कर्णाली चिसापानी : राज्यले नदेखेको पर्यटन स्थल

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/karnali_bridge_nepal_samaya.jpg

धनगढी- देशकै सबैभन्दा लामो कर्णाली नदीमाथि बनेको विश्वकै नमुनामध्येको एक खम्बामा अडिग पुल र कर्णाली नदीका स्वादिष्ट माछाले सबैमा चिरपरिचति ठाउँ हो कर्णाली चिसापानी । सिंगो सुदूरपश्चिमलाई राज्यका अन्य क्षेत्रसँग जोड्ने पनि त्यही पुल नै हो । यही ठाउँबारेमा राज्यका निकायमा बस्नेहरूलाई जानकारी नै नहोला भनेर अनुमान गर्नु व्यर्थ हुन्छ । प्रचुर पर्यटकीय सम्भावना बोकेको यही क्षेत्र कर्णाली चिसापानी पर्यटन मन्त्रालयको सूचनामा अटाउन सकेन । 

कुनै निश्चित जाति र समुदायको कुलदेउता पुज्ने मन्दिर उत्कृष्ट एक सय पर्यटकीय गन्तव्यको सूचीमा समावेश गर्ने पर्यटन मन्त्रालयको आँखा कर्णाली चिसापानीमा पर्न नसकेपछि यस क्षेत्रका पर्यटन व्यवसायी निराश बनेका छन् । 

एक खम्बामा अडिग त्यही कर्णाली चिसापानीको पुल हेर्न देशभित्रबाट मात्र नभएर छिमेकी मुलुक भारतबाट दिनहुँ थुप्रै पर्यटकहरू कर्णाली चिसापानी पुग्छन् । पुलको अवलोकनसँगै कर्णाली नदीका माछाको स्वाद चाखेर फर्किने पर्यटकहरूको संख्या धेरै छ । त्यही क्षेत्रलाई पर्यटन मन्त्रालयले सय वटा गन्तव्यको सूचीमा अटाउन नसक्नुले राजनीतिक पहुँच र भनसुनका आधारमा पर्यटकीय क्षेत्रको सूची तयार गरेको स्पष्टै हुन्छ । पहुँचमा हुनेहरूले आफ्नो निश्चित जातजाति र समुदायका देउताको मन्दिरमा सूचीभित्र पार्न सफल भए भने पर्यटकीय सम्भावना बोकेका थुप्रै गन्तव्य ओझेलमा छन् । 



चिसापानीको इतिहास

कुनै समयमा चिसापानी बजार हटेरुहरूको केन्द्र नै थियो । पश्चिम पहाडी र हिमाली क्षेत्रका मानिस वर्षभरिका लागि उपभोग्य सामग्रीको जोहो गर्न बेसी झर्थे । बर्दियाको राजापुर, कैलालीको कटासे तथा भारतको पिलिभितलगायतका हाटबजारबाट नुन, तेल, भाँडाकुँडा, लत्ताकपडाजस्ता सामग्री लिएर फर्किन्थे । उनीहरूको बास चिसापानीमा हुन्थ्यो । उनीहरूले कर्णाली नदीको किनारमा खाना पकाएर खान्थे । बास बस्थे र भोलिपल्ट बिहानै उकालो लाग्थे ।

यहाँ रहेको मूलबाट निकै चिसो पानी आउने भएकाले उनीहरूले नै यसको नामकरण चिसापानी गरेको बुझिएको छ । कुनै बेला हटेरुहरूको बास बस्ने स्थल मात्र रहेको चिसापानी अहिले पर्यटकीय गन्तव्य बनेको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने यो बजार मानिसहरूले एकपटक हेर्नैपर्ने ठाउँ बनेको छ । गाडीबाट राजमार्गमा ओहोरदोहोर गर्ने मानिस एकपटक झरेर पुल र नदी किनारामा फोटो नखिची फर्किंदैनन् । 
 
एक खम्बामा अडिग त्यही कर्णाली चिसापानीको पुल हेर्न देशभित्रबाट मात्र नभएर छिमेकी मुलुक भारतबाट दिनहुँ थुप्रै पर्यटकहरू कर्णाली चिसापानी पुग्छन् । पुलको अवलोकनसँगै कर्णाली नदीका माछाको स्वाद चाखेर फर्किने पर्यटकहरूको संख्या धेरै छ ।

आकर्षकको केन्द्र पुल

२०५० सालमा बनेको कर्णाली पुल देशविदेशमा परिचित छ । पुल बनेपछि मात्र चिसापानीले व्यावसायिक रुप लिन थालेको हो । सुदूरपश्चिमलाई स्थलमार्गबाट देशका अन्य क्षेत्रसँग जोड्ने एक मात्र पुल एक खम्बामा मात्र अडिग छ । शान्तसँग बगिरहेको नीलो कर्णाली नदीमाथि बनेको यो पुलमा उभिएर चारैतिर दृश्यावलोकन गर्दा बेग्लै आनन्दको महसुस हुने गर्दछ । बाह्रैमास एकनासोका तीव्र गतिको हावा चलिरहने यहाँ दिनहुँ हजारौंको संख्यामा पर्यटकहरू पुग्ने गर्छन् । 



स्वादिला माछा

कर्णाली चिसापानी भन्नेबित्तिकै सबैको मुखमा झुन्डिने शब्द हो त्यहाँको स्वादिलो माछाका परिकार । पसल, होटलको मात्र होइन आममानिसको आम्दानीको बलियो स्रोत बनेको छ यहाँको माछा । प्रत्येक होटल तथा पसलमा ग्राहकको स्वागतका लागि पाकेका परिकारका साथसाथै आलो माछा झुन्ड्याएर राखिएका हुन्छन् । 'कर्णाली पुलको दृश्यावलोकन सँगसँगै यहाँ आउने पर्यटकको अर्को महत्त्वपूर्ण रोजाइ यहाँको स्वादिष्ट माछा नै हो', सिद्धार्थ रिसोर्टका रेस्टुरेन्ट म्यानेजर सिद्धार्थ भण्डारी भन्छन्, 'खानासँग माछा नखोज्ने त प्रायः मानिस नै हुँदैनन् ।'

चिसापानीको माछाका बारेमा सुनेको मानिसले चिनजानको मानिस यहाँबाट आवतजावत गर्दा कोसेलीका रुपमा माछा नै मगाउने गरेको सुनाउँछन् डल्फिन होटलका सञ्चालक पदम भण्डारी । चिसापानीमा दैनिक करिब तीन क्विन्टलसम्म माछा खपत हुने गरेको भण्डारीले बताए । 

किन बन्न सकेन गन्तव्य

चुरेको फेदीमा अवस्थित चिसापानी अस्थायी बजार हो । सुरुसुरुमा टिनका अस्थायी टहरा मात्र रहे पनि अहिले भने पक्की घरहरू निर्माण भइसकेका छन् । होटल निर्माण हुने क्रम अत्यधिक बढेको छ । पछिल्लो सयम रानीजमरा सिँचाइ आयोजनाको इन्टेक निर्माण स्थलसमेत चिसापानीमै रहेकाले यहाँको चहलपहल बढेको छ ।

करिब दुई हजार पाँच सयभन्दा बढी घरधुरीको बसोबास रहेको चिसापानी लम्की चुहा नगरपालिका ३ मा पर्छ । सुविधा सम्पन्न होटलहरू निर्माण भएसँगै छिटपुट रुपमा आवासीय तालिम चल्न थाले पनि खासै मानिस रात बिताउनकै लागि यहाँ पुग्दैनन् । राजमार्गमा पर्ने बजार भएकाले आवतजावत गर्नेहरूका लागि एकछिन झरेर घुमफिर गर्ने ठाउँमा मात्र सीमित छ ।

यहाँको बजार पुरै ऐलानी हो । ठूलठूला घर निर्माण भए पनि व्यवसायीहरूले बैंकिङ कारोबार गर्न सकिरहेका छैनन् । जिल्लाका अन्य क्षेत्रमा रहेको घरजग्गा धितो राखेर व्यवसायीहरूले यहाँ लगानी गरिरहेको भण्डारी बताउँछन् । व्यावसायिक सम्भावना प्रचुर भएकैले व्यवसायीहरू लगानी बढाइरहेका छन् ।  




प्रतिक्रिया