सोमबार, असोज १७, २०७९

‘पोजिसन’बिनाको प्रचण्ड उडान

भारतको सद्भावको आवरणमा प्रधानमन्त्री केपी ओलीलाई मनोवैज्ञानिक त्रासमा राख्ने र प्रधानमन्त्रीको भविष्य सुरक्षित गर्ने प्रचण्डको प्रयासले आगामी केही महिनाभित्रै देखिने गरी नेकपामा ठूलो विभाजनको बीउ रोपिदिएको छ।
नेपाल समय  |  काठमाडौं, आइतबार, पुष १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुष १६, २०७४, काठमाडौं

‘जर्मनीकी ‘रिसर्च फेलो’ जुलिया तिम्रो सानो अन्तरवार्ता लिन चाहन्छे,’ मेरा एक पत्रकार साथीले उसका लागि फोनमा समय मागेका थिए। मैले सधैंझैं ‘हुन्छ’ भनिदिएँ। मैले तीन वटा भाखा नघाएर मात्र जुलियालाई भेटेको थिएँ। तर, मैले जुलियालाई बीच-बीचमा फोन गरेर आफ्नो बाध्यता सुनाउँदै माफी पनि मागिरहेको थिएँ। जुलिया स्ट्रासैम हम्बर्गस्थित ‘गिगा इन्स्टिच्युट अफ एसिएन स्टडिज’ नामक संस्थामा काम गर्ने रहिछ।

नेपालको द्वन्द्व र दिगो शान्तिको विषयमा अध्ययन गर्न जुलिया नेपाल आएकी रहिछ। ऊसँग फोनमा अर्को भाखा सार्दा नेपालको द्वन्द्व र शान्तिबारे पनि छोटो गफगाफ हुन्थ्यो। उसले माओवादीको द्वन्द्व, शान्तिपूर्ण अवतरण र त्यसको केन्द्रमा रहेका प्रचण्डको बारेमा बढी कुरा गर्न खोज्थी। एक गोधुली साँझमा जुलिया र म भैंसेपाटीको एउटा कफी सपमा बस्यौं।

हँसिली र बौद्धिक जुलियाले मुसुमुसु हाँस्दै पुष्पकमल दाहालको कुरा निकाली। पुष्पकमल दाहाल अर्थात् प्रचण्ड। प्रचण्डको कुरा आउँदा म पनि मजैले मुस्कुराएँ। म अलि बढी नै मुस्कुराएको रहस्य जुलियाले मज्जाले बुझी। ‘तिमीले माओवादी र प्रचण्डलाई नजिकबाट बुझ्छौ रे,’ जुलियाले मलाई फोनमा भनेकी थिई। शायद मेरो पृष्ठभूमिले होला वा मेरोबारेमा मेरा साथीले जुलियालाई अलिकति बढी नै गफ लगाएका थिए क्यारे। ‘भारत र चीनले समेत नबुझेका प्रचण्डलाई मैले कसरी पो बुझौंला र?’ यसो भन्दा जुलिया र म मज्जाले हाँसेका थियौं।

विद्यावारिधिका लागि मेरो अन्तरवार्ता गरेर जुलिया घर फर्केको झण्डै दुई वर्ष पुग्न थाल्यो। त्यो ठीक त्यही समय थियो, जतिबेला आफ्नै पार्टीको समर्थनले प्रधानमन्त्री बनेका केपी ओलीलाई कांग्रेसको साथ लिएर प्रचण्डले विस्थापित गरेका थिए। र, प्रचण्डको नयाँ सरकारलाई भारतको आशिर्वादको रूपमा अर्थ्याइएको थियो। जतिबेला ओलीको राजनीतिक छवि नाकाबन्दीका नायकको रूपमा निर्माण हुँदै थियो। त्यसैबेला प्रचण्ड भने ओलीले कथित रूपमा पूर्वसहमतिबमोजिम आफूलाई प्रधानमन्त्री नदिएको निहुँमा उनको विस्थापनको बाटो खोज्दै थिए। २० साउन ०७३ मा उनले त्यो बाटो भेट्टाए पनि। दोस्रो पटक प्रचण्ड पुनः नेपालको  प्रधानमन्त्री बने।
 
जगजाहेर नै छ, प्रचण्डको स्थायी व्यवस्थापनको चासो सरकारको स्थायित्वसँग, सरकारको स्थायित्वको चासो चीनसँग र चीनको चासो एमाले-माओवादी एकीकरणसम्म पुगेपछि मात्र
नेकपाको जन्म भएको हो।


सामान्यजनको बुझाइमा प्रचण्डले भारतको साथ लिएर ओलीलाई विस्थापित गरेका थिए। प्रधानमन्त्री बन्नेबित्तिकै प्रचण्डको भारत भ्रमण र त्यसको नतिजा पनि सामान्यजनको बुझाइजस्तै थियो। कांग्रेससँगको सहमतिअनुसार प्रधानमन्त्रीका रूपमा प्रचण्डको कार्यकाल एक वर्ष मात्र थियो। समय बित्दै थियो, चुनौतीहरू धेरै थिए। आफ्नो कार्यकाल छोटिँदै गएको चाल पाएका चलाख प्रचण्डले कार्यकालको उत्तरार्धमा चीनको भ्रमणमा निस्किए।

एकातिर स्थानीय, प्रादेशिक र संघीय संसदको निर्वाचन गर्न अपरिहार्य भइसकेको थियो। अर्कोतिर, नाकाबन्दीका कारणबाट उत्पन्न भारतविरोधी जनमतलाई मत्थर पार्न आवश्यक थियो। किनकि, नाकाबन्दीको निकासका लागि उत्तरतर्फ ओलीको सरकारले वैकल्पिक नाका र ऊर्जाको आग्रह गर्दागर्दै बीचैमा प्रचण्ड प्रधानमन्त्री बनेपछि ‘राष्ट्रवादी’ वाम जनमत उनीसँग चिढिएको थियो। चीनको भ्रमण नगरी आफ्नो भारत समर्थित छविबाट मात्र अगाडिका चुनौती छिचोल्न नसकिने निष्कर्ष उनले निकाले। र, चीनको सद्भाव बटुल्ने र चिढिएको जनमतलाई उत्साहित पार्न चैत ०७३ मा उनी चीनको भ्रमणमा निस्किएका थिए।

प्रधानमन्त्री बन्न भारत-चीन भ्रमणको ‘प्रचण्ड प्रयोग’को १८ महिना पनि बितेको छैन। अचम्म लाग्छ, हुबहु त्यही प्रयोग दोहोर्याउन प्रचण्ड फेरि तम्सिएका छन्। इतिहासको संयोग हो कि मजाक, प्रचण्डको दोस्रो प्रयोगको निशानामा अहिले पनि केपी ओली नै छन्। भर्खरै भारत र चीनको भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किएका छन्। प्रचण्डको भ्रमणलाई लिएर शहरमा अनेक चर्चाहरू छन्। अहिले प्रचण्डको बारेमा केही लेखिरहँदा मैले त्यतिबेला जुलियालाई दिएको प्रचण्डको परिभाषा सम्झिरहेको छु।

मैले केही मजाकिया शैलीमा भनेको थिएँ- नेपालमा प्रचण्ड भनेको यस्तो शक्तिशाली व्यक्तित्व हो, जसले दक्षिणको भ्रमण गर्दा दक्षिण समर्थित र उत्तरको भ्रमण गर्दा उत्तर समर्थित सरकार बन्छ। मेरो परिभाषाले जुलियाको हाँसो उन्मुक्त भएको थियो। हुन त, नेपालका कूटनीतिक विश्लेषकहरूले ‘कोल्ड-वार’पछि नेपालको राजनीतिमा भारत र चीन कार्डको प्रयोग अन्त्य भइसकेको मान्छन्। प्रचण्डको हकमा भने निरन्तर माथिको कथन अपवाद रहँदै आएको छ। मलाई थाहा भएन, मेरो कुरालाई जुलियाले मजाककै रूपमा लिई वा गम्भीर रूपमा। तर, नेपालको राजनीतिमा प्रचण्डको व्यवस्थापन एउटा चुनौतीका रूपमा रहेको कुरा सत्य हो।

नयाँ संविधानको निर्माणपछि राजनीतिक रूपमा माओवादी आन्दोलनको औचित्य समाप्त भएको थियो। जबकि, त्यसको वैचारिक विघटन धेरै अघि नै सम्पन्न भइसकेको थियो। पूर्वएमालेसँग भएको पार्टी एकतापछि यसको विधिवत विघटन पनि सम्पन्न भयो। प्रचण्डको माओवादीलाई अलग अस्तित्वमा राख्दासम्म प्रचण्डको स्थायी व्यवस्थापन हुनै नसक्ने र उनको स्थायी व्यवस्थापनबिना नेपालमा स्थिर सरकार बन्नै नसक्ने निष्कर्ष उत्तरी छिमेकीको थियो। यसमा तात्कालिक एमालेलाई सहमत बनाउन आवश्यक थियो।

नयाँ संविधानको रचनापछि एउटा आन्दोलनको रूपमा माओवादीको अस्तित्व समाप्त भयो। तर, एउटा व्यक्तिको रूपमा प्रचण्डको महत्व भने रहिरह्यो। र, उनको व्यवस्थापनको विषय नेपालको स्थायी राजनीति व्यवस्थापनको विषय बन्न पुग्यो। मुलतः तत्कालीन एमाले र माओवादीको एकताको केन्द्रीय प्रश्न प्रचण्डको निजी व्यवस्थापनको विषय थियो। जगजाहेर नै छ, प्रचण्डको स्थायी व्यवस्थापनको चासो सरकारको स्थायित्वसँग, सरकारको स्थायित्वको चासो चीनसँग र चीनको चासो एमाले-माओवादी एकीकरणसम्म पुगेपछि मात्र नेकपाको जन्म भएको हो।

झण्डै आधा दर्जन चिरामा विभक्त भएर विघटित भएको माओवादी आन्दोलनको मूलप्रवाह प्रचण्डसँगै थियो। त्यसकारण प्रचण्डको स्थायी व्यवस्थापनको कुरा हाम्रा बलिया छिमेकीहरूको रणनीतिक स्वार्थको विषय पनि थियो र छ। त्यसैले नेकपाको जन्म माओवादीको आन्तरिक संकटको कारणभन्दा बढी बाह्य परिस्थितिको द्योतक बन्न पुग्यो। अन्यथा प्रचण्डको माओवादीसँग पूर्वएमाले पंक्ति यति सजिलै एकताको पक्षमा आउने कुनै सम्भावना थिएन। माओवादीको विलय एमालेसँग भएपछि प्रचण्डको राजनीतिक व्यवस्थापन स्थायी भएको मानियो।

तर, पात्र र प्रवृत्तिको मूल्यांकन सधैं सही एवं स्थिर हुँदैन। एमाले-माओवादी एकीकरणपछि दुई तिहाइ बहुमतको शक्तिशाली सरकार, प्रधानमन्त्री ओलीको बढ्दै गएको राजनीतिक वर्चस्व र उनको काम गर्ने व्यक्तिवादी शैलीबाट प्रचण्ड दिक्क हुँदै गइरहेका थिए। र, त्यसमा प्रचण्डको कोटाबाट मन्त्री बन्नेहरूले आगोमा घ्यू थपिरहेका थिए। यही सेरोफेरोमा प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर उडेका थिए। सिंगापुरमा पत्नीको स्वास्थ्योपचार त छँदै थियो, शायद प्रचण्डको राजनीतिक औडाहाको पनि उपचार खोजिँदै थियो।



प्रचण्ड आवश्यकताभन्दा बढी बोल्नुपर्ने नेता पनि हुन्। बेला-बेलामा कुबेलाको बोलीले उनी अनावश्यक विवादमा पर्ने गर्छन्। तर, सिंगापुर यात्राको वरिपरि भएका महत्वपूर्ण राजनीतिक घटनाक्रममा प्रचण्डको कुनै प्रतिक्रिया सुनिएन। उनको मौनताभित्र केही न केही राजनीतिक खिचडी पाक्दै गरेको अनुमान राजनीतिक वृत्तमा थियो। तर, सर्वत्र आलोचना बेहोरिरहेको ‘बलियो’ सरकारलाई प्रचण्डले भित्रबाटै अप्ठ्यारो परिस्थिति निम्त्याइहाल्छन् भन्ने आकलनचाहीं थिएन। भारतीय दूतहरूसँग सिंगापुरमा भएको प्रचण्डको भेटघाटले प्रधानमन्त्री ओलीसँग रहेको भारत र प्रचण्डको असन्तुष्टिलाई एकै विन्दुमा ल्याइदियो। परिणाम, प्रचण्डको भारत भ्रमणको चाँजोपाँचो मिल्यो।

उत्साहित भारत

गत २४ भदौ आइतबार दिल्लीबाट काठमाडौं फर्कनुभन्दा केही घण्टा अगाडि प्रचण्ड निकै प्रफुल्ल देखिएका थिए। उनले हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै भने, ‘म अहिले प्रधानमन्त्री छैन। तर, मैले नरेन्द्र मोदीजीको आदर, सम्मान र स्वागतमा कुनै फरक पाइनँ। उहाँ आफैं मलाई स्वागत गर्न आउनुभयो र बाहिरसम्म छोडिदिनुभयो। र, पार्टीको अध्यक्ष हुँदासमेत मैले मोदीजीसँग जम्मा १५/२० मिनट मात्र भेट्न पाएको थिएँ। त्यो पनि एक्ला-एक्लै भएको भेट थिएन। तर, अहिले हामीले झण्डै एक घण्टा १५ मिनटसम्म एक्ला-एक्लै कुराकानी गर्यौं।’

प्रचण्डले त्यसो भनिरहँदा उनी निकै उत्साहित देखिएका थिए। प्रचण्डको उत्साह त केवल विषयवस्तुको आवरण मात्र थियो। वास्तवमा उत्साहित त भारत थियो। एक घण्टा १५ मिनट भारतीय प्रधानमन्त्री मोदीसँग एक्लै भेट्दा उनले के ‘खास कुरा’ गरेका थिए भन्ने तथ्य कतैबाट आएको छैन। यस्ता ‘खास कुरा’ कहिल्यै आउँदा पनि आउन्नन्। तर, यस्तै नआएका खास कुराले अहिले भारत र प्रचण्डलाई समान रूपमा उत्साहित बनाइरहेको छ।

हाम्रा प्रधानमन्त्रीले जतिसुकै सद्भावका कुरा गरून् र उनको भारत भ्रमण असाध्यै ‘फलदायी’ भएको दाबी गरून्-  अहिले पनि प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीको सम्बन्ध नाकाबन्दीको समयमा जस्तै छ। नाकाबन्दीमा ओलीले लिएको अडान र त्यसबाट विस्तारै नेपालले लिन खोजेको वैकल्पिक भूराजनीतिक पुँजी हाम्रो आफ्नै नीतिले भन्दा बढी भारतको गलत र नकारात्मक भूमिकाले आर्जित गरेको हो। र, संयोगवस आर्जित भूराजनीतिक पुँजीको लाभ लिएका ओलीको मनोविज्ञान भने उच्च छ।

भारतीय नाकाबन्दी र त्यसको सामना गरेका ओलीले भारतलाई भीमकाय शक्ति देख्न छोडेका छन्। भारत खासै केही होइन भन्ने मनोविज्ञान ओलीमा देखिएपछि भारतको व्यवहार ओलीप्रति अनुदार बन्दै गएको छ। भारतको अनुदारलाई बुझेका ओलीले पनि व्यवहारमा उस्तै प्रतिक्रिया दिँदै आएका छन्। सधैं राजनीतिलाई अन्तरविरोधको खेल ठान्ने प्रचण्ड यही प्वालबाट छिरेर प्रधानमन्त्री बन्न सकिने कुरामा आशावादी छन्। प्रचण्डको भारत भ्रमणको अन्तर्यमा रहेको कुरा यत्ति हो।

भर्खरै काठमाडौंमा सम्पन्न भएको चौथो बिमस्टेक सम्मेलन र भारतमा हुने संयुक्त सैन्य अभ्यासको विषय भारत र नेपालको क्रिया-प्रतिक्रियाको विषय बन्यो। वास्तवमा संयुक्त सैन्य अभ्यासको विषय बिमस्टेक सम्मेलनमा उठाउनुपर्ने विषय नै थिएन। तर, अकस्मात झुक्याएर मोदीले भाषणमार्फत् घुसाएको अनाधिकारिक एजेन्डाबाट प्रधानमन्त्री ओली हतप्रभ देखिएका थिए। तत्कालै न त विरोध गर्न मिल्ने र न त समर्थन गर्न सकिने अवस्थामा रहेका ओलीका लागि संयुक्त सैन्य अभ्यास ‘तातो पिँडालु निल्नु न ओकल्नु’ बनेको थियो।

अन्तिम अवस्थामा प्रधानमन्त्री ओलीले औपचारिक प्रतिनिधिका रूपमा भारतमा हुने संयुक्त सैन्य अभ्यासमा भाग नलिन सेनालाई निर्देशन दिए। ओलीको यस्तो प्रतिक्रिया मोदीको क्रियाबाट उत्पन्न भएको थियो। प्रधानमन्त्री ओलीलाई बिमस्टेक सम्मेलनमा संयुक्त सैन्य अभ्यासको एजेन्डा मोदीले यसरी उठाउलान् भन्ने थाहा नभए पनि भारतमा हुने संयुक्त सैन्य अभ्यासको कुरा थाहा नभएको भने होइन। नेपाली सेनालाई करिब तीन महिना अगाडि नै यसबारेमा जानकारी थियो। र, प्रधानमन्त्रीलाई पनि अवगत गराइएको थियो।

संयुक्त सैन्य अभ्यासमा भाग लिन सेनाले आफ्नोतर्फबाट तयारीसमेत गरेको थियो। सरकारले सेना रिझाउने र सेनाले सरकार रिझाउने गज्जबको स्थिति देखिएको नेपालमा भारतको भूमिकाले कहिलेकाहीं असमन्जस्यताको स्थिति पनि निम्त्याउने गर्छ। भारतको भूमिकाले सरकार-सेना सम्बन्धमा पनि यस्तो असमञ्जस्यता देखियो। यद्यपि, बाहिर यसको कुनै उल्लेख्य प्रतिक्रिया देखिएन र आजसम्म पनि देखिएको छैन।

तर, ओलीको सैन्य अभ्यास स्थगनको निर्णयलाई भारतले थप प्रतिक्रिया दियो- प्रचण्डको भारत भ्रमणमार्फत्। प्रधानमन्त्री ओलीलाई भारतले दिएको प्रतिक्रया मोदीद्वारा प्रचण्डको उच्च सम्मानमा मात्र सीमित पक्कै छैन। बरु मोदी-प्रचण्ड संवादको सवा घण्टाको कुराकानीमा भएका सहमतिहरू मार्फत् खास प्रतिक्रिया देखिनेछ। त्यसैले मैले माथि भनेको हुँ- आवरणमा बढी उत्साहित प्रचण्ड देखिए पनि उनको भ्रमणबाट खास उत्साहित भारत भएको छ।

भारतीय उत्साहका प्रारम्भिक संकेतहरू देखिन थालेका छन्। प्रचण्ड कुनै पनि हालतमा वामदेव गौतमलाई उपप्रधानमन्त्री बनाउनका लागि निर्वाचनमा जिताएरै सांसद बनाउन चाहन्छन्। उता ओली भने त्यसलाई कुनै पनि हालतमा रोक्ने रणनीतिमा छन्। ओलीले कसैको कुरा नसुन्ने र विकास हाँक्न सक्ने नेता नभएकाले आफ्नो नेतृत्व अपरिहार्य रहेको कुरा भारतीय प्रधानमन्त्री मोदीलाई बताएको कुरा प्रचण्डले आफ्ना नजिकका नेताहरूलाई बताउन थालेका छन्। यदि सहमतिअनुसार ओलीले एक वर्षपछि प्रचण्डलाई सत्ता हस्तान्तरण गरेनन् भने नेकपाको एकीकृत भविष्य धरापमा पर्ने राजनीतिक अवस्था विकसित हुँदैछ।

पार्टीभित्र विस्तारै नयाँ समीकरणहरू पनि बन्दै गएका छन्। प्रचण्ड, वामदेव गौतम र ईश्वर पोखरेलको समीकरणले नेकपाभित्रको हिजोको शक्ति सन्तुलनलाई परिवर्तन गरेको छ। यस्तो समीकरणको प्रभाव भारतसम्म फैलिएपछि नेकपाको भविष्यमा अनेकौं प्रश्नहरू जन्मिन थालेका छन्। भारतको सद्भावको आवरणमा ओलीलाई मनोवैज्ञानिक त्रासमा राख्ने र प्रधानमन्त्रीको भविष्य सुरक्षित गर्ने प्रचण्डको प्रयासले आगामी केही महिनाभित्रै देखिने गरी नेकपामा ठूलो विभाजनको बीउ रोपिदिएको छ। प्रचण्ड भ्रमण र भारत उत्साहको कथा यत्ति नै हो।

उदासिन चीन

भारत भ्रमणबाट अति उत्साहित भएका प्रचण्डले भारत भ्रमणलगत्तै चीनको पनि भ्रमण गरेका छन्। तर, यसपटकको उनको चीन भ्रमण उल्लेखनीय ढंगले उत्साहविहीन रह्यो। उनलाई विमानस्थलमा स्वागत गर्न गएका चिनियाँ अधिकारीले टी-सर्ट मात्र लगाएका थिए। चीनमा सामान्य पाहुनालाई स्वागत गर्दासमेत यस्तो अनौपचारिक पोशाकको प्रयोग गरिँदैन। यसबाट चीनले प्रचण्डको भ्रमणलाई कुनै महत्व नदिएको प्रष्ट देखिन्छ। प्रचण्डको भ्रमणमा चीन पूर्ण रूपमा उदासिन देखियो।

सदैव अस्थिर र ढुलमुले मानिने प्रचण्डको राजनीतिक व्यवस्थापनका लागि चीनको भूमिका निर्णायक थियो। तत्कालीन एमालेका लागि प्रचण्डको राजनीतिक महत्व खासै थिएन। अनेकौं प्रयासपछि मात्र ओली प्रचण्डसँग एकता गर्न राजी भएका थिए। प्रचण्डको भारत भ्रमण र त्यसको राजनीतिक असरको बारेमा चिनियाँ पक्षसँग भएको प्रधानमन्त्री ओलीको कुराकानीको असर प्रचण्डको चीन भ्रमणमा अभिव्यक्त भएको मानिएको छ।

दृश्य तथा अदृश्य अनेकौं शृंखलाहरू पार गरेर पार्टी एकतासम्म पुगेको नेकपाको निर्माणबाट पूर्वएमालेलाई उल्लेख्य लाभ थिएन। माओवादीलाई भने एकताको बहुआयामिक लाभ थियो। तर, एकताको सन्देश जिल्लास्तरसम्म पनि नपुग्दै प्रचण्डको कदम शक्ति आर्जनतर्फ मोडिएको ओली पक्षको बुझाइ छ। हुन पनि, प्रधानमन्त्री ओलीलाई समेत कुनै जानकारी नदिइकन प्रचण्ड भारत भ्रमणमा निस्किएका थिए।

बिनाकुनै जानकारी भएको प्रचण्डको भारत भ्रमणले सरकारमा चिसो पस्नु स्वाभाविकै थियो। प्रधानमन्त्री ओलीमा पसेको चिसो प्रचण्डको चीन भ्रमणबाट निस्किएको छ। अनेकौं सूत्रहरू प्रयोग गरेर भए पनि चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने प्रचण्डको चाहना पूरा हुन सकेन। हुन त, राष्ट्रपतिसँगको उनको भेटले कुनै अर्थ राख्ने थिएन। उनले राष्ट्रपतिसँगको भेटलाई केवल चीन भ्रमणको औचित्य सावित गर्ने माध्यम बनाउन चाहन्थे। तर, प्रचण्डको उक्त सानो अभिलाषा पनि पूर्ण भएन।

प्रचण्ड भ्रमणलाई चीनले गरेको घोर उपेक्षाको कारक भारतसँग उनले गरेका गोप्य कुराकानीको चिनियाँ प्रतिक्रिया ठानिएको छ। खासगरी प्रचण्डले हिन्दुस्तान टाइम्समा दिएको अन्तरवार्ता र त्यसको भित्री पाटोलाई चीनले गम्भीरतापूर्वक नियालेको देखिन्छ। भारतबाट निकै उत्साहका साथ फर्केर चीन पुगेका प्रचण्डले चीनबाट पनि त्यस्तै आशा राखेका थिए। उनले त्यस्तो आशा राख्नु पनि स्वाभाविकै थियो। किनकि, दुई वर्षअघि ओलीलाई विस्थापित गरेर प्रधानमन्त्री बनेका प्रचण्ड लजाई-लजाई चीन पुग्दा उनले नसोचेको स्वागत पाएका थिए। उही पुरानै राजनीतिक लयमा हिँडेका प्रचण्डलाई यसपटक भने चीनले निराश तुल्याइदियो। यसपटकको चीन भ्रमणमा प्रचण्ड बेइजिङ पनि नपुगिकन फर्किनुपर्यो।

अन्त्यमा, एक पटक एक जना विदेशी कूटनीतिज्ञले भनेका थिए- एउटा पार्टीको मुख्य नेता र प्रधानमन्त्रीको हैसियतले प्रचण्डसँग ‘डिल’ त गर्नैपर्छ तर आवश्यक सतर्कताका साथ। किनकि, प्रचण्ड विश्वसनीय नेता होइनन्। उनको एमालेमा विलय र स्थायी राजनीतिक व्यवस्थापनपछि त्यस्तो चरित्र मेटिएला भन्ने अपेक्षा थियो। तर, भारत र चीनको भ्रमणले प्रचण्डको चरित्र परिवर्तन भएको देखाएन। उनका प्रति मेरो परिभाषा ज्यूँका त्यूँ रह्यो। अर्थात्, उनी उत्तर जाँदा उत्तरको सरकार र दक्षिण जाँदा दक्षिणको। आशा गरौं, अब प्रचण्डले यस्तो ‘न्यारेटिभ’को अन्त्य गर्नेछन्।

प्रकाशित: December 31, 2017 | 18:23:00 काठमाडौं, आइतबार, पुष १६, २०७४

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
विचार

अन्य दलका नेता भित्र्याउन 'अनलिमिटेड कम्पनी' बन्दै एमाले

पाँच दलीय गठबन्धन बनेपछि आफूले स्पेस नपाउने ठानेर नेकपा एमालेमा अन्य पार्टीका नेता, कार्यकर्ताहरू प्रवेश गर्ने क्रम बढेको छ। आउँदो चुनावमा टिकट कट्ने संकेत पाएपछि सत्तालोभले पार्टी प्रवेश गर्नेहरूको व्यवस्थापन गर्न एमालेलाई कालान्तरमा सकस पर्ने देखिन्छ।
नेपाल समय
विचार

संवैधानिक र राजनीतिक प्रणालीभित्र देखिएको अराजकता!

परिणामस्वरूप सात वर्षमै यो प्रणाली अराजकता उन्मुख देखिँदैछ। हिजोको व्यवस्थाभन्दा चरम राज्यशक्तिको दोहन र अपचलन आज खुलमखुल्ला भइरहेको छ। जसले जे गरे पनि हुने खालको अराजकतातर्फ राज्य प्रणालीका संयन्त्र उद्दत छन्।
नेपाल समय
विचार

सम्पादकीयः संविधान उल्लंघन गर्ने राष्ट्रपति राजीनामा देऊ

राष्ट्रपतिको अहिलेको कदमले विगतमा अधिनायकवादलाई काखी च्याप्न खोज्ने स्वार्थप्रेरित दलहरुको मुहारमा मुस्कान देखिएको भए पनि कालान्तरमा उनीहरुलाई नै पीर्ने निश्चित छ। त्यसकारण अहिलेको विकल्प भनेको राष्ट्रपतिले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु नै उत्तम हुनेछ।
नेपाल समय
विचार

मोदीको सर्वशक्तिमान् छवि कहिलेसम्म रहला?

हरतरहले नागरिकमाथि प्रधानमन्त्री मोदीको तस्बिर, भिडियो र ब्यानरको वर्षा गरिइराखिएको छ। नागरिकले चाहे पनि नचाहे पनि यो विषयलाई अनदेखा गर्न सक्ने अवस्था छैन।
नेपाल समय
विचार

च्याँखे दाउमा अल्झिएको गठबन्धन

गठबन्धनमा आवद्ध सबै दललाई आफ्नो सपनाको खेती गर्नु छ। सपनाको निम्ति गठबन्धनमा रहेका नेपाली कांग्रेस र इतर दलका आ–आफ्नै दुःख छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना