लुटपाट गर्ने गिरोहका दुई जना पक्राउ

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/daka.jpg

जनकपुरधाम- धनुषाको कमला नगरपालिकास्थित दुई घरमा लुटपाट गर्ने गिरोहमा संलगन दुइजनलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धनुषा विदेह नगरपालिका–४ बस्ने२४ वर्षीय सोमन पासवान र सोहि स्थान बस्ने २८ वर्षीय अरुणकुमार पासवान रहेको प्रहरीले जनाएको छ।

धनुषाको कमला नगरपालिका–१ मंग्राहामा २५ माघ राती करिब १ बजे ब्रम्हदेव यादवको घरमा लुटपाट भएको थियो। लुटेराहरुले ब्रम्हदेवको घरबाट अन्दाजी ३ लाख १२ हजार लुटेर लगेका थिए। यसैगरी उनीहरुले सोहि नगरपालिकाको लगमास्थित रामचन्द्र यादवको घरबाट १ लाख ६७ हजार बराबरको जिन्सी तथा नगद लुटेका थिए।
यी लुटपाटको घटनामा सोमन र अरुणको संलग्नता देखिएको प्रहरीले जनाएको छ। 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र ईलाका प्रहरी कार्यालय खजुरीको टोलीले आइतबार राती करिब साढे १ बजे दुबैजनालाई घेरा हाली पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले जानकारी दिएका छन्।

पक्राउ परेका अरुणको साथबाट कटुवा पेस्तोल एक थान, पेस्तोलमा लाग्ने गोली दुई राउण्ड, लागु औषध र नगद ९ हजार ९ सय २५ बरामद भएको खनालले बताएका छन्। उनीहरु सँगै रहेका अन्य ७÷८ जना फरार भएको बताइएको छ।

एसपी खनालले प्रारम्भिक अनुसन्धानबाट उनीहरु सिरहा, सप्तरी, सर्लाही, महोत्तरी तथा छिमेकी मुलुक भारतको सीमा क्षेत्रका विभित्र स्थानहरुमा समेत डाँका हालेको प्रारम्भिक अनुसन्धानबाट देखिन आएको जानकारी दिएका छन्।

पक्राउ परेका अरुण डाँका र ज्यानमार्ने उद्योगको फरार प्रतिवादीसमेत रहेको प्रहरीले जनाएको छ। २०७० माघ १६ गते रातीको समय धनुषाको बनिनियास्थित राष्ट्रिय धानबाली अनुसन्धान कार्यालयमा डकैती गरी कार्यालयका तत्कालीन निर्देशक सूर्यनारायण साहको ज्यान लिने खोजेका आरोपमा अरुणविरुद्ध अदालतमा मुद्दा चलिरहेको प्रहरीले जनाएको छ। उक्त घटनापछि अरुण लुकीछिपी बस्दै डाकैती गर्दै आइरहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।



प्रतिक्रिया