यस्तो बन्दैछ आज शिलान्यास भएको बुद्ध भजन बज्‍ने पर्यटकीयद्वार

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Gautam_Buddha_Laid_foundation_st.jpg

भैरहवा- स्वागत गेट, प्रवेशद्वार त धेरै बन्ने गर्दछन्। तर द्वार बनिसकेपछि तिनले गर्ने आर्कषणको पाटो चाँहि फरक हुने गर्दछ। गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरमा पर्यटकको स्वागातार्थ बन्ने पर्यटकद्वारमा चौबीसै घन्टा बुद्ध भजन र संगीत बज्ने भएको छ। नेपाल भारत सीमा नाकादेखी करिब एक किलोमिटरको दुरीमा रहेको उक्त पर्यटकद्वारमा बज्ने बुद्ध भजन र संगीतले नगरलाई बुद्धमय बनाउने विश्वास गरिएको छ। सोहीद्वारको एक कार्यक्रमकाबीच बुधबार संघीय सभाका सांसद घनश्याम भुसालले शिलन्यास गरेका छन्।

उक्तद्‍वार नेपालकै नमुना बन्ने सिद्धार्थ नगरपालिकाले बताएको छ। पर्यटकद्वार शिलन्यास पश्चात आयोजित कार्यक्रममा बोल्दै संघीय सभाका सदस्य घनश्याम भुसालले सिद्धार्थनगरको पहिचानको रुपमा पर्यटकद्वार बन्नेमा विश्वास व्यक्त गरे। उनले भने , ‘अबको ४ बर्षपछि पोखरामा मात्रै २५ लाख विदेशी पर्यटक र लुम्बिनीमा सोही संख्यामा आउने पर्यटकको एउटा गन्तब्यको रुपमा सिद्धार्थनगरको डण्डा करिडोर बन्नेछ। ’ 

प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले विश्व मानचित्रमा नेपाललाई चिनाउने बुद्धको ऐतिहासीकतासँग जोडेर निर्माण गर्न थालिएको पर्यटकद्वार नगरको महत्वपुर्ण पहिचान हुने बताए।



पूर्वमन्त्री हकिकुल्लाह खानले पर्यटकद्वारले लुम्बिनी क्षेत्रको पर्यटन प्रबर्द्धनमा आधार स्तम्भ बन्ने विश्वास व्यक्त गरे। जिल्ला समन्वय समितीका सभापति एकराज विश्वकर्माले बृहत्तर लुम्बिनी गुरुयोजनालाई सहयोग पुर्‍याउने ध्ययेले निर्माण गर्न थालिएको पर्यटकद्वार रुपन्देहीको गौरव भएको बताए।

नगरका प्रमुख हरि प्रसाद अधिकारीले उक्त पर्यटकद्वारमा २४ औं घन्टा बुद्ध भजन र संगीत बजिरहने बताए। उक्त भजन र संगीतले बेलहियाको बाटो नेपाल प्रवेश गर्नेहरुलाई बुद्धको देशमा आए भनेर अनुभूति दिलाउन महत्वपुर्ण भूमिका खेल्ने बताए।

नगरपालिकाका ईन्जिनियर यमलाल पाण्डेका अनुसार उक्तद्वार २ बर्षभित्र निर्माण सम्पन्न भईसक्नेछ। पहिलो चरणमा मुख्य संरचना र दोस्रो चरणमा आर्किटेक्चर डिजाईन अनुसार काम सम्पन्न गरिने पाण्डेले बताए। साढे चार किलोमिटरको डण्डा करिडोरको प्रवेशद्वारको रुपमा पर्यटकद्वार सबै नगरबासीको गहना भएको नगर उपप्रमुख उमा काफ्लेले बताइन्।

शान्तिको मुल थलो लुम्बिनीको झल्को दिने गरी निर्माण गर्न थालिएको पर्यटकद्वारको ऐतिहासिक, पर्यटकीय र साँस्कृतिक दृष्टिले महत्वुर्ण हुने पर्यटनवीद प्राडा गितु गिरीले बताए। पर्यटकद्वारको शिलन्याससंगै निजी क्षेत्र पनि उत्साहित भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद शर्माले पर्यटन व्यवसायमा नयाँ फड्को भएको बताए। उनले भने , ‘एकातिर यसले शहरको सौन्दर्यता बढाउँछ भने अर्कोतिर व्यवसायीलाई पनि फाइदा पुर्‍याउँछ।’



नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्ट)का प्रदेश ५ अध्यक्ष विष्णु प्रसाद शर्माले नेपाल आउने पर्यटकलाई लोभ्याउने गरी बनाइन थालेको पर्यटकद्वारले पर्यटन व्यवसायीमा उत्साह सृजना गरेको बताए।

डिजाईन र लागत

पहिलो चरणमा एक करोड उनान्सय लाख लागतमा बुद्धको चिनारी झल्कीने गरी निर्माण हुनेछ। पर्यटन, उद्योग, व्यवसाय र शिक्षा, हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा भन्ने मूल नाराका साथ अघि बढिरहेको सिद्धार्थनगरपालिकामा बन्न थालेको पर्यटकीयद्वार ५० मीटर लम्बाई, २३ मीटर ८० सेन्टिमीटर चौडाई तथा सडकदेखि २९ मीटर अग्लो रहनेछ। पर्यटकीयद्वार नेपालको चिनारी झल्कने कलात्मक बस्तु, स्वयम्भूको आँखासहितको बुद्ध चिनारी, अशोका स्तूपा, विभिन्न १२ वटा बुद्ध मूर्ति, हर्निका, आर्च, स्पायर गजूर, हरियाली जोन, नेपालको राष्ट्रिय झन्डा, बुद्ध झण्डाले सिंगारिनेछ।


बहुबर्षिय योजना अर्न्तगत निर्माण गर्न थालिएको पर्यटकीयद्वारको फिनीसिङ गर्दा  कुल लागत ५ करोड पुग्ने नगरका प्रशासकीय प्रमुख ख्यामबहादुर थापाले बताए। उनले भने ,‘डण्डा नदीमा आकर्षक पर्यटकीयद्वारबाट भित्रिएपछि नदीको छेउमा दरखसवामा पिकनिक स्पट हुन्छ। नजिकै डण्डामा बोटिङ स्पट हुन्छ। बोटमा चढेर सरर आनन्द लिनेगरी पर्यटकीय सेवा दिईने तयारी छ। बोटिङकोलागी पहिलो चरणमा ५० लाख विनियोजन भईसकेको छ।’ पर्यटकीयद्वार निर्माणका लागि प्राकृतिक निर्माण प्रालि भैरहवासँग ठेक्का सम्झौता नगरपालिकाले गरिसकेको छ

डण्डा करिडोर

सिद्धार्थनगर नगरपालिकाले डण्डा नदीको संरक्षण र प्रबद्र्धन गरी पर्यटकीय स्थलका रुपमा विकास गर्न डण्डा कोरिडोरको अवधारणा अघि सारेको हो। नगर क्षेत्रभित्र पर्ने नदीको १५ किलोमिटर क्षेत्रलाई ५-५ किलोमिटरमा गरी तीन भागमा विभाजन गरेर बहुउद्देश्यीय अवधारणा अघि सारिएको हो। जसअन्तर्गत वडा नम्बर ९ र १२ मा पर्ने ५ किलोटिरलाई कृषियोग्य भूमि, ३ र १३ पर्ने ५ किलोमिटरलाई रिक्रियसन सेन्टर तथा वडा नम्बर १ र २ एवं ३ को केही भूभागमा पर्ने ५ किलोमिटर क्षेत्रलाई समेटेर शैक्षिक तथा अनुसन्धान क्षेत्रका रुपमा विकास गर्ने अवधारणा बनाइएको छ।

तत्कालका लागि भने भैरहवा–परासी सडक खण्डअन्तर्गत शान्तिनगरको डण्डा पुलदेखि भैरहवा-बेलहिया खण्डअन्तर्गत वडानम्बर तीन र एक जोड्ने (सशस्त्र प्रहरी बल चेकपोष्ट अगाडि) पुलसम्म्को ५ किलोमिटर क्षेत्रलाई विकास गर्ने गरी अवधारणा अघि सारिएको हो। यो ५ किलोमिटर क्षेत्रलाई पनि तीन भागमा विभाजन गरी विकास गरिनेछ। जसअनुसार उत्तर–दक्षिणको भागलाई सक्रिय क्षेत्र र बीचको भागलाई शान्ति क्षेत्रका रुपमा विकास गरिने छ। 


नगरपालिकाको अवधारणा अनुसार तत्कालका लागि काठमाडौंको नेष्ट-एनएसी-एडिए ज्वाइन्ट भेन्चर संस्थाले नशांकन तयार पारेको छ। अहिले नदी छेउछाउ तीव्र बस्ती विकास भइरहेको छ। प्लटिङ गरी घडेरी विक्री गर्ने क्रम झनै बढ्दो छ। २० वर्षको अन्तरालमा नदी नजिक करिब दुईसयको हाराहारीमा घर बनीसकेका छन्।

तीन दशक अघिसम्म पौडी खेल्न मिल्ने नदीमा स्थानीयले जथाभावी फोहोर फाल्दा अहिले दुर्गन्धित भएको छ। नगरपालिका आफैले वडानम्बर २ को मेउडिहवामा नदी छेउमा फोहोर फाल्दै आएको छ। जसले गर्दा नदीको पानी दुषित भएको छ नै पौडी खेल्न त के छुन पनि नमिल्ने अवस्था छ। दुर्गन्धले नदी छेउमा उभिनै सकिँदैन। वरपर जाँदा नाका छोपेर हिँड्नु पर्ने बाध्यता छ।

करिडोर अन्तर्गत रिक्रियसन सेन्टरको उत्तरपट्टीको क्षेत्रमा छुट्टाछुट्टै सवारी र साइकल पार्किङ स्थल, इन्ट्री प्लाजा, टिकट काउण्टर, पानीको फोहोरा, डोम गेट, खुल्ला मंच, एमपी थियटर, बाल तथा बृद्धा उद्यान, क्याप्टेरिया र शौचालय बनाइने छ। यस्तै, बीचको शान्ति क्षेत्रमा बुद्ध मूर्तिसहितको बुद्ध पार्क, ध्यान केन्द्र, बगैँचा, योगा केन्द्र, ग्लोबल प्लाजा, रक गार्डेन, जेन गार्डेन, जलचर गृह, सेड र शौचालय बनाइने छ।  बुद्ध पार्कलाई बुद्ध धुनले गुन्जायमान गराइने छ। दक्षिणपट्टीको सक्रिय क्षेत्रमा वनभोज स्थल, फुटबल, भलिबल, क्रिकेट, बाँस्केटबल, टेबल टेनिस, लनटेनिस खेलका लागि खेलमैदान, बालबालिका लागि रोटेपिङ, चिप्लेटी, झुला, क्याप्टेरिया बनाइने अवधारणामा उल्लेख छ।



रिक्रियसन सेन्टर क्षेत्रमा नदी वारीपारी गर्न ठाउँठाउँमा पुल बनाइने छ भने ५ किलोमिटर क्षेत्रमै आठ÷आठ फुटको साइकल मार्ग र पैदलमार्ग बनाइने नगरपालिकाले जनाएको छ। नदी उकास क्षेत्रलाई व्यवस्थित गरी डुंगा समेत संचालन गरिने छ। डुंगा संचालनका लागि टेन्टर आह्वान समेत भइसकेको छ। ‘यो नेपालकै पहिलो बहुउद्देश्यीय योजना हो। निर्माण सकिएपछि आन्तरिक तथा बाह्य पर्यटकको हब बन्ने छ’, बरिष्ठ इन्जिनियर शैलेन्द्र श्रेष्ठले भने, ‘नदी संरक्षणसँगै डुवानको समस्या समाधान हुन्छ नै पर्यटकको आकर्षण समेत बढ्छ। जसले आन्तरिक स्रोत बृद्धि हुन्छ।’ उनले भैरहवा लगायत लुम्बिनी क्षेत्रमा पर्यटकको बसाई लम्ब्याउन समेत योजना महत्वपूर्ण सावित हुने जनाए।

स्थलमार्टबाट बर्सेनि डेढ लाख बढी तेस्रो मुलुक र दुई लाख बढी भारतीय पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी पुग्छन्। यस्तै हवाई मार्गबाट पनि उत्तिकै पर्यटक लुम्बिनी आउँछन्। लुम्बिनीमा मात्रै वर्षमा १२-१३ लाख आन्तरिक पर्यटक आउँछन्। गौतब बुद्ध विमानस्थल संचालनमा आए पछि यहाँ आउने पर्यटकको संख्या दोब्बर हुने छ। तर, लुम्बिनी आउने न्यून पर्यटकले मात्रै यस क्षेत्रमा रात बिताउने गरेका छन्। 

‘पर्यटन व्यवसायीले विगतदेखि पर्यटक बसेनन् भनेर गर्दै आएको गुनासो अन्त्य गर्न डण्डा करिडोरले योगदान गर्नेछ’, श्रेष्ठले भने, ‘कम्तिमा भैरहवा–लुम्बिनी क्षेत्रमा दुईरात पर्यटक बास बस्छन्। यसले यहाँको आम्दानीको स्रोत बृद्धि हुन्छ नै भिसा शुल्कवापत राज्यकोषमा लाखौं रुपैयाँ जम्मा हुन्छ।’



प्रतिक्रिया