सेयर कारोबारमा अनलाइन : यस्तो छ व्यावहारिक प्रयोग

/assets/plugins/bower_components/fileman/Uploads/post_images/December/dilip_manankarmi_online_new_1_ns.jpg

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ०७५ पुस १७ गते नेपाली सेयरबजारका लगानीकर्ताले धितोपत्र दलाल (ब्रोकर) को कार्यालय नगई घर वा कार्यालयमा बसेर इन्टरनेट जडित कम्प्युटर, ट्याबलेट वा मोबाइल फोनजस्ता उपकरणमार्फत सेयर किनबेच गर्ने सुविधा दिने जनाएको छ । हुन त २०७५ कात्तिक २० गते अर्थमन्त्रीले उद्घाटन गरी शुभारम्भ गरिएको अनलाइन कारोबार प्रणाली कार्यान्वयन हुने क्रममा विभिन्न प्राविधिक तथा व्यावहारिक समस्या देखिँदै आएको छ । यसै सन्दर्भमा नेप्सेले एक सूचना जारी गरी निम्न कामहरू गर्न अनुरोध गरेको छ :

१.    लगानीकर्ताले आफ्नो ब्रोकरकहाँ खोलेको कारोबार खाता र केवाइसी अद्यावधिक गर्ने ।

२.    हितग्राही खाता (डिम्याट) सम्बन्धी विवरण अद्यावधिक गर्ने ।

३.    एक हितग्राही खातासँग एउटा मात्रै कारोबार खाता आबद्ध गर्ने ।

४.    नेप्सेले तोकेको राफासाफ बैंकमा कारोबारका लागि अलग्गै खाता खोली ब्रोकरसँग रकमान्तर गर्ने व्यवस्था मिलाउने । यस्तो बैंकबाट ई–बैंकिङ सुविधा अनिवार्य रूपमा लिने ।

५.    ब्रोकरलाई अनिवार्य रुपमा आफूले चलाइरहेको इमेल उपलब्ध गराउने ।

६.    ब्रोकर कार्यालयमा गई अनिवार्य रुपमा तोकिएको 'कारोबार सदस्य–ग्राहक सम्झौता गर्ने ।

७.    आवश्यकताअनुसार रकम जम्मा गरी ब्रोकरबाट कारोबार सीमा लिने ।

८.    कारोबारबाट बाँकी रकम बैंकिङ प्रणालीमार्फत फिर्ता लिन ब्रोकरलाई अनुरोध पठाउने। यस्तो अनुरोध पठाएको २४ घन्टाभित्रै रकम प्राप्त भएको सुनिश्चित गर्ने ।

९.    हितग्राही खातामा रहेको फ्री ब्यालेन्स मात्र बिक्री गर्न सकिने । धितो राखेको वा रोक्का रहेको धितोपत्र बिक्री नगर्ने । धितोमा रहेको वा लकिङमा रहेको सेयर नबेच्ने ।

१०.    बिक्री कारोबार भएको भोलिपल्टसम्म बिक्रीबमोजिमको ई–डिआएस ब्रोकरलाई उपलब्ध गराउने ।

तत्काल अनलाइन कारोबार गर्न चाहने लगानीकर्ता वा कारोबारीले उल्लिखित कार्यभारको मुख्य जिम्मेवारी (क) ब्रोकर कहाँ आफ्नो वैयक्तिक विवरण, ठेगान, बैंक खाता, डिम्याट खाता, इमेल, कारोबार रकमको स्रोतसमेत केवाइसी (नो योर कस्टमर) विवरण अपडेट गर्ने, (ख) नेप्सेबाट तोकिएका राफसाफ बैंकहरू ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट, प्रभु वा सिद्धार्थ बैंकमध्ये कुनै एकमा गएर खाता खोल्ने र सोही खाता नम्बर ब्रोकरकहाँ रहेको केवाइसी र सम्झौतामा पनि उल्लेख गर्ने र (ग) आफूले कारोबार गर्ने औसत रकमका आधारमा ब्रोकरसँग सम्झौता गरेर कारोबार रकमको सीमा, युजर नेम र पासवर्ड लिने । तोकिएको सर्त पूरा गरेका लगानीकर्तालाई कारोबार प्रक्रिया र सहजीकरणका लागि त्यससम्बन्धी म्यानुअल तथा ब्रोकरसँगको सम्झौताको खाका नेप्सेको वेबसाइट www.nepalstock.com.np मा उपलब्ध गराएको छ ।
 

अनलाइनको मुख्य उद्देश्य काठमाडौं केन्द्रित पुँजी बजारलाई प्रविधिका माध्यमबाट देशका सबै नागरिकको हातमा पुर्‍याउनु हो ।


अनलाइनका फाइदा

अनलाइनको मुख्य उद्देश्य काठमाडौं केन्द्रित पुँजी बजारलाई प्रविधिका माध्यमबाट देशको नागरिकको हातमा पुर्‍याउनु रहेको देखिन्छ । यसले सञ्चार प्रविधिको प्रयोग गरी क) सेयर कारोबारका लागि ब्रोकरमा निर्भर लगानीकर्तालाई तत्क्षण आफैंले कारोबार प्रणालीमा प्रवेश गरी कारोबार गर्ने, ख) ब्रोकरकहाँ नियमित सम्पर्क र समन्वयमा रहन नसक्ने लगानीकर्तालाई आफ्नो अनुकूल स्थानबाट सेयर किनबेच गर्ने अवसर र पहुँच उपलब्ध हुनेछ । बिदाको दिनबाहेक आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेको बजार समयभित्र आफूले चाहेको कम्पनीका सेयर किनबेच गरी आफ्नो नाफाघाटा बुक गर्न सक्नेछन् भने ब्रोकरकहाँ पुग्न नसकेर, सम्पर्क हुन नसकेर, ब्रोकरको प्राथमिकतामा नपरेको आधारमा सेयर किनबेच हुन नसक्दाको जोखिम र नाफाघाटा प्रविधिको माध्यमबाट आफैं कार्यान्वयन गर्दै जोखिम र मुनाफा व्यवस्थापनको अवसर, पहुँच र क्षमता बढ्न सक्नेछ । लगानीकर्ताहरूले आफूमा अन्तनिर्हित क्षमता र प्रविधिले उपलब्ध गराउने पहुँचको उपयोग गरी बजारमा उपलब्ध अवसरको सदुपयोग गर्न अनलाइन कारोबार प्रणाली निकै सहयोगी हुनेछ ।

अनलाइन सिर्जित सीमा

हुन त अहिले ब्रोकरमार्फत कारोबार गर्नसमेत इमेल, बैंक खाता, डिम्याट खाता हुनु अनिवार्य भए पनि अनलाइन कारोबारका लागि कम्प्युटर, ट्याबलेट वा मोबाइल सञ्चालन र वेबसाइटमार्फत कारोबार गर्ने प्रविधिगत सीप पनि हुनुपर्नेछ । प्रविधिमा पहुँच र प्रविधि प्रयोगको सीप नभएका लगानीकर्ताहरूको अनलाइन कारोबारमा पहुँच कठिन मात्र होइन थप जोखिमपूर्ण हुनेछ । अर्थात् प्रविधिगत सीप र पहुँच भएका र नभएका लगानीकर्ताबीच कारोबार प्रणालीमा पहुँचगत विभाजनको नयाँ रेखा कोरिनेछ ।

प्रविधिमा पहुँच र सीप भएका लगानीकर्ताहरूका लागि समेत प्रविधिमार्फत सेयर किनबेचमा सहजतासँगै क) अहिलेजस्तो धेरैवटा ब्रोकरसँग कारोबार गर्न पाइने छैन, ख) निश्चित ब्रोकरसँग सम्झौता गरी कारोबार रकमको सीमा (लिमिट) लिनुपर्नेछ, ग) तोकिएको सीमाभित्र मात्र कारोबार गर्न पाइनेछ, घ) चाहेको सीमाको कम्तीमा २५ प्रतिशत रकम वा धितोपत्र ब्रोकरकहाँ धितो वा जमानतका रुपमा जम्मा गर्नुपर्नेछ । सम्बन्ध वा साखको आधारमा अनिश्चित रकम कारोबार गर्दै आएका लगानीकर्ता अब सम्झौताअनुसारको निश्चित रकमको कारोबार सीमाभित्र बाँधिनुपर्नेछ । यसका साथै क) प्रविधिगत अवरोध अर्थात् दूर सञ्चारमा माध्यमको गुणस्तर र क्षमता, ख) व्यक्तिगत विश्लेषण र किनबेच निर्णय क्षमताजस्ता बहुआयामिक पक्षहरूले समेत सेयर किनबेचमा प्राविधिक तथा मनोगत सीमा कोर्ने सम्भावना रहन्छ । 

अहिले कार्यान्वयनमा आउने पूर्ण स्वचालित बताइएको अनलाइन कारोबार प्रणाली विद्यमान कानुन र नीतिनियमका कारणसमेत अन्तर्राष्ट्रिय स्तरको पूर्ण स्वचालित भने हुने छैन । यस प्रणालीबाट कारोबार गर्न तोकिएको बैंकमै खाता सञ्चालन गर्नुपर्नेछ भने सम्बन्धित डिम्याट खाताबाट सेयर र बैंक खाताबाट रकम थपघट हुनेछैन । किन्नेले ई–बैंकिङ प्रविधिमार्फत सम्बन्धित ब्रोकरको खातामा रकम हस्तान्तरण गर्नुपर्नेछ भने बेचेको अवस्थामा अर्को दिनसम्ममा बेचेको कित्ता सेयर ई–डिआइएसमार्फत सम्बन्धित ब्रोकरलाई हस्तान्तरण (ट्रान्सफर) गर्नुपर्नेछ भने ब्रोकरले बिक्रेताको खातामा नै रकम ट्रान्सफर गरिदिनेछ । यसको मतलव तत्कालका लागि सेयर र रकम हस्तान्तरण स्वचालित हुनेछैन । यसमा नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डसँगै सम्बन्धित सरोकारवालाहरूले थप कानुनी तथा प्राविधिक व्यवस्था गर्नुपर्नेछ । यसको साथै तत्कालका लागि अन्तर दिन (इन्ट्रा डे) र फ्युचर ट्रेडिङसहितको हुनेछैन ।

उल्लिखित व्यवधान र सीमिताका बाबजुद अनलाइन कारोबार प्रणालीले ब्रोकरको हातमा रहेको कारोबार प्रणालीलाई लगानीकर्ता र कारोबारीको हातमा पुर्‍याउँदै कारोबारको सहजता र तत्क्षण निर्णयको अवसर दिँदै गर्दा मुख्य जिम्मेवार लगानीकर्ता र कारोबारीलाई थप जिम्मेवार र जोखिम पनि हस्तान्तरण गर्नेछ । ब्रोकर कार्यालयमा गएर वा छलफल गरी ब्रोकरमार्फत सेयर कारोबार निर्णयको कार्यान्वयन गराउँदै आएका लगानीकर्ताहरू आफंैले कम्प्युटर, ट्याबलेट वा मोबाइलमार्फत सेयर खरिदविक्री आदेश कार्यान्वयन गर्दै गर्दा आवेगमा हुने एकल निर्णयको जोखिममा पर्ने उच्च सम्भावना रहन्छ ।
https://www.nicasiabank.com/
 

ब्रोकर कार्यालयमा गएर वा छलफल गरी ब्रोकरमार्फत सेयर कारोबार निर्णयको कार्यान्वयन गराउँदै आएका लगानीकर्ताहरू आफैंले कम्प्युटर, ट्याबलेट वा मोबाइलमार्फत सेयर खरिदविक्री आदेश कार्यान्वयन गर्दै गर्दा आवेगमा हुने एकल निर्णयको जोखिममा पर्ने उच्च सम्भावना रहन्छ ।


अनलाइनमा ध्यान दिनुपर्ने पक्ष

सेयर किनबेचका लागि अनलाइन कारोबार प्रणाली अपनाउँदै गर्दा सबैभन्दा पहिलो सर्त नै स्वनियमन र अनुशासन हुनेछ । स्वअध्ययनका साथै कारोबार व्यवहारका लागि स्वनियमको निर्माण र त्यसको परिपालना महत्त्वपूर्ण हुनेछ । यस्तै-

१. सेयर कारोबारको उद्देश्य, लगानी गरिने रकम, जोखिम आकलन र व्यवस्थापन रणनीति, अपेक्षित प्रतिफलसहित आफूले लिनसक्ने जोखिमको स्तर निर्धारण गर्ने । यो भनेको स्वनियमन र अनुशासनको सीमा पनि हो ।

२. सम्झौता गर्दा नै आफूले तत्काल व्यवस्थापन गर्न सक्ने रकम र जोखिम वहन क्षमताका लागि सम्झौता गर्ने र एकैपटकमा सबै रकम र सीमाको उपयोग गरेर सेयर नकिन्ने ।

३. कुनै पनि अवस्थामा सम्झौताभन्दा बढी रकम कारोबार नगर्ने ।

४. आफ्नो डिम्याट खातामा भएको फ्री सेयरभन्दा बढी सेयर नबेच्ने ।

५. किनबेचको निर्णय गर्नुपूर्व उक्त सेयरको माग र आपूर्ति, आधारभूत वित्तीय अवस्था, सम्भावित अवस्था, आदिको तथ्यपरक र यथेष्ट जानकारी संकलन, विश्लेषण गर्ने ।

६. सेयर कारोबार गर्ने अवस्थामा आफूले आफ्ना लागि निर्धारत पुँजीगत लाभ वा हानीको विन्दु नजिक बजारमूल्य पुगेको अवस्थामा सेयर किनबेच गर्ने वा लाभहानीको नयाँ विन्दु परिभाषित गर्ने ।

७. दीर्घकालीन प्रतिफलका लागि लगानी गर्दा सेयरको बजारमूल्यको आधारमा सिर्जना हुने पुँजीगत लाभ वा हानिका आधारमा आत्तिएर वा मात्तिएर सेयर किनबेच नगरी कम्पनीको आधारभूत वित्तीय सूचक, व्यवसायको अवस्था, अभिवृद्धि, सञ्चालक र कम्पनीको लाभांश नीति जस्ता पक्षहरूको विश्लेषण गर्ने ।

नसुल्झिएका प्रश्न

सन् २०१९ को पहिलोदिन देखि पूर्ण स्वचालित सेयर कारोबार प्रणाली कार्यान्वयनमा ल्याइँदै गर्दा अझै पनि निम्न प्रश्नहरू भने अनुत्तरित रहनेछन् :

१. डिम्याट खाताबाट सेयर र बैंक खाताबाट स्वचालित रुपमा सेयर र रकम हस्तान्तरण कहिलेदेखि हुनेछ ?

२. अन्य बैंक तथा वित्तीय संस्थामा रहेको खाता सम्बन्धित ब्रोकरसँग लिंक गरेर कारोबार गर्न कहिले पाइनेछ ?

३. अहिले तोकिएको बैंक खातामा रहेको रकम अपुग भएको अवस्थामा अन्य बैंकमा रहेको रकमबाट छुटै भुक्तानी गर्न मिल्ने वा कारोबारका तोकिएको खातामा रकम जम्मा गरेर मात्र भुक्तानी गर्न मिल्ने ?

४. अन्तर्राष्ट्रिय रुपमा प्रचलित इन्ट्रा–डे, फ्युचर कारोबार हुने वा नहुने ? र कहिलेदेखि हुने ?

५. कहिलेबाट नेपाली सेयरबजार पूर्ण स्वचालित र अन्तर्राष्ट्रिय स्तरको हुने ? नेपाली वा अन्यले नेपाली धितोपत्र बजारमा सहजै लगानी गर्न र लगानी फिर्ता लिन पाउने कानुनी र प्राविधिक व्यवस्था हुने ?

उल्लिखित प्रश्न र व्यवधानका बाबजुद हाल कार्यान्वयनमा आउन लागेको अनलाइन कारोबार प्रणालीको व्यावहारिक प्रयोगले नेपाली पुँजी बजारमा पहुँच र सुविधामा उल्लेख्य सुधार भने आउने निश्चित छ । लगानीकर्ताहरूले पनि 'तातै खाउँ जल्दी मरुँ' भन्दा बिस्तारै प्रविधिसँगै अभ्यस्त हुँदै स्वनियमनमा बसेर कारोबार गर्दै जाँदा कारोबार र जोखिम वहन क्षमतामा सुधार हुँदै जानेछ । यसो भन्दै गर्दा सम्बन्धित सरोकारवालाहरूले विश्वस्तरको पूर्ण स्वचालित कारोबार प्रणालीका लागि आवश्यक कानुनी र प्राविधिक क्षमताको विकास र विस्तारमा कुनै पनि हालतमा ढिलाइ भने गर्नु हुँदैन ।

 

प्रतिक्रिया