यसरी जल्यो देशप्रेमको ‘चन्दन’

upendra_devkota_2.jpg

काठमाडौं- मंगलबार दिउँसोको घाम धेरैका शिरमा बजारिएको थियो।  कैयौंका अनुहार पसिनाले लफ्रक्क भिजेका थिए। तर, उनीहरूलाई त्यसले कुनै प्रभाव पारेको थिएन। किनकि, उनीहरू वरिष्ठ न्युरो सर्जन उपेन्द्र देवकोटालाई अन्तिम बिदाइमा भावविव्हल थिए । 

देवकोटाको पार्थिव शरीर बाँसबारीबाट पशुपति आर्यघाट लैजाँदा सयौं जना शव यात्रामा सामेल थिए। केही दिन अघिसम्म धेरैको घाउ निको पारेका थिए, नेपालकै एक कुशल चिकित्सक देवकोटाले । तिनै ‘बिरामीका भगवान’को नश्वर शरीर मंगलबार पशुपति आर्यघाटतिर लगिँदै थियो, अन्तिम संस्कारका लागि ।

महाप्रस्थानका लागि अगाडि बढ्दै गर्दा उनको अनुहार उज्यालो देखिन्थ्यो । मानौं अहिले नै बोलिहाल्छन्, आँखा खोलिहाल्छन् अनि सोध्नेछन्, ‘कस्तो छ तपाईंहरूको स्वास्थ्य ?’ पार्थिव शरीरमा पनि उनको निर्भिकता झल्किन्थ्यो, अनुहारबाट । 



मानौं, उनमा अब कुनै चिन्ता छैन, न त दुःखाई र पीडा नै छ । लाग्थ्यो उनलाई अब आगोले पोल्ने छैन, मन कतै दुख्नै छैन। अब उनले यो संसारको काम, क्रोध, लोभ र मोहमा फस्नुपर्ने छैन। 

https://www.nicasiabank.com/
बेलायतमै चिकित्सा पढ्दै गर्दा उनले त्यहीं एक प्रकारको ख्याती आर्जन गरिसकेका थिए । नेपाल नफर्केको भए पनि कसैले प्रश्न उठाउने थिएन । तर, उनी स्वदेश नै फर्किए र मुलुककै जेठो वीर अस्पतालमा लामो समय बिरामीको सेवा गरे । बेलायतको सुखसयलले उनलाई शीतल दिएन्। 

उनी आफ्नै माटोमा फर्किए र यहींको धुलोलाई चन्दनका रूपमा ग्रहण गरे । जीवनको उत्तराद्र्धमा पनि उनलाई उपचारका लागि बेलायत नै पुर्‍याइएको थियो । तर, आफ्नै माटोमा प्राण त्याग गर्ने इच्छाबाट रत्तिभर हल्लिएनन् । आफू खेले, हुर्केको सिस्नेधाराको पानी पिएर मनलाई शीतल बनाए । 

अनि आफैंले स्थापना गरेको न्युरो अस्पतालमा अन्तिम सास फेरे । 

मंगलबार पार्थिव शरीरमा दागबत्ती दिइँदै गर्दा मलामी गएका आफन्तजन र शुभेच्छुकहरू देवकोटाको शरीर आगोले पोल्दै गरेकामा मन थाम्न सकिरहेका थिएनन् । तर, उनी सञ्चो मान्दै आगोमा मिसिन तयार भए । र, हेर्दाहेदै आगोमा बिलाए। 

उनको शरीरलाई जलाएर धुवाँ आकासियो । शायद, देवकोटालाई लिएर त्यो धुवाँले बैकुण्ठधामको यात्रा तय गर्‍यो । तर, उनको नश्वर शरीर जलिरहेको देख्दा उनको आत्माले भनिरहेझैं लाग्थ्यो, ‘प्यारो सुन्दर आर्यघाट तटको साझा चितामा जलूँ । पाउँ बस्न मरेर आखिर गई स्वर्गीय त्यै ठाउँमा । नेपालीहरू छन् मरिकन सबै जन्मिरहेका जहाँ ।’
 

प्रतिक्रिया