सीमा क्षेत्रमा खाने नुनको अवैध व्यापार

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/bhartiya_nun.jpg

जनकपुरधाम- जनस्वास्थ्यलाई ध्यानमा राख्दै आयोडिनयुक्त नुन प्रयोग गर्न सरकारले जोड दिइरहेपनि धनुषा तथा महोत्तरीको सीमा क्षेत्रमा भारतीय नुनको अवैध व्यापार भइरहेको पाइएको छ।

सरकारले साल्ट ट्रेडिङबाहेक अन्य कुनै खाले नुनको व्यापार व्यवसाय गर्न प्रतिबन्ध लगाएपनि सीमा क्षेत्रहरुमा भारतीय नुनको व्यापक प्रयोग भइरहेको छ । सीमा क्षेत्रका नेपाली नागरिकहरुले प्रयोग गर्ने भारतीय खाने नुन आयोडिनरहित पाइएको छ।

धनुषाको जटही, मुखियापट्टी मुसहरनिया, खजुरी, महिनाथपुरलगायतका सीमा क्षेत्रमा भारतबाट अवैध रुपले भित्र्याइएका खाने नुन छ्ययापछापी छ । भारतीय नुनको व्यापार व्यवासय गर्न नेपालमा रोक लगाइएको भएपनि तस्करी गरेर भित्रिने गरेको बताइएको छ।

साल्ट ट्रेडिङले उत्पादन गर्ने आयोडिनयुक्त ‘आयो नुन’ भन्दा भारतीय नुन सस्तो मूल्यमा पाइने गरिएको छ। सीमा क्षेत्रका नेपाली बजारमा साल्ट ट्रेडिङले उत्पादन गर्ने नुनभन्दा भारतीय नुन पाँच रुपैयाँ सस्तो मूल्यमा उपलब्ध हुने गरेको छ। प्रति प्याकेट पाँच रुपैयाँ जोगाउन अधिकांश उपभोक्ता भारतीय नुन प्रयोग गर्नतर्फ आकर्षित हुने गरेका छन्। 

सीमा क्षेत्रका बजारमात्र नभएर जनकपुरका कतिपय पसलहरुमा समेत कम्पनीका नुन बिक्री हुँदै आइरहेको छ। तर भारतबाट अवैध रुपमा भित्र्ययाइएका नुनमा नेपाली मापदण्डअनुसार आयोडिनको प्रयोग भएको पाइएको छैन्। सीमा क्षेत्रका नेपाली बजारमा अवैध तरिकाले खाने नुनको प्रयोग भइरहेपनि सरोकारबला निकायले यसलाई रोक्न चासो देखाउन सकेको छैन्।

नेपाल सरकारले खाने नुनको कारोबार गर्ने जिम्मा साल्ट ट्रेडिङलाई मात्र दिएको छ। कानुनअनुसार साल्ट ट्रेडिङबाहेक नीजिस्तरमा खाने नुनको उत्पादन, आयात तथा बिक्रीवितरण गर्न रोक छ। यसैगरी भारतबाट समेत नुनको आयात गर्न कसैलाई अनुमति दिइएको छैन्। भारतबाट भित्र्ययाइका नुन अवैध हुन साल्ट ट्रेडिङ जनकपुरका प्रमुख वासुदेव उपाध्याय बताउँछन्। सीमा क्षेत्रका उपभोक्ताहरु भारतीय खाने नुनको प्रयोग गरीरहेको जानकारी आफूहरुले पनि पाएको उपाध्यायले बताए।

‘साल्ट ट्रेडिङबाहेक अन्य कसैले नुन बेच्ने अधिकार पाएको छैन्’ उपाध्यायले भने,‘जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकोले सरकारले यस्तो गरेको छ।’ नेपाली बजारमा पाइने भारतीय खाने नुन अवैध रुपले भित्रिएको उनले बताए।

सीमा क्षेत्रमा अधिकांश रुपले भारतबाट टाटा, अंशपूर्णलगायतका कम्पनीका नुन भित्रिने गरेको छ। भारतको टाटाबाहेक अन्य कम्पनीका नुनमा नेपाली मापदण्डअनुसार आयोडिनको मात्रा प्रयोग नभएको प्रमुख उपाध्यायको भनाइ छ। 

उपाध्याका अनुसार खाने नुनमा सोडियम क्लोराइड ९६ प्रतिशत र आयोडिन ५० पीपीएम हुनुपर्दछ। साल्ट ट्रेडिङले उत्पादन गर्ने खाने नुनअनुासारको मापदण्ड भारतको टाटा कम्पनिको नुनमा पाइएपनि अन्यमा नदेखिएको उनको दाबी छ।

सीमा क्षेत्रका पसलहरुमा बिक्री भइरहेको भारतीय अंशपूर्ण कम्पनीको नुनको प्याकेटमा आयोडिनको मात्रा ३० पीपीएम लेखिएपनि जाँच गरेर हेर्दा शून्य पाइएको प्रमुख उपाध्यायले बताए। 

बालबालिकाको समूचित विकास, गलगाँडजस्ता रोगबाट जोगिन सरकारले आयोडिनयुक्त नुनको प्रयोगमा जोड दिइरहेपनि जनचेतनाको अभावमा केहि पैसा जोगाउन भारतीय नुन प्रयोग गरेर जोखिम मोल लिइरहेको उनले बताए।

सर्वसाधारणको स्वास्थ्यसँग खेलवाड गर्दै अवैध रुपमा बिक्री हुँदै आइरहेको भारतीय नुन नियन्त्रण गर्न कडा अनुगमन हुनुपर्ने उनले स्वीकार गरेका छन् । सरोकारबाला निकायले अवैध तरिकाले भित्रिइरहेका भारतीय नुन रोक्न प्रभावकारी कदम उठाउन सकेको छैन्। 

साल्ट ट्रेडिङले आयोनुन, शक्ति र भानु गरी तीन खाले नुन उत्पादन गर्दै आइरहेको छ। २२ दुर्गम जिल्लाहरुमा भानु, अन्य पहाडी जिल्लाहरुमा शक्ति र बाँकी जिल्लाहरुमा साल्ट ट्रेडिङले आयो नुन बिक्री गर्दै आइरहेको छ।

साल्ट ट्रेडिङ कार्यालय जनकपुरको कार्यक्षेत्रभित्र पर्ने धनुषा, महोत्तरी र सिन्धुली जिल्लामा वर्षेनी १ लाख ८० हजार बोरा (९० हजार क्विन्टल) खाने नुनको खपत हुने गरेको कार्यालयले जनाएको छ।
 



प्रतिक्रिया