बुधबार, असोज १९, २०७९

एमालेले बेबी किङ मानेको भए गणतन्त्र आउने थिएन

ज्ञानेन्द्रले म र गिरिजाबाबुलाई अलग-अलग भेटेर लडाउने प्रयास गरेका थिए । मैले गिरिजाबाबुलाई भनें, 'तपाईंलाई राजाले के भन्छन्, त्यो मलाई सुनाउनूस्, मसँग के भने त्यो तपाईंलाई सुनाउँछु ।' त्यसपछि हामी दुवैबीच 'क्लोज कम्युनिकेसन' हुन थाल्यो ।
नेपाल समय  |  काठमाडौं, आइतबार, पुष १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुष १६, २०७४, काठमाडौं

काठमाडौं, १५ जेठ । ०४६ सालमा जनआन्दोलनको उभार आयो । त्यतिखेर राजसंस्था फाल्न सकिँदैनथ्यो । राजतन्त्रलाई 'नोमिनल मोनार्की'का रूपमा राख्ने सहमति जुट्यो । 

हामी सकेसम्म राजसंस्थालाई कुनै अधिकार दिने पक्षमा थिएनौं । संविधान निर्माण क्रममा हामीले निकै लडाईं लड्यौं । संविधान सुझाव आयोगको सदस्यको हैसियतले त्यसको अगुवाई मैले नै गरेको थिएँ । मैले जापान र स्पेनको राजसंस्थाको मोडेल अगाडि सारेको थिएँ । केही युरोपेली राजसंस्थाको पनि मोडेल सुझाएको थिएँ । 

ती मोडेल अगाडिल सार्दा तत्कालीन राजा वीरेन्द्र मेरो अधिकार खुम्च्याएर समाप्त पार्न खोजेको बताउँदै निकै रिसाएको सुनेको थिएँ । संविधान सुझाव आयोग बनेको थियो । म, निर्मल लामा र भरतमोहन अधिकारी वामपन्थीहरूको तर्फबाट त्यसमा सदस्य थियौं । 

कांग्रेसको चाहना ०१५ सालको संविधान

हामी जनतालाई बढीभन्दा बढी अधिकारसम्पन्न बनाउने पक्षमा थियौं । राजाको हातमा कुनै पनि निरंकुश अधिकार नदिने पक्षमा थियौं । त्यसका लागि धेरै लड्यौं । तर पनि, तीन शक्तिबीचको सम्झौताअनुसार काम गर्नुपर्ने थियो ।

आयोगमा कांग्रेस र राजाका प्रतिनिधिहरू पनि थिए । र, कांग्रेसका प्रतिनिधिहरू ०१५ सालको संविधानको सेरोफेरोभन्दा माथि उठ्न सकेका थिएनन् । उनीहरू संविधानमा बलियो राजाको पक्षमा तयारी गरेर आउँथे । 
गिरिजाप्रसाद कोइरालाको मनमा अन्तिमसम्म ‘बेबी किङ’ थियो । 

त्यसलाई हामीले कुनै हालतमा स्वीकार्न सकेनौं । त्यसमा राजाका भन्दा कांग्रेसका प्रतिनिधिसँग बढी लड्नु पर्‍यो । आयोगका अध्यक्ष विश्वनाथ उपाध्यायले एक विन्दुमा गएर सहमत गराउनु भयो । त्यसलाई हामीले सम्झौताको दस्तावेजका रूपमा लियौं । 

गणतन्त्रको जग होइन ०४७ को संविधान

२०४७ सालको संविधानलाई गणतन्त्रको जग मान्न सकिँदैन । तर, जनताको अधिकार प्राप्त गर्ने र जनतामा सार्वभौमसत्ता प्राप्त गर्ने दस्तावेजका रूपमा लिन सकिन्छ । 

त्यो संविधानमा हामीले केही फरक मत राख्यौं । पहिला ६ बुँदे फरक मत दर्ज  गर्‍यौं । र, मदन भण्डारीले २७ बुँदे फरक मत सार्वजनिक गर्नुभयो । त्यसपछि राजालाई मान्ने र राजतन्त्रलाई स्वीकार्ने पक्षमा पुग्यौं । राजासँग सहकार्य गर्दै जाने तर जनताका अधिकारमा कुनै सम्झौता नगर्ने निष्कर्षमा हामी पुग्यौं । 

बन्दुकबाट शान्तिपूर्ण रूपान्तरण

२०४७ सालको संविधानपछि बन्दुकको बलबाट शासनसत्ता कब्जा गर्ने कम्युनिस्ट मान्यतालाई बदल्ने निष्कर्ष निकाल्यौं । र, चुनावमा बहुमत प्राप्त गरेर सरकार बनाउने निष्कर्षमा पुग्यौं । 

राम्रो काम गरेर र जनताको विचार जितेर लोकप्रिय कार्यक्रम ल्याउने मान्यतामा हामी पुग्यौं । त्यसैलाई 'जनताको बहुदलीय जनवाद'का रूपमा मदन भण्डारीले व्यवस्थापन गर्नुभयो । कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन अन्तराष्ट्रिय परिवेशमा देखिएका कमजोरीलाई पाठका रूपमा लिने मान्यतामा हामी पुग्यौं । 

पहिलो चरणमा सामन्तवादको उन्मुलन र दोस्रो चरणमा त्यसका अवशेषलाई निर्मुल पार्ने मान्यता अगाडि सार्‍यौं । समयको परिपक्वताबिना केही पनि परिवर्तन गर्न सकिँदैन भन्ने मान्यतामा हामीले राजसंस्था स्वीकारेका हौं । 

मानिसको मनोबल र चाहनाले मात्र केही हुँदैन । वस्तुगत परिस्थिति  तयार हुनुपर्छ । वस्तुगत परिस्थिति परिपक्व हुनु भनेको राजतन्त्र र जनताबीच अन्तरविरोध बढ्नु हो । राजतन्त्रको अनुचित कामले जनताको मनमा घृणा पैदा हुनुपथ्र्यो । जनताको मनमा जबसम्म परिवर्तनको चाहना तीव्र हुँदैन, तबसम्म कम्युनिस्ट पार्टीका केही नेताले चाहँदैमा केही हुन सक्दैन । 



राजा वीरेन्द्रको 'तिमी'

२०४६ सालपछि राजा वीरेन्द्रले समय र परिस्थिति हेरेर चल्न खोजेका थिए । तर, नानीदेखि लागेको बानी फेर्न कठिन हुन्छ । 

मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला एक पटक दरबारमा भेट्न बोलाइएको थियो । म पनि सँगै थिएँ । राजाले कुरा गर्दागर्दै मनमोहनलाई 'तिमी' शब्द प्रयोग गरे । 'तिमी' शब्द सुन्दा-सुन्दा बानी परेकाले मनमोहनलाई अनौठो लागेन । मलाई भने चित्त बुझेन । 

मैले त कहिल्यै पनि अरूबाट 'तिमी' सुनेको थिइनँ । म विद्रोही स्वभावको भएकाले त्यो पच्ने कुरा नै थिएन । म सबै कुरा सहन सक्छु तर अपमान सहन सक्दिनँ । राजाको त्यो शब्द मन नपरेपछि मैले मुन्टो फर्काइदिएँ । 

राजाले कुरा गर्दै थिए तर मैले कुरा सुन्न चाहिनँ । राजाले कुरा बुझे, त्यसपछि कुरा फेरेर 'तपाईं' भन्न थाले । बढ्ता रिस उठ्यो भने म जुरुक्क उठेर हिँडिदिन्छु, राजा-महाराजा जो भए पनि कसैलाई टेर्दिनँ । त्यो मेरो स्वभाव हो । 

तर, उठिहाल्नुभन्दा अगाडि धेरै कुरा सोच्छु पनि । मेरो मान्यता छ, नबिराउनु नडराउनु । त्यसबाहेक वीरेन्द्रको बेलामा अरू केही भएन । मैले पनि उहाँलाई श्रद्धा नै गर्थें । आफूले अरूलाई र अरूले पनि आफूलाई सम्मान गरून् भन्ने मेरो मान्यता हो । 

यस कारण बसिनँ छानविन आयोगमा

१९ जेठ ०५८ मा दरबार हत्याकाण्ड भयो । ज्ञानेन्द्रभन्दा राजा वीरेन्द्र लोकप्रिय थिए । वीरेन्द्रको वंशनासपछि ज्ञानेन्द्र राजा बन्ने स्थिति बन्यो । राजा कसलाई बनाउने भन्नेबारेमा वीरेन्द्र सैनिक अस्पतालमा हाम्रो बैठक बस्यो । 
 
राजाको ८ वैशाखको वक्तव्यलाई स्वीकार गरौं भनेर देउवाले फोन गरे । मैले आँट नभएको हिम्मतहारा भनेर झपारें ।

बैठकमा राजा नभइसकेका ज्ञानेन्द्र, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सभामुख तारानाथ रानाभाट, राष्ट्रियसभाका अध्यक्ष डा. मोहम्मद  मोहसिन, राजसभा स्थायी समितिका सभापति डा. केशरजंग रायमाझी, राजाका प्रमुख स्वकीय सचिव पशुपतिभक्त महर्जन र प्रधानन्यायाधीश केदारनाथ उपाध्याय हुनुहुन्थ्यो ।

म त्यसमा विपक्षी दलको नेताको हैसियतमा सहभागी थिएँ । बाहिर  सडकमा तनाव छ, कसरी जाने भनेर छलफल भयो । वीरेन्द्रको वंशको विनास कसरी भयो भनेर छलफल भयो । त्यसबेला अधिराजकुमारको हैसियतमा रहेका ज्ञानेन्द्रले 'वास्तविकता टेलिभिजनमार्फत् भन्छु, त्यो घटना यसरी भएको हो भनेर' प्रस्ताव राखे । 

अनि मैले नै अगाडि सरेर भनें, 'त्यो कुरा सरकारले भने पनि बाहिर कोही पत्याउनेवाला छैनन् । त्यसरी भन्दा स्थिति झन् बिग्रन्छ ।' मैले आयोग बनाएर छानविन गर्न प्रस्ताव राखेँ । 

त्यसपछि कसलाई आयोगमा सदस्य बनाउने भनेर पनि नामका बारेमा छलफल भयो । मैले नै भनें, 'प्रधानन्यायाधीशको अध्यक्षतामा बनाऊँ ।' 

प्रधानन्यायाधीश त्यो आयोगमा बस्न तयार हुनुभएन । अनि, मैले सभामुखलाई राखिदिऊँ भनें । त्यसपछि मलाई तपाईं पनि बस्नुपर्छ भन्न थाले । मैले त्यो बैठकमा धेरै प्रतिवाद गरिनँ । मलाई लाग्यो, क्याबिनेटले यसबारेमा निर्णय गर्छ होला । त्यसपछि गिरिजाबाबुसँग सल्लाह गरेर अगाडि बढौंला भन्ने मलाई लाग्यो । 

म बसें भने गिरिजाबाबु पनि बस्नुपर्छ भन्ने अडानमा थिएँ । बैठकमा कुनै निर्णय नभई हामी हिँड्यौं । निस्कँदा निस्कँदै भर्‍याङमा पशुपतिभक्त महर्जनसँग भेट भयो । मैले भने, 'यदि हाम्रो पार्टीको तर्फबाट आयोगमा कोही राख्नुपर्ने भयो भने भरतमोहनलाई राख्नूस् ।'

साँझ आर्यघाट पुगेपछि फोन आयो, 'तपाईंको नाम त राख्ने भइयो ।' मैले 'मेरो नाम नराख्नूस्' भनें । बीचमा फोन कट्यो । अनि मेरो नाम फ्याट्ट बाहिर आयो । त्यसबेला कफ्र्यु लागेको थियो । म घर जान गाडीको पर्खाइमा थिएँ । घर पुगेर 'कलब्याक' गर्दा फोन लागेन । भोलिपल्ट हाम्रो पार्टीको बैठक बस्यो । बैठकले आयोगमा नबस्ने निर्णय गर्‍यो । हामीले बैठकको निर्णयअनुसारको पत्र पठाइदियौं । 

पूर्वप्रधानमन्त्री नेपालसँग गरिएको कुराकानी हेर्नुहोेेस्


ज्ञानेन्द्रलाई भनें 'म कसैको निगाहबाट आएको होइन'

आयोगबाट मेरो नाम हटाएपछि ज्ञानेन्द्रले मप्रति अलि असन्तुष्टि जनाएजस्तो लाग्यो । उनी राजा भइसकेपछि एक पटक मेरो कुराकानी भयो । त्यसबेला राजनीतिक पार्टीका नेताहरूलाई होच्याएर कुरा गरे । मलाई साह्रै खपिनसक्नु भयो । उनीसँग छोरा पारस पनि थिए । मैले पनि  एकहोरो तरिकाले बोलें । 

शायद २० मिनट बोलें होला । मैले भनें, 'म माधव नेपाल कसैको निगाहबाट यो ठाउँमा आएको होइन । मेरो परिवार हात पसारेर माग्दै हिँड्ने परिवार पनि होइन । जिल्लाको अत्यन्त सम्मानित परिवार हो मेरो । मेरो बुवा विद्वान मान्छे हो, स्कुलको हेड मास्टर, कलेजको प्रिन्सिपल । म उहाँको संस्कारमा हुर्केको मान्छे हुँ, अपमान सहने मान्छे होइन ।' 

यति भन्दै म जुरुक्क उठेर हिँडें । त्यसपछि दरबार जाँदै जान्नँ भन्ने थियो । त्यसरी हिँडेपछि माधव नेपाल साह्रै रिसायो भन्ने ज्ञानेन्द्रलाई परेछ ।  त्यसपछि उनले पशुपतिभक्त महर्जनलाई मेरोमा पठाउँदै त्यसरी रिसाउनु भएन भन्ने सन्देश पठाए । र, एकचोटी भेटौं भन्ने खबर पठाए । 

त्यसपछि म भेट्न दरबार गएँ । उनले 'माधवजी' भनेर सम्बोधन गरे । ज्ञानेन्द्रको एउटा राम्रो बानी थियो, नामको पछाडि 'जी' लाउने । हाम्रो पनि 'जी' लगाइदिएपछि फुरुंग पर्ने बानी । 
 
राजा वीरेन्द्रले मनमोहन अधिकारीलाई तिमी भनेपछि मैले मुन्टो बटारें

म जापान जाँदा त्यहाँका सम्राटसँग भेट भयो । भेटमा बराबरी तहको कुर्सीमा बसेर कुराकानी भयो । म उपप्रधानमन्त्री तर जापानको राजाले त्यति नजिक भएर कुराकानी गरेपछि धेरै सकारात्मक भएँ । मैले यो कुरा फर्केर राजा वीरेन्द्रलाई सुनाएँ । त्यसको संकेत तिमी पनि त्यसै गर भन्ने थियो । 

हामीकहाँ भने राजा ठूलो सोफमा बस्ने र हामीलाई सामान्य कुर्सीमा बसाउने । आज्ञाकारी विद्यार्थीजस्तो । वीरेन्द्रले यो कुरा वास्ता गरेनन् । पछि यो कुरा ज्ञानेन्द्रलाई सुनाएँ । उनी त चलाख मान्छे, बराबरीको कुर्सीमा राखेर कुराकानी गर्न थाले । 

ज्ञानेन्द्रका पनि केही राम्रा कुरा नभएका होइनन् । म उनलाई खराब मान्छे मान्दिनँ । तर, आफ्नो ठाउँमा लडाईं त चलिहाल्छ । 

वीरेन्द्र विनम्र, ज्ञानेन्द्र अहंकारी 

वीरेन्द्र अलि विनम्र थिए भने ज्ञानेन्द्र बढी अहंकारी । ज्ञानेन्द्रसँगको भेट र कुराकानीपछि अब सहज ढंगले अगाडि बढ्न सकिँदैन भन्ने लागेको थियो । पछि गएर ज्ञानेन्द्रले नेताहरूलाई प्रजाको तहमा राख्ने मान्यता देखाउन थाले । 

आफूले मात्र के के गर्न सक्छु भन्ने सोच र सत्ताले मान्छेलाई भ्रष्ट बनाएजस्तै परिस्थिति उनको हकमा पनि तयार भयो । उनी बढी नै महत्वाकांक्षी भए । पार्टीका नेता भ्रष्ट भए बदलिन्छ, पार्टी बदलिन्छ तर राजाले नै त्यो गर्न थाल्यो भने राजा मात्र बदलिँदैन, राजतन्त्र नै समाप्त हुन्छ । त्यो कुरालाई उनले बुझ्न सकेनन् । त्यसबेला राजालाई सुधार्न हामीले मौका दिन खोज्यौं । 

भिडियो हेर्नुहोस्

शेरबहादुर हटाउँदा गिरिजाबाबु खुशी

जुन दिन ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरे, त्यही दिन मैले बल्खुमा दलहरूको बैठक बोलाएँ । त्यस बैठकमा गिरिजाबाबु आउनु भएन, सूर्यबहादुर थापा आउनुभयो । गिरिजाबाबु आउनुभयो भने एउटा वक्तव्य जारी गर्ने र आन्दोलनका लागि सडकमा ओर्लिने सोचिरहेको थिएँ । 

तर उहाँ नआउनु भएपछि मनमा चिसो पस्यो । शेरबहादुर हटेकामा गिरिजाबाबुलाई नराम्रो लागेको रहेनछ । हामीले व्यक्तिको प्रश्न नभई  गलत प्रवृत्ति हावी भएको बतायौं । 

त्यसपछि २१ असोज ०५९ मा फेरि दलहरूको बैठक बस्यो । पाँच पार्टीका नेता भेला भयौं । अब सार्वभौमसत्ता कसको हातमा भन्ने प्रश्न आयो । र, निष्कर्षमा निकाल्यौं, 'संसद भंग भइसकेकाले त्यो अधिकार राजनीतिक पार्टीले प्रयोग गर्ने । राजनीतिक पार्टीले जसको नाम सिफारिस गर्छन्, उसैलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्छ ।' 

त्यो कुरालाई राजा ज्ञानेन्द्रले पचाएनन् । उनले आफैं अधिकार प्रयोग गर्न खोजे । त्यो एउटा लडाईंको विषय बन्यो । अबको प्रधानमन्त्री कसलाई प्रस्तावित गर्ने भनेर दलहरूबीच छलफल हुँदा गिरिजाबाबुले मेरो नाम प्रस्ताव गर्नुभयो । सबै पार्टीले स्वीकार गरे । र, राजा ज्ञानेन्द्रलाई नाम पठाउनु परेमा माधव नेपालको नाम पठाउने निर्णय भयो । 

तर, त्यो कुरा राजाले मन पराएनन् । त्यसपछि कहिले लोकेन्द्रबहादुर चन्दलाई कहिले सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए । 

१९ माघपछि गणतन्त्रको बहस

१९ माघ ०६१ मा राजाले देउवालाई फेरि हटाए । त्यसअघिसम्म हामीले राजालाई सचेत गरायौं, सच्चिन मौका दियौं । अनेक कोशिस गर्दागर्दै पनि हाम्रो कुरा सुनिएन । त्यस घटनापछि ०६२ सालमा हामी गणतन्त्रमा जाने विषयमा बहस शुरू भयो । यो बहस एमालेभित्रबाट भयो । 

१९ माघको घटनापछि अब गणतन्त्रको विकल्प छैन भन्नेमा पुग्न थाल्यौं । असार ०६२ मा एमाले केन्द्रीय समितिले निष्कर्ष निकाल्यो, 'अब गणतन्त्रमा जानुपर्छ ।' एमालेभित्र विवाद भयो । केही नेताहरू मान्नुभएको थिएन । अधिकांश केन्द्रीय सदस्य गणतन्त्रको पक्षमा उभिनुभएको थियो ।  गणतन्त्रको दिशातर्फ अगाडि बढ्न वातावरण तयार गर्ने निर्णय भयो । 
 
१० वैशाख ०६३ मा गिरिजाप्रसाद कोइरालाको निवासमा बसेर राजाले गर्ने भाषणको मस्यौदा गरियो, त्यसमा राजाले दुई शब्द ‘प्यारा देशवासीहरू र पशुपतिनाथले हामी सबैको कल्याण गरून्’ थपे


गणतन्त्रमा जान अरू पार्टी तयार थिएनन् । जनकपुरमा नेपाल सद्भावना पार्टीको सम्मेलन चलेको थियो । एमालेको तर्फबाट मलाई पनि बोलाइएको थियो । मैले सम्बोधनका क्रममा सद्भावना पार्टीका कार्यकर्तालाई गणतन्त्रका लागि आन्दोलनमा उत्रिन आग्रह गरें । मैले त्यसरी बोलेलगत्तै हृदयेश त्रिपाठीले यो कम्युनिस्टहरूको घनचक्करमा फस्नु हुँदैन भनेर बोले । 

पछिसम्म पनि गिरिजाबाबु गणतन्त्रमा जान तयार हुनुभएन । कांग्रेसको महाधिवेशन जावलाखेलमा भएको थियो । मलाई पनि शुभकामना मन्तव्यका लागि बोलाइएको थियो । मैले सम्बोधनका क्रममा भनें, 'तपाईंहरूले ००६ सालदेखि बोक्दै आएको संवैधानिक राजतन्त्रको भ्रम जालबाट मुक्त हुनुहोस् । राजालाई राखेर केही फाइदा छैन, गणतन्त्रका निम्ति जुर्मुराएर उठ्नूस् ।' 

गिरिजाबाबुले भन्नुभयो, 'माधवजीले हामीलाई उल्क्याउन खोज्नुभएको छ, त्यसको पछिपछि नजाऊँ ।' कांग्रेस त्यसबेलासम्म पनि गणतन्त्रको निम्ति तयार थिएन । 

एमालेको एक्लो आन्दोलन

हामीले आफ्नो प्रयास छाडेनौं । काठमाडौंको आन्दोलनमा सहभागी संख्या घट्न थालेको छ । नागरिक समाजका मान्छेले आन्दोलनलाई खिज्याउन थालेका छन् । जिल्ला-जिल्लामा जाऊँ भन्दा कांग्रेसले मानेन । त्यसपछि एमालेले एक्लै आन्दोलन गर्ने निर्णय गर्‍यो । त्यसबेलासम्म त्यस विषयमा माओवादीसँग पनि कुरा भएको थिएन । 

माओवादीलाई हामीले खाली शान्तिपूर्ण राजनीति गर मात्र भनेका थियौं । माओवादीलाई हाम्रा कार्यकर्ताको हत्या गर्ने काम बन्द गर भनेका थियौं । 

हामीले एउटा योजना बनायौं । देशका ठूला १० शहरमा विशाल प्रदर्शन गर्ने । सभाहरू गर्दै आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने । साउनमा हाम्रो पार्टीको बैठकमा मैले सोधें, 'ल भन्नूस्, को तयार हुनुहुन्छ पहिलो सभा गर्न ?' 

किनभने, त्यसबेला आमसभा निकै ठूलो चुनौती थियो । रामनाथ ढकाललाई भनें, 'तपाईं उठ्नूस् ।' उहाँं तयार हुनु भयो तर समय चाहिन्छ भन्नुभयो । दशैंअघि नै गर्नुपर्छ भनें । तर, पछि बुटवलमा ४ मंसिरमा पहिलो आमसभा गर्ने निर्णय भयो । बुटवलको सभापछि देशका १० शहरमा सभाको तयारी भयो । र, एकपछि अर्को विशाल उपस्थिति हुन थाल्यो । 

मोरिआर्टीलाई चेतावनी

बुटवलमा कार्यक्रम हुने भएपछि अमेरिकी राजदूत जेम्स एफ मोरिआर्टीसँग भेट भयो । त्यसमा उनले राजनीतिक दल र नेता अलोकप्रिय छन् भने । मैले उनको भनाइलाई चुनौती दिएँ । र, देखाइदिन्छौं भनें । 

मैले छविलाल विश्वकर्मालाई सोधें, 'कति मान्छे हुन्छन् सभामा ?' उहाँले भन्नुभयो, '५०-६० हजार ।' त्यसपछि मैले मोरिआर्टीलाई भनें, 'बुटवलमा जाऊ, सबैभन्दा अग्लो घरमा बस र सभामा आएका मान्छेको टाउको गन । ६० हजारभन्दा कम रहेछन् भने मलाई भन्नु ।' 

त्यसबेला म दिल्ली जाँदा प्रणव मुखर्जीले समेत त्यही कुरा दोहोर्‍याए । मैले   मुखर्जीलाई पनि त्यही जवाफ दिएँ । 

प्रचण्डलाई भनें, 'खुरुक्क दिल्ली आउनूस्'

३० कात्तिकमा बल्खुमा कार्यकर्ता भेला बोलाएका थियौं । त्यसबेला हामीलाई भारत भ्रमणको निम्तो आयो । म, केपी ओली र अमृत बोहरा भारत गयौं । त्यस क्रममा प्रचण्डसँग कुरा भएको थियो, 'अब तपाईं दिल्ली आउनूस्' भन्यौं । 

त्यसअघि उहाँले रोल्पामा बोलाउनुभएको थियो । मैले आफू आउन नसक्ने तर त्यहींका नेताहरूलाई पठाउँछु भनेको थिएँ । वामदेव गौतम र युवराज ज्ञवाली प्रचण्डलाई भेट्न रोल्पा जानुभयो । उहाँहरूले रोल्पा पुगेर कुरा गर्नुभयो ।

हामी दिल्ली जाने भएकाले दिल्लीमै पछि कुरा गरौं भनेका थियौं । तर, प्रचण्डले आफू दिल्ली आउन नसक्ने कुरा गर्नुभयो । मैले तपाईं जसरी पनि आउनूस् भनें । पटक-पटक हामी दिल्ली आउन सक्दैनौं, तपार्इंसँग कुरा गर्न फिलिपिन्स जाने कि भन्नेसम्म कुरा भयो । र, युरोपको कुनै ठाउँमा भेट्ने कि भन्नेबारे पनि छलफल भएको बताएँ । 

मैले प्रचण्डलाई वार्ता गर्न सीपीएमको सहयोगबाट केरला जाऊ पनि भनेको थिएँ । कतै पार नलागेकाले प्रचण्डलाई जसरी पनि दिल्ली आउनूस् भनें । 

यसरी भयो १२ बुँदे

गिरिजाबाबुलाई फोन गरेर दिल्ली बोलाएँ । र, तीन वटै पार्टीका नेताहरू दिल्लीमा भेला भयौं । दिल्लीमा एमाले-माओवादी र कांग्रेस-माओवादी अलग-अलग छलफल भयो । छलफलपछि हामी काठमाडौं फर्कियौं । 

त्यसपछि फेरि म र केपी ओली एपोलो अस्पतालमा 'फलोअपको' बहानामा गयौं । त्यही बेला १२ बुँदे सहमति गर्‍यौं । त्यसबेला हाम्रो कार्यक्रममा माओवादीले हस्ताक्षेप नगर्ने सहमति भएको थियो । 

'बेबी किङ'को वाहियात कुरा

नेपालमा राजासँग त्यसअघि हाम्रो कुनै कुरा भएको थिएन । गिरिजाबाबु र माओवादीको भित्रभित्रै के भएको थियो, थाहा भएन । त्यसअघि माओवादीसँग छलफल हुँदा त्यो मैले राजालाई सुनाउने गरेको थिएँ । माओवादीले राजा ज्ञानेन्द्र, गिरिजाबाबु र म बसेर कुरा मिलाउन भन्थे । 

माओवादीहरू राजा र गिरिजाबाबुकोमा यो कुरा पुर्‍याइदिनुपर्‍यो भन्थे । म पुर्‍याइदिन्थें । ज्ञानेन्द्र पनि कुरा सुनेर छुट्टै आनन्द लिन्थे । ज्ञानेन्द्रले हामीलाई पन्छाउने र माओवादीलाई प्रयोग गरेर दलहरूलाई तह लगाउने प्रयास गरेका थिए । ज्ञानेन्द्रले म र गिरिजाबाबुलाई अलग-अलग भेटेर लडाउने प्रयास गरेका थिए । 
 
करणसिंहले पार्टी कार्यालय बल्खुमा आएर ‘बेबी किङ’ स्वीकार गर्न  आग्रह गरे । विभिन्न देशका राजदूतहरूले राजा राख्न सुझाव दिएका थिए । 

मैले गिरिजाबाबुलाई भनें, 'तपाईंलाई राजाले के भन्छन्, त्यो मलाई सुनाउनूस्, मसँग के भने त्यो तपाईंलाई सुनाउँछु ।' त्यसपछि हामी दुवैबीच 'क्लोज कम्युनिकेसन' हुन थाल्यो । आफूसँग के कुरा भयो, त्यो आफैंमा राख्ने गिरिजाबाबुको तरिका मलाई पहिलादेखि नै मन परेको थिएन । 

दाङ आक्रमण हुँदा गिरिजाबाबुले प्रधानमन्त्री पद छाडिदिनुभयो । मसँग कुनै सल्लाह गर्नुभएन । म विपक्षी दलको नेताप्रति उहाँको विश्वास भएन । फेरि सल्लाह गर्ने कांग्रेस नेताहरूको बानी छैन । यस्तो पर्‍यो के गर्ने भनेर सोधेको भए राजाको मामिलामा हामी सम्झौता गर्नेवाला थिएनौं । 

पछि उहाँलाई पनि यस्तो कुराको महशुस भयो । पर्‍यो भने गणतन्त्रमा जानुपर्छ भन्ने पनि उहाँलाई लाग्न थाल्यो । तर, १२ बुँदे सहमति गर्दा गिरिजाबाबुले 'बेबी किङ'को अवधारणा त्याग्नुभएको थिएन । ७ वैशाख ०६३ सम्म पनि यो अवधारणामा उहाँ कायमै हुनुहुन्थ्यो । 

विदेशी राजदूतहरूको राजा राख्ने दबाब

७ वैशाख ०६३ मा भारतबाट कररण सिंह नेपाल आए । त्यतिखेर म ककनीमा सशस्त्र प्रहरीको थुनामा थिएँ । म थुनामक्त भएर पार्टी कार्यालय पुग्दा करण सिंह कार्यवाहक महासचिव अमृत बोहरासँग छलफल गरिरहनुभएको थियो । 

म पुगेपछि सिंहले 'बेबी किङ'को प्रस्ताव राख्नुभयो । मैले त्यसलाई अस्वीकार गरें । मैले जवाफ दिएँ, 'धेरै पहिला यो प्रस्ताव आएको भए मान्न पनि सकिन्थ्यो तर अब त्यो सम्भावना छैन । अब हामी कुनै किसिमको राजतन्त्रको पक्षमा छैनौं ।' तर, उनले गिरिजाबाबु र शेरबहादुरलाई 'बेबी किङ'मा 'कन्भिन्स' गरेछन् । 

८ वैशाखमा राजाको वक्तव्य आउनेबित्तिकै गिरिजाबाबुको फोन आयो । 'माधवबाबु अहिले राजाको वक्तव्य आएको छ, अब कसरी अगाडि बढ्ने भन्नेमा शेरबहादुरसँग कुरा गर्नूस् ।' उहाँले मलाई सोझै भन्ने आँट गर्नुभएन । त्यसपछि शेरबहादुरको फोन आयो, अब यसलाई मानिहालौं भनेर । 

देउवालाई हिम्मतहारा र आँट नभएको मान्छे भनेर झपारें

देउवाले राजाको वक्तव्यलाई समर्थन र स्वागत गर्ने प्रस्ताव राख्नुभयो । मैले भनें, 'यस्ता वक्तव्यलाई स्वागत र समर्थन गर्ने कुरा कुनै हालतमा हुँदैन ।' 

देउवाले कड्कँदै भन्नुभयो, 'त्यसो भए के रक्तपात मच्चाउने ? रगतको खोलो बगाउने ?' 

मैले भनें, 'तपाईंले के चाहेको ? रगतको खोलो पनि बग्दैन, केही हुँदैन । हिम्मत हारा, आँट नभएको मान्छे ।' 

भारतीय, अमेरिकी, नर्वेली र बेलायत राजदूतले फोन गरेर राजाको ८ वैशाखको वक्तव्यलाई समर्थन गर्न दबाब दिएका थिए । उनीहरूले 'त्यो वक्तव्यलाई समर्थन गर्दा तपाईंहरूले खोजेको कुरा विस्तारै प्राप्त हुन्छ, यति गरिसकेपछि राजा गलेको ठहरिन्छ, थप गलाउनु होला' भनेका थिए । 

मैले भनें, 'यो सम्भव छैन, हामी यसलाई अस्वीकार गर्छौं, आन्दोलन जारी राख्छौं ।'

भोलिपल्ट महाराजगञ्जमा आन्दोलनरत पार्टीहरूको बैठक बस्यो । त्यसबेला युरोपियन युनियनका १५ राजदूत आए । उनीहरू राजाको ८ वैशाखको वक्तव्यलाई स्वागत गर्न हामीलाई कन्भिन्स गर्न आएका थिए । त्यसबेलासम्म कांग्रेसभित्र पनि यो विषयमा दबाब बढेको थियो । बाहिर उत्तिकै जुलुसहरू आइरहेका थिए । 

जुलुसलाई शान्त पार्न तपाईंले बोल्नूस् भनेर गिरिजाबाबुले मलाई भन्नुभयो । उहाँ मसँगै उभिनुभयो । मैले मासलाई भनें, 'तपाईंहरू आतिनुपर्ने अवस्था छैन, हामी घुँडा टेक्दैनौं । आन्दोलन जारी राख्नूस्, आउनूस् अगाडि, हामी पनि आउँछौं ।' 

त्यहाँ आएका विदेशीलाई भन्यौं, 'तपाईंहरूले भनेको कुरा अब असम्भव ।' त्यसपछि राजाको वक्तव्यको निन्दा गरेर 'म गएँ आन्दोलनमा' भन्दै निस्किएँ । कलंकी पुग्दा कांग्रेसका नेताहरूले बोलेको बेला हुटिङ भइरहेको थियो । आन्दोलनकारीहरू कसैको कुरा सुन्न तयार थिएनन् । मैले सम्बोधन गरें, 'तपाईंहरू आन्दोलन जारी राख्नूस्, यसलाई सफलताको विन्दुमा नपुर्‍याई छाडिन्न ।' 

आन्दोलनको गति तीव्र भयो । संयुक्त राष्ट्रसंघका तत्कालीन 'कन्ट्री डाइरेक्टर' बल्खुमा भेट्न आए । समस्या समाधानका लागि भन्दै सम्झौताको प्रस्ताव ल्याए । मैले भनें, 'काठमाडौंबाट न्युयोर्क धेरै टाढा छ, न्युयोर्कबाट पुल्चोक अझ टाढा छ, पुल्चोकबाट नारायणहिटी धेरै टाढा छ तर नारायणहिटीबाट कोटेश्वर र बल्खु धेरै टाढा छैनन् ।' 

मेरो सांकेतिक कुरा थियो, नारायणहिटीबाट न्युयोर्क र न्युयोर्कबाट तिम्रोमा जाने लामो कुरा छोडिदेउ । राजाले चाहेमा तुरुन्तै हामीसँग छलफल गर्न सक्छन् । अर्थात्, हामी आफैं यो समस्या समाधान गर्न सक्छौं । तिमी धेरै टाउको नदुखाऊ ।

हाम्रो मस्यौदामा राजाका दुई शब्द

त्यसपछि पशुपतिभक्तले मलाई फोन गरे । मैले आउनूस् भनेर बोलाएँ । १० वैशाखमा पशुपतिभक्तको फोन आएपछि हामी भरतमोहन अधिकारीको निवासमा जम्मा भयौं । हाम्रो पार्टीको स्थायी समिति बैठक बसिरहेको थियो । 'पशुपतिभक्त भेट्न आएका छन् म हिँडें' भन्दै बाहिरिएँ । 
 
राजालाई शीतल निवासबाट बिदा गर्ने क्रममा गिरिजाप्रसाद कोइरालाले राम्रो अडान लिनुभयो


मैले पशुपतिभक्तलाई भनें, 'अब यो तरिकाले भएन । राजालाई भनिदिनूस्, खुरुक्क छाडिदिनूस् । अब पूर्ण सार्वभौमसत्ता जनतामा हस्तान्तरण गरिदिनूस् ।' 

हामीबीच छलफल भयो । राजाले दिने वक्तव्यको मस्यौदा तयार गर्‍यौं । र, त्यो मस्यौदा पशुपतिभक्तको हातमा पठाइदियौं । कांग्रेसले पनि एउटा मस्यौदा गरेर पठाइदियो । त्यस राति गिरिजाबाबुको निवासमा म, गिरिजाबाबु र पशुपतिभक्त बसेर एक-एक शब्द हेरेर राजाले प्रयोग गर्ने भाषा तयार भयो । त्यो मस्यौदामा राजाले दुई शब्द थपे 'प्यारा देशवासीहरू' र 'पशुपतिनाथले हामी सबैको कल्याण गरून् ।'

गणतन्त्र शब्द राख्न कांग्रेस मानेन

दिल्लीमा भएको वार्तामा कांग्रेस गणतन्त्रमा आइसकेको थिएन । त्यसैले त्यो मस्यौदामा गणतन्त्र शब्द राख्न मानेन । र, मस्यौदामा प्रजातन्त्र शब्द राख्ने प्रस्ताव आयो । प्रजातन्त्र भनेको राजासहितको हुने भएकाले हामीले मान्ने कुरा भएन । माओवादीहरू 'पूर्ण प्रजातन्त्र' शब्द राख्न तयार भए । 'पूर्ण प्रजातन्त्र' कांग्रेसका लागि सामन्य राजा र हाम्रा लागि गणतन्त्र । 

हामीले आन्दोलन शान्तिपूर्ण हुनुपर्छ, माओवादीले बम पड्काउनु हुँदैन भनेका थियौं । तर, मान्छे पठाऊ भनेका थिएनौं । गिरिजाबाबुचाहीं माओवादीहरूलाई नछोड्नु होला है भनिदिनु हुन्थ्यो । त्यो उहाँको गलत कुरा थियो । गिरिजाबाबुले उल्क्याएर पनि माओवादी अलि उल्केको हो । 

एक पटक म हेटौंडाबाट छैमलेको बाटो हुँदै काठमाडौं आउँदै थिएँ । माओवादीले थानकोट आक्रमण गरेको सुनें । मैले प्रचण्डलाई तुरुन्तै फोन गरें । मैले सोधें, 'हाम्रो आन्दोलनलाई 'सेबोटाज' गर्न थानकोट आक्रमण गरेको हो ? तपाईंहरूले त्यसो गर्न थाल्नुभयो भने राजालाई सेना, प्रहरी लगाउन बहाना मिल्दैन ?' 

जवाफमा प्रचण्डले भने, 'गल्ति भयो ।' तथापि, माओवादीले बल प्रयोगबाट गणतन्त्र ल्याउन कोशिस गरिरहे । तर, पछि उनीहरूको भनाइ रुखको हाँगा बोकेर आन्दोलनमा आयौं भन्ने छ । मान्छे पठाए होलान्, त्यसले आन्दोलनलाई सहयोग पुग्यो होला । तर, हामीबीचमा मान्छे पठाउने सहमति भएको थिएन । 

अन्तिममा राजाको आशा

११ वैशाखको वक्तव्य दिइरहँदा राजाले उनलाई गद्दीमै राख्छन् भन्ने सोचेका थिए होला । अरू केही कुरा भएको थिएन । हाम्रो ध्यान संसद पुनःस्थापनामा मात्र थियो । राजसंस्थाका विषयमा गिरिजाबाबुसँग कुनै कुरा भएको भए मलाई थाहा छैन । तर, मसँग कुनै कुरा भएको छैन । 

मसँग सार्वभौमसत्ता कसको हातमा हुने भन्ने मात्र थियो । जनता र संसदको हातमा गएपछि त त्यसले गरेको निर्णय मान्नु पर्‍यो नि । राजालाई धोका भयो भन्ने लाग्यो होला । तर, हामी गणतन्त्रभन्दा तलको कुरा मान्ने मुडमा थिएनौं । 

भिडियो हेर्नुहोस्


एमालेले मानेको भए गणतन्त्र आउँदैनथ्यो

संसद पुनःस्थापनापछि कांग्रेस द्विविधामा थियो । संसद बैठकमा राजाको राजदण्डलाई के गर्ने भन्ने प्रश्न आयो । राजदण्ड राख्नुपर्छ भन्नेमा शेरबहादुर र रामचन्द्रजी लाग्नुभयो । कुनै हालतमा राख्न हुँदैन भन्ने पक्षमा म उभिएँ । दुई पक्षबीच चर्काचर्की भयो । 

देउवाले फेरि पहिलेकै शब्द प्रयोग गर्नुभयो, 'फेरि रक्तपात मच्चाउन खोजेको ?' देउवा प्रधानमन्त्री भएको बेला मैले उहाँलाई भनेको थिएँ, 'तपाईं संसद पुनःस्थापना गरिदिनूस् ।' उहाँले आँटै गर्नु भएन । कमजोर मनस्थितिका मानिस हुन्, देउवा । 

मैले पुनःस्थापित संसदमा राजदण्ड नराख्ने अडान लिएँ । राजतन्त्र भएका मुलुकका संसदमा पनि राजदण्ड राख्ने चलन छैन । 'अनि, यहाँ किन राख्नु पर्‍यो' भनेर अडान लिएँ, मैले । कांग्रेसका नेताहरू राजतन्त्रको पक्षमा थिए । गिरिजाबाबुमा पनि कता-कता 'बेबी किङ'कै मनस्थितिमा हुनुभयो । 

त्यसमा हामीले नमानेपछि उहाँहरू लतारिएर आउनुभयो । खासमा, कांग्रेस गणतन्त्रमा लतारिएको हो । त्यसका लागि भूमिका निर्वाह गरेको एमालेले हो । अरू पार्टीले जति कराए पनि अर्थ थिएन । माओवादी आइसकेको थिएन । माओवादीलाई पनि मान्य हुने र जनताको मनमा पनि गणतन्त्र गइसकेकाले त्यस्तो अवस्था सिर्जना भएको हो । गणतन्त्र आउने वस्तुगत  परिस्थितिलाई बुझेर एमालेले काम गरेको हो । 

गणतन्त्र घोषणा भएपछि भने गिरिजाबाबुले राम्रो अडान लिनुभयो । राजालाई शीतल निवासबाट बिदा गर्ने बेलामा पनि उहाँको अडानले काम गरेको छ । राजालाई नारायणहिटीमा राख्नु हुँदैन, पूर्वराजाको व्यवहार गर्नुपर्छ भन्ने निष्कर्षमा पुगियो । गिरिजाबाबुले पनि आँट नगरेको र घुँडा टेकेको भए गणतन्त्र आउन सम्भव थिएन । एमालेले मात्रै जतिसुकै भने पनि कांग्रेसको साथबिना गणतन्त्र आउँदैनथ्यो । र, एमालेले नअडिएको भए कांग्रेस पनि लतारिएर आउने थिएन ।
(बालकुमार नेपालसँगको कुराकानीमा आधारित)

प्रकाशित: December 31, 2017 | 18:23:00 काठमाडौं, आइतबार, पुष १६, २०७४

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
विचार

अन्य दलका नेता भित्र्याउन 'अनलिमिटेड कम्पनी' बन्दै एमाले

पाँच दलीय गठबन्धन बनेपछि आफूले स्पेस नपाउने ठानेर नेकपा एमालेमा अन्य पार्टीका नेता, कार्यकर्ताहरू प्रवेश गर्ने क्रम बढेको छ। आउँदो चुनावमा टिकट कट्ने संकेत पाएपछि सत्तालोभले पार्टी प्रवेश गर्नेहरूको व्यवस्थापन गर्न एमालेलाई कालान्तरमा सकस पर्ने देखिन्छ।
नेपाल समय
विचार

संवैधानिक र राजनीतिक प्रणालीभित्र देखिएको अराजकता!

परिणामस्वरूप सात वर्षमै यो प्रणाली अराजकता उन्मुख देखिँदैछ। हिजोको व्यवस्थाभन्दा चरम राज्यशक्तिको दोहन र अपचलन आज खुलमखुल्ला भइरहेको छ। जसले जे गरे पनि हुने खालको अराजकतातर्फ राज्य प्रणालीका संयन्त्र उद्दत छन्।
नेपाल समय
विचार

सम्पादकीयः संविधान उल्लंघन गर्ने राष्ट्रपति राजीनामा देऊ

राष्ट्रपतिको अहिलेको कदमले विगतमा अधिनायकवादलाई काखी च्याप्न खोज्ने स्वार्थप्रेरित दलहरुको मुहारमा मुस्कान देखिएको भए पनि कालान्तरमा उनीहरुलाई नै पीर्ने निश्चित छ। त्यसकारण अहिलेको विकल्प भनेको राष्ट्रपतिले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु नै उत्तम हुनेछ।
नेपाल समय
विचार

मोदीको सर्वशक्तिमान् छवि कहिलेसम्म रहला?

हरतरहले नागरिकमाथि प्रधानमन्त्री मोदीको तस्बिर, भिडियो र ब्यानरको वर्षा गरिइराखिएको छ। नागरिकले चाहे पनि नचाहे पनि यो विषयलाई अनदेखा गर्न सक्ने अवस्था छैन।
नेपाल समय
विचार

च्याँखे दाउमा अल्झिएको गठबन्धन

गठबन्धनमा आवद्ध सबै दललाई आफ्नो सपनाको खेती गर्नु छ। सपनाको निम्ति गठबन्धनमा रहेका नेपाली कांग्रेस र इतर दलका आ–आफ्नै दुःख छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना