मंगलबार, कार्तिक २, २०७८

आलुको सुरुवा र समाजवादका पेडा पसल

पदम गौतम  |  काठमाडौं, शनिबार, भदौ ५, २०७८

पदम गौतम

पदम गौतम

शनिबार, भदौ ५, २०७८, काठमाडौं

नेपाल समय

अहिलेसम्म प्राविधिक रूपमा नेकपा एमालेमा रहेका नेता घनश्याम भुसालले उहिले कार्यकर्तालाई धारिलो बनाउन दिने गरेको एउटा उदाहरणबाट सन्दर्भ शुरु गर्छु। त्यसअघि पाठकलाई यो टिप्पणीमा भुसाललाई उडाएको या चाकडी गरेको अर्थमा नलिई यथार्थका रुपमा मात्र लिन आग्रह गर्छु। यो आग्रह किन पनि म गर्दैछु भने मलाई भुसाल या उनको पार्टीका तीनवटै खेमासँग केही लिनु छैन। र, परदेशमा बसेर एउटा पूर्वपत्रकारका हिसाबले कहिलेकाहिँ देखेका, लागेका कुरा लेख्ने बाहेक मेरो अन्य उद्देश्य छैन। 

भुसालले उहिले करिब तीस वर्षअघि एउटा गजबको कथा सुनाएका थिए। चुट्किला शैलीको त्यो कथा हँसाउने मात्र नभएर गम्भीर पनि भएका कारण मेरो मनमा गढेर बसेको थियो, छ। उनको कथामा एउटा गरिब पात्र ससुराली जान्छ र त्यहाँ उसले पहिलो पटक सुरुवा खान्छ। धीत मर्नेगरी सुरुवा खाएर फर्किएपछि उसले घरमा श्रीमतीलाई पनि सुरुवा बनाउन लगाउँछ। जोरजाम गर्दा सुरुवाका लागि अपुग, थोरै मासुको जोहो हुन्छ। उसकी श्रीमतीले काम चलाउनका लागि आधा जति आलु मिसाएर सुरुवा बनाउँछिन्।

ससुरालीकै जस्तो धीत मर्ने खालको नभए पनि काम चलाउ मीठै स्वादको बनेको रहेछ। त्यो सुरुवा पनि मिठै मानेर खाएपछि हरेक दिन त्यो पात्रले श्रीमतीलाई सुरुवा मात्रै बनाउन निर्देशन दिएछ, मासुको जोहो बिना नै। श्रीमतीले के गरुन् ? जे छ, त्यही बनाउनुको विकल्प उनीसँग थिएन पनि। उनले श्रीमानका लागि अब हरेक दिन आलुमा झोल हालेर आलुकै ‘सुरुवा’बनाउन थालिन्। अब त्यस घरको परिभाषा अनुसार आलुको झोल नै सुरुवा बन्न पुग्यो। त्यही घरका कारण त्यस गाउँमा आलुको झोललाई सुरुवा भन्न थालियो। हरेक तरकारीका झोल र गुन्द्रुकको झोललाई पनि सुरुवाको दर्जा दिन थालियो। यसरी मासुको स्वाद दिने सुरुवा हेर्दाहेर्दै गरिबीका कारण तिहुनको झोल बन्नपुग्यो।

मुलुकमा अहिले कतिवटा कम्युनिष्ट र कतिवटा वाममार्गी विचारधाराका पार्टी अस्तित्वमा छन्, खोज्नैपर्ने हुन्छ। तर, अधिकांश वामपन्थी या गैरवामपन्थी पार्टीको पनि नारा र उद्देश्यमा समाजवाद शब्द परेकै हुन्छ। लाग्छ, समाजवाद नेपाली माटोमा हिमालदेखि मधेशसम्म फल्ने मौलिक उत्पादन हो र आम जनताले वर्षौंदेखि चाहेको व्यवस्था पनि यही हो। सबै कम्युनिष्ट पार्टी स्वतः समाजवादी, नेपाली कांग्रेस समाजवादी, वैकल्पिक धारका साना पार्टीको विचारधारा समाजवादी, पूर्व कम्युनिष्टहरुका हरेक पार्टी समाजवादी र नेपाली कांग्रेसबाट उछिट्टिएका नेताहरुका पार्टी पनि समाजवादी। तर, व्यावहारिकरुपमा चाहिँ देशबाट समाजवाद र समाजवादी चिन्तन झन्झन् दूर हुँदै गएको देखिन्छ। एकपटक कवि दाइ विमल निभाले हामी प्रतिपक्ष साप्ताहिकमा काम गर्दाताका गफैगफमा व्यंग्य गर्दै भनेका थिए– सबैले समाजवाद ल्याएर देश बनाउने भन्दा पनि देश बन्दैन, यो देश नै उस्तो। सम्झेर ल्याउँदा यो ठट्टा मिसिएको व्यङ्ग्य पो सत्य हो कि जस्तो लाग्ने। 

फेरि घनश्याम दाइकै उखानमा जाऊँ। उनले नेपालमा समाजवादको प्रयोको सन्दर्भ जोड्दै भनेका थिए– समाजवाद पनि त्यो गरिब गाउँ र घरको सुरुवा जस्तै भएको छ। गरिबको घरमा हरेक झोल सुरुवा बनेजस्तै बेइमान र पाखण्डी नेताहरुको व्याख्यामा हरेक समाजविरोधी कदम समाजवादको परिभाषामा पर्न थालेका छन्। परिणाम चाहिँ उही, नेपाली समाजवादको अवस्था तीन दशकअघिको त्यो व्याख्याभन्दा अहिले पनि फरक अवस्थामा छैन। दश वर्ष जनयुद्धले केही राजनीतिक चेतना र बर्तमान संविधानको आधार बनायो होला तर समाजवादी चिन्तनको प्रयोग भने नेपाली भूमिबाट झन् टाढा हुँदै गएको देखिन्छ। माओवादी नेताहरुको व्यवहार र धसिँदै गएको उसको साख दुबै कारण यसमा जिम्मेवार देखिन्छन्।

माओवादीको नैतिक र राजनैतिक क्षयीकरणसँगै समाजमा स्थापित हुनै लागेका मूल्य, मान्यता र आदर्श माटोमा मिल्ने क्रम झन् बढ्यो। अहिलेका समाजवाद र समाजवादीहरूको चिन्तन, शिक्षण र गन्तव्य हेर्दा लाग्छ– अबको समाजवादमा प्रश्न बन्देज छ र हरेक खालका समाजवादमा पुग्नेहरुका लागि फरक फरक गाडी तयार भएका छन्। समाज समाजवादकै नाममा नराम्ररी विभाजित छ। बौद्धिक भनिएको पठित वर्गले हरेक पटक साधारण जनतालाई कम महत्त्वका प्रश्नमा केन्द्रित गराइरहेको छ। मिडियाको प्रभाव बढे पनि तिनको क्षमता जनताले देख्न पाएका छैनन्। तसर्थ आमजनता मूलधारको मिडिया हेर्दैनन्, पढ्दैनन्। तिनले पत्याउने र हेर्ने सामग्री अर्कै र सनसनीखेज छन्।

विगतमा संविधानसभाको छेउछाउमा नै सुडान घोटाला किन भयो? राजनीतिक नेतृत्वले त्यसबाट कसरी उन्मुक्ति पायो? संविधान निर्माणपछि संसदीय र स्थानीय चुनावकै समयमा वाइडबडी घोटाला किन भयो? किन नयाँ व्यवस्थाको स्वामित्व लिने शक्तिहरुले पहिलाको विकृत संसदीय व्यवस्था भन्दा अहिलेको व्यवस्था बढी महँगो बनाए? किन राजा हटाएर धर्मनिरपेक्ष देश बनेको डेढ दशकमै राजनीतिको नसा नबुझेका पूर्व पत्रकारले जनमत संग्रहको माग गर्दा व्यवस्था नै धरापमा परे सरी राजनीतिक दल र मिडिया खनिए? किन यही व्यवस्थाले पदमा बसाएका केपी ओली र विद्या भण्डारीसँग व्यवस्थाका समर्थकहरु डराएर राज्यका अन्य अंगसँग हारगुहार गर्दै पुग्नुपर्ने अवस्था आयो?

यी धेरै प्रश्नमा यसो घोत्लिएर हेर्दा कुरो आउँछ उही सुरुवाका नाममा कुकिएको आलुको झोल बेच्ने नेतृत्व र त्यसको स्वादमा महिमागान गाउने युवाहरु। अनि यहीँनेर निरन्तर अभियानमा चुकेका बुद्धिजीवीहरु हरेकपटक आ–आफ्नो आग्रहसहित व्याख्या गर्न तल्लीन हुन्छन्। खान पाएका या नपाएका आधारमा विभाजित पुरानो पुस्ताले आफूजस्तै चिन्तन हस्तान्तरण गर्दै अर्को पुस्ता पनि आफ्नै मार्गमा हिँड्ने बनाइरहेको छ। र, यी सबै कर्ममा समाजवादकै नाम बेचिएको छ। नयाँ दोकानहरु पनि समाजवादकै नाममा खुलिरहेका छन्, पेडा पसलकै शैलीमा।

मैले सन् २०१५ को फेब्रुअरीमा यतै युरोपमा एक जना विचित्रका युवा भेटेको थिएँ। उनी भनिरहेका थिए– मैले बिपी कोइरालालाई चुनावमा सघाएको छु, उनले मलाई मोटरसाइकलमा एक महिना तेल हाल्न पुग्ने पैसा दिए। बुझ्नेहरु हाँसिरहेका थिए, नबुझ्नेहरु विश्वासका साथ अँ, अँ भन्दै टाउको हल्लाइरहेका थिए। मैले नाम बिर्सेको भन्ठानेर सच्याउने मनसायले भनेँ,‘भाइले भनेको गिरिजा या सुशील कोइराला हुनुपर्छ। बिपि कोइराला त म पनि सानै छँदा बितेका।’

नेविसंघको जिल्ला नेतृत्त्वमा काम गरिसकेको त्यो भाइको जवाफले नेपाली समाजवादी राजनीतिको स्तर बताउँथ्यो। उसले मतिर हेरेर प्रश्न तेर्स्यायो, ‘नेपालमा कोइराला पनि राजाजस्तै दुईतीनटा थियो र ?’ म उठेर हिँडेँ, स्वर्गीय गोविन्द वर्तमानले एउटा साहित्यिक कार्यक्रममा गोपालप्रसाद रिमालको नाम नसुन्ने रिपोर्टरलाई कठालो समातेर निकालेको घटना दिमागमा खेलाउँदै।

अहिले कांग्रेस या कम्युनिष्ट या वाममार्गी पार्टीका विभिन्न तहका नेताको प्रशिक्षण र तिनका कार्यकर्ताको व्यवहार देख्दा मलाई यिनै घटनाको याद हुन्छ। अझ करिब दुई तिहाइको सरकार चलाउने केपी ओली र उनका पक्षधरहरुले त मैले यता भेटेको भाइलाई पनि बिर्साइदिने काम गरे। 

जब बिपी कोइरालाको दर्शन त के, सामान्य चिन्तन पनि थाहा नभएकाहरु कांग्रेसका अगुवा कार्यकर्ता हुन्छन् र मदन भण्डारी भनेको विद्या भण्डारीको श्रीमानका रुपमा चिन्ने राजनीतिक कार्यकर्ता बहुमतमा पुग्छन्, त्यसबेला पुष्पलाल र गणेशमान सिंहको सादा जीवन इतिहासको पनि कुनामा थन्किँदो रहेछ। भीमबहादुर तामाङ भन्दा खुमबहादुर र जोशीहरु पूजनीय हुन्छन् अनि टङ्क कार्की र महेश बस्नेतको मूल्य एउटै तराजुमा राखेर तय गरिन्छ। राजनीतिको एउटा विश्वव्यापी अनुभवले के देखाएको छ भने, कुनै पनि देशको एउटा ठूलो शक्ति या प्रमुख हिस्सा जति प्रष्ट छ, अन्य शक्तिहरु पनि उसको मार्गमा धेरथोर हिँडेकै हुन्छन्। र, प्रमुख शक्ति या तिनका बहुसंख्यक कार्यकर्ताको पंक्ति गलत छ भने त्यसको अशर अन्य राजनीतिक दल र आम जनतामा परेकै हुन्छ।

हाम्रै इतिहासका बिगत या निकट बिगतका घटनाले पनि यही पुष्टि गरेका छन्। अब अहिले त क्या गजबको बिडम्बना हाम्रा सामु छ भने राजनीतिक जीवनको चार दशक वैचारिक बहश र पार्टीको आन्तरिक संघर्षको भाष्य बनाउँदै बिताएका उनै घनश्याम भुसालहरु केपी ओलीको जुठोपुरो खसेर खाने आशामा छन्। उनी वर्तमानमा जे भए पनि बिगतमा समाजवादका व्याख्याता नै हुन्। प्रदीप गिरीहरुले दोस्रो पुस्ता तयार गरेनन्, घनश्यामहरु दलाल पुँजीवादको व्याख्या गर्दागर्दै आफैं आफ्ना व्याख्यामा आउने खलपात्र बन्न पुगे। विगतमा महाकाली सन्धीको अपराधबाट चोखिने अवसर पाएका माधवकुमार नेपालले नयाँ समाजवादी पार्टीको बिँडो थाम्न नसक्ने देखिएको छ।

उनकै पक्षधरहरुका खुट्टा लुला भएको अवस्थामा समाजवादको अर्को एउटा दोकान या शुरुको कथाको जस्तो अर्को झोल तरकारी नबिक्ने सम्भावना बढी देखिएको छ। तर, यो जान्दा जान्दै पनि एक्ली युवा रामकुमारीले समग्र पुस्ताका सचेत मान्छेको प्रतिनिधित्व गरेकी छन्। थोरै हुनु या कमजोर हुनु नै सही, उनको अहिलेको जत्तिको अडान राजनीतिमा लाग्ने हरेक युवामा भैदिए समाजवादका उपभोक्ताले अलिकति मासु पनि मिसिएको आलुको सुरुवा चाख्न पाउने थिए कि ?

(पूर्व पत्रकार तथा लेखक गौतमलाई https://twitter.com/G_Padam मा भेट्न सकिन्छ। 


प्रकाशित: August 21, 2021 | 06:41:30 काठमाडौं, शनिबार, भदौ ५, २०७८
पदम गौतम

पदम गौतम

गौतम लेखक तथा पूर्वपत्रकार हुन्।
काठमाडौं, शनिबार, भदौ ५, २०७८

थप समाचार

प्रचण्डसँगको संगतले यतीजस्तै बन्यो कांग्रेस–एमालेको समाजवाद

पुष्पकमल दाहाल त्यस्ता खेलाडी हुन, जसले चित र पोट दुवैतिर आफूलाई स्थापित गराएका छन्। अंकगणितमा हारे पनि उनले अरु त के गिरिजाप्रसाद कोइरालाजस्ता चतुर खेलाडीको हातमा रहेको एक्का र बास्सालाई कैंटे दाउ हानेर गुलामले लडाएका छन्।

अबको कांग्रेस नेतृत्व : वैचारिक वा कार्यकर्तामुखी?

कांग्रेसका संस्थापकहरु बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरु शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिका बीच बेलाबेलामा चल्ने लन्च र डिनर बैठकहरुले पनि यदाकदा नौला तरङ्ग ल्याउने गरेका छन्।

विधिले कि जिद्दीले चल्दै हो देशको शासन?

सङ्घीय तहको राजनीतिक समीकरणले स्थानीय तहसम्मकै राजनीतिक नेतृत्वलाई विभाजित र विचलित बनाएर अगि बढाउँदै लगे दलीय नेतृत्वले। देश समग्रमा अपचलन, विचलन र विपथनका साथ अगाडि बढ्दो छ- हामी कानुनको शासनको फलाको फलाकिरहेका छौँस फलाकिरहने रहेछौँ।

कहिले सुधार्ने बैंक खाता नम्बर?

कुनै बैंकमा कुनै व्यक्तिको महिनावारी तलब आउने खाता रहेछ भनेर अनुमान गर्न सकिने प्रणाली (खाता नम्बर) हुनु नेपालको संविधानले धारा २८ मा मौलिक हकका रूपमा ग्यारेन्टी गरेको व्यक्तिको गोपनीयताको हकविरुद्धको विषय हो। वास्तवमा यो विषयमा बृहत् बहस गर्न जरुरी छ।

प्रताप गुमाएका प्रतापीहरू

कार्यकर्ता भर्ती केन्द्र बनाउन घर एउटा प्रदेश, बारी अर्को प्रदेश र शौचालय तेस्रो प्रदेशमा पर्ने गरी संघीयताको बिउ रोपिन्छ। ती प्रदेशका मुखिया एकाघरका छोरी, ज्वाइँ, सालासाली, भाइभतिजा र भजनमण्डलीका सदस्य बनाइन्छन्।

अस्तव्यस्त नेवानि, आन्दोलित कर्मचारी र एअरपोर्ट प्लटिङको जोखिम

महाप्रबन्धक कार्यालयमा उपस्थित नै नहुने या हुनसक्ने परिस्थिति निर्माण हुन नसक्ने र आन्दोलनले निकास नपाउने वस्था रहेमा नेवानिको हालत झन् बिग्रनेमा कुनै शंका छैन। लोकतान्त्रिक भनिएको देउवा नेतृत्वको सरकारले पनि आजसम्म यसमा कुनै ठोस निर्णय गर्न सकेको देखिँदैन।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C