शंकाको घेरामा अनलाइन सेयर कारोबार

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Dilip_Munankarmi.jpg

नेपाली पुँजीबजारका लागि माइलस्टोन र गेम चेन्जरका रुपमा प्रस्तुत पूर्ण अनलाइन सेयर कारोबार प्रणाली सुरु भएको तीन महिनामै लगानीकर्ताले अफलाइन गर्ने सम्भावना र जोखिम बढेको छ । २०७५ कात्तिक २० गते स्वचालित अनलाइन  प्रणाली उद्घाटन गर्ने तयारी थियो । तर विभिन्न समस्या देखिएपछि सन् २०१९ को नयाँ वर्ष पारेर १ जनवरी २०१९ (२०७५ पुस १७ गते) बाट लगानीकर्ताको हातमा अनलाइन कारोबार हस्तान्तरण प्रक्रिया सुरु भयो । यसरी लगानीकर्ताको हातमा नयाँ प्रविधि र पहुँच पुर्‍याउँदै गर्दा अनलाइनमाथि विश्वास र अविश्वासको बहस मात्र होइन, यसको विश्वसनीयता, प्राविधिक र व्यावहारिक पक्षमा अनेक प्रश्न उठेका छन् ।

अनलाइन कारोबार लगानीकर्ताहरूको हातमा दिएको एक महिना हुनै लाग्दा साढे चौध लाख डिपी खातावालामध्ये अनलाइन कारोबारका लागि ब्रोकरसँग सम्झौता गरी चार हजार पाँच सय जति मात्र खाता खोलिनु र दैनिक दुई सय जनाले मात्र अनलाइन कारोबार गर्नुले लगानीकर्ताहरू १) इच्छुक नभएको, वा २) व्यावहारिक नभएको, वा ३) अनलाइन प्रणालीमा विश्वास नभएको देखिन्छ । कारण जेसुकै भए तापनि नेपाली पुँजीबजारलाई व्यवस्थित र स्वचालित प्रणालीमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्ताको पहुँच विस्तारका लागि विकसित र कार्यान्वयनमा ल्याइएको अनलाइन प्रणाली प्रयोगमा लगानीकर्ताहरूको अनिच्छा र देखिएको प्राविधिक समस्या निकै विचारणीय छ । अहिलेकै अवस्थामा अनलाइन कारोबार प्रणालीको सञ्चालन र कार्यान्वयन जोखमपूर्ण, चुनौतीपूर्ण र कठिन छ । बजारका नियामक, सरकारको सम्बन्धित निकाय र सञ्चालक नेप्सेका साथै सरोकारवाला दलाल र प्रयोगकर्ता लगानीकर्ताहरूले सबैको सहभागितामा हाल कार्यान्वयनमा ल्याइएको प्रणालीको प्राविधिक र व्यावहारिक समीक्षा तत्काल गरिनुपर्ने देखिन्छ ।

प्राविधिक पक्ष

निकै आधुनिक र अन्तर्राष्ट्रिय स्तरको भनिएको अनलाइन प्रणालीको प्राविधिक क्षमता र विश्वसनीयतामा समेत पटकपटक प्रश्न उठेका छन् । अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याइएको केही समय प्रणाली र तथ्यांक स्थानान्तरणको कारण केही संक्रमणकालीन समस्या आउने वा प्रविधिको व्यावहारिक प्रयोगमा देखिन सक्ने सम्भावित केही त्रुटि सामान्य समस्याका रूपमा लिँदै गर्दा हालै देखिएका त्रुटि अक्षम्य छन् । यसमा मुख्यतः क) प्रचलित मूल्य समायोजन, ख) विद्यमान दैनिक अधिकतम १० प्रतिशत र प्रत्येक कारोबार मूल्यमा २ प्रतिशतभन्दा बढी तलमाथि नहुने व्यवस्था, ग) सर्किट, घ) नयाँ कम्पनीको सुरुवाती मूल्य र अन्तिम मूल्य, ङ) कारोवार कित्ता र रकम, च) नेप्से परिसूचकजस्ता प्रणालीले स्वचालित रुपमा तयार गर्ने तथ्यांकमा भइरहेका गडबडीले नयाँ नेप्से अनलाइन कारोबार प्रणालीको प्राविधिक गुणस्तर र कारोबारमा प्रचलित विधिको कार्यान्वयन क्षमतामाथि शंका जन्माएको छ । 

सुरुमा मुक्तिनाथ विकास बैंकको मूल्य समायोजन मात्र होइन, सोल्टी होटलको मूल्य समायोजनमा गम्भीर त्रुटि देखिएको थियो । माथिल्लो तामाकोसी हाइड्रोपावरको सेयर २०७५ पुस २९ गते २२४ रुपैयाँमा कारोबार भएको थियो । त्यसको भोलिपल्ट १५० प्रतिशतभन्दा बढीले कारोबार आदेश प्रविष्ट भई केही कारोबार हुँदा प्रणालीले थाहा पाएन । २०७५ माघ ६ गते उक्त कम्पनीको सेयर कारोबारमा देखिएको बेथिति र प्रणालीगत समस्या उदांगो बन्यो । नेप्से प्रणालीले कारोबारको चाप थेग्न नसकेर वा अन्य कारण प्रणाली बारम्बार रिस्टार्ट हुनुका साथै मार्केट डेप्थ 'अन्डर मेन्टेनेन्स' रहँदै बल्लतल्ल कारोबार सुचारु भयो । अझ सीमित ब्रोकरकोकहाँ मात्र 'सिस्टम इरर' आएर कारोबार रोकिएको खबरले नयाँ प्रणालीमा पहुँच नियन्त्रण गरेर 'इन्साइडर ट्रेडिङ (भित्री कारोबार)' को सम्भावना र जोखिममेत छरपष्ट पारेको छ ।

अनौपचारिक टिप्पणीलाई आधार मान्ने हो भने नयाँ प्रणालीमा प्राविधिक कारण आएको समस्या सम्बोधन गर्न विगतमा जस्तो म्यानुअल टाइम सेटिङ र त्रुटि सुधार गर्न सकिँदैन । हुन त यो कुरा सामान्य लाग्न सक्छ तर व्यावहारिक र प्राविधिक समस्या तत्काल समाधान गर्न नसकिने यो कस्तो प्रणाली ? माघ ६ गतेको बजारलाई नियाल्ने हो भने प्रणाली र प्रविधिको चरम दुरुपयोग गरिएको र सोही आधारमा बजारमा इन्साइडरमात्र होइन, आफूखुसी सञ्चालन गर्न सकिने आधारसमेत प्रस्तुत भएको छ ।
 
तर हाल सञ्चालनमा ल्याइएको अनलाइन प्रविधिबाट कारोबार गर्न लगानी र कारोबारको ज्ञान, सीप र क्षमताका अतिरिक्त सूचना प्रविधिको ज्ञान, सीप र पहुँच आवश्यक पर्छ ।

व्यावहारिक पक्ष

प्रविधिमा भर्खर बामे सर्दै गरेको नेपाली समाज र राज्यको आफ्नै प्रविधि विकास, नियन्त्रण र व्यवस्थापन क्षमता नभएको अवस्थामा लगानीकर्ता सबै प्रविधिमैत्री र निपुण हुने कुरै भएन । तर हाल सञ्चालनमा ल्याइएको अनलाइन प्रविधिबाट कारोवार गर्न लगानी र कारोबारको ज्ञान, सीप र क्षमताका अतिरिक्त सूचना प्रविधिको ज्ञान, सीप र पहुँच आवश्यक पर्छ । लगानीकतासँग कम्प्युटर, ट्याबलेट वा मोबाइल सञ्चालन र वेबसाइटमार्फत कारोबार गर्ने प्रविधिगत सीपका अतिरिक्त अनलाइन कारोबारको आधारभूत आवश्यकता १) इमेल खाता, २) इन्टरनेट बैंकिङ सेवासहितको बैंक खाता, ३) डिम्याट खाता, ४) सिडिएससीको मेरो सेयर खाताहरू आवश्यकता पर्नेछ । यी सबै डिजिटल खाताहरू अनलाइन सञ्चालन र पहुँचका लागि गुणस्तरीय र उच्च गतिको इन्टरनेट सेवा, सेवाको खरिद (डाटा किन्नु) र केही खातामा अनलाइन कारोबारका लागि सम्बन्धित निकाय वा संस्थाबाट स्वीकृति आवश्यक पर्नेछ । हेर्दा सामान्य तर अत्यधिक लगानीकर्ताको प्रविधिमा पहुँच, सञ्चालन र व्यवस्थापन सीप र ज्ञानमात्र होइन, विश्वाससमेत नरहेको समाजमा प्रविधिको व्यावहारिक कार्यान्वन थप कठिन हुन्छ ।

प्रविधिगत अवरोध पार गर्दै जोखिम र लागतसहित कारोबार र लगानी गर्न तयार हुने लगानीकर्ताहरूले अनलाइन कारोबारका लागि कार्यान्वयनमा ल्याइएको ब्रोकर र लगानीकर्ताबीचको सम्झौताअनुरुप आफूले सेयर किनबेचको सेवा लिने ब्रोकरकहाँ धरौटी रकम जम्मा गरेर कारोबारका लागि सीमा (लिमिट) लिनुपर्ने हुन्छ । हुन त यसले लगानीकर्तालाई स्वनियमनमा बस्न र केही दिनको क्रेडिट सुविधा दिए तापनि विगतको लगानीकर्ता र ब्रोकरबीचको सम्बन्धमा अलिकति अविश्वास उत्पन्न गरेको छ । लगानीकर्ताहरू धरौटी राख्नुपर्ने र सोही सीमाभित्र बाँधिनुपर्ने बाध्यताले पनि अनलाइन कारोबारका लागि केही हच्किएको वा अनिइच्छुक देखिएको हुनसक्छ । यसको साथै किन्न र बेच्न लिमिट लाग्नु, अनलाइन कारोबारसँग ब्रोकरमार्फत थप किनबेच हुन नसक्नुले यसको व्यावहारिक प्रयोगमा बाधा उत्पन्न भएको छ ।

समाधानका उपाय

समस्या वा कारण जेजस्तो भए तापनि सबै पक्षको माग र दबाबका आधारमा सञ्चालनमा ल्याइएको र लगानीकर्ताको हितमा भनिएको अनलाइन कारोबार प्रणालीमा स्वयं लगानीकर्ताहरूको सहभागिता र अनिच्छाको कारण पत्ता लगाएर समयमै समाधान नगर्ने हो भने व्यावहारिक प्रयोग कठिन हुनेछ । यसका लागि नेपाल धितोपत्र बोर्ड, नेप्से, ब्रोकर र लगानीकर्ता संघसंस्थाहरूले सहकार्य गरी लगानीकर्ताको प्रविधिगत क्षमताको विकास, आवश्यक ज्ञान र सीप तथा पहुँचका लागि सहजीकरण गर्दै सिकाइका आधारमा तत्कालका लागि अनलाइन कारोबारका लागि
१) नियमित कारोबार गरिरहेका र विश्वास गर्न सकिने लगानीकर्ताहरूलाई विना धरौटी नै भए पनि थोरै लिमिट दिएर अनलाइन कारोबारमा प्रोत्साहित गर्ने,
२) लगानीकर्तालाई दिइएको लिमिट खरिदका लागि मात्र लागू गर्ने,
३) लिमिट लिएर कारोबार गरेका लगानीकर्ताहरूको ब्रोकरले आफ्नै टर्मिनलबाट किनबेच आदेश प्रविष्ट लिमिट लागू नहुने व्यवस्था गर्न सकिन्छ ।

प्रविधिगत समस्या र विश्वसनीयता भने बढी जटिल छन् । अत्याधुनिक र मानवीय कारण हुने त्रुटिरहित भनिएको स्वचालित कारोबार प्रणालीमा देखिएका त्रुटि गम्भीर र अस्वीकार्य स्तरको हुँदा यसबाट भएका वा हुने कारोबारमै विश्वासको संकट तत्काल हटाइनुपर्छ । अहिले देखिएका र भोगिएका केही प्राविधिक त्रुटिहरू पूर्णतः समाधान नहुने र पुनः नदोहोरिने भरपर्दो विश्वास दिलाउन नसकिने हो भने नेपाली पुँजीबजारको उल्टो यात्रा सुरु हुन अरु कुनै कारण आवश्यक पर्नेछैन ।

सम्भवतः १) प्रविधिको विकास वा स्थानीयकरणमा प्राविधिक र प्रचलित पद्धतिको सही बुझाइ नहुनु वा हेलचक्र्याइँ,
२) प्रविधि विकास वा प्रोग्रामिङको जिम्मा वा लिएको पक्षको प्राविधिक क्षमतामा कमी,
३) नेप्सेका सम्बन्धित अधिकारीले समयमै प्राविधिक टोलीलाई आवश्यक जानकारी र सहजीकरण गर्न नसक्नु,
४) कम गुणस्तर र क्षमताका हार्डवेयर, ५) र केही नियोजित जस्ता कारणहरूले अनलाइन कारोबार प्रणाली र यसले प्रवाह गर्ने तथ्यांक र सूचनामाथि विश्वसनीयताको प्रश्न उब्जिएका छन् ।

लगानीकर्ताका लागि विकास गरिएको अनलाइन कारोबार प्रणालीमा आमलगानीकर्ता भर पर्न छोड्ने र विश्वास नगर्ने अवस्था निकै गम्भीर हो । लगानीकर्ताहरूको भरोसा र विश्वासनीयता थप डगमगाउनुअगाडि नै नेप्से र प्रविधिमा सुधार गर्नुपर्छ भने सरकार र नियामकले प्रविधिको गुणस्तर र क्षमताका साथै प्रयोग र पहुँचमा निगरानी र नियमन बढाउनुपर्ने देखिन्छ । नेपाली पुँजीबजारमा कालो दिनका रुपमा आमलगानीकर्ता माझ परिचित हुन पुगेको माघ ६ गतेको घटना दोहोरिन नदिन, १) प्रणालीले त्रुटिरहित कारोबार, तथ्यांक व्यवस्थापन र तथ्यांक प्रवाहको सुनिश्चितताका लागि आवश्यक सुधार, र २) विविध प्राविधिक र व्यावहारिक कारण सिर्जना हुने त्रुटिको तत्काल सम्बोधन गर्न सकिने व्यवस्था गरिनुपर्छ ।

तर कारोबार प्रणालीको सिस्टममा पहुँच बजार सञ्चालक नेप्सेका उच्च अधिकारी, नियामक र सरकारको सम्बन्धित निकायका तोकिएका अधिकारीसहितको उच्चस्तरीय समितिको निगरानी र स्वीकृतिमा मात्र तोकिएको जिम्मेवार अधिकृतलाई हुने व्यवस्था गरिनुपर्छ । अर्थात् प्रणाली सञ्चालन र सुधार जिम्मेवार बनाइनुका साथै पहुँचमा बहुतह र बहुपक्षीय निगरानी हुनुपर्छ जसले स्वार्थअनुरुप कारोबार प्रणालीको दुरुपयोग रोक्न र विश्वसनीयता बढाउन मद्दत पुग्नेछ ।

अनलाइन कारोबार प्रणाली विश्वसनीयता र प्राविधिक त्रुटिको अकर्मण्यताका कारण लगानीकर्ताको मनमष्तिस्कबाट सधैंका लागि अफलाइन हुनअगाडि नै आवश्यक सुधार गरी सर्वस्वीकार्यता र व्यावहारिक प्रयोगमा ल्याइनु जरुरी छ । यसको साथै प्रविधिगत जोखिम न्यूनीकरण र प्रणालीका सम्भावित त्रुटि सिर्जित जोखिमबाट लगानीकर्ताहरूलाई बचाउन १) अनलाइन कारोबार प्रणालीको सक्षम र आधिकारिक व्यक्तिहरूको संलग्नतामा स्वतन्त्र परीक्षण, २) प्राविधिक पक्षहरूको सुधार र भविष्यमा विद्यमान त्रुटि नदोहोरिने सुनिश्चितता, र ३) नेप्से, ब्रोकर र लगानीकर्ताहरूसहितको बृहत् छलफल गरी व्यावहारिक समस्याहरूको समाधन गरिनुपर्छ ।




प्रतिक्रिया