सरस्वतीको मूर्ति तयार पार्न चटारो

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/saraswat_murti.jpg

जनकपुरधाम - विद्यालय एवं कलेजमा अध्ययनरत छात्रछात्राले श्रद्धापूर्वक मनाउने सरस्वती पूजा आउन अब तीन दिनमात्र बाँकी छ। माघ शुक्ल पञ्चमीका दिन अर्थात् २७ माघमा यस वर्ष सरस्वती पूजा मनाइँदैछ।

पूजा हुन केही दिनमात्र बाँकी छँदा मूर्तिकारहरुलाई भ्याइ नभ्याइ छ, अहिले। जनकपुरका दर्जनौं ठाउँमा सरस्वतीको मूर्ति बनाउन मूर्तिकारहरु व्यस्त देखिन्छन्। दिन रात लगाएर माटोको कलात्मक मूर्ति तयार पार्न उनीहरु खटिएका छन्।

धनुषाको शहिद नगरपालिकास्थित ननुपट्टीबाट मूर्ति तयार पार्न जनकपुर पुगेका छन् मूर्तिकार श्यामकुमार पण्डित। जनकपुरधाम उपमहानगरपालिका–४ मुरली चोकभन्दा पूर्व सरस्वतीको मूर्ति तयार पारिरहेका उनलाई भ्याइनभ्याइ छ।

२७ माघमा हुने सरस्वती पूजाका लागि श्यामले पुसदेखि मूर्ति बनाउने काममा जुटेका छन्। ‘सरस्वती पूजा हुने दिन आउनै लागेको छ, अर्डरअनुसारको मूर्ति तयार पार्ने चाप बढेको छ,’ श्यामले भने।

सरस्वती पूजाका लागि मूर्ति बनाउने काम एक महिनाअघि सुरु गरेको जानकारी दिँदै श्यामले भने, ‘एक महिनाअघि काम सुरु नगरे समयमा मूर्ति तयार गर्न सम्भव हुँदैन।’

पहिले कलात्मक मूर्तिमा हातले नै रंग भर्ने गरे पनि अहिले मूर्तिकारहरु प्रविधिको भरपूर प्रयोग गरिरहेका छन्। माटोले तयार पारिएका मूर्तिहरुमा मूर्तिकारहरु ‘स्प्रे’ प्रयोग गरेर रङरोगन गर्दै आइरहेका छन्। ‘हातले रङग भर्दा समय धेरै लाग्ने हुन्छ। त्यसैले अब ‘स्प्रे’ प्रयोग गरेर रङ भर्ने काम गरेका छौं,’ श्यामले भने।

एसएलसी उत्तीर्ण भएका श्याम २१ वर्षदेखि यसै पेसामा आबद्ध छन्। पछिल्ला दिनमा धर्मसंस्कृतिमा आधुनिकताको प्रभाव बढ्दै गए पनि सरस्वतीको पूजा गर्न अझै माटोको मूर्ति पहिलो प्राथमिकतामा रहेको श्यामले बताए। मूर्ति तयार पार्नका लागि अर्डर दिनेहरुको घुइँचो रहे पनि आफूले २५ वटा मूर्तिको मात्रै जिम्मा लिएको उनले जानकारी दिए।

माटोको मूर्ति बनाउनेहरु विशेषगरी कुम्हाल समुदायका व्यक्ति हुन्। माटोको मूर्ति, भाँडाकुँडालगायतका साम्रग्री तयार पार्ने उनीहरुको परम्परागत पेसा मानिन्छ।

बदलिँदो समयक्रमअनुसार कुम्हालहरुको पारम्परिक पेसा संकटमा परेको चर्चा चलिहरे पनि श्याम भने यसलाई अस्वीकार गर्दछन्। समय र अवसरअनुसार अहिले पनि माटोका मूर्ति, भाँडाकुँडाहरुको माग यथावत् रहेको उनको भनाइ छ। उनी भन्छन्, ‘विभिन्न धार्मिक समारोहहरुमा माटोको मूर्ति, भाँडाकुँडाको माग हुँदै आएको छ। पेसा संकटमा परेको छैन।’

श्यामझैं सरसस्वतीको मूर्ति तयार पार्ने चटारो छ प्रभात पण्डितलाई। धनुषाको विदेह नगरपालिकाबाट मूर्ति बनाउन प्रभात जनकपुर पुगेका छन्। जनकपुरधाम–४ कदम चोकमा मूर्ति बनाइरहेका उनलाई २७ माघसम्म १५० वटा मूर्ति तयार पार्नुपर्नेछ।

मुरली चोक र कदम चोकजस्तै जनकपुरको २० भन्दा बढी स्थानमा मूर्तिकारहरु सरस्वतीको मूर्ति बनाउन व्यस्त छन्। श्याम चोक, भैरव चोक, मिल्स एरियालगायतका स्थानमा मूर्तिकारहरु सरस्वतीको मूर्ति तयार पारिरहेका छन्।

सरस्वती पूजामा एक हजारभन्दा बढी मूर्ति खपत हुने जनकपुरमा मात्रै एक करोड रुपैयाँको कारोबार हुने अनुमान छ। सरस्वतीको एउटा मूर्ति न्यूनतम तीन हजारदेखि २५ हजार रुपैयाँसम्म बिक्री हुने गरेको एक मूर्तिकारले बताए।

यसबाहेक ग्रामीण क्षेत्रमा समेत सरसस्वती पूजाको अवसरमा माटोको मूर्तिको बढ्दो माग छ। विद्यालय कलेजबाहेक जनकपुरसहित तराईका विद्यार्थीले स्वतन्त्र रुपमा चोक चोकमा सरस्वती पूजा गर्ने गरेका छन्।

सरस्वती पूजा आउनै लाग्दा विद्यालय र विद्यार्थीहरु पनि तयारीमा जुटेका छन्। पूजाका लागि खर्चको जोहो गर्न विद्यालय तथा कलेजहरुले विद्यार्थीबाट निश्चित शुल्क लिने गरेका छन् भने स्वतन्त्र रुपमा पूजा गर्ने विद्यार्थीहरु चन्दा संकलन गर्न व्यस्त छन्।

पूजाका तयारीमा जुटेका विद्यार्थीहरु यातायातका साधन, विभिन्न पसल तथा घरघर पुगेर चन्दा संकलन कार्यमा जुटेका छन्। ग्रामीण क्षेत्रका कतिपय स्थानमा पूजा गर्नेहरु ढाटै लगाएर चन्दा उठाइरहेकोले पूजाको नाउँमा चन्दा आतंक नै मचाइएको सर्वसाधारणको भनाइ छ।




प्रतिक्रिया