आमाको हत्या किन गराउँछे? एक करोडको इन्सुरेन्स गराएपछि लोग्नेले जंगलमा लगेर स्वास्नी किन मार्छ? घुस खाएकाहरु छतबाट हाम्फालेर ज्यान फालेको समाचार छरपस्ट हुँदा पनि घुस खानेहरु किन बढ्दैछन्? आफूले घरमा पालेको कुकुर २४ घण्टा एक्लै छोडेमा जेल जानुपर्ने अमेरिकी कानुन बुझेको नेपाली यहाँ आएर वृद्ध बाउआमालाई बृद्धाश्रम छोडेर कसरी आदर्श जीवन बाँच्छ? यी संगीन घटना नेपाली समाजमा अनौपचारिक प्रश्न बनेका छन्।

बौद्धिक वर्गलाई दलाली गरेर फुर्सद छैन। डाक्टर, न्यायाधीश, सीडीओ, फौजीसमेत नेताका दूत भएर सेवामा हाजिर छन्। मन्त्रालयका सचिव अहिलेको कर्तव्यभन्दा पाँच वर्षपछि आफ्नै भविष्य बनाउन नेताको नशाभित्र रगत भएर बग्न सुरु गर्छन्।

राजनीतिक कोर्सले यस्ता विषयवस्तु चिन्दैन। बौद्धिक वर्गलाई दलाली गरेर फुर्सद छैन। डाक्टर, न्यायाधीश, सीडीओ, फौजीसमेत नेताका दूत भएर सेवामा हाजिर छन्। मन्त्रालयका सचिव अहिलेको कर्तव्यभन्दा पाँच वर्षपछि आफ्नै भविष्य बनाउन नेताको नशाभित्र रगत भएर बग्न सुरु गर्छन्। जब देशको कानुुन पल्टाउँदा अक्षर नभएर व्यक्तिको चित्र उपस्थित हुन्छ भने त्यो देशको भाग्यरेखा निश्चिन्त भएर भन्दा हुन्छ– पशुपतिनाथले पनि कोर्न सक्दैनन्।  

गाई जुनसुकै रङको किन नहोस्, दूध त सेतै हुन्छ। पेट सारंगी भएकाहरुका लागि एकमुठी माड, आङमा भ्वाङ परेका लागि एक शरीर टालो र तिर्खाएकाहरुका लागि एक गिलास जल नै लोकतन्त्र हो। न्याय राज्यको प्राणवायु हो। शासन प्रणाली मुटु, फोक्सो र किड्नी जस्तै हो। जसले हस्तक्षेप स्वीकार्दैन। उसले नेता चिन्दैन। बस, आफू चल्न उचित वातावरण चाहन्छ। पाँच सेकेन्ड फोक्सो, मुटु र मिर्गाैलाले राजीनामा दिए भने माक्र्स, लेनिन, माओ र समाजवादले त्यो काम गर्न सक्छ? यही हो सत्यको जमिन। विशुद्ध सरकार चलाउनु भनेको पनि मुटु, फोक्सो र किड्नीको संरक्षण गर्नुजस्तै हो। अरु बाँकी परिभाषा त राजनीतिका नाममा बकबास गर्नेहरुले कन्याउने सुकेलुतो मात्र हो। तिनीहरुलाई के थाहा? सत्य मान्छेपिच्छे फरक हुँदैन। ती पटमूर्खहरु त अनुहारमा पोतिएको कालो देख्दैनन्, तर रातदिन ऐना पुछिरहन्छन्। 

मेचीबाट छुटेको रात्रिबस सूर्योदय नहुँदै पश्चिम महाकाली टेक्ने भूगोल भएको देशका नेताहरु हातमा सीप नभएको सूचीकारले जथाभावी कपडा काटेजस्तो देश कित्ताकाट गरेपछि चौबाटोमा अल्मलिएको पथिकजस्तै बनेका छन्। विश्व नै सानो गाउँमा अनुवाद हुँदै गएको सत्यबाट विमुख यिनीहरु विश्वास एकातिर, कर्म अर्कातिर गर्न उत्प्रेरित छन्। आफ्नो अंश यता र वंश विदेशी भूमिमा रोपेका उनीहरुको दैनिकी नर्सरी पढ्ने नाति पनातिले पनि कुरीकुरी गर्ने खालको छ। घरको पारिवारिक सन्तुलन मिलाउन नसकेका यिनीहरु घरकै चुलोचौकोबाट बहिष्कृत भए भन्ने समाचार आएमा आश्चर्य नमाने हुन्छ। 

देश निर्माणका प्रमुख कालिगढ शेरबहादुर देउवाको भाषण न निल्न सकिन्छ, न ओकल्न। औंसीको रातमा पूर्णिमाको गीत गाउनु उनको विशेषता हो। कांग्रेसजनहरु आफ्नै दलभित्र नागरिकताविहीन भएका छन्। पार्टी सभापति म्यानेजर नभएर खचान्जी भएको पीडा उनीहरुले खेप्नु खेपेका छन्। केही बोले पखेटा काटिने भयले कार्यकर्ता तैं चुप मै चुपको अवस्थामा छन्। शेरबहादर देउवा नेता कम कमिसन एजेन्ट बढी हुन्। पैसा विना पार्टीको रथ २४ घण्टा पनि टिक्दैन भन्ने उनलाई घाँटीघाँटीसम्म थाहा छ। 

पुष्पकमल दाहाल त्यस्ता खेलाडी हुन, जसले चित र पोट दुवैतिर आफूलाई स्थापित गराएका छन्। अंकगणितमा हारे पनि उनले अरु त के गिरिजाप्रसाद कोइरालाजस्ता चतुर खेलाडीको हातमा रहेको एक्का र बास्सालाई कैंटे दाउ हानेर गुलामले लडाएका छन्।

पुष्पकमल दाहाल त्यस्ता खेलाडी हुन, जसले चित र पोट दुवैतिर आफूलाई स्थापित गराएका छन्। अंकगणितमा हारे पनि उनले अरु त के गिरिजाप्रसाद कोइरालाजस्ता चतुर खेलाडीको हातमा रहेको एक्का र बास्सालाई कैंटे दाउ हानेर गुलामले लडाएका छन्। युद्धकालमा भारतको पाहुना भएर नेपालमा खेल्ने, अहिले नेपालको सत्ता, शक्तिमा टेकेर भारतसँग पौंठेजोरीको अभिनय कौशल प्रमाणित गर्ने सम्भवतः यो चटकी इतिहासका थोरै राजनीतिक पात्रमा पाइन्छ। प्रचण्डसँगको संगतपछि एमाले र कांग्रेसको समाजवाद हिमालमा हराएको यतीजस्तै भएको छ। 

राजनीतिबाट खस्नेहरुका लागि गुरुत्वाकर्षण जिम्मेवार हुँदैन। यस स्थितिमा कुनै पनि प्रजातान्त्रिक भनिने नेताहरुका लागि नैतिकताको कति जमिन बाँकी रहन्छ, त्यो समयले बताउला। एउटा चिनियाँ  उखान छ– ‘एउटा मात्र कुकुर कसैमाथि भुक्छ, बाँकी भुकेको आवाज सुनेर भुक्छन्।’ नेताहरुको भुकाइ पनि त्यही हो। उनीहरुले बुझ्न जरुरी छ– ‘सफलताको सूत्र भाषणमा नभएर रासनमा हुन्छ।’  

अधर्मी मान्छे पुजारी हुँदैमा धार्मिक हुने होइन। बरु धार्मिक मान्छे पुजारी भयो भने देवताको साख बढ्छ। भक्त बढ्न मन्दिर ठूलो नभई देवता विश्वासी हुनुपर्छ। मान्छेको अनुहारको आयु दुई दशक पनि बाँकी रहँदैन तर असल विचार हजारौं हजार वर्षसम्म अजर अमर रहिरहन्छ। विचार पनि आखिर सुनजस्तै न हो, न यसमा खिया लाग्छ, न कहिल्यै पुरानो हुन्छ। लाटो तीनपल्ट हाँस्छ रे। पहिलो बुझ्दै नबुझी अरु हाँसेको देखेर, दोस्रो यथार्थ बुझेर तेस्रो अगाडिको अवस्था सम्झिएर। नेताको ताल त जोक्करको जस्तो छ भने तिनीहरुले भाग्य बनाइदिएर सुखी हुनुपर्ने जनताको हविगत कुन हालतमा होला? 

समय बदलिएपछि मान्यता स्वतः बदलिन्छ। हामीले शिक्षक फेर्न जान्यौं, कोर्स फेर्न जानेनौं। पोहोर हिउँदमा पनि मौरीले फूलको रस नै बटुलेको थियो। झिँगा फोहोरमै घुमेको हो। गाईको पेटमा घाँस नै आहारा परेको थियो। काँडाले फूलमाथि हस्तक्षेप गरेको कसैलाई थाहा छैन। बाघले आहारामा मृग छोडेको छैन। बिरालाको नजरमा मुसा नै अर्जुनदृष्टिमा परिरहेको छ। जस्तोसुकै परिस्थितिमा पनि पानीले छिट्टै आकार बनाउने आफ्नो शिल्प छोडेको छैन। झरी असार साउनमै बर्सिने हो। ठिहीको सामथ्र्य पुस, माघमै देखिने हो। यी सबै देख्दादेख्दै हामी भन्छौं– समय बदलियो । अहँ, बदलिएको समय हैन, हामी हो। समय बेइमान हुन्न, फितलो त हामीले लिएको संकल्प हो। विश्वका सात अरब मानिसका लागि घडीले बजाउने त्यही चौबीस घण्टा त हो। मिलको फित्ताजस्तो एउटै गति र एकै ठाउँ घुमेका हामी दम्भ गर्दै भनिदिन्छौं– मैले संसार फन्को लगाएको छु। 

हामीलाई हाम्रा बाउबाजेको अनुभव सुन्ने फुर्सद भएन। सन्तानलाई डाक्टर, इन्जिनियर, पाइलट बनाउनमा सोख राख्यौं। एउटा प्रतिनिधि पात्र यस्तो जन्मिएन, जसले भनोस्– म आफ्नो बाउ जस्तो बन्छु। समस्या यहीं छ। यही बाटो हिँड्दा हिँड्दैको पठ्ठो भोलि हजुरबा बन्छ। अर्थात् बाटोले बुढ्याउँछ। पोहोरको वसन्तमा फुलेको फूल मुर्झाएको कथा बन्दैन। पोहोर सुस्वास्थ्यको कामना गरेको ज्यान कुपोषणले दैवको प्यारो बनेको हुन्छ। तर त्यसको लेखा छैन। 

समय बित्नका लागि मात्र बित्दैन। यो नयाँ कामका लागि उत्तोलक पनि हो। नागरिकता विना पनि मानिसको आफ्नै अलग परिचय हुन्छ। कागजी पढाइ विना पनि ज्ञानका अजस्र स्रोत भेटिन्छन्। माटो र बाटोको जस्तो शक्तिशाली सिकाइ अरुको के हुन्थ्यो र? स्कुल, कलेजले दिने कागज त फी तिरेको प्रमाण मात्र हो। बाहिरी आँखाले देखेको भन्दा अन्तरचक्षुले देखेको दृश्य कञ्चन हुन्छ। बाहिरी आँखाले रङ खुट्याउँछ। भित्री आँखाले गुण दोष। 

एकैछिन बखान गरौं सौन्दर्यको। यही राजधानी हो, जहाँ गोलीगाँठो देखाएर हिँड्ने किशोरी भानुभक्तका नजरमा ‘वेश्या’ दरिए। समयको उडान अर्कैतिर मोडिएको छ। अब मौसमले पोसाक नभएर पोसाकले मौसम बद्ल्छ। फाटेको लुगामा फेसनको लेपन लगाएपछि त्यो आधुनिकतामा अनुवाद हुन पुग्छ। परिवर्तन आत्मसात् नगर्ने हो भने डाइनोसरको नियति सबैको भाग्यमा लेखिने निश्चित छ। 

समयअनुकूल आफूलाई उभ्याउनुपर्छ। समयलाई सापेक्ष रुपमा स्वीकार्नुपर्छ। समयलाई मौसममा नभई मनमा भित्र्याउनुपर्छ। मौसम र भावना एकसाथ तरंगिएको प्रेममा नै हार्दिकता हुन्छ। 

भनिन्छ, संसारमा तीन किसिमका मानिस हुन्छन्। एकथरी जीवनलाई सराप्छन्। अर्कोथरी आशीर्वाद दिन्छन्। तेस्रोथरी जीवनबारे चिन्तन मनन गर्छन्। भौतिकताले उत्कर्षमा पुगेको युरोप, अमेरिका आजसम्म पनि सुन्दरीहरुको सनकमा सञ्चालित हुने गरेको छ। त्यहाँका राजनेताहरुको व्यक्तित्व उठाउने या रसातलमा पुर्‍याउने कुराको निधो उनीहरुको गतिविधिमा भर पर्छ। एउटा सुन्दर मोडल म्याडोनाको व्यक्तित्वले त्यहाँका पुरुषहरुको व्यक्तित्व नै निरीह बनाएको विगत छ। एकपटक इतिहासको आँखीझ्यालबाट चिहाएर हेर्नुभयो भने त्यहाँ फ्लोरेन्स, युपी साद्रे, क्लियोपेट्रा र मार्लिन मुनरोजस्ता विश्व प्रसिद्ध अप्सराहरुको वर्णन पाउनु हुनेछ। जसका अगाडि शासकहरु समेत नतमस्तक बनेका थिए। मार्क्स –एंगेल्सका विश्व प्रसिद्ध कृति पनि म्याडोनाको ‘सेक्स’ पुस्तकका अगाडि सयौं कोस पर छोडिए। सौन्दर्यलाई यसैको सामर्थ्यमा स्वीकार्ने हो भने यो प्राकृतिक शक्ति पनि हो। अझ यो भन्दा पर गएर भन्दा सन्तुलन पनि हो। 

समयअनुकूल आफूलाई उभ्याउनुपर्छ। समयलाई सापेक्ष रुपमा स्वीकार्नुपर्छ। समयलाई मौसममा नभई मनमा भित्र्याउनुपर्छ। मौसम र भावना एकसाथ तरंगिएको प्रेममा नै हार्दिकता हुन्छ। नत्र त्यो चुँडिएको गितारबाट आउने आवाजजस्तो कर्णकटु हुन पुग्छ। मिलनको धड्कन र विरहको वेदना नै प्रेमको जमिन हो। यसमा चैतन्य र प्रज्ञा दुवै हुन्छ। यो दुवै मिसिएको चास्नी कसलाई प्रियकर नहोला? माधव घिमिरेका यी पंक्तिले त्यही सन्देश प्रवाह गरेका छन्–

बैंसको मीठो कण्ठले कसको दिल छुँदैन

प्रीतिको फूल नफुल्ने मुलुक कुनै हुँदैन।



प्रकाशित: October 14, 2021 | 12:12:36 काठमाडौं, बिहीबार, असोज २८, २०७८
संकेत कोइराला

संकेत कोइराला

काठमाडौं, बिहीबार, असोज २८, २०७८

थप समाचार

संविधानमै छ न्यायालयको संकट समाधान गर्ने सूत्र

दलहरुले आइन्दा आफ्ना अनुकूल हुने व्यक्तिलाई न्यायाधीश सिफारिस बन्द गर्नुपर्छ। न्यायाधीशको नियुक्तका लागि स्पष्ट आधार बनाउनुपर्छ। राजनीतिक गन्ध नआउने, राजनीतिक दलमा प्रत्यक्ष सम्बद्ध नभएका व्यक्तिलाई न्यायाधीश नियुक्ति गर्नुपर्छ।

कांग्रेसमा आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुत पारौं

कम्युनिष्टहरूको फूटलाई नै अवसरको रूपमा हेर्नु पर्ने अवस्था कांग्रेसको निमित्त गर्वको कुरा कदापि होइन। लोकतन्त्रप्रति प्रतिबद्ध भएका कारण कांग्रेस पार्टी विधि र विधानअनुरूप चलोस् र अन्य पार्टीहरूलाई पनि मार्ग निर्देशन गरोस् भन्ने जनअपेक्षा छ।

तथाकथित 'नागरिक पत्रकारिता', साइबर अपराध र विश्व-कानुनी बहस

केही सम्मानजनक पत्रकारहरुको अपवादबाहेक अधिकांश पत्रकारहरुले प्रतिपक्षी पत्रकारितालाई आफैं न्यायाधीश, आफैं जुरी वा आफैं प्रशासकका रूपमा व्यवहार गर्ने गलत परम्परा स्थापित हुँदै गरेको देखिन्छ।

हृदयाघातको कहालीलाग्दो वृद्धिदर, चुरोट त्यागे कम गर्न सकिन्छ जोखिम

सन् २०१२ को अध्ययनअनुसार ४९५ जना हृदयाघात भएर बिरामी अस्पताल आएका थिए। सन् २०१८ मा यो संख्या १४६० पुग्यो। यसरी ६ वर्षमा ३ गुणाले बढेको छ। यो अनुपातमा नेपालमा मुटुरोगी बढीरहेका छन्। यो त गंगालाल हृदयरोग केन्द्रको मात्रै तथ्यांक हो।

धरापमा परेको न्यायप्रणाली र सम्हाल्न अनिच्छित राजनीतिक दल

प्रधानन्यायाधीश चोलेन्द्रले बोलाएको फुलकोर्टको बैठकमा १९ जना न्यायाधीश सामेल भएर यी तमाम समस्या किन राखेनन् र सुरुमै बन्दी प्रत्यक्षीकरण र तामेलीजस्ता मुद्दा हेर्ने सोच किन अगाडि सारेनन्?

कृषिमा आत्मनिर्भर नबनी सम्भव छैन खाद्य सुरक्षा

प्रधानमन्त्री कृषि कार्यक्रम अन्योल गराउने खालको छ। प्रविधिमा जोड दिने भनिएको छ तर झार उखेल्ने काममा साबेलको प्रयोग गरिएको छ। त्यसरी प्रविधिको प्रयोग भयो त?

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C