पढेका कम्युनिस्ट ठीक कि देखेका?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/shanti_krishna_adhikari_bikash_r.jpg

मैले पढेका कम्युनिस्ट

विकिपेडियाले भन्छ – राजनीतिशास्त्र र समाजशास्त्रमा कम्युनिज्म भनेको त्यस्तो दार्शनिक, राजनीतिक, सामाजिक र आर्थिक विचार एवं आन्दोलन हो जसले अन्तिम उद्देश्य उत्पादनका साधनहरुमा साझा अधिकार स्थापित गर्दै वर्गविहीन राज्य र समाज निर्माण गर्ने अन्तिम लक्ष्य राख्दछ। 

विचारक कृष्णदास श्रेष्ठले भनेका छन् - कम्युनिस्ट त्यस्तो व्यक्तिलाई भनिन्छ जो शोषण र उत्पीडनमा आधारित सामाजिक व्यवस्थाको उन्मूलन गरी शोषणरहित, वर्गविहीन तथा समृद्ध समाज निर्माण गर्ने संघर्षमा संलग्न हुन्छ। कम्युनिस्ट भनेका सर्वहारा वर्गको राजनीतिक पार्टीको सदस्यका हैसियतबाट राजनीतिक क्षेत्रमा क्रियाशील कार्यकर्ता हुन्। यहाँ कुन कुरा ध्यानयोग्य छ भने जो कोहीले आफू कम्युनिस्ट हुँ भन्दैमा ऊ कम्युनिस्ट भन्ने प्रमाणित हुँदैन। 

हामीले सुन्दै र पढ्दै आएको कुरा हो, कम्युनिज्म एउटा त्यस्तो विचार हो, जसले निजी स्वामित्वको अन्त्य गर्दै आर्थिक समानताको लक्ष्य राखेको हुन्छ। कम्युनिस्ट दर्शनका प्रतिपादक कार्ल माक्र्सले नै भनेका छन् – कम्युनिज्मको सिद्धान्तलाई एकै वाक्यमा संश्लेषण गर्ने हो भने निजी सम्पत्तिको अन्त्य नै हो। चीनका राष्ट्रपति सी जिनपिङले पनि केही समयअघि भनेका थिए व्यक्तिगत सम्पत्ति थुपार्ने कम्युनिस्ट हुन सक्दैन।

कम्युनिस्ट विचारअनुसार पुँजीवादमा उत्पादनका साधनहरु (व्यापार, व्यवसाय, उद्योग, कलकारखाना) आदिमा निजी स्वामित्व रहन्छ, मालिकबाट मजदुरको शोषण हुन्छ र धनी झन्झन् धनी हुने र गरिब अझै गरिब हुने क्रम बढ्छ। शोषक र शासित वर्गका बीचमा विभेद हुन थाल्छ। आर्थिक असमानता सिर्जना हुन्छ। यसमा पुँजीवादी र साम्यवादीबीच विवाद अद्यापि छ। यद्यपि यसैको प्रतिवादमा कार्ल माक्र्सले प्रतिपादन गरेको विचारलाई कम्युनिस्टहरुले आदर्शका रुपमा प्रस्तुत गर्दै आएका छन्। जसको मूल विशेषता भनेकै व्यक्तिगत सम्पत्ति अन्त्य गर्नु हो। व्यक्तिको अधिकारमा केही पनि रहँदैन सिवाय उसका आवश्यकताहरु। कसैले पनि कुनै निजी व्यवसाय सञ्चालन गर्न पाउँदैन। 
अहिलेका प्रधानमन्त्री, मन्त्री सच्चा कम्युनिस्ट हुन् भने सम्पत्ति विवरणमा प्रस्तुत गरेको सम्पत्ति पक्कै पनि राज्यलाई सुम्पेर साम्यवादको मार्गमा राज्यलाई अग्रसर गराउँछन्, सबैले प्रतीक्षा गरौँ। होइन भने ठोकुवा गरोँ, नेपालमा कोही पनि कम्युनिस्ट छैन, यो जनता ठग्नका लागि साधन मात्र हो।

कम्युनिज्म र समाजवाद कतिपय विषयमा उस्ताउस्तै देखिन्छन् तर पनि कम्युनिस्टहरु आफूलाई समाजवादीभन्दा भिन्न देखाउने प्रयत्न गर्छन्। दुवै दर्शनले आर्थिक समानता र अधिकांश उत्पादन एवं सेवामा राज्यको सम्प्रभुता स्वीकार्छन्। तथापि समाजवादलाई धेरैै जसो प्रजातान्त्रिक पुँजीवादी मुलुकहरुले अँगालेको पाइन्छ। प्रायः पुँजीवादी मुलुकहरुमा समाजवादी विशेषता भेटिन्छ, जस्तै : सामुदायिक विद्यालय, सामाजिक सुरक्षा आदि। कम्युनिस्टहरु भने पुँजीवादी आर्थिक र राजनीतिक प्रणालीलाई जरैदेखि आन्दोलनमार्फत उखेलेर फाल्ने कुरा गर्छन्। मजदुरहरु मालिकविरुद्धमा जुटी माथि उठ्नुपर्दछ र नयाँ समाज निर्माण गरी निजी सम्पत्ति अन्त्य र वर्गविहीन समाज स्थापना गर्नुपर्छ भन्ने नै मूल आदर्शका रुपमा अङ्गीकार गर्दछन्।

कम्युनिस्टहरु आफूलाई सर्वहारावर्गको प्रतिनिधि ठान्छन्। आफूलाई क्रान्तिकारी मान्दछन्, अरु क्रान्तिकारीभन्दा बढी क्रान्तिकारी। क्रान्तिकारी जोसुकै पनि हुन सक्दछ, तर कम्युनिस्टको र अन्यको लक्ष्य फरक ठान्छन्। अरु क्रान्तिकारीहरुको अन्तिम लक्ष्य सामन्ती व्यवस्थाको अन्त्यसम्म मात्र हो भने कम्युनिस्टहरुको लक्ष्य वर्गविहीन समाज निर्माण हो भन्ने भेद गर्दछन्। असम्भव तर गरिब जनतालाई भूलभूलैयामा राखी आकर्षित गरी रहन सक्ने समानताको नारा फलाकी रहने नै असली कम्युनिस्ट मान्छन्।

कम्युनिस्ट मेनिफेस्टोमा कार्ल माक्र्सले लेखेकै छन् – शासक वर्गलाई कम्युनिस्ट आन्दोलनबाट थर्काऔँ। श्रमजीवीसँग हथकडीबाहेक गुमाउनुपर्ने कही छैन, बरु जित्नका लागि संसार छ। विश्वभरिका श्रमजीवी एक होऔँ। यस्ता कुराबाट के पुष्टि हुन्छ भने कम्युनिस्ट राजनीतिका मूल आधार श्रमिक वर्ग र गरिब जनता हुन्। जुन मुलुकमा गरिब जनता रहँदैनन्, त्यहाँ कम्युनिस्टहरुको अस्तित्व रहन कठिन पर्छ। त्यसैले पनि विकास र समृद्धि कम्युनिस्टको योजनामा रहँदैन, गरिबी बाँड्नुमै आफ्नो कल्याण देख्दछन् भन्ने आरोप कम्युनिस्टमाथि लाग्ने गरेको छ।

कम्युनिस्ट पार्टीमा रहेर काम गरेका अमेरिकी पत्रकार ह्विट्टेकर च्याम्बर्सले भनेका छन् – कम्युनिस्ट विचार भनेका ईश्वरबिनाको मानिसको विचार हो। धर्मलाई कम्युनिस्टहरु अफिम मान्दछन्। ईश्वर, भगवान्, देउता, धर्म आदि कम्युनिस्टको हृदयमा हुँदैन। रूढिवादलाई अन्धविश्वास मान्छन् र द्वन्द्वात्मक भौतिकवाद नै उनीहरुको धर्म हो। 

यिनै दर्शनबाट प्रभावित नेपालका कम्युनिस्टहरुसमेत (पञ्चायतअघिसम्म) आफूलाई क्रान्तिकारी देखाउने प्रयत्न गर्दथे। संघर्ष हो जीवन, जीवन संघर्ष हो जस्ता गीत गाउँदै हिँड्थे। गरिब जनताका सेवामा आफूलाई समर्पित भएको प्रमाणित गर्न गाउँगाउँका विद्यालयमा गएर पढाउँथे। गरिब जनताका सुखदुःखमा हातेमालो गर्दै संगठनलाई बढाउने प्रयास गर्थे। कम्युनिस्ट भनेका गरिब जनताका प्रतिनिधि हुन् र गरिब जनता भनेकै कम्युनिस्ट हुन् भन्ने पुष्टि गर्न संघर्षशील रहन्थे। नेपाली परम्परामा रहेका धर्मसंस्कारहरु भत्काउन अनेकन् क्रियाकलापहरु गरिरहन्थे। सहर र पढे लेखेका जनता भएका ठाउँहरुभन्दा अनपढ र अशिक्षित समाज नै उनीहरुको राजनीतिको केन्द्र रहन्थ्यो।

मैले देखेका कम्युनिस्ट

https://www.nicasiabank.com/
२०४७ सालअघि नेपालमा कम्युनिस्टहरु रहे तापनि खुलेयाम देख्ने अवसर प्राप्त भएन। उनीहरु भूमिगत राजनीति गर्थे। नेपालका दुर्गम भूभागहरुमा पकड जमाएका थिए तर पनि जोकोहीले यो कम्युनिस्ट हो भनेर पहिचान गर्ने अवस्था थिएन। २०४६ को जनआन्दोलनमा सहभागी भएपछि कम्युनिस्टहरु खुला रूपमा आए र सबै नेपालीले देख्ने अवसर पाए। मदन भण्डारी भन्ने मान्छे कस्ता छन् भनेर हेर्नै पनि भीड लाग्ने गरेको थियो त्यतिबेला।

२०४८ मा आमनिर्वाचन भयो। अर्घाखाँचीमा मोदनाथ प्रश्रित चुनाव लडेका थिए। कुरा कति सत्य हो थाह छैन, त्यतिबेला सुन्नमा आएको थियो, कथित दलित बस्तीमा जाँदा जनै फुकाल्थे रे र बाहुनक्षेत्रीको घरमा जाँदा जनै लगाएर जान्थे भन्ने विपक्षीले आरोप लगाएका थिए। यो कुरा असत्य होस्, होइन भने यसले कम्युनिस्टहरुलाई ढोँगी राजनीतिको नायक बनाउँछ। तर सत्य के हो भने राजनीति गरुन्जेल नेपाली परम्पराका धर्मसंस्कृतिविरुद्ध लागेका यिनै प्रश्रित अहिले राजनीतिबाट टाढा भएर धार्मिक प्रवृत्तिका बनेका छन्। केशव स्थापितले आफंै भनेका थिए – विद्या भण्डारीलाई चुनाव जिताउन उनको सेतो सारीमा अबिर छर्कन लगाउने मै हुँ भनेर। झूटको खेतीको पुष्टि यसबाट हुन्छ साथै गाउँलेलाई सेतो सारी लगाउन पर्दैन भन्नेले आफैं किन लगाएको ? यो प्रश्न पनि अहं छ।

२०५२ देखि माओवादीले सशस्त्र विद्रोह आरम्भ गरेर १० वर्षपछि हतियार बिसायो। क्रियापुत्रीहरुलाई क्रिया बस्न दिएनन्, गरिबका नाममा राजनीति गर्ने भन्दै गाउँ गाउँबाट गरिब जनतालाई नै लखेटे। हजारौँ गरिब नारी विधवा बने, हजारौँ बालबच्चा टुहुरा भए, लाखौँ जनता घरबारविहीन हुन पुगे। संक्रमणकालको फाइदा उठाएर व्यापारीहरु झन् धनी भए भने गरिब जनता भोकभोकै बस्न बाध्य हुन पर्‍यो। माओवादीका नेताहरु विलासी हुन पुगे। उनीहरुकै घर ठूलो, गाडी आरामदायी, बैँक ब्यालेन्स टन्न। २०६३ पछिको माओवादी प्रचण्डका निकटहरु वा उनको सरकार हुँदा नियुक्त गरेका व्यक्तिहरु हेर्ने हो भने पनि पञ्चायत काल र त्यसपछि मोजमस्ती लुटेका सम्पन्नहरु पनि रहनुलाई के भन्ने? 

अस्ति भर्खरै म्याग्दीमा हेलिकप्टर चढेर तातोपानीमा डुब्ने र पछि मन्दिरमा आरती गर्ने प्रचण्डले आफूले लखेटेका क्रियापुत्रीहरुसमक्ष माफी मागेको कतै सुनिएको छैन। अलि पहिले भैँसी पूजासमेत गरेका यिनले मन्दिर भत्काएकोमा पश्चात्ताप गरेका पनि छ्रैनन्। आफु लुकीलुकी वा हाकाहाकी पढ्ने तर जनताका छोराछोरीलाई बुर्जुवा शिक्षा भनी विद्यालय जान नदिने चरित्र नेपालका कम्युनिस्टहरुमा देखियो। धर्मलाई अफीम भनेर नागरिकलाई भड्काउनेहरुले होली वाइनको स्वाद चाखेको सबैले देखे। प्रधानमन्त्री, मन्त्री हुँदा बोको चढाएर देवीको पूजा गरेको पनि छिपेको छैन।

केपी ओली सरकारको मन्त्रिपरिषद्का सदस्यहरुले पेस गरेको विवरण हेर्दा गरिब जनता कम्युनिस्ट पार्टीको सदस्य हुनै सक्दैन। कम्तीमा पचास लाख बैँकमा छ भने मन्त्री हुने आँट गर्नु होइन भने नेकपाको राजनीतिमै नआउनु भन्न खोजेजस्तो देखिन्छ। सर्वहारावर्गको नेतृत्व गर्ने र गरिबहरुको पार्टी भन्ने नेपालको कम्युनिस्ट पार्टीमा विश्वमै अर्बपति भनेर चिनिएका चौधरी केही अघिसम्म थिए। भर्खरै कांग्रेस प्रवेश गरेका छन्। पार्टी अफिसै दान दिन सक्ने त्यहीँ छन्।

बुर्जुवा शिक्षा भनेर जनताका छोराछोरीलाई भड्काउने तर त्यही शिक्षा प्रदान गर्न खोलिएका अधिकांश निजी विद्यालयका मालिक कम्युनिस्ट नै छन्। निजी अस्पताल, जसले बिरामीको उपचारभन्दा बढी व्यापार गर्दछन्, तिनका संस्थापक प्रजातन्त्रवादी होइनन्, नेकपाकै सदस्य छन्। एकातिर निजीकरणको विरोध गर्ने अर्कोतर्फ तिनैको संरक्षण, यो कस्तो नीति हो ? सामान्य नागरिकले बुझ्न कठिन छ।

देखेका कुरा सबै उल्लेख गर्न यो सानो आलेखमा सम्भव छैन। सारमा भन्दा सादा जीवनको दुहाई दिने नेतृत्वमा देखिएका नेपालका कम्युनिस्टहरु अहिले सौखिन जीवनको अनुयायी बनेका छन्। कपडा ब्रान्डेड नै चाहिने, घर ठूलै चाहिने, गाडी महँगै चढ्नुपर्ने, सर्वसाधारण जनतासँग भन्दा व्यापारी, उद्योगपति, भ्रष्टाचारीहरु सँगै रमाउने भएका छन्। पद र पैसाका लागि कम्युनिस्ट आदर्शलाई जहाँ जतिबेला पनि तिलाञ्जली दिन तयार देखिन्छन्। गाउँ टोलमा ठूलो घर देखेर कसको भनी सोध्यो भने कम्युनिस्टकै छ। पजेरो प्राडोभित्रको व्यक्ति को हो भन्यो भने कम्युनिस्ट नै हुन्छ। महँगो रेस्टुरेन्टमा ब्ल्याक लेभल पिउँदै गरेको को हो भन्यो भने त्यो पनि कम्युनिस्ट नै हुन थालेको छ हाम्रो नेपालमा। घनश्याम भुसालहरु पाखा र गुन्डागर्दीका नाइकेहरुलाई काखामा राख्ने पार्टीका बारेमा धेरै चर्चा नगरौँ। यस्तै भएर होला कम्युनिस्टबारे केही नेता तथा विद्वान्हरुले समयसमयमा विविध विचारहरु व्यक्त गरेका थिए, ती भनाइहरु यहाँ प्रस्तुत गरेको छु।

कम्युनिस्टबारे केही

ब्राजिलका रोमन क्याथोलिक पादरी डोम हेइडर क्यामराले भनेका थिए– मैले गरिबलाई खानेकुरा दिएँ भने उनीहरुले मलाई सन्त या महात्मा भन्दछन् तर उनीहरुले किन खान पाएनन् भनेर प्रश्न गरेँ भने मलाई कम्युनिस्ट भन्दछन्। उनको यो भनाइमा कम्युनिस्टहरुप्रति ठूलै व्यंग्य गरिएको छ। आवाज उठाउने मात्रै गर्दछन् कम्युनिस्टहरुले, समाधान गर्दैनन् भन्ने आशय झल्किन्छ।

अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनको त्यस्तै रोचक भनाइ छ, जो माक्र्स र लेनिनलाई पढ्छ ऊ कम्युनिस्ट हो र जसले माक्र्स र लेनिनलाई बुझ्दछ, ऊ गैरकम्युनिस्ट हो। जर्मन कवि हेनरिक हेइनका अनुसार सर्वसाधारणले बुझ्ने भोक, ईष्र्या, र मृत्युजस्ता शब्दहरुबाट कम्युनिज्म बनेको छ। कम्युनिस्टहरुका आदर्शपुरुष फिडेल क्यास्ट्रोले भनेका छन् – पूर्ण रूपमा योजनाबद्ध अर्थतन्त्रमा कम्युनिज्म र माक्र्सवाद पाइन्न बरु त्यहाँ प्रतिनिधिमूलक प्रजातन्त्र र सामाजिक न्याय हुन्छ। विन्स्टन चर्चिलको भनाइ भने अत्यन्त डरलाग्दो छ। उनले भनेका छन् – कम्युनिस्ट भनेका गोही जस्ता हुन्, यसले मुख बाउँदा हाँस्न खोजेको हो कि तिमीलाई खान खोज्दै छ, पत्तै पाउँदैनौ।

स्टालिन एक्लैको कार्यकालमा मारिएका मानिसहरुका बारेमा विभिन्न भनाइ पाइन्छन्, तैपनि कम्ती लेख्नेले २० लाख भनेका छन् भने बढी लेख्नेले साठी लाख। विकिपेडियामा भेटिन्छ – सन् २०१७ मा द वाल स्ट्रिट जर्नलमा प्राध्यापक स्टेफेन कोट्किनले उल्लेख गरेअनुसार सन् १९१७ देखि २०१७ का बीचमा कम्युनिज्मले कम्तीमा ६५ लाख ज्यान लिएको कुरा उल्लेख गरेका छन्।

अन्त्यमा,

नेपालमा अहिले कम्युनिस्टहरुको बलियो सरकार छ। मैले पढेका जस्ता कम्युनिस्ट छन् कि मैले देखेका जस्ता वा विभिन्न विद्वान् या राजनीतिज्ञहरुले भने जस्ता, यो केलाउने जिम्मा पाठकहरुकै। तर मैले बुझेको कम्युनिज्म के हो भने व्यक्तिले आफ्नो बारीमा फल फलाउन सक्छ तर त्यो फल उसको हुँदैन, राज्यको हुन्छ। अहिलेका प्रधानमन्त्री, मन्त्री सच्चा कम्युनिस्ट हुन् भने सम्पत्ति विवरणमा प्रस्तुत गरेको सम्पत्ति पक्कै पनि राज्यलाई सुम्पेर साम्यवादको मार्गमा राज्यलाई अग्रसर गराउँछन्, सबैले प्रतीक्षा गरौँ। होइन भने ठोकुवा गरोँ, नेपालमा कोही पनि कम्युनिस्ट छैन, यो जनता ठग्नका लागि साधन मात्र हो।

प्रतिक्रिया