बलात्कारपछि बालिका जलाउने प्रहरी फन्दामा

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/mudrer_dhanusha.jpg

जनकपुरधाम- बालिकालाई बलात्कारपछि हत्या गरी शव जलाएको आरोपमा प्रहरीले धनुषाबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा बटेश्वर–४ काकाको घरमा बस्दै आएका २२ वर्षीय निरज जर्घामगर रहेको प्रहरीले जनाएको छ।

गत शुक्रबार विहेको भोज खान गएकी धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरकी ११ वर्षीया रेशमा भनिने दुतीया रसाइलीको बलात्कारपछि हत्या भएको थियो। रेशमाको शव घरभन्दा पर मगरटोल नजिक आधा जलेको अवस्थामा ईलाका प्रहरी कार्यालय ढल्केबरको प्रहरी टोलीले फेला पारेको थियो।

मामा घर विवाहमा पुगेकी रेशमा नाच्दै गरेको बेला निरजले फ्रुटी र चाउचाउको प्रलोभन दिएर बस्ती बाहिर लगेर बलात्कार गरेको मंगलबार पत्रकार सम्मेलन गरेर निरजलाई सार्वजनिक गर्दै धनुषाका एसपी शेखर खनालले जानकारी दिए।

बलात्कारपछि अचेत अवस्थामा रहेकी बालिकालाई निरजले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको खनालले बताए। निरजले पक्राउ पर्ने डरले रेशमाको हत्या गरी प्रमाण नष्ट गर्न उखुको पातले बालिकालाई जलाएका थिए। राम्ररी बोल्नसमेत नजानेकी बालिकालाई बलात्कारपछि घाटी थिचेर हत्या गरी बालिकाको लुगा र चप्पलसमेत शरीरमा राखेर निरजले जलाएको एसपी खनालले बताए।

अपराधिक पृष्ठभूमिका निरज लागूऔषध र मदिरा सेवन गरेर रेशमाको बलात्कारपछि हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनापछि जिल्ला र प्रदेश प्रहरीको टोली अनुसन्धानमा जुटेको थियो। गाउँमा ‘हाम्ली डन’ नामले समेत परिचित रहेको निरजलाई भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले धनुषाको दुहबी सीमाबाट सोमबार पक्राउ गरेको थियो। 

निरजका बाबु र आमा छुट्टिएर बस्दै आएका छन्। बाबु भारतको दरभंगा र आमा काठमाण्डौंमा बस्दै आएको प्रहरीले जनाएको छ। आफन्तको घरमा बसेर उनी पेन्टिङ र मजदुरीको काम गर्दै आइरहेको बताइएको छ।



प्रतिक्रिया