के यो देशमा सीता र सुजनहरूले बाँच्‍न नपाउने ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/health_news.jpg

काठमाडौं- लामो समयदेखि विवादमा रहेको चिकित्सा शिक्षा विधेयक डा गोविन्द केसीको सत्याग्रहको प्रवाह र प्रतिपक्षको विरोधको परवाह नगरी बहुमतको आडमा पारित गरिएको छ। यसको चौतर्फी विरोध भइरहेको छ। यही सन्दर्भमा स्वास्थ्य क्षेत्रमा व्याप्त बेथिती र त्यसले निम्याएको परिणाम यहाँ चर्चा गरिएको छ।

घटना नम्बर १

सन् २०१२ मा जर्मनीमा पढ्दै गरेकी प्रतीक्षा शर्माको मिर्गालामा समस्या देखियो। उपचार गर्ने क्रममा डाक्टरले उनको दुवै मिर्गौला फेल भएको जानकारी दिएपछि प्रतीक्षामा छाँगाबाट खसेजस्तै भइन्। कारण थियो, उनका बुबा र भाइको पनि मिर्गौला रोगका कारण केही वर्षपहिले नेपालमा मृत्यु भएको रहेछ। प्रतीक्षालाई त्यहाँ जर्मन सरकारले सम्पूर्ण औषधिउपचार गर्ने व्यवस्था मिलाइदियो। भिसा म्याद तीन महिना बाँकी रहेकी प्रतीक्षालाई जर्मन सरकारले आजीवन भिसा दियो र भन्यो- 
‘तिमी नेपाल नजानू, त्यहाँ तिम्रो उपचार सम्भव छैन।’जर्मनीमा रहेकी प्रतीक्षाको दुवै मिर्गौला निःशुल्क प्रत्यारोपण भयो। अहिले उनी जर्मनीमै स्वास्थ्यलाभ गरिरहेकी छन्। 

घटना नम्बर २

दुई महिनाअघि गुल्मीकी २२ वर्षीया सीता भण्डारीको ब्लड क्यान्सरबाट मृत्यु भयो। प्रवेशिका परीक्षामा गुल्मीको एउटा सरकारी विद्यालयबाट जिल्लामै सर्वोकृष्ट नतिजा ल्याउन सफल सीता काठमाडौंमा चार्टर एकाउन्टेन पढ्दै थिइन्। सामान्य परिवारमा जन्मिएकी सीताको उपचार गर्न पैसा थिएन। उपचार अभावमा उनको मृत्यु भएको थियो। 

घटना नम्बर ३

इन्द्रावती गाउँपालिका-६ सिन्धुपाल्चोकका १८ वर्षीय सुजन बर्माको दुवै मिर्गौला फेल भएर अहिले नेपाल मेडिकल कलेजमा उपचार गराइरहेका छन्। विपन्न आर्थिक अवस्था रहेका उनको उपचारमा मासिक ३० हजार रुपैयाँ खर्च भइरहेको छ। १२ कक्षामा अध्ययनरत सुजन उपचार पाए बाँच्छन् तर उनलाई उपचार गर्न लाग्ने कम्तीमा १२ लाख रुपैयाँ आफूसँग नभएको उनका बाबु दिलबहादुर बताउँछन्। दिलबहादुर यतिबेला छोराको उपचारका लागि आर्थिक सहयोगको याचना गर्दै हिँडिरहेका छन्।

माथिका यी तीन घटना प्रतिनिधिमात्र हुन्। खोज्दै जाने हो भने यस्ता पीडितको संख्या अनगिन्ती हुन सक्छ मुुलुकमा। आर्थिक अभावकै कारण धेरै नेपाली उपचारै नपाएर मृत्युवरण गरिरहेका छन् भने कैयन् जीवनमरणको दोसाँधमा छटपटाइरहेका छन्। 
https://www.nicasiabank.com/


यी तीन घटनासँग एउटा अनौठो संयोग मिलेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, जर्मनीमा रहेकी प्रतीक्षा र सिन्धुपाल्चोकका सुजनको समस्या उस्तै हो। राष्ट्रपतिको जस्तै समस्या भएकी सीताले दुई महिनाअघि मृत्युवरण गरिन्। प्रधानमन्त्रीको जस्तै समस्या भएका सुजन उपचार नपाएर छटपटाइरहेका छन्।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचारका लागि राज्यकोषबाट करिब ४० करोड (२०–२० करोड) खर्च भइसकेको छ। पहुँच भएका र ठूलाबडाको उपचारमा राज्य कोषको करोडौं रुपैयाँ खर्च गर्ने तर विपन्न परिवारका बिरामी उपचारै नपाएर मर्ने अवस्थाको अन्त्य कहिले होला ? तपाईंहामी सबैलाई लाग्छ– नेपालमा महँगो स्वास्थ्य उपचार थेग्न नसकेर दैनिक मृत्यु हुनुपर्ने अवस्थाको अन्त्यको सम्भावना छैन ? यो अवस्थाको अन्त्यका लागि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले उठाएका माग नाजायज हुन् त ? १६औं पटक अनशन बसेका डा. गोविन्द केसी ढले भने के होला ? त्यसपछिको मुलुकको स्वास्थ्य शिक्षाको अवस्था के होला ?

क्यान्सरबाट मृत्युवरण गरेका चर्चित चिकित्सक चित्रप्रसाद वाग्लेले मर्नुभन्दा अगाडि एउटा हृदयविदारक पत्र लेखे। पत्रमा लेखिएको थियो, ‘मेरो उपचारमा सबै पैसा सकियो, दुई छोरीको जीवन कष्टकर हुनेछ। त्यसैले अब म थप पैसा खर्चेर उपचार गर्दिनँ।’ वाग्लेका दुई छोरी र एक छोरा अपांग छन्। कान्छी छोरी ६ वर्षकी हुँदा वाग्लेको मृत्यु भएको थियो। डा. वाग्लेले आर्थिक अभावमा उपचारबाट वञ्चित विपन्न जनतालाई जीवनभर निःशुल्क उपचार गरेका थिए। तर उनी आफैंले पैसा अभावमा उपचार नपाउँदा मृत्युवरण गर्नपर्‍यो। 

यतिबेला डा. केसी जटिल रोग लागेर पैसा अभावमा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था अन्त्यका लागि आमरण अनशनमा बसेका छन्। सरकारले डा. केसीलाई प्रतिपक्षको उक्साहटमा सरकारविरुद्ध अनशन गरेको गम्भीर आरोप लगाएको छ। सरकारले चिकित्सा शिक्षा सुधारका लागि केदारभक्त माथेमा प्रतिवेदनको सिफारिसविपरीत शुक्रबार संसद्बाट चिकित्सा शिक्षा विधेयक पास गरेको छ। डा. केसीका पक्षमा जनमत बढदै जानु र सरकार एकलौटी ढंगले स्वास्थ्य माफियाकै पक्षपोषणमा केन्द्रित हुनुले सरकार ओरालो गतिमा अगाडि बढेको स्पष्ट भएको छ।

नेपालमा पछिल्लो समय उपचार तथा चिकित्सा शिक्षाका नाममा सयौं अस्पताल खुलेका छन्। ती अस्पतालको शुल्क मनलाग्दी छ। सामान्य परिवारका लागि महँगो उपचार खर्चभन्दा मृत्यु नै सहज हुने अवस्था छ। राजनीतिकर्मी र ठूलाबडाले ती अस्पतालमा उपचार गर्दैनन्। उनीहरूको रोजाइ भारत, सिंगापुर, थाइल्यान्ड र अमेरिकाका ठूला अस्पताल हुन्छ, त्यो पनि सरकारी खर्चमा। यस्तै विभेद अन्त्यका लागि डा. केसीले माग उठाएका छन्। यतिबेला उनी जीवनमरणको दोसाँधमा छन्, चिकित्सा शिक्षा सुधारको मागसहित। 

युरोप अमेरिकालगायत कतिपय मुलुकमा शिक्षा र स्वास्थ्य पूर्ण रूपमा निःशुल्क छ। हाम्रा छिमेकी मुलुक भारत, पाकिस्तान, बंगलादेशमा पनि शिक्षा स्वास्थ्य त्यति महँगो छैन। 

राजधानीलगायत सहरी क्षेत्रमा करोडौं कमिसनमा अन्धाधुन्द अस्पताल खोल्न अनुमति दिने तर विकट क्षेत्रमा जनता सिटामोल पनि नपाई मृत्युवरण गर्ने जुन अवस्था छ त्यसको अन्त्य अनिवार्य छ। डाक्टर केसीको यो मागप्रति दम्भ देखाएर सरकारले बेवास्ता गरिरहेको छ। सरकारी दम्भलाई करिब तीन करोड नेपालीले हावाको बेलुन जसरी फुटाउनु जरुरी छ। 

प्रतिक्रिया