हाम्रो कानुनले त आँखा देख्दो रै’छ !

/assets/plugins/bower_components/fileman/Uploads/post_images/December/justice_1.jpg

न्या‍यालयमा राखिएको प्रतिमाको बायाँ हातमा भएको तराजु र दायाँ हातमा भएको तरबारको अर्थ के हो ? आजभोलि प्रायःजसो देशवासीलाई यो प्रश्नले काउकुती लगाएको पाइन्छ।  यस प्रश्नले कहिले कही नबुझेरै त कहिले केही बुझेरै पनि अलमलमा पारिरहेको हुन्छ। 

कानुन अध्ययन गरिरहेका विद्यार्थीलाई समेत यस प्रश्नले घचघच्याइरहेको छ।  किनकि यसको अर्थ पढ्दा र दैनिक जीवनका भोगाइ फरक छन्।  न्यायकी देवीको प्रतिमाको प्रतीकात्मक अर्थ निष्पक्ष, स्वच्छ, पूर्वाग्रह र पक्षपातरहित, भ्रष्टाचारमुक्त र समन्यायिक न्याय प्रशासन हो।  त्यसैले त आँखामा पट्टी बाँधिएको छ।  तर उनी अन्धी हैनन्।  बन्द आँखा निष्पक्षता र इमानदारीको प्रतीक हो।  सोझो अर्थमा आँखामा पट्टी बाँध्नेबित्तिकै स्वच्छता, निष्पक्षता र पारदर्शिताको जन्म हुन्छ भन्ने पनि हैन।  सायदै त्यही भएको छ हाम्रो देशमा।  

बायाँ हातमा भएको तराजुले प्रमाण तौलिने अर्थ दिन्छ।  प्रमाण तौलिनुको अर्थ मुद्दा वा विषयको सन्देशमा पक्ष र विपक्षलाई आफ्ना सबुत प्रमाण न्यायालयसमक्ष पेस गर्न दिनु र सोको निष्पक्ष परीक्षण गर्नु हो।  तराजुलाई माथि उठानुको अर्थ प्रमाण परीक्षण कार्य सरोकारवाला सबैले थाहा पाऊन् र देखून् भन्ने हो।  तर, यहाँ त न आँखामा पट्टी नै छ न त तराजुलाई माथि उठाएको। 

त्यस्तै तरबार शक्तिको प्रतीक हो।  यहाँ तरबारको प्रतीकात्मक अर्थले सामान्य शक्ति मात्रै नभई राज्यशक्ति बुझाउँछ।  तरबार अन्यायविरुद्धमा र न्यायको संरक्षणका खातिर उठ्छ।  तर, यहाँ न्याय खोज्नेका लागि उठ्छ। 

विषय कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यालाई जोड्न सकिन्छ।  जसले देशभर ठूलो स्वरूप लिएको छ।  पीडितका आफन्तले दोषीलाई हदैसम्मको कारबाही माग गर्दै प्रदर्शनमा उत्रिए।  तर, उल्टै दोषीमाथि कारबाही हुनुको सट्टा सुरक्षाकर्मीले नै स्थानीय बासिन्दामाथि गोली प्रहार गरे।  यही हो तरबारको अर्थ राज्यशक्ति।  अनी खै कहाँ गयो यो मानवअधिकार? मानवअधिकारको चर्को भाषण गर्दै घाँटी सुकाउनेहरुले खै अहिले मानव अधिकार सुनिश्चित गरेको ? उल्टै सुरक्षा कर्मीबाटै मानवअधिकार हनन् भयो। जिल्ला प्रशासन कञ्चनपुरअगाडि प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास तथा गोली प्रहार गर्‍यो।  

जसबाट चार जना सर्वसाधारण घाइते भए। एक युवकको मृत्यु भयो।  गोली प्रहार भएर पनि डिएसपी ज्ञानबहादुर सेठीले भने गोली प्रहार नभएको दाबी गरे।  सुरक्षा निकायले त्यो गोली प्रहार गरेका हैनन् भने कसले चलायो ? त्यसको छानबिन किन भएन ? नेपाली कानुनने आँखामा पट्टी यतिखेर पो लगाएको रहेछ राज्यशक्ति बचाउन। 

एउटी आमाले ‘मेरी छोरी घर फर्किइनन्, राति अबेर भइसक्यो खोजी गरिदिनुस्’ भनेर अनुनय गर्दा ‘आज रात परिसक्यो अब भोलि खोजी गरौंला’ भन्ने मेरो देशको कानुनले त रात र दिन पनि दोख्दो रहेछ।  एकपटक त्यो स्थानमा तपार्इं आफूलाई राखेर हेर्नुस्।  अनि थाहा हुन्छ आफ्नो मान्छे गुमाउनुको पीडा कस्तो हुन्छ भनेर।  एकचोटि आफ्नो मान्छे बिनाकारण गुमाएर हेर्न सक्नु हुन्छ ?

कुरा बलात्कारको...

नेपालमा दिनहुँ जसो बलात्कारका घटना भइरहेका हुन्छन्।  तर, तीघटनामध्ये केही मात्र बाहिर आउने गर्दछन्।  कसैले आफूले न्याय पाउन घटना सार्वजनिक गर्दछन् भने कसैले आफूले भोगेको घटना अरुले नभोगून् भनेर।  यसरी घटना सार्वजनिक गर्ने व्यक्ति दिनहँुका घटनामध्येबाट एक प्रतिशत पनि हैन।  यिनै घटनाबाट केही घटना बलात्कारपछिको हत्याले गर्दा बाहिर आउँछन्।  

बलात्कारलाई हरेक देशमा अक्षम्य अपराध मानिन्छ।  बलात्कार घटनाको प्रवृत्ति फरक भएजस्तै बलात्कारीलाई दिइने सजाय पनि देशअनुसार फरकफरक छ।  केही देशमा बलात्कारीलाई क्रूर सजाय दिने गरिन्छ।  तर, हाम्रो देशमा यस्ता व्यक्तिलाई झनै सुरक्ष्या दिइन्छ।  सुरक्षा यसरी दिइन्छ कि जनताको सुरक्षाका लागि भनेर भर्ती गरिएका प्रहरीलाई अपराधीका बडी गार्ड बनाइन्छ।  सायद यसैले पनि होला नेपालमा दिनानुदिन बलात्कारका घटना हुनु र पीडितले कसैसामु न्यायको माग गर्न नसक्नु।  बलात्कार जस्तो जघन्य अपराध रोक्न संसारभरका सरकार तथा अधिकारकर्मी लागिपरेका छन्।  तर, यहाँ हाम्रो सरकाले बलात्कार जस्तो जघन्य अपराध रोक्न अग्रसर छ भन्ने केही आधार छैन।  बरु हाम्रो सरकार अपराधीलाई जोगाउन अग्रसर देखिन्छ।  

सबैभन्दा क्रूर तरिकाले बलात्कारीलाई सजाय दिने ५ देशमा साउदी अरेबिया, चीन, अफगानिस्तान, फ्रान्स र उत्तर केरिया पर्दछन्। साउदी अरेबियामा बलात्कारीलाई सजायका रुपमा सार्वजनिक ठाउँमा कोराले हानेर बेहोस पारी हत्या गरिन्छ।  चीनमा बलात्कारीलाई सजायस्वरुप फाँसी दिइन्छ।

अफगानिस्तानमा बलात्कारको अपराध निकै नै कम हुने गर्छ।  किनकि त्यहाँ अपराधीलाई पक्राउ परेको चार दिनभित्र टाउकोमा गोली हानेर मृत्युदण्ड दिइन्छ।  फ्रान्समा बलात्कारबाट सिकार भएको महिलाको अवस्था हेरी १५, २० वर्ष वा आजीवन जेलसजाय हुन्छ।  उत्तर कोरियामा बलात्कारीलाई फाइरिङ दलद्वारा गोली हानी हत्या गरिन्छ।

तर, हाम्रो देशमा यस्तो कल्पना गर्न सक्दैनौं।  हाम्रो देश नेपाल अन्तर्राष्ट्रिय मानवअधिकार अभिसन्धिको पक्ष राष्ट्र हो।  जहाँ हत्याहिंसा जस्ता कार्य गर्न पाइँदैन।  सायद त्यसैले पनि होला नेपाल सरकारले अपराधीलाई जोगाएर राख्छ।  देशमा अपाराधिक घटना भइरहन्छन्।  अब प्रश्न उठ्छ।  दिनहुँ बलात्कार र हत्याहिंसा हुन्छन् भने मानवअधिकार कहाँ गयो? 




प्रतिक्रिया