सुर्खेतमा शान्ति मन्त्रालयका ८१ आयोजना अलपत्र

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/Ananda_Lekhpharsha.jpg

सुर्खेत - बराहताल गाउँपालिका–७ नयाँबनमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवन निर्माण सात वर्षदेखि अलपत्र परेको छ। २०६८/०६९ मा निर्माण थालिएको ६ कोठे भवनमा हालसम्म १८ पिल्लरमात्रै उठाइएका छन्। तत्कालिन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको २० लाखको यो योजना रकम अभाव देखाउँदै अलपत्र पारिएको हो। योजनाको २० लाखमध्ये साविकको जिल्ला विकास समितिमार्फत विद्यालयले पहिलो किस्तामा २ लाख ८५ हजार र दोस्रो चरणमा तीन लाख लिएको बुझेको छ। दुई पटक गरी ५ लाख ८५ हजार बुझेको विद्यालयले पहिलो किस्ताबाट भवनका लागि जग खन्ने र दोस्रो किस्ताबाट १८ वटा पिल्लर उठाउने बाहेक अन्य काम गर्न सकेको छैन। विद्यालयका प्रधानाध्यापक दीपकप्रसाद शर्माका अनुसार रकम अभावकै कारण भवन निर्माण अलपत्र परेको हो। ‘दोस्रो किस्ताबाट बजेट रोकियो’, शर्माले भने, ‘विद्यालयसँग पनि भवन निर्माणका लागि आर्थिक स्रोत भएन, जसका कारण भवन अलपत्र पर्‍यो।’

यस्तै बराहताल गाउँपालिका–५ चेपाङको सरस्वती माध्यमिक विद्यालयको भवन निर्माण पनि वर्षौंदेखि अलपत्र छ। साविकको शान्ति तथा पुनर्निर्माण मन्त्रालयको १८ लाख उक्त योजना पनि बजेट अभावकै कारण अलपत्र परेको हो। योजनाको १८ मध्ये हालसम्म विद्यालयल पहिलो चरणमा २ लाख ५७ हजार र दोस्रो चरणमा १ लाख ७५ हजार रुपैयाँ मात्रै पाएको छ। ४ लाख ३२ हजार रकमबाट विद्यालयले भवनको लगभग आधा काम सम्पन्न गरेको छ। तर मन्त्रालयबाट बजेट आउन छोडेपछि ५ कोठे भवन हाल अलपत्र परेको हो। विद्यालयका प्राधानाध्यापक पूर्णबहादुर बोगटीले रकम अभावकै आधा काममा भवन निर्माण रोकिएको बताए। ‘पहिलो र दोस्रो किस्तामा प्राप्त रकमले भवनको जग बसाल्ने, पिल्लर हाल्ने र आधा भित्ता लगाउने काम भयो,’ प्राधानाध्यापक बोगटीले भने, ‘तर रकम नै नआएपछि निर्माणको काम बीचैमा छोड्नुपर्‍यो।’



लेकबेसी नगरपालिका–२ लेखफर्सामा रहेको आनन्द उच्च माध्यमिक विद्यालयको भवन निर्माण पनि उसैगरी अलपत्र परेको छ। शान्ति तथा पुनर्निर्माण मन्त्रालयको २० लाखको उक्त योजना ७ वर्षदेखि अलपत्र परेको हो। योजनाको २० लाखमध्ये विद्यालयले पहिलो चरणमा २ लाख ८५ हजार र दोस्रो चरणमा ३ लाख रुपैयाँ मात्रै बुझेको छ। प्राप्त रकमले ६ कोठे भवनको आधा काम सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद गौतमले पनि बजेट नआएपछि भवन निर्माणको काम बीचैमा राक्नुपरेको बताए। ‘रकमले भ्याएसम्म पिल्लर हाल्ने र आघा भित्ता लगाउनेसम्मको काम भयो’, उनले भने, ‘तर योजनाका लागि रकम नआएपछि बीचैमा काम रोक्नुपर्ने बाध्यता रह्यो।’

रकम अभावका कारण अलपत्र उल्लिखित योजना केही प्रतिनिधिमूलक उदाहरण मात्रै हुन्। यसरी बजेट अभाव देखाउँदै सुर्खेतमा मात्रै शान्ति मन्त्रालयका ८१ वटा आयोजना अलपत्र परेका छन्। शान्ति तथा पुननिर्माण मन्त्रालयले ‘शान्तिका लागि विकास’ र ‘पुनर्निर्माण तथा पुनस्र्थापना कार्यक्रम’ अन्तरगत सुरु गरेका सुर्खेतका ८१ वटा योजना अलपत्र परेका हुन्।

जसमध्ये पनि ५३ वटा योजना विद्यालयको भवन र कम्पाउन्ड निर्माणसँग सम्बन्धित छन्। ८ वटा आयोजना साबिकका गाविसको भवन निर्माण र २० वटा आयोजना विभिन्न राजनीतिक शक्तिका आधारमा प्रतिष्ठान र संघसंस्थालाई सामाजिक हितमा आधारित योजना छन्। क्रमागत योजनाहरु आर्थिक वर्ष २०७५/०७६ मा सम्पन्न गरिसक्नुपर्ने हुन्। तर केही योजना भने रकम कुम्ल्याएर सुरुवात समेत हुन सकेका छैनन्। पहिलो र दोस्रो चरणमा बजेट लिइसकेका कतिपय आयोजनाको काम पनि आधामात्रै भएका छन्। बाँकी काम बजेट अभाव देखाउँदै बीचैमा छाडिएको छ।



यता शान्ति तथा पुनर्निर्माण मन्त्रालयले भने बाँकी रहेको सम्पूर्ण काम सम्पन्न गर्ने जिम्मा स्थानीय तहलाई दिइसकेको छ। मन्त्रालयले गत वैशाख २४ गते नै आयोजनाको सम्पूर्ण स्वामित्व र आर्थिक व्यवस्थापनको जिम्मा सम्बन्धित स्थानीय तहलाई पूरा गर्न परिपत्र गरिसकेको छ। स्थानीय तहका प्रतिनिधि भने योजनाबारे आफूहरुलाई जानकारी नआएको बताउँछन्। ‘मन्त्रालयबाट हामीलाई समयमै जानकारी आएन’, बराहताल गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले भने, ‘जानकारी नै नभएपछि कसरी आयोजनाहरुको व्यवस्थापन र बजेट दिनु।’

लेकबेसी नगरपालिका प्रमुख गगनसिंह सुनारले भने नगरपालिकासँग प्राप्त बजेटनै नभएका कारण योजनाको व्यवस्थापन गर्न नसकिएको बताए। ‘पहिलो मन्त्रालयका योजनाहरुका लागि बजेट पनि उत्तैबाट आउनुपर्ने हो’, उनले भने, ‘बजेट त हालौंला तर वर्षौंदेखि अलपत्र योजनाको काम सुरुबाटै गर्नुपर्ने अवस्थामा पुगेका छन्।’ आवश्यकताका आधारमा योजना पूरा गर्नुपर्ने तर अर्थहीन र सुरुदेखि काम गर्नुपर्ने आयोजनामा बालुवामा पानी नखन्याउने उनको तर्क छ।




प्रतिक्रिया