‘लुम्बिनी समृद्धिको मुख्य आधार ’

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Rabindra_adhikari_1.jpg

भैरहवा- बुद्ध जन्मस्थल लुम्बिनी समृद्धिको आधार भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले बताएका छन्।

बिहीबारदेखी लुम्बिनीमा शुरु भएको बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्टलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपालको समृद्धिको आधार लुम्बिनीको पर्यटन भएको बताए। उनले देशको समृद्धिको आधार लुम्बिनीको अहिले पनि विश्वजगतमा प्रभावकारी प्रचार प्रसार हुन नसकेको जनाउदैं बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्टले प्रचार प्रसारमा सहयोगी हुने विश्वास व्यक्त गरे।

मन्त्री अधिकारीले लुम्बिनीको प्रचारात्मक कार्यक्रम हरेक महिना लुम्बिनीमा हुनुपर्ने पनि बताए। ‘पर्यटन भनेको प्रचार हो, यस्ता प्रचारात्मक कार्यक्रम हरेक महिना हुनुपर्दछ, ’ अधिकारीले बताए।



नेपाल सरकारले घोषणा गरेको सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने योजना सफल पार्न पर्यटन व्यवसायीको भूमिका महत्वपुर्ण हुने उनको भनाई थियो।

कार्यक्रममा प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले लुम्बिनी क्षेत्रको विकास र प्रबद्र्धन अझै गर्नुपर्नेमा जोड दिए। उनले प्रदेश सरकारले विस २०७६ लाई लुम्बिनी भ्रमण बर्षको रुपमा मनाउने तयारी गरेको जनाउँदै बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्टले त्यसको आधार तयार गरिदिएको समेत बताए।

कार्यक्रममा नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाट्टा) का अध्यक्ष सिएन पाण्डेले बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्टले विश्व बजारमा लुम्बिनीको पर्यटन प्रबद्र्धन गर्नमा महत्वपुर्ण भूमिका खेल्ने बताए। सो अवसरमा उद्योग वाणिजय महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले नीजि र सरकारी क्षेत्रबीच आवश्यक साझेदारी जरुरी रहेको बताए। 


तीन दिनसम्म चल्ने मार्टले बुद्धिस्ट सर्किटलाई संसारभर स्थापीत गर्न मद्धत पुराउने उक्त कार्यक्रमका सदस्यसचिव अच्युत शर्मा गुरागाईले बताए। मार्टमा म्यानमार, थाइल्याण्ड, बंगालादेश, अष्ट्रेलिया, जर्मनी, अमेरिका, भारत, माल्दिभ्स, श्रीलंका, भुटान, चीन लगायत गरी १७ वटा मुलुकबाट टूर अपरेटर, ब्लगरहरु, सम्बन्धित देशका सरकारी प्रतिनिधिहरु रहेको जनाउदैं उनले यो कार्यक्रमको शुरुवात भएको र हरेक बर्ष यसैगरी भब्य रुपमा हुने पनि बताए।

संसार भरीका पर्यटन व्यवसायीलाई एकै ठाउँमा राखेर बुद्धिस्ट सर्किटको पर्यटनको विषयमा गहन ढंगले चर्चा परिचर्चा गर्दा बुद्धिज्म र  पर्यटनको एकैसाथ प्रसार हुने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले बताए। उनले बुद्धको जन्मस्थल लुम्बिनी तथा बुद्ध धर्मसँग सम्बन्धित नेपालका विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यहरुको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्टले महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उक्त कार्यक्रममा स्थानिय संयोजक नाट्टा प्रदेश ५ का अध्यक्ष विष्णु प्रसाद शर्माले कार्यक्रमले लुम्बिनीलाई अन्तराष्ट्रिय पर्यटन बजारमा अझै शसक्त रुपमा प्रस्तुत गर्न सहयोग पुग्ने बताए।

नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाट्टा) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा बुद्ध जन्म स्थल लुम्बिनीमा कार्यक्रम पुस २६ गते देखी शुरु भएको हो। २६ गते संसारका विभिन्न देशबाट आएका टुर अपरेटरहरु रुपन्देहीको लुम्बिनी र देवदह, कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा र निग्लीहवा, नवलपरासीको रामग्राम सहितको बुद्धसर्किटको भ्रमण गरिसकेका छन्।  

त्यसैगरी २७ गते लुम्बिनीमा आयोजित कार्यक्रमलाई पर्यटनमन्त्री रबिन्द्र अधिकारी लगायतले लुम्बिनीको कार्यक्रमलाई सम्बोधन गरेका छन्।  २८ गते टाइगर प्यालेसमा विटुबी कार्यक्रम हुने र  समापन हुने गरी तयारी गरिएको नाट्टा प्रदेश ५ का महासचिव चन्द्र बहादुर थापाले बताए।


नेपाली पर्यटन व्यवसायीसंग विदेशी व्यवसायीको सिधा सम्पर्क गराउने ध्ययेले आयोजित बुद्धिस्ट ट्राभल मार्ट देशकैलागी महत्वपुर्ण भईरहेको आयोजकले बताएका छन्।

अहिलेसम्म पर्यटन व्यवसायीहरुले आ-आफ्नो ढंगले स्वदेशी र विदेशी बुद्धिस्ट साइट जोडेर पर्यटन प्याकेज बनाईरहेका छन्। उक्त कार्यक्रमसँगै देशभित्र रुपन्देहीको लुम्बिनी र देवदह, कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा र निग्लीहवा, नवलपरासीको रामग्राम सहितको आन्तरिक बुद्धिस्ट सर्किटको प्याकेज बन्ने छ। 

यसैगरी नेपालको रुपन्देही, कपिलवस्तु र नवलपरासीको बुद्धिस्ट सर्किट सहित भारतको बोधगया, राजगीर, सारनाथ र कुशिनगर जोडेर बाह्य सर्किट बनाउने तयारी थालिएको हो। यसका अतिरिक्त नेपाल, भारत, श्रीलंका, थाइल्यान्ड, बर्मा, भियतनाम र चाईनाका महत्वपुर्ण साइट जोडेर सिल्क रुटका रुपमा विकास गरिदैंछ। बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्टले होटल लगायत समग्र पर्यटन क्षेत्रलाई फाइदा हुने सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष तथा मार्टका स्थानिय सहसंयोजक चन्द्रप्रकाश श्रेष्ठले बताए।

यसैबीच पर्यटकहरुलाई बुद्ध जन्मस्थल लुम्बिनी, मावली देवदह कपिलवस्तुको तिलौराकोट, जगदिशपुर ताल र नवलपरासीको रामग्रामको अवलोकन गराउने गरी हट एअर ब्यालुनको कार्यक्रम पनि भएको र उक्त कार्यक्रमको एक कार्यक्रमकाबीच पर्यटन मन्त्री रबिन्द्र अधिकारीले उद्घाटन गरेको नाट्टा प्रदेश ५ का प्रथम उपाध्यक्ष सन्जय बजिमयले बताए।  

२८ गते बिहान पर्यटन सम्बन्धि विशेष गोष्ठी समेत होटल टाइगर प्यालेसमा रहेको छ। कार्यक्रमको विभिन्न सत्रमा विभिन्न बौद्ध विद्वानहरुले कार्यपत्र समेत प्रस्तुत गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ।



प्रतिक्रिया