राम्रीमा गुमेका 'राम्रा शिक्षक' को शोकमा डुब्यो दाङ 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/December/pradeep_ghimire.jpg

भैरहवा- टेबुलमा प्रदीप घिमिरेको तस्बिरमा माल्यार्पण गरेर राखिएको छ । एउटा कुनामा वासुदेव घिमिरे (५८) किरिया बसेका छन्, सँगै रहेकी आमा कमलाको आँखाबाट आँसु झरिरहेको छ, छोराको सम्झनाले बेलाबेलामा उनी भक्कानिन्छिन् । कोठाभरि श्रद्धाञ्जलि र समवेदनाका पत्र, कार्ड र फ्लेक्सहरू छन् ।

विगत १० दिनदेखि घरमा भीड लागेको छ । समवेदना दिन आउनेहरू केहीले त परिवारलाई सम्झाउँदै फर्कन्छन्, कतिपय भने शोकाकुल परिवारजनका अगाडि केही बोल्नै नसकी मुखामुख गरेर बाहिरिने गरेका छन् । प्यारो भाइको दुःखद निधनले दिदी लक्ष्मी र दाजु कैलाश बेलाबेलामा टोलाइरहन्छन् । 

यतिबेला कान्छो सन्तान गुमाउनुपर्दा घिमिरे परिवार त शोकमा डुबेको छ नै, आफ्ना प्रिय शिक्षक र सहकर्मी गुमानुपर्दा महेन्द्र बहुमुखीलगायत धेरै क्याम्पसका विद्यार्थी शोकमा डुबेका छन् । प्रदीपकी दिदी भन्छिन्, 'भाइ हाम्रो परिवारको मात्रै नभएर सबैको प्यारो रहेछ । एउटा साथी, एउटा भाइ, एउटा अभिभावक, एउटा शिक्षक गुमाउँदा साह्रै पीडा भएको छ । त्यसलाई शब्दमा कसरी व्यक्त गरूँ ?'

सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराहीबाट भ्रमणका लागि सल्यान गएको बसमा विद्यार्थीसँगै यात्रा गरिरहेका विद्यालयका शिक्षक घोराही उपमहानगरपालिका- १७ का ३१ वर्षीय प्रदीप घिमिरे र रुकुम पूर्व भुमे गाउँपालिका- ६ का २८ वर्षीय नरेश ओलीको मृत्युले दाङ र रुकुम शोकमा डुबेको छ ।

प्रदीपले जिल्लाको महेन्द्र बहुमुखी क्याम्पस, कृष्ण सेन बहुप्राविधिक शिक्षालय, मदन भण्डारी मेमोरियल, दीपशिखा क्याम्पस, रझेना, सञ्जीवनी कलेज, सिद्धार्थ मावि, विद्यानीलकण्ठ, चौघेरा र पद्मोदयमा विज्ञान विषय पढाउँथे । आफूले प्राप्त गरेको ज्ञान जत्ति धेरैलाई बाँड्यो, उत्ति धेरै फाइदा हुने भन्दै दिनरात पढाउन व्यस्त प्रदीप धेरै विद्यार्थीको प्रेरणाका स्रोत थिए ।
 
लगनशील र इमानदार शिक्षकद्वय प्रदीप घिमिरे र नरेश ओलीको निधनले उनीहरूको परिवारलाई कहिल्यै निको नहुने चोट लागेको छ । आफ्ना प्रिय शिक्षक गुमाउनुपर्दा दाङका हजारौं विद्यार्थी शोकाकुल भएका छन् ।

प्रदीप र नरेश दुवैले महेन्द्र बहुमुखी क्याम्पसबाट बिएस्सी गरेका थिए भने त्रिवि कीर्तिपुरबाट एमएसी गरेका थिए । उनीहरू सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा सँगै पढाउँथे । दुवैजनाले नौ महिनापहिले आफैंले पढेको महेन्द्र बहुमुखी क्याम्पसमा विज्ञान विभागमा पढाउने गरी नियुक्ति पाएका थिए । उनीहरूबीच गज्जबको संयोग रहेको घिमिरे र ओलीका शिक्षकसमेत रहेका महेन्द्र बहुमुखी क्याम्पस विज्ञान संकायका विभागीय प्रमुख उपप्राध्यापक चूडामणि रजौरेले बताए । उनले भने, 'दुवैजनाले यही क्याम्पसमा पढेका हुन् र दुवैजनाले यहीँ पढाउँथे पनि ।' उनीहरू क्याम्पसको विज्ञान संकायका दुई सय विद्यार्थीको अत्यन्तै प्यारा थिए । 

नयाँ जोस र जाँगरका साथ पढाइरहेका दुव जना अत्यन्तै मेहनती र इमानदार रहेको सोही क्याम्पसका निमित्त प्रमुख सुदर्शन रिजालले बताए । उनले भने, 'उनीहरू सेवा आयोगमा सहजै नाम निकाल्न सक्ने क्षमता राख्थे । तर के गर्ने उनीहरूले त्यो अवसर पाएनन् ।' महेन्द्र बहुमुखी क्याम्पस मात्रै होइन यतिबेला प्रदीप घिमिरे र नरेश ओलीले पढाउने जिल्लाका आधा दर्जन क्याम्पसका हजारौं विद्यार्थी शोकाकुल छन् । 

२०४४ साल मंसिर १७ गते निउमुरियामा जन्मिएका प्रदीप अविवाहित थिए । पहिले आफू स्थापित भएरमात्र बिहे गर्ने सोचाइमा रहेका प्रदीप बुबाआमाका सहयोगी थिए । उनका जेठा दाजु कैलाश वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा छन् । भाइको दुर्घटना भएको थाहा पाएपछि उनी पनि अहिले घर आइपुगेका छन् । 

गंगा मावि रामपुर दाङबाट विद्यालय तह उत्तीर्ण गरेका प्रदीप कक्षा ८ मा जिल्ला प्रथम भएका थिए । पद्मोदय माविबाट एसएलसी गर्दा उनी जिल्लामा दोस्रो भएका थिए । पढाइमा अत्यन्तै तीक्ष्ण र लगनशील प्रदीपले काठमाडौं मोडल कलेज बागबजारबाट कक्षा १२, महेन्द्र बहुमुखी क्याम्पसबाट बिएसस्सी र त्रिवि कीर्तिपुरबाट बोटनीमा फस्ट डिभिजनमा एमएसस्सी गरेका थिए । घरछिमेकमा सबै उमेर र तहका मान्छेसँंग मिल्न सक्ने खुबी भएको भाइको गुमाउनुपर्दा परिवारमा कहिल्यै कहिल्यै निको नहुने चोट परेको दिदी लक्ष्मीले बताइन् । 



१९ वर्षीया विधवाको रोदन- सासू र बालकलाई पाल्ने कसरी ?
​​​​​​
गत पुस २ गते २८ वर्षीय नरेश ओलीले ७६ वर्षीया आमालाई फोन गरेर पत्नी र छोरीलाई घोराही पठाइदिन आग्रह गरे । पूर्वी रुकुमको दुर्गम भुमे गाउँपालिका-६ महत गाउँमा बसोबास गर्दै आएकी आमा रोजनले 'बुहारी र नातिनीलाई दाङ पठाउँदा ऋण बढ्ने' बताइन् । नरेशले आफूले थप दुई कलेजमा पनि पढाउन थालेकाले अब परिवार पाल्न सहज हुने जबाफ दिएका थिए । 

वृद्धा आमाले 'पढ्दाखेरि लागेको ऋण कसरी तिर्छस् त बाबु ? अझै केही मिहनेत गरेस्' भनेपछि नरेशले 'होइन आमा ! म दिनभर पढाउँछु, खाना पकाउने समय हुन्न, अब पठाइदिनुस्, बरु अर्को सालतिर तपाईं पनि यतै आउनुपर्छ है ! भनेर फोन राखिदिए । 

पढेलेखेको छोराले यति भनेपछि आमाले जिद्दी गर्ने कुरा भएन । बूढी आमाले जेनतेन चित्त बुझाइन् । अनि बिहीबार बिहानै दुई वर्षकी नातिनीसहित बुहारीलाई दाङ पठाइदिइन् ।

नरेशले पत्नी र छोरीलाई आफू बस्ने कोठामा लगे । साँझ एकैछिन भलाकुसारी गरे । भोलिपल्ट बिहानै नरेश कलेजका विद्यार्थीलाई लिएर सल्यान जाने तयारीमा थिए । त्यसैले उनीहरू चाँडै सुते । 
बिहानै उठेर सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थीसँगै सल्यानको कपुरकोट र मूलपानीतर्फ हिँडेका उनी कहिल्यै फर्किएनन् । 'म छिट्टै आउँछु, अनि धेरै कुरा गरौंला' भन्दै हिँडेका नरेशको अन्तिम शब्दले यतिबेला सबिताको मन छियाछिया भएको छ । 

पढाइमा सधैं अब्बल दुर्गम पहाडको गरिब परिवारमा जन्मिएका नरेशले एक छाक खाना र एक छाक भोकै भएर पनि स्नातकोतरसम्मको पढाइ पूरा गरेका थिए । यतिसम्म पढ्दा उनलाई ऋण लाग्यो । स्नातक तह पढ्दा उनले एउटा पाइन्ट तीन वर्ष लगाएका थिए भन्छन् उनका गुरु । आर्थिक रुपमा मितव्ययी साथीका प्यारा मान्छे नरेश यति छिट्टै भगवान्का प्यारा बन्लान् भन्ने कसलाई के थाहा ? उनको सुखको स्वाद न त ७६ वर्षीया आमाले चाख्न पाइन् न १९ वर्षीया पत्नी र अबोध छोरीले । 

स्नातकोत्तरपछि अध्यापन गर्न बागलुङ पुगेका नरेश महेन्द्र बहुमुखी क्याम्पसमा शिक्षण अवसर पाएसँगै दाङ आएका थिए । नौ महिनाअघि दाङको जेठो सरकारी क्याम्पसमा अध्यापन थालेका नरेश दीपशिखा कलेज, विद्या नीलकण्ठ कलेज, सञ्जीवनी कलेज हुँदै पछिल्लो समय सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा प्रवेश गरेका थिए ।  

बुबा रुदल ओली र आमा रोजन ओलीका पाँच भाइ छोरामध्ये कान्छा  थिए नरेश । परिवार आर्थिक रुपमा कमजोर भएकाले संघर्ष गर्दै पढेको उनका माइला दाजु सर्कबहादुर ओली बताउँछन् । गाउँकै जनता मावि महतबाट एसएलसी उत्तीर्ण गरेका नरेशले दाङको पद्मोदयबाट १२ कक्षा र महेन्द्र बहुमुखी क्याम्पसबाट बीएसस्सी गरेका थिए भने त्रिवि   कीर्तिपुर केन्द्रीय क्याम्पसबाट एमएसस्सी गरेका थिए  । 

धेरै पढेको छोराले बुढेसकालमा सहारा देला भन्दा आफू पढ्दा लगाएको झन्डै १० लाख रुपैयाँ भारी बोकाएर गयो भन्दै भक्कानिन्छिन् नरेशकी आमा । यस्तै पीडामा छिन् उनकी १९ वर्षीया पत्नी सविता । यो गहिरो पीडा व्यक्त गर्ने केही शब्द छैन उनीसँग । उनको काँधमा वृद्धा सासू र दुई वर्षीया छोरीको जिम्मेवारी आइलागेको छ । 

राम्रीमा भएको बस दुघर्टनामा नरेश र प्रदीप सहित २३ जनाको ज्यान गएको थियो । तीमध्ये १९ जना सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी थिए । विभिन्न जिल्लामा कलिला विद्यार्थीको निधनले  उनीहरूको परिवार पनि शोकमा डुबेको छ । 




प्रतिक्रिया