यही पाराले अघि बढे मुलुक विखण्डन हुन्छ 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/December/kamal_thapa_interview_cover_1_ns.jpg

कमल थापा नेपाली राजनीतिमा अनुभवी र चतुर खेलाडी हुन् । राजनीतिमा भीडको पछाडि नलाग्नु थापाको विशेषता हो। ०६२।०६३ पछि देश गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको भेलमा पूरै बगेका बेला थापा त्यसको विपक्षमा दह्रो गरी उभिए। यही मान्यता लिएर संविधानसभाको पहिलो चुनावमा जाँदा उनको नेतृत्वमा राप्रपाले चार सिट मात्र जित्न सक्यो। तर थापा आफ्ना अडानमा टसका मस भएनन् । उनको अडानका कारण राप्रपाले संविधानसभाको दोस्रो चुनावमा २५ सिट जित्न सफल भयो। 

नेपाली राजनीतिमा चुनाव र पार्टीभन्दा माथि रहेको राजसंस्था,   हिन्दू राष्ट्र, बलियो केन्द्र सरकार र अधिकार सम्पन्न स्थानीय सरकारका पक्षमा अडान राख्दै आएका प्रखर र स्पष्ट वक्ता राप्रपा अध्यक्ष थापासँग नेपाल समयका लागि विष्णु सुवेदी र बालकुमार नेपालले गरेको कुराकानी :

राप्रपाले फागुन ७ देखि सुरु गर्न लागेको हिन्दू राष्ट्र अभियानको लक्ष्य के हो? 

यसको मुख्य उद्देश्य हिन्दू राष्ट्रको पुनस्र्थापना हो। यसका साथ हामीले केही माग राखेर जनसंघर्ष गर्ने तयारी गरेका छौं । यो संविधानको परिधिभित्र रहेर गरिने शान्तिपूर्ण संघर्ष हो। यो कुनै धर्मविरुद्ध होइन। विगत केही बर्षयता योजनाबद्ध र नियोजित रुपमा धर्म परिवर्तन गराउने कार्य भइरहेको छ। नेपालको सनातन धर्म र संस्कृतिलाई विस्थापित गरेर विदेशी धर्म र संस्कृति लाद्ने काम भइरहेको छ। यसका कारण नेपालमा रहँदै आएको धार्मिक सांस्कृतिक सद्भाव खल्बलिने र देश धार्मिक द्वन्द्वमा फस्न सक्ने खतरा देखिएको छ। यसबीचमा धर्म प्रचार कार्यलाई नियन्त्रण गर्नुको सट्टा धर्म प्रचारक संस्थाले आयोजना गरेको कार्यक्रमलाई सहयोग गर्नुका साथै आर्थिक सहयोग गर्ने काम भएको छ। जुन कामलाई संविधानले समेत वर्जित गरेको छ। यी कारणले गर्दा राप्रपाले बाध्य भएर जनसंघर्षका कार्यक्रम अगाडि ल्याएको हो। 

विदेशी धर्म लाद्ने कामचाहिँ कताबाट भएको छ? 

नेपालमा पहिलादेखि नै सनातन धर्म कायम रहँदै आएको छ। हिन्दू, बौद्ध र किराँतलाई सनातन धर्मका रूपमा बुझ्नुपर्छ । यसलाई विस्थापित गरेर आफ्नो सांस्कृतिक उपनिवेश बनाउन पश्चिमा मुलुकहरूले धेरै वर्षपहिलादेखि नै प्रयास गर्दै आएका छन् । पञ्चायती कालमा पनि केही प्रयास भएका थिए। बहुदलीय व्यवस्थाको पुनः स्थापनापछि यो प्रयास अझ अगाडि बढाइयो। ०६२। ६३ को परिवर्तनपछि यो अझ व्यापक भएर गयो। यस काममा पश्चिमा मुलुकहरू विशेष गरी युरोपेलीको सहयोगमा यहाँ खडा भएको एनजिओ आइएनजिओको प्रत्यक्ष भूमिका रहेको हामीले पाएका छौं। 



हिन्दू धर्ममाथि क्रिस्चियन आक्रमण भयो भन्न खोज्नुभएको हो? 

पश्चिमा मुलुकले नेपालमा हिन्दू धर्मलाई विस्थापित गरेर इसाईकरण गर्न खोजेको प्रस्ट देखिएको छ। 

तपाईंहरूले फागुनदेखि सञ्चालन गर्न लागेको हिन्दू अभियानले धर्मिक द्वन्द्व निम्त्याउने खतरा छैन र?

यो संघर्ष हिन्दू राष्ट्रको पुनः स्थापनाका निमित्त भए पनि कुनै धर्मका विरुद्ध होइन। यो सरकारका विरुद्ध पनि होइन। कुनै राजनीतिक दलको विरुद्धमा पनि होइन। हिन्दू राष्ट्रका कुरा गरेर हामीले सबै नेपालीले हिन्दू धर्म मान्नुपर्छ भनेका होइनौं । सनातन वा हिन्दू धर्मका आधारमा राज्य सञ्चालन हुनुपर्छ भनेको पनि होइन। राज्यले एउटा मात्र धर्मलाई संरक्षण र संवद्र्धन गर्नुपर्छ भन्ने पनि हाम्रो माग होइन। हामी पूर्र्ण धार्मिक स्वतन्त्रता र सबै धर्मको बीचमा समनातको पक्षमा छौं। तर सनातन धर्म नेपालको राष्ट्रिय पहिचान, राष्ट्रिय एकता र राष्ट्रियताको अभिन्न अंग भएको हुँदा यो अभियान हाम्रो अभियान राष्ट्रियता र एकताको अभियान हो भन्दा अत्युक्ति हुँदैन। 

नेपालमा भएको एसिया प्यासिफिक समिटमा नेताहरूले सबै धर्मलाई सम्मान गर्दै सहभागी भएको तर्क गरेका छन्, यसमा सत्यता छैन र ? 

म त्यो संस्थाको विरोध गर्न चाहन्नँ। नेपालको संविधानले दिएको अधिकार प्रयोग गरेर जोसुकैले पनि संस्था खोल्न सक्छ । त्यो समिटको पनि मैले विरोध गरेको छैन। यद्यपि त्यसबारे विवाद र बहस गर्न सकिन्छ। तर एउटा संगठित संस्था जो नेपालमा योजनबद्ध तरिकाले धर्म परिवर्तन गराउन लागेको छ, त्यस्तो संस्थाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीसहित राज्यको संयन्त्र तामझामसहित सहभागी भयो त्यो आपत्तिजनक हो। जनताले तिरेको करको दुरुपयोग गर्दै राज्यकोषबाट त्यो कार्यक्रमका लागि १५ करोड रुपैयाँ खर्च गरियो। यो अत्यन्तै आपत्तिजनक छ। अल्पसंख्यक समुदायको संरक्षण र सम्मान हुनुपर्छ । तर चुनावी राजनीतिमा रिझाउने नाममा बहुसंख्यक जनताको आस्थामा आघात पर्ने काम गरियो भने त्यो सह्य हुँदैन। यसपटकको त्यो समिटमा सरकारको सहभागिताले ९४ प्रतिशत जनतालाई जिस्काउने काम गरेको छ। त्यस्तो कामले नेपालमा रहेको धार्मिक तथा सांस्कृतिक सदभाव खल्बलिन सक्छ भन्ने कुरा नेतृत्वमा रहेका व्यक्तिले बुझ्नुपर्छ । 
 
सनातन धर्म र संस्कृतिलाई विस्थापित गरेर विदेशी धर्म र संस्कृति लाद्ने काम भइरहेको छ। यसका कारण नेपालमा रहँदै आएको धार्मिक सांस्कृतिक सद्भाव खल्बलिने र देश धार्मिक द्वन्द्वमा फस्न सक्ने खतरा देखिएको छ।

राप्रपामा फुट्ने र जुट्ने क्रम चलिरहन्छ, अहिले एकताको केही काम अगाडि बढेको छ कि ? 

गत कात्तिक अन्तिमतिर पार्टी एकताका निम्ति सघन प्रयास भयो। तीनै पक्ष बीचमा सबै विषयमा सहमति पनि कायम भयो। त्यसपछि कात्तिक २६ मा एकता घोषणा गर्ने निर्णय पनि गर्‍यो। तर अन्तिममा आएर पशुपतिजी र प्रकाशचन्द्रजीले आन्तरिक गृहकार्यमा केही समय चाहियो भनेकाले त्यो एकता घोषणा हुन सकेन। त्यो सहमतिका आधारमा एकताको ढोका जहिले पनि खुला छ। उहाँहरूले चार पाँच दिनको समय माग्नुभएको थियो । तर अहिले त चारपाँच हप्ता भइसक्यो। जहिले उहाँहरू तयार भएर आउनुहुन्छ त्यहीबेला एकता हुन्छ।

राप्रपाचाहिँ के मुद्दामा विभाजन हुने गरेको छ? 
​​​​​​
राप्रपामा पार्टी टुटफुटको बद्नाम इतिहास छ। नेतृत्व तहमा रहेका हामीहरू हिजोको निर्दलीय संस्कारबाट आएका छौं। पार्टीमा कुनै कुरा चित्त नबुझे पार्टीभित्रै समस्या समाधान खोज्ने दलीय संस्कार र चारित्रको सट्टा पार्टी नै फुटाएर हिँड्छौं। अर्को ०६२ । ६३ को परिवर्तनपछि पार्टीभित्र सैद्धान्तिक र वैचारिक मतभिन्नता पनि कायम रह्यो। यद्यपि त्यसलाई गत एकता महाधिवेशनबाट त्यसलाई टुंगो लगाइसकेका छौँ। तर कहिलेकाहीं त्यसको ह्याङ ओभरले पनि काम गरेको हो कि जस्तो लाग्छ।

राप्रपा फरक विचार बोकेर हिँडेको पार्टी हो। हामी धर्मबीच समनता र स्वतन्त्रता कायम राख्दै सनातन हिन्दू राष्ट्रका पक्षमा छांै। नेपालको भूराजनीतिक स्थिति, धार्मिक सामाजिक सांस्कृतिक परिवेशका सन्दर्भमा चुनावी राजनीतिभन्दा माथिको संस्था राजसंस्था उपयुक्त हुन्छ भन्ने मान्यता राख्छाैँ । यो मान्यता नेपालमा कहिले कायम नरहोस् भन्ने चाहना राख्ने राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरू छन् । ती शक्तिले राप्रपा बलियो भएको हेर्न चाहँदैन। यदाकदा ती शक्तिहरूले राप्रपा एक नहोस् भन्ने उद्देश्यले पनि पार्टी फुटाउने काममा सहयोग गरेका छन् । 

राप्रपा विभाजनमा विदेशी चलखेल छ भन्न खोज्नुभएको हो? 

नेपालमा हिन्दू राष्ट्र र राजसंस्था कहिल्यै नहोस् भन्ने चाहनेले पार्टी विभाजनमा भूमिका खेले भन्ने मेरो अनुमान हो। 

हिन्दू राष्ट्र र राजसंस्था कुन माध्यमबाट पुनः स्थापना हुन्छ जस्तो लाग्छ? 

हिन्दू राष्ट्र र राजसंस्थाबारे अहिलेसम्म प्रत्यक्ष जनमत संग्रह भएको छैन। यसकारण कति जनता कुन पक्षमा छन् भन्न सकिएको छैन। संविधान निर्माण हुुनुअघि यसलाई मान्यता दिन हरसम्भव प्रयत्न गर्‍यौं। पहिलो संविधानसभाले तयार गरेको संविधानको मस्यौदामा धर्म निरपेक्षता, गणतन्त्र र संघीयता अपरिवर्तनीय लेखिएको थियो। दोस्रो संविधानसभामा हामी २५ को संख्यामा पुग्याैं र त्यो अपरिवर्तनीय भन्ने दफा हटाउन सफल भयौं। अहिले नेपालको स्वतन्त्रता, सार्वभौमिता, अखण्डता जनतामा रहेको सार्वभौमबाहेकका सबै विषय परिवर्तन हुन सक्ने व्यवस्था छ। त्यसकारण त्यो अधिकार प्रयोग गरेर एक दिन हामी आफ्नो मान्यता स्थापित गराउन सक्छौं भन्ने लाग्छ। 

यो मान्यता स्थापित हुनका लागि राप्रपाको बहुमत आउनुपर्छ होला नि ? 

राप्रपाको बहुमत वा यो विचारमा अरू पार्टीहरू आउनुपर्छ । 



हालै सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दू राष्ट्रका पक्षमा हस्ताक्षर अभियान चलाएपछि तपार्इंले सहकार्यका कुरा गर्नुभयो, त्यो कस्तो सहकार्य हो? 

०६२।०६३ को परिवर्तनपछि पहिलो आक्रमण हिन्दू राष्ट्रमाथि भयो। त्यसबाट प्रस्ट बुझ्न सकिन्छ त्यो आन्दोलनको अन्तरनिहित उद्देश्य नेपाललाई हिन्दू राष्ट्रको पहिचानबाट समाप्त पार्ने रहेछ। त्यो बेला यो गलत हो नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भनेर आवाज उठाउने हामी एक्लो थियौं। पछि क्रमशः सामाजिक संस्कृति क्षेत्रमा यसको प्रभाव बढ्दै गयो। सामाजिक सांंस्कृतिक क्षेत्रले पनि यो कुरा उठाउँदै गयो। अहिले आएर त नेपाली कांग्रेसका महासमिति सदस्यहरूले खुलेर हस्ताक्षर अभियान चलाउनुभयो। त्यस पार्टीका केही वरिष्ठ नेताहरूले हिन्दू राष्ट्रका पक्षमा वकालत गर्नुभयो। यसलाई मैले अत्यन्तै सकारात्मक र स्वागतयोग्य ठानेको छु । यही महासमितिबाट निर्णय होस् भन्ने मेरो चाहना थियो। अहिले निर्णय नभए पनि त्यो एजेन्डा कांग्रेसभित्र प्रवेश भएको छ। जुन बेला कांग्रेसले यसलाई औपचारिक निर्णय गर्छ त्यो बेला सहकार्य गरेर हामी अगाडि बढ्न तयार हुनेछाैँ। 

हिन्दू राष्ट्र र राजसंस्थाका विषयमा तपाईको पूर्वराजासँग गोप्य भेट हुने गरेको छ रे, के हुन्छ त्यो भेटमा ? 
​​​​​​
भेट दुई व्यक्तिबीच भए पनि त्यो गोप्य छैन। राजासँग भेट हुनेबित्तिकै सार्वजनिक गरिसकेको छु । राजासँग मेरो बेलाबेलामा भेट हुने गरेको छ। यसपटक पार्टीको पूर्वनिर्धारित कार्यक्रममा म पोखरा गएका बेलामा राजा त्यहीं भएको जानकारी पाएँ। राजा राष्ट्रप्रमुख रहिसकेको र राप्रपा राजसंस्थाका पक्षमा भएकाले शिष्टाचार भेट गर्नु मेरो कर्तव्य हो भन्ने ठानेर भेट गर्न गएको हुँ। त्यो भेटमा मुलुकको समसामयिक राजनीति र पार्टी गतिविधिबारे राजालाई जानकारी गराएँ। देशको अवस्थाबारे राजामा चिन्ता रहेको मैले पाएँ। 

राप्रपाले सञ्चालन गर्न लागेको अभियानमा पूर्वराजाले विशेष खुसी प्रकट गर्नुभयो होला नि ? 

त्यसबारे राजा खुसी हुने नहुने भन्ने विषयमा मैले छलफलको विषय बनाइनँ । त्यो उपयुक्त हुन्थ्यो भन्ने पनि मलाई लागेन। किनभने राप्रपाले कुनै एउटा पार्टी निकट संस्थाका रुपमा राजसंस्थाको कल्पना गरेको होइन। चुनावी राजनीति, पार्टी राजनीति, सबैभन्दा माथि तटस्थ राजसंस्था भनेर भन्ने अनि आफ्नो पार्टीको काममा राजाको सहयोग र सद्भाव खोज्दै हिँड्नु विरोधाभास हुन्छ।
 
संघीयतालाई देशले धान्न सक्दैन भन्ने कुरा देखिएको छ। अब केन्द्रमा बलियो सरकार बनाउने, प्रदेश संरचना हटाउने र स्थानीय सरकारलाई बलियो बनाएर लैजानुपर्छ । यो मध्यमार्गी बाटोबाट हामीले देश अगाडि बढाउने हो भने शान्ति र स्थायित्व कायम हुन्छ ।

अलिकति सन्दर्भ बदलौं, तपाईं कुनै बेला अहिलेका प्रधानमन्त्री केपी ओलीसँग सरकारमा हुनुहुन्थ्यो । तपाईंले त्यसबेला ओलीको खुब तारिफ गर्नुभयो । त्यसबेलाको ओली र अहिलेका ओलीको कसरी तुलना गर्नुहुन्छ? 

ओलीको नेतृत्वमा सरकारमा रहँदा इमानदार राष्ट्रवादी र निर्णय गर्ने क्षमता भएको नेताका रुपमा मैले चिनेको हुँ। अहिले दुई तिहाइ भएको सरकारको नेतृत्व गर्दा जुन प्रकारले असफल हुँदै जानुभएको छ अलोकप्रिय हुँदै जानुभएको छ त्यसकारण मलाई आश्चर्य लागिरहेको छ। अहिले अनेक प्रश्न उठेको छ– ओली किन निरीह र लाचार भइरहनुभएको छ, कसको घेराबन्दीमा पर्नुभएको छ । उहाँ कसको दबाबमा पर्नुभएको छ यो मैले बुझ्न सकेको छैन।

ओली अलोकप्रिय हुनको कारणचाहिँ के हो जस्तो लाग्छ? 

सरकारले कुनै क्षेत्रमा आफ्नो प्रभावकारी उपस्थिति देखाउन सकेको छैन। मुख्य असफलता नै यही हो। चाहे हिंसा र बलात्कारको कुरा होस्, चाहे भ्रष्टाचारका कुरा होस्, चाहे रोजगारी सिर्जनाको कुरा होस्, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढाउने कुरा होस् यी हरेक क्षेत्रमा सरकार असफल देखिएको छ। 

यो सरकारसँग तपाईंहरूको सहकार्यको सम्भावना छ? 

हामी गुण र दोषका आधारमा दृष्टिकोण बनाउँछौं । राम्रो कामको प्रशंसा गर्छौं, नराम्रो कामको विरोध गर्छौं। 

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भूमिकाचाहिँ कसरी मूल्यांकन गर्नुहुन्छ? 

नेपाली कांग्रेस सैद्धान्तिक र वैचारिक हिसाबमा विचलित छ। नेपाली कांंग्रेस आफैं गुटबन्दीको दलदलमा छ । त्यसकारण प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेको छैन। नेपाली कांग्रेसले स्थापनाको धरातल  छाडेको छ। बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसााद भट्टराईले जुन मान्यतामा पार्टी स्थापना गरेका थिए ती सबै मान्यता अहिले छोडिसकेको छ। प्रजातान्त्रिक समाजवादको अमूर्त व्याख्याबाहेक कांग्रेस कुन धरातलमा उभिएको छ र कुन धरातलमा उभिएर राष्ट्र निर्माण गर्न खोजेको छ, केही बुझ्न सकिँदैन।

सरकारका कमजोरी र असफलतामा प्रतिक्रिया जनाउनुबाहेक कांग्रेसले अरू केही गरेको देखिँदैन। सैद्धान्तिक वैचारिक रूपमा उसले आफूलाई विकल्पका रूपमा प्रस्तुत गर्न सकेको छैन। मैले बारम्बार भन्ने गरेको छु कि कांग्रेसले कम्युनिस्टको मुद्दा बोकेर कम्युनिस्टलाई पराजित गर्न सक्दैन। कांग्रेले आफूलाई अग्रणी शक्तिका रूपमा स्थापित गर्ने हो भने बिपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलापको नीति लिएर राजसंस्था र प्रजातन्त्रबीचको सामञ्जस्य खोज्न सक्नुपर्छ । त्यो साहसिक निर्णय नगरुन्जेले कांग्रेसले आफ्नो औचित्य प्रमाणित गर्न सक्दैन।  

अहिले समृद्धि र राजनीतिक स्थायित्वमा जाने बाटो के हुन सक्ला ? 

जबसम्म हामीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न सक्दैनौं तबसम्म आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्न सक्दैनाैं। राजनीतिक स्थिरता कायम गर्न कसैलाई पनि निषेध नगरी मध्यमार्गी राजनीतिक प्रणालीको विकास गर्नुपर्छ । यसका लागि राप्रपाले पनि मेरो गोरुको बाह्र टक्का भन्नु हुँदैन। हामी हिन्दू राष्ट्र चाहन्छौं, तर अरुको पनि मान्यताको सम्मान गर्दै धार्मिक स्वतन्त्रता र समानतालाई स्वीकार गरेका छांै। यो मध्यमार्गी बाटो हो। त्यसैकारण परिवर्तनकारी शक्तिलाई पनि चित्त बुझ्ने सहमति र सम्झौता राजसंस्थासहितको लोकतन्त्र नेपालका निमित मध्यमार्गी बाटो हुनसक्छ।
 
संघीयतालाई देशले धान्न सक्दैन भन्ने कुरा देखिएको छ। अब केन्द्रमा बलियो सरकार बनाउने, प्रदेश संरचना हटाउने र स्थानीय सरकारलाई बलियो बनाएर लैजानुपर्छ । यो मध्यमार्गी बाटोबाट हामीले देश अगाडि बढाउने हो भने शान्ति र स्थायित्व कायम हुन्छ र मुलुक समृद्धितर्फ अगाडि बढ्छ। हामीले बीस वर्ष सशस्त्र द्वन्द्व र संक्रमणमा बितायांै । नयाँं संविधान जारी भएर दुई तिहाइको सरकार पनि बनायौं। तर परिवर्तनको अनुभूति जनतालाई दिन सकेको छैनौं। 

तपाईंको संकेत तत्कालीन सात दल र विद्रही माओवादीबीच १२ बुँदे सहमति हुनुअघिको अवस्थामा जानुपर्छ भन्ने हो? 

हामीले यथास्थितिलाई निरन्तरता दियाैं भने राष्ट्र विखण्डनतर्फ जान्छ । अर्कोतर्फ ०६२/०६३ अघिको पुरानो अवस्थामा पनि फर्कन सक्ने अवस्था छैन। हामीले नेपाली मौलिक चरित्रको राजादेखि माओवादीसम्म अट्ने राजनीतिक प्रणाली र सामाजिक अवस्था निर्माण गर्नुपर्छ ।

अहिले ओली मात्र असफल भएका होइनन्  ओलीको ठाउँमा शेरबहादुर देउवा भएको भए पनि अहिलेको प्रणालीमा तात्त्विक भिन्नता आउने थिएन। विगत दसबाह्र वर्षको घटनाले प्रमाणित गरिसकेको छ कि सबै राजनीतिक पार्टीका नेताहरूले पटकपटक नेतृत्व गर्न पाउँदा पनि परिवर्तनको अनुभूति दिन सकेका छैनन्। यो पार्टी र व्यक्तिको मात्र असफलता होइन। नीति र व्यवस्थामा पनि केही परिमार्जन गर्नुपर्छ भन्ने मेरो धारणा हो। 




प्रतिक्रिया