हेटौंडामा कांग्रेस नेताहरु 'कम्युनिस्ट सिन्डिकेट' विरुद्ध खनिए

Presidential_summit.jpg

हेटौँडा- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारको कदमले लोकतन्त्र धरापमा परेको बताएका छन् । 

दुईतिहाइ बहुमतको दम्भले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संविधान र प्रजातन्त्रलाई धरापमा पार्ने कोशिस गरिरहेको आरोप लगाएका छन् । 

कांग्रेसका जिल्ला सभापतिको राष्ट्रिय भेलाको मंगलबार हेटौँडामा उद्घाटन गर्दै उनले सरकारले संवैधानिक अंग, प्रशासनिक निकायमा राजनीतिकरण गर्न थालेको भन्दै चिन्ता व्यक्त गरे । 

देउवाले गुट उपगुटको राजनीति त्यागेर समष्टिगत रुपमा देश र जनताप्रति उत्तरदायी हुँदै एकढिक्काको साथ राष्ट्रिय अभियानमा समाहित हुन जिल्ला सभापतिहरुलाई आह्वान गरे । 

सभापति देउवाले प्रजातान्त्रिक चरित्र र संस्कारलाई दिगो व्यवस्थापन गर्न काँग्रेसको नेतृत्व परिवर्तन हैन कार्यकर्ताबीच जनमुखी सेवाभाव र व्यावहारिक हुनेतर्फ आफँै परिवर्तन हुनुपर्नेमा सचेत गराए। 

गुटको नेता होइन : पौडेल

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि बनेको नेपाली कांग्रेसको सरकारले जनताका पक्षमा कार्यक्रम ल्याएको भए पनि नेतृत्वले जनताको माझ पुगेर ती कुरा बुझाउन नसक्दा विगत निर्वाचनमा पराजय भोग्नु परेको तथ्यलाई आत्मसात् गरेको बताए ।

नेतृत्वले नै गुटबन्दी गर्न उपयुक्त नहुने विचार व्यक्त गर्दै उनले अब आफूले कुनै गुटको नेतृत्व नगर्ने घोषणा गरे । मुलुक, जनता र प्रजातन्त्रलाई दिशाबोध गर्न भावनात्मक रुपमा हृदय परिवर्तन गरेर अब सधैँका लागि कांग्रेस एक भएको खाका तयार गर्न जिल्ला सभापतिहरुलाई आग्रह गरे । 

सभामा कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले कांग्रेस एकजुट भएको विश्वास जनता माझ पुर्‍याउन नेताहरु नै विवेकशील बन्नुपर्ने बताए । उनले प्रजातान्त्रिक शक्तिबीच सहकार्य गरी प्रजातन्त्रलाई सुदृढीकरण गर्ने अभियानमा क्रियाशील हुन आफूमा रहेको हिनताको भावनालाई त्यागेर अगाडि बढ्नुपर्ने बताए ।

कम्युनिस्ट सिण्डिकेटविरुद्ध लड्नुपर्छ: निधि
https://www.nicasiabank.com/

पार्टी उपसभापति विमेलन्द्र निधिले आपसी झगडा र भागबण्डमा अल्झिनुभन्दा पनि सबै मिलेर पार्टीलार्इ सांगठनिक र वैचारिक रुपमा बलियो बनाउनु पर्ने बताए । 

उपसभापति निधिले भने, 'चुनावमा हामीले हार्‍यौं । हारको विषयलार्इ लिएर हामी आपसमा आरोपप्रत्यारोप गर्ने होइन । हामी सबै त्यसका लागि जिम्मेवार हो ।'

उपसभापति निधिले कम्युनिस्ट सरकार संघीयता, लोकतन्त्र र संविधानविरुद्धको राजनीतिक सिन्डिकेट निर्माणमा क्रियाशिल भएको आरोप लगाएका छन्।
 
निधिले भने,  'अब त्यो कांग्रेस कम्युनिस्ट सिण्डिकेटविरुद्ध लड्न एकजुट हुनुपर्छ । आन्तरिक झगडा र विवादमा अल्झिने होइन।'   
निधिले राजनीतिक सिन्डिकेट निर्माण गरेर जनवादी केन्द्रियताको बाटोमा कम्युनिस्ट सरकार हिड्न खोजेको आरोप लगाए । 

महामन्त्री डा शशांक कोइरालाले संसदीय प्रजातन्त्र, व्यक्तिगत स्वतन्त्रताको साथै प्रेस स्वतन्त्रतामाथि पनि वर्तमान सरकारले उपेक्षाभाव प्रदर्शन गर्न थालेकामा आपत्ति जनाए। उनीहरुले मुलुकलाई दिगो शान्ति, राजनीतिक स्थायित्व प्रदान गर्न कांग्रेसको नेतृत्व कुशल, पारदर्शी हुनुपर्ने बताए । 

तीन दिनसम्म चल्ने भेलामा सभापति देउवा, वरिष्ठ नेता पौडेल, संसदीय दलका उपनेता गच्छदार, नेता कृष्णप्रसाद सिटौला, डा रामशरण महत, डा प्रकाशशरण महत, अर्जुन नरसिंह केसीलगायतले राजनीतिक एवं संगठनात्मक प्रशिक्षण दिएका छन् । । 

साँझदेखि बन्दसत्र 

जिल्ला सभापतिको भेलाको मंगलबार साँझबाट बन्दसत्र शुरु हुने कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बाँनियाले जानकारी दिए। 

भेलामा नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, ७७ जिल्लाका सभापति, प्रदेश ३ का प्रदेशसभा सदस्य र पर्यवेक्षक गरी ५७५ प्रतिनिधिको सहभागिता रहेको नेका मकवानपुरले जनाएको छ । 

प्रतिक्रिया