पुराना नायकहरू 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/Keshav_Dahal.jpg

आज किताबको कुरा गरौं। किताबको नायकको कुरा गरौं। पढन्तेहरू भन्छन्- ‘किताबमा जीवनको सुन्दरता र गति पाइन्छ। यसले बाँच्ने कला र सामथ्र्य दिन्छ।’ राम्रा किताबहरू जीवन जत्तिकै महत्त्वपूर्ण र गतिशील हुन्छन्। 

किताब र चरित्रका विषयमा मेरो आफ्नै अनुभूति छ। म कहिलेकाहीं पाठक र पात्रको अनौठो सहकार्य अनुभव गर्छु। मानाँै, किताबका नायकहरू पाठकको जीवनमा प्रवेश गर्दैछन्। चन्द्रमामा ज्योत्स्नाको प्रवेशजस्तो। सूर्यमा प्रकाश मिसिएजस्तो। संगीतमा स्वर भरेजस्तो। मलाई लाग्छ, राम्रा किताबहरू पढ्दा पात्र र पाठक दुवै एकाकार हुँदै जान्छन्। बिस्तारै यस्तो हुन्छ कि को पाठक हो र को पात्र छुट्याउनै सकिँदैन। म आफंै पनि कुनै समयमा एउटा पात्रसँग निकै लामो समयसम्म सम्मोहनमा परें। त्यो पात्र थियो अग्निदीक्षाको पाभेल। जसको रचनाकार थिए– निकोलाई आस्त्रोभस्की।

२०४१ सालको कुरा हो। जतिखेर म संखुवासभा जिल्लाको कुनै एकान्त गाउँको साधारण हाइस्कुलमा पढ्दै थिएँ। बहुतै साधारण थियो जीवन। स्कुल जाने र बिदामा गाईबाख्रा चराउने। गोठालो जाँदा चराका बच्चा खोज्ने र खेल्ने। सायद सहरमा शान्ति थिएन। सहरमा नयाँ विचार, आस्था र सोचले मान्छेको जीवनलाई आन्दोलित गरिरहेको थियो। मान्छेहरू जीवनको नयाँ लय समाउन चाहन्थे। हुन सक्छ सहरमा नयाँ किताब आउँदै थिए। नयाँ पाठक बढ्दै थिए। नयाँ चरित्रले सम्मोहन गर्दै थिए। त्यही बेला धरान कलेजबाट घर फर्किंदा दाइले केही किताब साथमा ल्याउनुभयो। जसमध्ये एउटा किताब थियो अग्निदीक्षा।

त्यो समय पञ्चायतविरोधी आन्दोलनको जबरजस्त प्रभाव बढ्दै थियो। अझ युवा, विद्यार्थीमा त यो ज्यादै थियो। जस्तो वनमा आँधीको प्रभाव हुन्छ। विद्यार्थी कहीँ न कहीँ आन्दोलनमा संगठित थिए। उनीहरू नयाँखाले किताब लुकीलुकी पढ्थे। मैले पनि त्यस्ता किताब पढ्न थालें। 

म सुरुमा साधारण किताब पढ्थें। जस्तो कि प्रकाश कोविदका प्रेमकथाहरू। दाइले धरानबाट ल्याएका किताबहरू पढ्न सजिला थिएनन्। तर पढेपछि दिल र दिमागमा भुइँचालो आउँथ्यो। किताबका नाम नै उत्साहपूर्ण। जस्तो ः भागो नहि दुनियाँको बदल डालो। 
 

किताबमा जीवनको सुन्दरता र गति पाइन्छ। यसले बाँच्ने कला र सामर्थ्य दिन्छ।


बिस्तारै नयाँ किताब पढ्ने बानी बढ्दै गयो। शब्द र भावमा म पस्दै गएँ। किताबभित्रको रोमाञ्चक जीवनले मेरो किशोर मनलाई छुन थाल्यो। मलाई लाग्यो किताब र पात्रहरूको नियति फरक हुँदो रहेछ। किताब र पात्रहरूको रोमाञ्चकता पनि फरक हुँदोरहेछ। म ठूलाठूला शब्द र अर्थले तानिँदै गए। आन्दोलन, परिवर्तन, प्रेम, मुक्ति, मानवता। ती जीवन र जगतलाई बुझ्न प्रेरित गर्ने र बदल्न सिकाउने किताब थिए। 

त्यही समय मैले अग्निदीक्षा, आमा, युवाहरूको गीता, खुइते कडेरिया, देवासुर संग्रामजस्ता किताब पढेको हुँ। मैले त्यसपछि अन्तोन चेखोव, तोल्सटोय, मक्सिम गोर्की, याङ्ग मो, लुसुन र अरू धेरै चिनियाँ तथा रुसी लेखकका कृति पढ्न थालें। यस्तो भयो कि, कुनांै सस्ता हिन्दी उपन्यास पढेजस्तो म गोठालो जाँदा एकै दिनमा आधा किताब छिचोल्न सक्थें। त्यस्ता किताब पढेपछि मेरो फुर्ती नै अर्को हुन्थ्यो। म आफू केही ताजा, जिम्मेवार, प्रखर र हिम्मतिलो भएको महसुस गर्थें। 
मैले अग्निदीक्षा पढें। अग्निदीक्षामा पाभेल छ। उसको जीवनको सरलता, कर्तव्यप्रति समर्पण, वर्गीय प्रेम, साहस र जिम्मेवारीबोध विचित्रको छ। पाभेल बहादुर छ,  कठोर र कोमल पनि। केही सन्काहा र केही हठी पनि। मान्छेलाई प्रेम गर्ने विचित्रको शक्ति छ उसमा। ऊ सबैलाई प्रेम गर्छ। आफ्नो वर्गका मान्छेप्रति उसको लगाव विचित्र छ।

किशोर अवस्थामै पाभेलको प्रेम तोन्या नामकी किशोरीसँग हुन्छ। रमाइलो र निश्छल प्रेम। त्यसको प्रभावले मेरो किशोर मनमा पारेको सुन्दर र कोमल छाप अहिले पनि म महसुस गरिरहेको छु। पछि जब पाभेल जिम्मेवार युवा बन्छ त्यो बेला उसले शालीन र शिष्ट प्रेम गर्छ रीतासँग। साँच्चै दुई कमरेडहरूको हार्दिकतापूर्ण न्यानो र चोखो प्रेम। त्यो प्रेमले उनीहरूलाई अझ जिम्मेवार बनाउँछ। अझ साहसी बनाउँछ। अझ कलापूर्ण बनाउँछ। तर समयको वेग र सोभियत संघ पुनर्निर्माणको घटनाले उनीहरूको भेटघाट पातलिँदै जान्छ। उनीहरू केही समयका लागि टाढा हुन्छन्। त्यही बेला खबर आउछ– ‘पाभेल मरिसक्यो।’   

किताबका नायकहरू पाठकको जीवनमा प्रवेश गर्दैछन्। चन्द्रमामा ज्योत्स्नाको प्रवेशजस्तो। सूर्यमा प्रकाश मिसिएजस्तो। संगीतमा स्वर भरेजस्तो। राम्रा किताबहरू पढ्दा पात्र र पाठक दुवै एकाकार हुँदै जान्छन्। बिस्तारै यस्तो हुन्छ कि को पाठक हो र को पात्र छुट्याउनै सकिँदैन।


साँच्चै रीतालाई पनि लाग्छ पाभेल मरिसक्यो। उसले साहादत प्राप्त गर्‍यो। उसको सम्झनामा रीताले डायरी लेख्न थाल्छे। ऊ आफ्नो प्रेम र संघर्षको दैनिकी लेख्छे। पाभेलबिनाका दिनहरू आफ्नो डायरीमा उतार्छे। तर पाभेल मरेको हुँदैन। केही वर्षपछि उनीहरूको अकस्मात् युवा सम्मेलनमा भेट हुन्छ। जुन बेला रीताको विवाह भइसकेको हुन्छ। त्यो बेलाको क्षण निश्चय नै प्रेम र वेदनाको क्षण बन्छ। प्रेम छ पनि तर ब्यक्त गर्ने शब्दहरू सकिएका छन्। रीताले पाभेललाई पढ्नका लागि डायरी दिन्छे। उसको यादमा लेखेको डायरी। म आफैं पनि पाभेलसँगै रीताको डायरी पढ्न थाल्छु। मेरो किशोर मनमा पाभेल र रीताको सम्बन्धको सुन्दर क्यानभास बन्छ। म रोमाञ्चित हुन्छु। 

समयक्रमसँगै म कक्षा ९ मा पुग्छु। मैले त्यो बीचमा दुईपटक अग्निदीक्षा पढें। मभित्रको पाभेल अझ प्रभावशाली हुँदै गयो। अलिक विद्रोही। म अग्निदीक्षाको पाभेलजस्तै निडर र लडाकु बन्न चाहन्थें। स्कुलमा पनि म पाभेलजस्तै हुन खोज्थें। अन्याय नसहने। मूर्खजस्तो पनि, ज्ञानीजस्तो पनि। कक्षाको अन्त्यतिर एकजना सरसँग मेरो झगडा भयो। गल्ती मेरो थियो। उहाँले सोधेको प्रश्नको जबाफ नदिँदा मैले साँच्चै नराम्रोसँग पिटाइ खाएँ। तर मभित्रको पाभेलले पिटाइ सहन सकेन। मैले मनमनै प्रतिशोध लिने अठोट गरें। परिस्थिति यस्तो भयो कि उहाँको कक्षा हप्ता दिनसम्म बहिष्कार गरियो। म पाभेल जो थिएँ। प्रेम, क्रान्तिकारी अराजकता र बाहादुरीलाई मैले पाभेलबाट सिक्दै थिएँ। 

त्यो दशक राजनीतिक उतारचढावको समय थियो। छिन्ताङ हत्याकाण्ड, पिस्कर हत्याकाण्ड, शिक्षक आन्दोलन, बहुदलको निर्वाचन र झापा आन्दोलनको प्रभावले त्यो दशकलाई नै उथलपुथलमय बनायो। कोही पनि त्यो उथलपुथलबाट प्रभावित नभई बस्ने स्थिति थिएन। हाम्रो विद्यालय पनि बिस्तारै राजनीतिको केन्द्र बन्दै थियो। सायद सबै विद्यालयमा त्यस्तै थिए। हामी पाभेलहरू बिद्यालयमा उथलपुथल गर्न खप्पिस हुँदै थियौं। 

यस्तै पुस्तकहरूको प्रभावले हुन सक्छ, राजनीतिक चेतना परिपक्व नहुँदै हामी आन्दोलनमा सहभागी थियौं। राति राति हिँड्ने। भित्ते लेखन गर्ने। गीत गाउने। जंगलको बीच वा कुनै एकान्त घरमा बैठक गर्ने। ठूला मान्छेहरूसँग कसिलो हात मिलाउने। सबैलाई तपार्इं भनेर सम्बोधन गर्ने। जोसिलो ढंगले बात मार्ने। यस्तो भयो कि म आफूलाई पाभेलजस्तै सम्झिन थालें। ममा जबरजस्त क्रान्तिकारी बन्ने धुन चढ्यो। अराजकता, सिर्जनशीलता र हठ जो पावेलबाट सिकिएकै थियो।

त्यसो त मलाई माधवीको गालवले पनि केही समय पछ्यायो। स्वयं माधवीलाई मैले अनेक बार प्रेम गरेको छु। आमाको पाभेल पनि कम जबरजस्त थिएन। कुनै बेला राहुल साङ्कृत्यायनका कृतिहरूले पनि मन र मस्तिष्कलाई काफी तरंगित गर्दथे। इभान तुर्कनभेको पिता र पुत्र, तोल्सटोयको अन्नाकेरनिना पनि मलाई मन परेका किताब थिए। कथाहरूमा रुसी कथा ‘एक्चालिसांै’ को कथानकताले मलाई लामो समयसम्म पनि प्रभावित ग¥यो। सायद युवा मनमा परेका प्रभावहरूले होला अझै पनि म तिनै पुस्तकहरूको धेरै सम्झना गर्दछु जो ऊ बेला पढिलो। आज पढेका नयाँ किताबहरूभन्दा पुराना किताब र तिनै पात्रहरू अझै मसँग कुरा गर्न आउँछन् जोसँग उस बेला साक्षात्कार गरियो। 

फेरि पाभेलकै सम्झना गरौं। जीवनका अन्तिम क्षणमा पाभेल बिरामी पर्छ। न त उठ्न, बस्न र हिँड्न सक्छ। न त आँखा देख्छ। न लेख्न सक्छ। तर मान्छेलाई माया गर्ने उसको तागत यति बलियो हुन्छ कि उसलाई जीवन अर्थपूर्ण बनाउने अभिलाषाले छोड्दैन। उसले हुरीका सन्तानहरू नामको उपन्यास लेख्न सुरु गर्दछ। बस यो तागत साधारण मान्छेमा कहाँ पाउनु ? बस, मैले पाभेलमा जुन तागत देखें त्यो मेरा लागि प्रेरणा बन्यो। 

आज पनि कहिलेकाहीं असाध्यै खुसी अथवा निराश भएको बेला म अग्निदीक्षा पल्टाएर पाभेलसँग कुरा गर्छु। म पावेलको सुन्दर भनाइ कहिल्यै बिर्सिन सक्दिनँ। ऊ भन्छ, ‘मान्छेको जीवन एकपटक मात्र पाइन्छ। त्यसैले उसले यो जीवनलाई यसरी बिताउनुपर्दछ कि मर्ने बेलामा उसले आफ्नो विगत सम्झिएर पछुतो गर्न नपरोस्। गर्वका साथ उसले भन्न सकोस्– मैले सम्पूर्ण जीवन मानवताको रक्षा र समृद्धिका लागि बिताएँ।’ 

समय फेरियो। अहिले न त सोभियत रुस छ न त पाभेल नै। तर मान्छेको सुख र समृद्धिको आन्दोलन जारी छ। मानवता र न्यायका अभियान रोकिएका छैनन्। आज पनि युवा परिवर्तनका लागि क्रियाशील छन्। हामी आफैं पनि परिवर्तनको प्रक्रियामा निरन्तर संलग्न छौं। यो जीवन र जगत् बदल्ने अभियान हो। जो निरन्तर चलिरहनेछ। मलाई लाग्छ, यो अभियानमा धेरै युवा पाभेलहरूको खाँचो छ। म कामना गर्छु मेरो किताबको पाभेल फेरि उठ्नेछ। सायद युवा पाभेल र म फेरि नयाँ यात्रामा निरन्तर सँगसँगै हुनेछौं। 



प्रतिक्रिया