मंगलबार, कार्तिक २, २०७८

अबको कांग्रेस नेतृत्व : वैचारिक वा कार्यकर्तामुखी?

शान्तिकृष्ण अधिकारी  |  काठमाडौं, आइतबार, असोज १७, २०७८

शान्तिकृष्ण अधिकारी

शान्तिकृष्ण अधिकारी

आइतबार, असोज १७, २०७८, काठमाडौं

नेपाल समय

नेपाली कांग्रेसको महाधिवेशन विधानले व्यवस्था गरेअनुसार सामान्यतया चार वर्षमा हुनुपर्ने भए तापनि छ वर्ष नकट्दै सम्पन्न हुने लक्ष्यण देखिएको छ। भलै कतिपय जिल्लाका क्रियाशील सदस्यहरुको नामावली अद्यापि प्रकाशन गर्न नसके तापनि केही जिल्लामा वडा तहको, केहीमा नगर तहको र केहीमा जिल्ला अधिवेशनसमेत आयोजना गरेबाट अब महाधिवेशन सम्पन्न हुन्छ भन्ने विश्वास गर्न थालिएको छ। कोरोना महामारीभन्दा पनि ठूलो कुनै महामारी आएन भने ०७८ भित्रै नेपाली कांग्रेसको महाधिवेन सम्पन्न हुने निश्चित छ।

कांग्रेसमा विगत करिब दुई वर्षदेखि नै भावी नेतृत्वका बारेमा व्यापक चर्चा–परिचर्चा हुन थालेका थिए र आजसम्म पनि रोकिएको छैन। नेता प्रधान हुने कि नीति प्रधान भन्ने बारेको बहस लगभग ओझेलमा परिसकेको छ तर युथ भर्सेस एजेड, टेस्टेड भर्सेस अनटेस्टेड, पुरानो भर्सेस क्रियाशील, वैचारिक भर्सेस कार्यकर्तामुखी जस्ता विषयले स्थान पाएको देखिन्छ। विगतका महाधिवेशनका स्वरुपलाई अनुहारै बदल्ने गरी चिरेर नेतृत्व तहमा व्यापक परिवर्तन गर्न नसके तापनि आगामी केन्द्रीय नेताका अनुहार भने फेरिने निश्चितजस्तै देखिएको छ ।

यो महाधिवेशनले नेपाली कांग्रेसमा विगतदेखि रहँदै आएको गुटबन्दीको अन्त्य गरेर नयाँ उत्साहका साथ पार्टीलाई नयाँ गति देला भन्ने धेरै लोकतन्त्रवादीहरुले अपेक्षा गरेका थिए तर त्यो भने सम्भव होला जस्तो देखिएन । पुराना गुट भत्किएका छन् तर साथसाथै नयाँ गुटको उदयले कांग्रेसीहरुमा पलाएको उत्साहलाई सेलाउँदै लगेको छ । देउवाबाट विमलेन्द्र निधि छुट्टिए तर फरक गुट सञ्चालन गरेका कृष्णप्रसाद सिटौलाको गठजोड पार्टी सभापति देउवासँगै हुने सम्भावना बढेका खबरले नेतृत्व परिवर्तनका सम्भावनालाई क्षीण बनाउने प्रयास गरेको विश्लेषण हुन थालेको छ। चुनाव आउँदासम्म को कसरी अघि बढ्छन् भन्ने कुरा हेर्न त प्रतीक्षा गर्नैपर्छ तर पनि राजनीतिक मैदानमा देखिएका लक्षणहरुले त्यस्तै संकेत गर्न थालेका छन्।

कांग्रेसका संस्थापकहरु बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरु शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिका बीच बेलाबेलामा चल्ने लन्च र डिनर बैठकहरुले पनि यदाकदा नौला तरङ्ग ल्याउने गरेका छन्।

अर्कोतर्फ वरिष्ठ नेता रामचन्द्र पौडेलले सार्वजनिक अन्तर्वार्तामा आफ्ना समूहका दोस्रो पुस्ताका नेताहरु मिलेर आए आफू अभिभावक भएर बस्न तयार रहेको तर कांग्रेसको भविष्यका लागि नेतृत्व परिवर्तन आवश्यक भएकाले उनीहरु मिल्दैनन् भने आफैं सभापतिको उम्मेदवार हुने घोषणा गरिसकेका छन्। जसरी पौडेलले उदारतापूर्वक यो प्रस्ताव राखे त्यसैगरी यो समूहका दोस्रो तहका नेताहरुले हामी मिलेनौं भने तपाईं नै हो भन्न सकेको पाइँदैन। सबैजना आफैं सभापतिको उम्मेदवार हुँ भन्दै हिँडिरहेका छन्। केही अघि सामूहिक रूपमा पत्रकार सम्मेलन गरेर देउवा इतर समूहबाट एकजना मात्र उम्मेदवार हुने भनी उद्घोष गरिएको भए तापनि त्यो घोषणा प्रबल हुन सकेको छैन।

अर्कोतर्फ नेपाली कांग्रेसका संस्थापकहरु बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरु शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिका बीच बेलाबेलामा चल्ने लन्च र डिनर बैठकहरुले पनि यदाकदा नौला तरङ्ग ल्याउने गरेका छन्। यी तीन एक भए भने नयाँ गुट खडा हुने मात्रै होइन नेपाली कांग्रेसको वर्तमान संरचनामै व्यापक परिवर्तन हुने कुरामा कुनै शंका छैन तर तीनै जना सभापतिको प्रबल आकांक्षी भएका कारण यो समूह पनि चुनावसम्म दिगो रहने कुरामा धेरैको विश्वास छैन। 

युथ भर्सेस एजेड

नेपाली कांग्रेसको महाधिवेशनको चर्चा चलेदेखि नै व्यापकता लिएको सन्दर्भ भने नेतृत्व युवाहरुमा हस्तान्तरण गर्ने नै थियो । वडा अधिवेशनले देखाएको कुरा के हो भने नेपाली कांग्रेसको जुनसुकै तहको नेतृत्वमा कांग्रेसीले परिवर्तन चाहेका छन्। १९ वर्ष उमेरदेखिका युवाले विभिन्न स्थानमा सभापतिकै जिम्मेवारी पाउनुले अब त्यतैतर्फ संकेत गर्दछ। हुन त नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल आदिको अधिवेशन समयमै हुने गरेको भए त्यस्तो हुने थिएन होला तर यो सन्दर्भले भ्रातृ संगठनहरुको अधिवेशन आवधिक गर्न नसक्ने बूढा पुराना नेतृत्वलाई चुनौती दिएको छ। युथ मात्रै होइन योङकै हातमा वडा र नगर तहका समिति गएको देखिएपछि पुरानो नेतृत्वले अझै पनि मै सक्षम छु भनिरहन त्यति उपयुक्त मानिँदैन।

केन्द्रीय तहको कुरा गर्ने हो भनेचाहिँ युवाको हातमा नेतृत्व जाने भन्ने सदर्भ शून्यमा पुगिसकेको छ। राष्ट्रिय अन्तर्राष्ट्रिय निकायहरुले तोकेको युवा उमेरका नेताहरु त केन्द्रीय सदस्यसमेत हुने सम्भावना देखिँदैन भने नेतृत्वको त कसैले दावा नै गरेको छैन। कांग्रेसको संरचनाअनुसार अलिक युवा भन्न सुहाउने कल्याण गुरुङ एक जनाले मात्रै पुरानो नेतृत्वसँग सिंगौरी खेल्न हिम्मत गरेर अघि बढेका छन् अरु सभापतिका आकांक्षी सबै ज्येष्ठ नागरिक हुन्। गुरुङका पक्षमा अरु नाम चलेका युवा भनिएका नेताहरु खुलेर लागेको नदेखिँदा गुरुङले यसैपालि बाजी मार्छन् भन्न कठिन पर्छ। दावा नै नगरी पचास वर्ष उमेर आसपासका सभापति बन्लान् भन्ने त कसैले पनि सोच्दैन।

महामन्त्री पदमा भने सबैभन्दा पहिला गगन थापा, त्यसपछि धनराज गुरुङ र विश्वप्रकाश शर्माको दावीले यो पदमा भने युवा भनिएकामध्येबाटै प्रतिनिधित्व हुने देखिन्छ।

वर्तमान सभापति देउवा र पौडेललाई बूढा भए भन्ने सभापतिका अन्य दाबेदार पनि ६५ वर्षमाथिकै छन्। रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह, शशांक कोइराला, विमलेन्द्र निधिमध्ये जो सभापति बने पनि युवावर्गबाट सभापति हुने होइन। त्यसैले यस पटक पनि सभापति पाका नेतृत्वमै जाने निश्चित छ खालि ६५ कोमा कि ७० कोमा कि ७५ कोमा भन्ने मात्रै हो। उपसभापतिमा नेवि संघको नेतृत्व गरी खारिएर आएका चन्द्र भण्डारी जस्ताको उम्मेदवारीले केही परिवर्तन गर्ने सम्भावना बढेको छ तर भण्डारी स्वयं नै साठीको आसपासमा हिँड्दैछन्। यद्यपि यसले केही शुभसंकेत भने गरेको छ तर उनको प्रतिस्पर्धामा अरु कस्ता नेताहरु उत्रने हुन्, त्यो भने हेर्न बाँकी छ। महामन्त्री पदमा भने सबैभन्दा पहिला गगन थापा, त्यसपछि धनराज गुरुङ र विश्वप्रकाश शर्माको दावीले यो पदमा भने युवा भनिएकामध्येबाटै प्रतिनिधित्व हुने देखिन्छ।

ख्याल गर्नु पर्ने कुराचाहिँ के हो भने मान्छे उमेरले मात्रै युवा हुँदैन। सबै लोकतन्त्रवादी विशेषगरी कांग्रेसीले मानिआएका बीपी कोइरालाकै भनाइलाई मान्ने हो भने पनि विचार उत्पादन गर्न नसक्ने मान्छे उमेरले युवा भनिए पनि वास्तवमा त्यो युवा होइन। कांग्रेसको वर्तमान सभापतिका दाबेदारमध्ये विचारका आधारमा राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्ने र पत्रिकामै भए पनि आफ्ना विचारहरु प्रस्तुत गरिरहनेमा वरिष्ठ नेता पौडेल अगाडि देखिएका छन्। बेलाबेलामा समाजवादका बारेमा पुस्तक र पुस्तिका प्रकाशित गर्ने उम्मेदवार पनि पौडेल नै हुन्।

क्रियाशीलता अर्थात् जिल्ला दौडाहा र कार्यकर्तासँग सोझो सम्बन्ध स्थापित गर्नेमा भने शेखर कोइरालालाई अरुले भेट्न सकेका छैनन्। वर्तमान सभापतिका कमीकमजोरीलाई सच्याउन खुलेआम सल्लाह दिन पनि कोइराला पछि पर्ने गरेका छैनन्। 

नेता प्रकाशमान सिंह पनि आफ्नो लामो राजनीतिक जीवन र बुबाआमाको त्यागलाई सँगसँगै लिएर सभापति हुने उद्यम गर्दैछन्। त्यसैले युवा भनेको उमेर मात्रै त होइन तर कार्यकर्ताले के र कस्तालाई युवा मान्छन्, चुनाव पछि मात्रै भन्न सकिएला। एउटा कुरा के चाहिँ निश्चित छ भने सबै उद्यमी प्रतिस्पर्धामा उत्रिए भने सफलता उद्यमीकै हातमा पुग्छ भन्ने निश्चित कसैले गर्न सक्दैन।

टेस्टेड भर्सेस अनटेस्टेड 

टेस्टेड र अनटेस्टेडको फर्मुला सबैभन्दा पहिला वरिष्ठ नेता रामचन्द्र पौडेलले निकालेका हुन्। सभापति र प्रधानमन्त्री दुवै पदका लागि पौडेलले आफूलाई अनटेस्टेड नेताका रुपमा बताउँदै आएका छन्। उनको टेस्टेड नेता भन्ने लक्ष्य वर्तमान पार्टी सभापति शेरबहादुर देउवाप्रति हो भन्ने सीधै बुझ्न सकिन्छ। आफू सभामुख हुँदा र मन्त्री भएर काम गर्दाको निष्कलङ्क छवि प्रस्तुत गर्दै पौडेलले पार्टी सभापति र प्रधानमन्त्री भएर काम गर्ने अवसर पाए पनि त्यस्तै अवस्थामा रहने दाबी गर्दै आएका छन्। कांग्रेसलाई नै भ्रष्टाचार विरोधी पार्टीका रुपमा तयार गरी जनमानसमा राम्रो छाप निर्माण गर्ने उद्देश्य उनको देखिन्छ। 

दलबल सिर्जना गर्न सक्ने नेताको वाहवाही हुने र सिद्धान्त र आदर्शमा प्रखर नेता अव्यावहारिक ठहरिने आजकै जस्तो अवस्था विद्यमान रहेमा न देशको हित हुन्छ न पार्टीको नै।

देउवा र पौडेल दुवै नेताहरु आउट डेटेड भइसकेका भनेर आरोप लगाउनेहरुको भने छुट्टै कुरा छ। यी दुई नेतामुनिका अरुले भने यी दुवै नेता टेस्टेड हुन् र दुवैले अब अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नेहरु देखिन थालेका छन्। यसमा वरिष्ठ नेता पौडेलको ठूलै आपत्ति रहँदै आएको छ र पाँच पटक प्रधानमन्त्री भइसकेका र पार्टी सभापतिमा समेत असफल भएका देउवासँगै आफूलाई जोड्नु ठूलो अन्याय हुने भनी प्रतिवाद गर्दै आइरहेका छन्। उनीसँग सहमत हुनसक्ने कुरा के हो भने नेतृत्व र नेतामा फरक छ, पार्टीको प्रमुख व्यक्तिले दिने डेलिभरी नेताले अवश्य दिन सक्दैन। मन्त्री भएकै भरमा टेस्टेड भन्ने हो भने सभापतिका उम्मेदवारहरु प्रकाशमान, विमलेन्द्र आदि मन्त्री भइसकेका छन् र शशाङ्क महामन्त्री छन्। पूर्णतः अनटेस्टेड शेखर मात्रै देखिन्छन् कि त कल्याण नै हुन्।

पुरानो भर्सेस क्रियाशील 

पुराना नेताहरुको सम्मान हुनैपर्छ। एकथरी कार्यकर्ताहरुको धारणा नयाँले पुरानालाई अवसर दिएर नयाँले पालो पर्खनुपर्ने रहेको पाइन्छ। अर्कोतिर भोटो फटाएका भरमा नेतृत्व पाइने चिज होइन, कार्यकर्ताको संरक्षण गर्न सक्ने र क्रियाशील नेताले अवसर पाउनु पर्दछ भन्ने पनि त्यत्तिकै संख्यामा छन्। राजधानीमा बसेर गुटबन्दी गरेकै भरमा पार्टीको सभापति हुन हुँदैन भन्ने आमधारणा सही पनि हो। जसले देशव्यापी भ्रमण गरेर राष्ट्रिय परिस्थिति बुझेको छ, पार्टीका गाउँगाउँका सदस्यहरुसँग घुलेको छ, अध्ययन गरी अन्तर्राष्ट्रिय राजनीतिको जानकार छ, पार्टीको सिद्धान्त, नीति र कार्यक्रम जनतालाई राम्रोसँग बुझाउन सक्छ, पार्टी नेतृत्व उसकै हुनुपर्छ भन्नेहरुसँग धेरैका मत मिलेको पाइन्छ तर चुनावमा कसलाई भोट हाल्छन्, त्यो भने हेर्न बाँकी नै छ।

वैचारिक भर्सेस कार्यकर्तामुखी

विचार बिनाको राजनीतिक दल हुन सक्दैन। विचारविहीन व्यक्तिले पार्टी हाँक्नु भनेको अँध्यारोमा गोली हाने जस्तै हो। देश, जनता र पार्टीप्रति निरन्तर चिन्तन गरिरहने र चिन्तनअनुरुपको विचार प्रवाह गर्न सक्ने नेता नै नेतृत्वमा पुगे पार्टीले अग्रगति लिने हो। अन्यथा सबैको भविष्य कुहिराको कागसरह हुनेछ। नेपाली कांग्रेसमा विचार, नीति, सिद्धान्त आदिका बारेका छलफल हराउँदै जाँदा वैचारिक नेतृत्वभन्दा कार्यकर्ताको संरक्षण गर्ने नेता आवश्यक हुन्छ भन्ने मान्यता सबल हुँदै गएको छ। विचारलाई किताबमा थन्क्याउने कुरा र चुनावमा घोषणापत्रमा लेख्ने कुरामा मात्रै सीमित गर्दै लगिएको छ। कार्यकर्ताको संरक्षण त आवश्यक छ तर स्वार्थगत संरक्षणले पार्टीलाई झन् झन् ओरालोमा लैजाने कुरामा कुनै विवाद गरिरहनु पर्दैन।

दलबल सिर्जना गर्न सक्ने नेताको वाहवाही हुने र सिद्धान्त र आदर्शमा प्रखर नेता अव्यावहारिक ठहरिने आजकै जस्तो अवस्था विद्यमान रहेमा न देशको हित हुन्छ न पार्टीको नै। सिद्धान्तविहीन दलबल खडा गर्न पर्दा पछाडि खेलिएका खेलहरुलाई जति नजरअन्दाज गर्‍यो उति नै खतरनाक हुँदै जान्छ। नेता स्वयंको पनि कालान्तरमा गएर स्तर खस्किने निश्चित हुन्छ। चुनावी जितका लागि दलबल आवश्यक हुन्छ तर प्रमुख साधन नै त्यसैलाई मात्र बनाउँदा पार्टी र नेता दुवै विचारविहीन हुँदै जान्छन् र अन्ततः प्राप्त हुने परिणाम नमिठो हुन्छ। 

अन्त्यमा

पार्टी चल्ने सिद्धान्त र विचारले हो। सिद्धान्त र विचार बोकेर हिँड्ने क्रियाशील नेतृत्व चाहिन्छ नै। महाधिवेशनले लोकतन्त्र र समाजवाद भनेको के हो? झण्डाका चार तारा के के हुन्? जस्ता कुरा पनि बताउन नसक्ने नेता कांग्रेसले पाउँदैन भन्ने कुरा सुनिश्चित गर्‍यो भने नेपाली कांग्रेसको भविष्य समुज्वल देखिन्छ। सत्ता अभीष्ट होइन देश र जनता मूल हुन् भन्दै सत्तालाई साधन मात्र कांग्रेसले ठान्न थाल्यो भने यसको प्रगतिमा कुनै रोकावट देखिन्न। तर सत्तालाई नै साध्य मान्ने नेतृत्व कांग्रेसले पाएमा राम भरोसा।



प्रकाशित: October 3, 2021 | 06:25:00 काठमाडौं, आइतबार, असोज १७, २०७८
शान्तिकृष्ण अधिकारी

शान्तिकृष्ण अधिकारी

शिक्षा तथा राजनीतिक विश्लेषणमा दखल राख्ने अधिकारी तथ्याङ्कशास्त्र प्राध्यापन गर्दछन्।
काठमाडौं, आइतबार, असोज १७, २०७८

थप समाचार

प्रचण्डसँगको संगतले यतीजस्तै बन्यो कांग्रेस–एमालेको समाजवाद

पुष्पकमल दाहाल त्यस्ता खेलाडी हुन, जसले चित र पोट दुवैतिर आफूलाई स्थापित गराएका छन्। अंकगणितमा हारे पनि उनले अरु त के गिरिजाप्रसाद कोइरालाजस्ता चतुर खेलाडीको हातमा रहेको एक्का र बास्सालाई कैंटे दाउ हानेर गुलामले लडाएका छन्।

विधिले कि जिद्दीले चल्दै हो देशको शासन?

सङ्घीय तहको राजनीतिक समीकरणले स्थानीय तहसम्मकै राजनीतिक नेतृत्वलाई विभाजित र विचलित बनाएर अगि बढाउँदै लगे दलीय नेतृत्वले। देश समग्रमा अपचलन, विचलन र विपथनका साथ अगाडि बढ्दो छ- हामी कानुनको शासनको फलाको फलाकिरहेका छौँस फलाकिरहने रहेछौँ।

कहिले सुधार्ने बैंक खाता नम्बर?

कुनै बैंकमा कुनै व्यक्तिको महिनावारी तलब आउने खाता रहेछ भनेर अनुमान गर्न सकिने प्रणाली (खाता नम्बर) हुनु नेपालको संविधानले धारा २८ मा मौलिक हकका रूपमा ग्यारेन्टी गरेको व्यक्तिको गोपनीयताको हकविरुद्धको विषय हो। वास्तवमा यो विषयमा बृहत् बहस गर्न जरुरी छ।

प्रताप गुमाएका प्रतापीहरू

कार्यकर्ता भर्ती केन्द्र बनाउन घर एउटा प्रदेश, बारी अर्को प्रदेश र शौचालय तेस्रो प्रदेशमा पर्ने गरी संघीयताको बिउ रोपिन्छ। ती प्रदेशका मुखिया एकाघरका छोरी, ज्वाइँ, सालासाली, भाइभतिजा र भजनमण्डलीका सदस्य बनाइन्छन्।

अस्तव्यस्त नेवानि, आन्दोलित कर्मचारी र एअरपोर्ट प्लटिङको जोखिम

महाप्रबन्धक कार्यालयमा उपस्थित नै नहुने या हुनसक्ने परिस्थिति निर्माण हुन नसक्ने र आन्दोलनले निकास नपाउने वस्था रहेमा नेवानिको हालत झन् बिग्रनेमा कुनै शंका छैन। लोकतान्त्रिक भनिएको देउवा नेतृत्वको सरकारले पनि आजसम्म यसमा कुनै ठोस निर्णय गर्न सकेको देखिँदैन।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C