राष्ट्रपतिको हात पृथ्वीनारायणको सालिकमा, प्रधानमन्त्रीको किन खल्तीमा ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Bal_Kumar_Nepal_11.jpg

काठमाडौं- कम्युनिस्ट आन्दोलनमा लागेका नेताहरू राजा र देवता मान्न डराउँछन्। तर समयले उनीहरूलाई बिस्तारै पछार्दै लान्छ। उनीहरू समयसँगै लतारिन बाध्य हुन्छन्। यसको पछिल्लो उदाहरण हो, राष्ट्रिय एकता दिवस अर्थात् पृथ्वी जयन्ती र दसैं।

तत्कालीन एमालेका नेता थिए मोहनचन्द्र अधिकारी। उनले पहिलोपटक मुख खोलेका थिए- पृथ्वीनारायण शाह विस्तारवादी थिए। पृथ्वीनारायण शाहले खुनी आक्रमण गरेर नेपाल एक बनाएको दाबी अधिकारीको थियो। पूर्वी युरोपमा रुसले लादेको कम्युनिस्ट नामको सत्ता ढल्दै गर्दा नेपालमा भर्खरै बैंस पलाएका कम्युनिस्ट कार्यकर्ता अधिकारीको यस्तो कुरा सुनेर तीन बित्ता उफ्रिएका थिए।

मानिस जति क्रान्तिकारी भए पनि सामाजिक संस्कारबाट विचलित हुनै सक्दैन। कम्युनिस्ट भौतिकवादी मात्र हुन्छ भनेर बुझ्नु गलत हो। पाकिस्तानको कम्युनिस्ट मुसलमान हुन सक्छ। बेलायतको कम्युनिस्ट इसाई हुन सक्छ भने नेपाल र भारतको कम्युनिस्ट हिन्दु नहुने कारण के ? राजा वा राजतन्त्र हिन्दुसँग जोडिएको विषय हुनै सक्दैन। त्यो त केवल राज्यसत्तासँग जोडिएको विषय हो। जस्तो : बेलायतमा राजसंस्था छ तर त्यसले कुनै धर्मसँग सरोकार राख्दैन। त्यो त बेलायतको इतिहास र गौरवसँग जोडिएको विषय हो। कम्बोडियामा लखेटिएको राजतन्त्र मुलुकमा स्थायित्वका लागि फर्काएको इतिहास छ।

नेपालमा दुई सय ४० वर्षको राजसंस्थाको इतिहास छ। यसका राम्रा र नराम्रा दुवै पक्ष छन् । ती सबै इतिहास भइसके अहिले।  इतिहासबाट धेरै पाठ सिक्न सकिन्छ। सिक्नु पनि पर्छ । इतिहासका नराम्रा पाठ बिर्सेर नयाँ गतिमा अगाडि बढ्नु जीवन्त मानिसका लागि मननयोग्य विषय हो।

नेपालमा राणा शासन सुरु हुँदा शाहवंश विनाश गरिएन। त्यसलाई शिखण्डीका रुपमा मात्र प्रयोग गरियो। त्यही परिभाषाबाट श्री ५ र श्री ३ मा राज्यसत्ता विभाजन भयो।

नेपालको राजसंस्थाको इतिहास मुसलमानसँग जोडिएको छ। उनीहरुको साह थर मुसलमानबाट आएको भन्ने भनाइ छ। यसको प्रमाण नारायणहिटीअगाडिको जामे मस्जिदले बोलिरहेको छ। त्यो मस्जिद शाह वंशको कार्यकारी शासन हुँदा भत्कन सक्थ्यो। तर यो उनीहरुको विरासत थियो।  हिन्दु राजा भनिएका शाह वंशको अगाडि नक्कली बूढानीलकण्ठ छ । तर सक्कली जामे मस्जिद छ । यसकारण पनि नेपाली राजसंस्थाको साइनो मुसलमानसँग जोडिएको स्पष्ट छ।


नेपालमा ९० प्रतिशतभन्दा बढी हिन्दु छन्। शासन सत्ताको स्रोत धार्मिक सांस्कृतिक हुँदै पछि त्यसले कानुनी रूप लिएको इतिहास छ। त्यसैअनुसार कुलमण्डन खानबाट सुुरु भएको हिन्दु राजाको सुरुवात ज्ञानेन्द्रसम्म जोडिन पुग्यो।

दोस्रो विश्वयुद्धताका ठूला महाशाक्ति राष्ट्रसमेत आफ्नो अस्तित्व जोगाउने अभियानमा थिए। त्यस्तो बेला पृथ्वीनारायण शाहले एउटा सपना देखे, ‘तस्मात् उठाउँछु खुँडा सब भाइ जोड्छु, एउटै महामुलुकको रचना म गर्छु।’

उनको यो भनाइले दाजुभाइबीच विभेद गरेको पाइँदैन। यसले जातीय सांस्कृतिक सद्भावलाई समेत जोड्न खोजेको छ। उनले नेपाल एकीकरण नगरेको भए आज नेपाल सिक्किमजस्तै एउटै प्रदेश हुन सक्थ्यो। अहिले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भन्न पाउने अवस्था आउने थिएन। नेपाल प्रदेशका मुख्यमन्त्री केपी ओली र विधानसभामा विपक्षी दलका नेता शेरहबहादुर देउवा भनेर सुन्नुपर्थ्यो।

सरकार र प्रतिपक्षले पृथ्वीनारायणलाई राजसंस्था र धर्मसँग जोडेर अगाडि बढाए। नेपालका कम्युनिस्टको पनि रगतमा हिन्दुत्व छ। कोही भौतिकवादी छन्, कोही आध्यात्मिक छन्। तर आफ्नो संस्कार र संस्कृतिको धारा नसानसामा बगेको हुन्छ।  

अहिले पनि काठमाडौंको टुँडिखेलमा जंगबहादुरको सालिक खडा छ। त्यसलाई तानाशाह भनेर लात्ताले हान्दा आफ्नै खुट्टा दुख्छ। इतिहास गुलाफको डस्ना होइन, यसमा काँडा पनि हुन्छ। त्यसकारण इतिहासले राम्रो नराम्रो दुवै कामको मूल्यांकन गर्नुपर्छ।

कुनै बेला नेपालमा कम्युनिस्टले बालुवाटारमा लुकेर दसैंको टीका लगाए। अब त्यस्तो गर्नु पर्दैन। नेपालमा राणा शासनभन्दा शाह वंशका बढी गुण छन् । त्योभन्दा बढी गुण बहुदल र गणतन्त्रका  छन्। यी सबैका मुहान भने पृथ्वीनारायण शाह नै हुन्। सरकारले सार्वजनिक बिदा नदिएको उसलाई मन नभएर होइन। कतै उसको क्रान्तिकारीतामा दरबारिया लेपन लाग्छ कि भनेर हो। तर असल काम गर्न डराउनु पर्दैनथ्यो । सरकार डरायो। राष्ट्रपतिले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दा प्रधानमन्त्रीका हात किन काम्यो ? अहिले उठेको प्रश्न यति मात्र हो।



प्रतिक्रिया