सांसदका पिएजत्ति सबै आफन्त

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/samsad_pradesh_1.jpg

इटहरी- प्रदेश १ मा सत्तापक्ष र  प्रमुख प्रतिपक्षका  प्रदेश सांसदहरुले परिवार र आफन्तलाई स्वकीय सचिव (पिए) बनाए पनि सना दलहरुले भने बनाएका छैनन् । प्रदेश १ का १४ जना नेकपाका सांसद र ७ जना नेपाली कांग्रेसका सांसदहरुले आफन्तलाई पिए बनाएका छन् । प्रदेश १ का नेकपाका ६७ र कांग्रेसका २१ जना छन् । 

संसादका पिए बन्नेमा सांसदका श्रीमती, छोरा, छोरी, बहिनी, ज्वाइँ, भतिज, नन्द, बुहारी, नातिलगायत नजिकका आफन्त छन् ।  हरेक महिनाको अन्तिम सातामा सांसदका पिएको सानिमा  बैंकको आफ्नो खातामा २३ हजार २ सय ६५ रुपैयाँ तलब जम्मा हुन्छ । 

यसरी सत्तापक्षको नेकपा र प्रमुख प्रतिपक्षको नेपाली कांग्रेसका सांसदहरूले पिएमा आफन्त नियुक्ति गरे पनि राप्रपा, संघीय लिम्बुवान मञ्च र संघीय समाजवादी फोरमका सांसदले आफन्तलाई पिए बनाएका छैनन् । 

लिम्बुवानकी सांसद विष्णुमाया तुम्बाहाम्फेले आफ्ना पार्टीका नेता केदारप्रसाद उप्रेतीलाई पिए बनाएकी छिन् । राप्रपाकी एक्ली सांसद इन्दिरा राईले आफ्नै पार्टीकी कार्यकर्ता अनुराधा श्रेष्ठलाई पिए बनाएकी छिन् । 

संघीय समाजवादी फोरमका संसदीय दलका नेता जयराम यादवले आफ्नै कार्यकर्ता राकेशरोशन यादवलाई पिए बनाएका छन् । थर मिले पनि सांसद यादवका आफन्त र परिवार सदस्य हैनन् राकेश रोशन । यस्तैगरी फोरकै सांसद आरसी तुम्बाले केदार धिमाल र सांसद राधा थापाले मीरा कार्कीलाई पिए बनाएकी छिन् । 

पिए बनाउन पार्टीकै निर्देशनमा पार्टीमा  सक्रियहरुलाई आफूहरुले बनाएको लिम्बुवान सांसद तुम्बाहाम्फे र राप्रपा सांसद राईले बताइन् । संघीय समाजवादी फोरमका प्रदेश १ का संसदीय दलका नेता जयराम यादवले आफन्त र परिवारभन्दा पार्टीका योग्यहरुलाई पिए बनाउने पार्टी नीतिअनुसार पिए बनाएको बताए । 

यी हुन् आफन्तलाई पिए बनाउने नेकपाका सांसद

१. आशारत्न जबेगू - विजयादेवी जबेगू (बहिनी)

२. तुलसीप्रसाद न्यौपाने - बिन्दु न्यौपाने (छोरी)

३. निरन राई - सरिता राई (बहिनी) 

४. वसन्तीदेवी यादव - अरबिन्दकुमार यादव (छोरा)

५. बुद्धिकुमार राजभण्डारी - दिनेश राजभण्डारी (भतिज)

६. मोहनकुमार खड्का - एकीन्द्रराज कटुवाल (ज्वाइँ)

७. सुनिता चौधरी- बिना चौधरी (भाइबुहारी)

८. सीता थेबे- शर्मिला थेबे (बहिनी)

९. काजीमान कागते- लाक्पादोर्जी कागते (छोरा)

१०. वृषबहादुर प्रधान- पुष्पा उप्रेती (छोरीकी नन्द)

११. श्रीप्रसाद मैनाली- धनपति मैनाली (भतिज) 

१२. ज्योति सुब्बा- कृतिका सुब्बा (नातिनी)

१३. पूर्णप्रसाद राई- भरतकुमार राई (भान्जा)

१४. सरिता थापा- उत्तरबहादुर खड्का (भतिज)

यी हुन् आफन्तलाई पिएमा भर्ना गर्ने कांग्रेस सांसद

१. प्रतापप्रकाश हाङगाम- डम्बर हाङगाम (भतिज)

२. मोहम्मद ताहिर मिया- असलम मिया (नाति)

३. बिन्दिया कार्की- रविनसिङ कार्की (छोरा) 

४. सन्जाकुमारी दनुवार- ज्ञानी दनुवार (भदै)

५. शान्ता पौडेल- प्रतिमा पौडेल (छोरी) 

६. शिवनारायण सिंह गनगाई- विनायक गनगाई (छोरा)

७. हिमाल कार्की- नताशा कार्की (श्रीमती)
 



प्रतिक्रिया