कम्युनिस्ट लागे भेनेजुएला!

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/Shreekrishna_Aniruddh_Gautam.jpg

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुईमध्ये एक अध्यक्ष पुष्पकमल दाहाल अर्थात् प्रचण्ड अचेल फेरि राजनीतिको ‘हटसिट’ मा छन्। यसपालि उनी भेनेजुएलामा संयुक्त राज्य अमेरिकाले हस्तक्षेप गरेको भन्ने आरोप लगाउँदै वक्तव्य दिएका कारण चर्चामा आएका हुन्। किन दिए प्रचण्डले वक्तव्य ? यसबारे प्रशस्तै विमर्श भइसकेको छ। उनको वक्तव्यले सरकारलाई अनाहक असजिलो पर्‍यो भन्नेहरू र जानाजान असजिलो पार्नेलाई दिएको भन्नेहरू सामाजिक सञ्जालमा बग्रेल्ती, मिडियामा त छन् नै। 

प्रचण्डका वक्तव्यको मजबुन पढेपछि काठमाडौंस्थित अमेरिकी दूतावासले यसमाथि नेपाल सरकारको दृष्टिकोण माग्यो। कतिपय शुभाचिन्तकले प्रचण्डले वक्तव्य नदिएका भए सरकार मौन बस्न सक्थ्यो भन्ने ठानेका थिए। धेरैजसो यस्ता विषयमा मौन बसिआएको पनि हो। तर सरकार मौन बस्थ्यो भन्नु ती शुभचिन्तकहरूले सरकारप्रति सद्भाववश भनेका हुन सक्छन् किनभने भेनेजुएलामा अपदस्थ गरिएका राष्ट्रपति निकोलस मदुरो र नेपालको वर्तमान सत्ता दुवै एउटै पाठशालाका हुन्, अर्थात् कम्युनिस्ट हुन्। सरकार मौन बस्थ्यो होइन कि सरकार नै प्रचण्डमार्फत बोलेको हो। 

कम्युनिस्टले कम्युनिस्ट हुनुको औचित्य प्रदर्शन नगरी बिरलै छोड्छन्। नेपालका कम्युनिस्ट यो मामिलामा झनै अगाडि छन्। कूटनीति सुटनीति गोली मारो, कतै कम्युनिस्टलाई केही पर्‍यो कि उनीहरूको अन्तरचीत्कार प्रारम्भ भइहाल्छ।

निश्चय नै प्रचण्डले काठमाडौंमा पार्टीको तर्फबाट वक्तव्य दिइरहँदा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली विश्व समुदायलाई नै आश्चर्यचकित पार्ने अभियानमा विश्व आर्थिक मञ्च (वल्र्ड इकनमिक फोरम) मा भाग लिन स्विट्जरल्यान्ड प्रवासमा थिए। त्यसैले ओलीलाई थाहै नदिई प्रचण्डले ओलीलाई नै अप्ठ्यारो पार्न वक्तव्य दिएका भन्ने पनि निस्किए तर उनीहरूले के बिर्सिए भने जहाँसम्म कम्युनिस्ट भाइचाराको सवाल छ, ओली- प्रचण्डको पाठशाला एउटै हो, फरक होइन। 

फेरि, आजका मितिमा ओलीलाई छक्याएर प्रचण्डले वक्तव्य दिए भन्ने कुरा त्यसै पनि पत्यारलाग्दो होइन। ओलीको असहमति भई–भई प्रचण्डले एक्लै वक्तव्य दिनै सक्दैनन्। साथै सञ्चार सञ्जालको वर्तमान युगमा जहाँकहीँ भए पनि सम्पर्क र परामर्श गरेरै निर्णय गर्न सम्भव छ। गर्न पनि त्यसै गरेका हुन्। त्यसको पुष्टि परराष्ट्र मन्त्रालयको वक्तव्यले पनि गरिसकेको हुँदा ओलीलाई छक्याएर प्रचण्डले वक्तव्य दिएका होइनन्, संक्षिप्त होस् अथवा विस्तारमा, परामर्शमै दिएका हुन् भन्ने स्वतः प्रस्ट छ।  

दक्षिण एसियाकै माल्दिभ्स र श्रीलंकामा राजनीतिक उलटफेर हुँदा कम्युनिस्टहरू चुइँक्क बोलेनन्। सरकार नबोलेकै हो। तर भेनेजुएला मामिलामा ‘कम्युनिस्ट’ सत्ता पल्टाइएका कारण नेपालमा दुई तिहाइ जितेका कम्युनिस्ट नबोली बस्न सक्ने अवस्था भएन। निश्चय नै दुई–तिहाइवालालाई प्रचण्डले बोलेपछि त्यही नै नेपाल सरकारको धारणा मानिन्छ भन्ने थियो। तर भयो अन्यथा। अमेरिकाले थप स्पष्टीकरण माग्यो।  यस्तो अनुमानचाहिँ नगरिएको हुन सक्छ।

साँच्चै भन्ने हो भने यतिखेर चित्त प्रचण्ड र ओलीको मात्र होइन, बाबुरामको पनि दुःखेको हुनुपर्छ तर समय र परिस्थितिवश उनले त्यसरी व्यक्त नगरेका मात्र हुन्। 


कम्युनिस्टहरूले वासिङ्टनस्थित नेपाली राजदूतलाई बोलाइएरै एवं यहाँ सरकारको धारणा पनि मागिएला भन्ने पूर्वानुमान नगर्नु स्वाभाविकै हो किनभने कम्युनिस्ट प्रथाअनुसार पार्टी नै सरकार र सरकार नै पार्टी हो। तर दुर्भाग्य, अमेरिकाले त्यसरी बुझिदिएन, सरकारको धारणा माग्यो फलस्वरूप यसमा भने दुई–तिहाइवालालाई साँच्चिकै संकट परेकै हो। 

पार्टीका एक अध्यक्षले वक्तव्य दिइसकेपछि लिखतमा थप प्रस्ट पार्नु पर्दैन भाषण गरे पुग्छ भनेर सरकार मनमनै रमाउँदै मौन बसेकै हो तर अमेरिकी दूतावासले सोध्यो, फलस्वरूप वक्तव्य नदिई बस्ने अवस्था रहेन। 

वक्तव्य दिनैपर्‍यो, नदिई भएन। दिँदा कामकुरो झन् बिग्रियो। प्रचण्डका स्नेहीहरू उनी नजानी झुक्किएर बोलेका हुन् भन्ने मान्यता राख्छन् तर स्वयं प्रचण्डले आफूले पूरा होसहवासमा वक्तव्य दिएको बताइसकेका छन्। यसर्थ उनीप्रति शंकाको सुविधा रहेन र सरकारले पनि अलिक फरक भाषामा उनकै वक्तव्यलाई सकारेको छ। यसर्थ भेनेजुएला प्रकरणमा नेकपा र नेकपाको सरकार एकै ठाउँमा छन्। दुवै साथसाथै अमेरिकासित भिड्न तयार देखिएका छन्, भिडून्।

कतिपयको भनाइ छ, ‘भेनेजुएलासँग नेपालको कुनै सरोकारै छैन, किन बोल्नुपर्‍यो ? अमेरिकालाई चिढ्याएर राम्रो भएन। नेपाललाई अमेरिका अर्बौंको सहयोग दिइरहेको छ। विकास कार्यमा हातेमालो गरिरहेको छ। यसले नेपाल-अमेरिकाबीचको ‘सुमधुर’ सम्बन्ध नै चिसियो।’ तर यसो भन्नेहरूले कम्युनिस्ट भनेका कम्युनिस्ट नै हुन् भन्ने नसोची भनेका हुन्। 

कम्युनिस्टहरूमा अत्यन्त प्रगाढ भाइचारा हुन्छ। यो पनि एकखालको सम्प्रदायजस्तै हो जहाँ पहिचान जोडिएको हुन्छ, निजत्व जोडिएको हुन्छ। कहीँ कम्युनिस्टलाई केही प¥यो कि उनीहरूको चित्त आहत हुन्छ। साँच्चै भन्ने हो भने यतिखेर चित्त प्रचण्ड र ओलीको मात्र होइन, बाबुरामको पनि दुःखेको हुनुपर्छ तर समय र परिस्थितिवश उनले त्यसरी व्यक्त नगरेका मात्र हुन्। 

प्रचण्डको भेनेजुएला वक्तव्य आएपछि मैले करिब २८ वर्ष पहिला अर्थात् २०४८ को एउटा प्रसंग सम्झें। त्यतिखेर तत्कालीन सोभियत संघ भंग हुने अवस्थामा पुगेको थियो। त्यो कस्तो अवस्था थियो भने पूर्वी युरोपमा कम्युनिज्म ध्वस्त भइसकेको र बर्लिन पर्खाल ढलिसकेको थियो। विश्वभर कम्युनिस्टहरू लोप हुन लागेका प्राणीका रूपमा चिनिन थालेका थिए।      

सोभियत संरक्षित साम्राज्यको गढ क्रेमलिनबाट पनि कम्युनिस्टहरूको सत्ता ढल्ने सम्पूर्ण पूर्वाधार तयार भइसकेको थियो तर ठीक त्यही मौकामा तत्कालीन सोभियत उपराष्ट्रपति गेन्नाडी एनाएभले स्वयंलाई कार्यवाहक राष्ट्रपति घोषित गर्दै सैन्य हस्तक्षेप अर्थात् कम्युनिस्ट सत्ता फर्काउने गरी ‘कू’ गरे। 

त्यो ‘कू’ को खबर सुन्नासाथ नेपालका कम्युनिस्टहरूले हर्षविभोर हुँदै ‘कू’ को स्वागत गरेका थिए। हर्षका आँसुले ओतप्रोत लामालामा वक्तव्य जारी गरेका थिए। त्यतिबेला उनीहरूका अनुहारमा व्यक्त प्रसन्नता दर्शनीय थियो। तर कम्युनिस्टहरूको त्यो प्रसन्नता दुई दिन पनि टिकेन। गेन्नाडी दुई दिनमै अपदस्थ भए। सोभियत संघ भंग भयो, टुक्राटुक्रामा विभाजित भयो।

हालको भेनेजुएला प्रकरणमा प्रचण्डले वक्तव्य दिनाको र त्यसैलाई सकार्दै सरकारले विज्ञप्ति दिनुको अन्तरासय त्यहाँको संवैधानिक प्रक्रियामाथि आघात पर्न गयो भन्ने नभएर वास्तवमा ‘कम्युनिस्ट’ लाई सत्ताबाट च्यूत गरिएकोमा उत्पन्न आक्रोश हो। यसर्थ, उहिल्यै गेन्नाडीले कू गर्दा स्वागत गर्नु र अहिले मदुरोलाई अपदस्थ गरिँदा आक्रोशित हुनु दुवै प्रसंगको कूटनीतिक अर्थ खोज्ने उद्यम नै निरर्थक हो। 

कूटनीति नै भए पनि यो कम्युनिस्टबाहेक अरूले नबुझ्ने कूटनीति हो। यसमा दुईमत छैन, दुबै वक्तव्य सोची विचारी नै आएका हुन् तर यहाँ वर्तमान सत्ताधारी दलका साथै सरकारको सोच्ने कोण र शेष अरूको सोच्ने कोणमा आकाश जमिनको अन्तर छ भन्ने बुझ्नु जरुरी छ।

धेरैले भने हजारौं माइल टाढा, नेपालको कुनै कूटनीतिक मिसन नै नभएको भेनेजुएलाप्रति के को अनुराग ? तर यहाँ ख्याल रहोस्, वक्तव्य भेनेजुएलाको संवैधानिक प्रक्रियाप्रति चिन्तित भएर, पद्धति भत्कियो भनेर आएको होइन, न त त्यहाँका जनताप्रति प्रेम हो। 

वक्तव्य दिनुको अन्तरासय कम्युनिस्ट भाइचारा हो। साथै त्यो यहाँको सत्ता समेत कम्युनिस्ट भएकोले कतै आफूमाथि पनि त्यस्तै हुने हो कि भन्ने अज्ञात डरको समेत अभिव्यक्ति हो। शेष अरूले जसरी सोच्दैछन्, उनीहरूले त्यसरी सोचेकै होइनन् र छैनन्। सोच्ने फ्याकल्टी नै फरक छ। त्यसरी त उनीहरू कहिल्यै सोच्दै सोच्दैनन्।     



प्रतिक्रिया