‘रि-फ्युलिङ’ को सुविधा नहुँदा हवाई भाडा महँगो

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Buddha_Air_1.jpg

जनकपुरधाम - विगत दुई दशकदेखि हवाइसेवा दिँदै आइरहेको बुद्ध एयरले प्रदेश २ का विमानस्थलहरुमा ‘रि-फ्युलिङ’ को सुविधा भए विमान भाडा सस्तो हुने दाबी गरेको छ। विमानस्थलहरुमा ‘रि-फ्युलिङ’ का सुविधा नहुँदा विमानहरु नियमित नहुनुका साथै यात्रुलाई भाडापनि बढी तिर्नु परिरहेको बुद्ध एयरले बताएको छ।

प्रदेशभित्र रहेका विमानस्थलहरुमा ‘रि-फ्युलिङ’ को व्यवस्थाका लागि पहल गर्न बुद्ध एयरले प्रदेश २ को सरकारलाई ध्यानाकर्षणसमेत गराएको छ। प्रदेश २ मा तीनवटा विमानस्थल रहेपनि ‘रि-फ्युलिङ’ को व्यवस्था नहुँदा ठुला कम्पनीका जहाजहरु सेवा दिन नचाहेको बुद्ध एयरको भनाइ छ।

बुद्ध एयरका जनकपुर प्रबन्धक विजयप्रसाद सिंहले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई बुझाएको ध्यानाकर्षण पत्रमा विमानस्थलहरुको स्तरोन्नती भएपनि ‘रि–फ्युलिङ’को सुविधा नहुँदा उडानहरुले नियमितता पाउन नसकेको उल्लेख छ।

प्रदेश २ को जनकपुर, राजविराज र सिमरा गरी तीन विमानस्थल रहेपनि ‘रि-फ्युलिङ’ र रात्रीकालीन उडानको व्यवस्था नहुँदा यात्रुलाई धेरै भाडा तिर्नुपर्ने अवस्था रहेको ध्यानाकर्षण पत्रमा जनाइएको छ।

‘रि–फ्युलिङ’को सुविधा उपलब्ध भएपछि बुद्ध एयर राजविराजमा सेवा सुचारु गर्न तयार रहेको भन्दै सिंहले त्यहाँबाट स्थानीयका साथै भारतीय यात्रुलाई समेत सेवा दिन सकिने बताए।

यसैगरी प्रदेश २ को राजधानी जनकपुर विमानस्थलमा समेत ‘रि–फ्युलिङ’ र रात्रीकालीन सेवा नहुँदा माग अनुसार उडान हुन नसकेको सिंहको भनाइ छ ।
‘रि-फ्युलिङ’ र रात्रीकालीन उडानको सुविधा भएपछि अन्य सेक्टरझैँ भाडा दरमा यात्रुलाई सहुलियत पुग्नुका साथै विमानसेवा समेत थप गर्न सकिने बुद्ध एयरको दाबी छ । रात्रीकालीन विमानसेवा सञ्चालन भएको अवस्थामा धार्मिक पर्यटनलाई टेवा पुग्ने उसले जनाएको छ।

यता प्रमुख व्यापारिक सहर वीरगंज नजिकै रहेको विमानस्थलमा पनि ‘रि-फ्युलिङ’ को सुविधा नहुँदा आवश्यकता अनुसार सेवा प्रवाह नहुँदा व्यापारी वर्गमा ठुलो समस्या देखिएको बुद्ध एयरले जनाएको छ।
 



प्रतिक्रिया