के साँच्चै देशको अवस्था खत्तमै छ ? 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Shreekrishn_Anirudddh_Gautam_raj.jpg

विभिन्न समाचार माध्यम र विशेष गरेर सामाजिक सञ्जाल हेर्दा लाग्छ, देश त खत्तमै हुन लाग्यो । जताततै निराशा, क्षोभ र अवशादको प्रचार प्रसार भइरहेको देखिन्छ । यो देश खत्तमै हुन लाग्यो, एक प्रकारको थेगै भएको छ । यो थेगो आजको जस्तो डिजिटल सञ्चार प्रविधि नहुँदा पनि थियो । यो आजैको मात्र रुवाइ होइन, धेरै पुरानो हो । तीन दशकअघि यस्तै सुनिन्थ्यो, आज पनि त्यही सुनिन्छ, खत्तम छ । सायद तीन दशकभन्दा पहिला पनि यस्तै सुनिन्थ्यो । देशलाई सधैं अस्तित्वकै संकट भएजस्तो, सधैं अविश्वास र शंका, यो हाम्रो मानसिकता हो कि यथार्थ नै यस्तै छ ? आज आफैंतिर फर्केर प्रश्न गर्न मन लागेको छ ।

एकथरी छन्, फलानो आऊ देश बचाऊ भन्नेहरू, मानौं देश आजै कि भोलि नै मर्दैछ । फलानो आएर बचाइदिने जस्तो, मानौं ऊ बचाउनै कुरेर बसेजस्तो । जबकि ती फलानाले शासन गरेका बेलाको देश नदेखेको होइन । तिनको शासनशैली र सीप पनि नदेखेको होइन । ती फलानाहरू आजकी राष्ट्रपति गजक्क परेर हिँडे जसरी नै हिँड्थे, झनै गजक्क । तिनका सवारी चल्दा कति सास्ती हुन्थ्यो सम्झनेलाई थाहा छ । हो, वर्तमान राष्ट्रपतिका यात्राले तिनै दुर्दिनको सम्झना अवश्य गराउँछ । फलानाहरू कसैलाई गन्दै गन्दैनथे । तिनले देशका पुरातात्त्विक महत्त्वका मूर्तिसम्म बाँकी राखेनन् । तिनीहरूबाट भएको सम्पदाहरूको एकलौटी शोषण देख्ने आँखाहरू आज पनि ज्युँदै छन् । 

ती फलानालाई महाराजा भन्थे नि, तिनलाई अंग्रेजीमा दयामाया नभएका 'ब्लु ब्लड' अर्थात् नीलो रगत भन्ने गरिन्छ । तिनीहरू राज्यलाई आफ्नो रैतान मान्थे र जनतालाई स्वत्व, स्वाभिमानहीन रैती । मानौं मानिस तिनैको चाकडीका लागि जन्मेका हुन् भन्ने ठान्थे र त्यसरी नै (दुर्) व्यवहार पनि गर्थे । यहाँ के ख्याल राख्नु जरुरी छ भने नेपालमा त्यसै गणतन्त्र आएको होइन, ती फलानाहरूले देशको शोषण र जनतामाथि गरेको अत्याचार चुलिएकाले आएको हो । नयाँ पुस्ताले हामी र हाम्रा पूर्वजले भोगेकाजस्ता दुर्दिन भोग्नु नपरोस् भन्ने ध्येयले गणतन्त्र स्थापना भएको हो । आफूले चुनेका प्रतिनिधिले फलानाहरूको आचरणको अनुकरण गरून् भनेर किमार्थ होइन । 

निश्चय नै आजका शासकहरूको चालचलन देख्दा कता कता तिनै फलानाहरूको झल्को आउँछ । किनभने यिनीहरूमा अझै लोकतान्त्रिक आचरण के हो, संस्कार र संस्कृति के हो भन्ने ज्ञान नभएको मात्र होइन राजसी विलासिता भनेको गतिलो देखिने, जनमानसबाट मानसम्मान पाइने आचरण हो भन्ने भ्रम छ । त्यसैले मन्त्रीहरूले राजआशीर्वाद प्राप्त विगतका भारदारहरूको आचरण र वर्तमान राष्ट्रपतिले पनि तिनै 'ब्लु ब्लड' को नकल गरेकी हुन् ।

हेलिकप्टरबाट कोदोबारीको अवलोकन गर्दा जमिनबाट हेलिकप्टर देख्नेले जयजयकार गर्छन् भन्ने ठानेकी हुन् । गरे त जयजयकार ? जयजयकार त परै, बरु छिछि र दुर्दुर गरे । आजकी राष्ट्रपतिले आफ्नो सवारी चलाउँदा सडकपेटीमा उभिएका मानिसले स्वस्तिवाचन गरिरहेका छन् भन्ठान्दी हुन् तर यथार्थमा सडकपेटीमा उभिनेहरूले घीन मानिरहेका हुन्छन् किनभने उनमा सर्वसाधारणले आफ्नो अनुहारको प्रतिबिम्ब देख्दैनन्, फलानाहरूको नकल देख्छन् ।
 

सुन काण्ड, निर्मला पन्तको बलात्कार र हत्या, होली वाइन सेवन, सांसद र मन्त्रीहरूको आर्थिक विचलन, वाइड बडी विमान खरिदमा आर्थिक अनियमितताजस्ता अनेक प्रकरणहरूका कारण सरकार हरेक मोर्चामा असफल हुँदै गएको प्रस्ट छ ।


राष्ट्रपतिलगायत वर्तमान राज्याधिकारीहरूको व्यवहारलाई 'कल्चरल ल्याग' अर्थात् सांस्कृतिक अन्तराल भन्नुपर्छ । विगतमा नीलो रगतवालाहरूलाई मानिसले गरेको जयजयकारको अवशेष वर्तमान शासकहरूमा विद्यमान रहेकाले उनीहरूलाई लाग्छ, त्यही नै पथ–पद्धति हो । यद्यपि, धेरैलाई सामान्य नेपाली परिवारबाट आएकी वर्तमान राष्ट्रपतिमा अलिकति त होस हुनुपर्ने भन्ने लाग्न सक्छ तर राष्ट्रपति स्वयं र उनको व्यवस्थापन गर्नेहरूमा राजोचित प्रदर्शन गर्दा, गराउँदा सम्मानित हुने भ्रम छ । 

यसलाई सांस्कृतिक अन्तरालका साथै 'कल्चरल डिफिसियन्सी' अर्थात् सांस्कृतिक दरिद्रता भन्नुपर्ने हुन्छ । लामो समयसम्म सुखभोगबाट वञ्चितहरूले जब भोगको अवसर पाउँछन्, तिनीहरू अत्यधिक र असुहाउँदो गरी प्रदर्शन गर्न थाल्छन् । यस्तो आचरणलाई मानिसले रुचाइरहेका छैनन् र रुचाउँदैनन् भन्ने ज्ञान न त राष्ट्रपतिमा भएको पाइयो, न उनको व्यवस्थापन गर्ने सरकार प्रमुखमा । यस्तो रुचाइँदैन किनभने यो लोकतन्त्र हो । यसको पथ–पद्धति फरक छ । यो पक्ष नबुझ्नाले तथा मनमा विलासिताको मोह रहेकाले उनीहरू नयाँ पद्धतिअनुसारको पथ अवलम्बन गर्न सकिरहेका छैनन् ।   

व्यवाहारिक भएर हेर्दा, अधिनायकवादी अतीत भएका मुलुकमा यो सांस्कृतिक अन्तराल र दरिद्रता रहेको पाइन्छ । पुराना आचरण र स्वभाव बदल्न, युगानुकूल तथा नागरिकको आँखामा नबिझाउने आचरण गर्न सर्वप्रथम त व्यक्ति आफैंमा सजगता र तत्परता चाहिन्छ । स्वतःस्फूर्त सजगता र तत्परता भएन भने नागरिक के भन्दैछन्, सञ्चारमाध्यमहरूमा के कस्ता टीकाटिप्पणी भइरहेका छन् भन्ने हेर्नु बुझ्नुपर्छ र सच्चिनुपर्छ । आफू के थिएँ, कुन पृष्ठभूमिबाट आएको हुँ भन्ने विचार गर्नुपर्छ, आफूमाथि पुनरावलोकन गर्नुपर्छ । 

आफैं बुझ्नुपर्छ, व्यवस्था बदल्नुको अर्थ केवल अनुहार बदल्नु होइन, व्यवस्थाले मागेजस्तो आचरण पनि हो । राजसी विलासिताको संस्कार र लोकतन्त्रको संस्कार एकै किसिमको हुँदैन । लोकतन्त्रले शासकहरूमा सरलता खोज्छ, राज्यको धनमाथि राज गर्दा शासकहरू किफायती बनून् भन्ने कामना गरिन्छ किनभने त्यो जनताका रगतपसिनाको कमाइ हो । लोकतन्त्रमा जनताले शासकमा नीलो–रगत होइन आफ्नै अनुहार खोज्छन् । त्यसैले शासक सच्चिनुको विकल्प हुँदैन ।  



अब प्रश्न उठ्छ, नसच्चिए के हुन्छ ? नसच्चिँदा विस्थापन हुन्छ र विस्थापनका निम्ति प्रचलित तीनवटा तरिका हुने गर्छन् । पहिलो तरिका हो विधिसम्मत । दोस्रो विधि व्यवस्थामा जोडतोड गर्दै त्यसको अपव्याख्या गरेर, गराएर तथा तेस्रो हो, नागरिक आक्रोशलाई भँजाएर गरिने प्रतिक्रान्तिबाट । आवधिक जनादेशबाट बनेको संसद् छ । संसदमा सत्ताधारी पार्टीको झन्डै दुई तिहाइ बहुमत छ । विधिसम्मत ढंगले त कसैले विस्थापित गर्नै सक्दैन भन्ने देखिन्छ । तर दुई तिहाइको दम्भमा परेर कसैले केही गर्नै सक्दैन भन्दै फलाक्न र नागरिककै अवमूल्यन गर्न थालियो भने जस्तो कि अहिले गरिँदैछ एकातिर जनता विपरीत हुँदै जान्छन् र अर्कातिर जोडतोडले संसदीय समीकरण बदल्ने यत्न हुन थाल्छ । सरकारप्रति जनताको स्नेहभावमा स्खलन आइरहन्छ एकातिर भने अर्कातिर सत्ताधारी पार्टीभित्र असन्तोष सघन हुँदै जान्छ ।

साथै, अर्को फलानो आऊ देश बचाऊ भन्ने तत्त्व पनि पालिराखिएको छ र त्यसका वरिपरि एउटा झुण्ड छ, जो वर्तमान पद्धति असफल होस् र फर्किने मार्गप्रशस्त होस् भनेर पूजाअर्चना गर्छ । तर त्यो वास्तवमा एउटा हौवा मात्र हो किनभने फलानामा आफैंमा न त्यति शक्ति छ, न त सामथ्र्य नै । कसैले बोकेर गद्दीमा बसलिदेओस् भन्ने कामना गर्नुका अतिरिक्त ऊसित कुनै संयन्त्र छैन । संयन्त्र नै भए पनि थोत्रा पूर्वपञ्चहरूको एउटा नगण्य जमात छ । तिनले हुँदाछँदाको अवसरको त सदुपयोग गर्न सकेनन् भने अब आएर सबै अंगहरू शिथिल भएको अवस्थामा कुनै ठूलै उद्योग गर्लान् भन्नु नै मूर्खता हो । तर यसको अर्थ प्रतिक्रान्ति हुँदै–हुँदैन भन्नेचाहिँ होइन । यहाँ भन्न के खोजेको भने जुन फलानोलाई देखाइँदैछ, त्यो पात्रबाट हुँदैन भनेको हो । अर्थात् होस गर शासकहरू, प्रतिक्रान्ति हुने अरू पनि ठेगाना छन् । 

वर्तमान सत्ताको दम्भ र अहंकार यथावत् रह्यो, लोकतन्त्रोचित व्यवहार भएन भने निर्बाध राजनीतिक स्थायित्व सुनिश्चित हुन सक्दैन, यो पक्का छ । निश्चय नै पहिलो अनुच्छेदमा चर्चा गरेजस्तै देश खत्तमै भएको होइन । तर आचरण सुध्रिएन, सरकार सच्चिएन, प्रधानमन्त्रीले आफ्ना वाणीमा नियन्त्रण राख्ने कला सिकेनन् तथा राष्ट्रपतिको राजसी प्रदर्शन यस्तै बेरोकटोक कायमै रह्यो भने गएका अनुच्छेदमा उल्लेख गरिएका तीनमध्ये एक विकल्पले शिर अवश्य उठाउनेछ ।
 
किनभने सुन काण्ड, निर्मला पन्तको बलात्कार र हत्या, होली वाइन सेवन, सांसद र मन्त्रीहरूको आर्थिक विचलन, वाइड बडी विमान खरिदमा आर्थिक अनियमितताजस्ता अनेक प्रकरणहरूका कारण सरकार हरेक मोर्चामा असफल हुँदै गएको प्रस्ट छ । साथसाथै प्रस्तुति र आचरणमा पनि अहंकार र दम्भ प्रदर्शन भइरहँदा हो न हो, सरकारको आयु पुग्यो भन्ने सन्देश गएकै छ  । 

वास्तवमा राज्य सञ्चालनमा पुग्नेहरूको लगातारको असुहाउँदो प्रस्तुति, व्यवहार र आचरणका कारण धेरैजसोको मुखैमा खत्तमै छ भन्ने थेगो बसेको हो । खत्तमै छ भन्ने न्यारेटिभ नबदली सकारात्मक सन्देश जाँदैन । न्यारेटिभ बदल्ने उपाय अरू केही होइन, शासकमा विनम्रता हो । शब्दमा मात्र होइन व्यवहारमा पनि लोकतन्त्र सुहाउँदो आचरण, दम्भ र अहंकारहीन कार्यप्रदर्शन नै हो । 

 



प्रतिक्रिया