वाइड बडी खरिद : मन्त्री रवीन्द्रले स्वीकारे साढे ६ अर्ब घोटाला

/assets/plugins/bower_components/fileman/Uploads/post_images/December/Wide_Body_Rabindra_Adhikari_11.jpg

काठमाडौं–पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायु सेवा निगमको दुई वाइड बडी विमान खरिद प्रकरणमा घोटाला भएको स्वीकार गरेका छन् । 

संसद्को अर्थ समितिअन्तर्गत गठित वाइड बडी खरिद छानबिनसम्बन्धी अध्ययन उपसमिति बैठकमा मंगलबार उपस्थित मन्त्री अधिकारीले विमान खरिदका क्रममा उक्त रकम घोटाला हुनुमा आफू पनि जिम्मेवार रहेको स्वीकार गरेका हुन् । उनले विमान खरिदमा घोटाला हुनुमा आफूमात्र जिम्मेवार नरहेको दाबी गरे । उनले भने, ‘मैले मन्त्री पद सम्हाल्नुअघि नै  १० अर्ब रुपैयाँ झुक्तानी भइसकेको थियो । महालेखाले पनि विमान खरिद प्रकरणमा आर्थिक अनियमितताको ठहर गरेको थियो । त्यसलाई मैले रोक्न सकिनँ ।’ त्यसपछि १४ अर्ब भुक्तानी गरिएको थियो । 

संसद्को सार्वजनिक लेखा समितिले यसअघि नै विमान खरिदमा ६ अर्ब ५९ करोड रुपैयाँ घोटाला भएको देखाएको थियो । उनले कम खर्च लाग्ने भएकाले २३० टनको जहाज खरिद गरिएको बताए । मन्त्री अधिकारीले दुवै वाइड बडी विमान नयाँ रहेको जिकिर गरे। निगमले दुईवटा वाइड बडी विमान ‘अन्नपूर्ण’ ३३०–२०० असार २४ गते र ‘मकालु’ ३३०–२००  साउन १० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएका थिए।

मन्त्री अधिकारीले आगामी एक वर्षमा निगमप्रति सबैको आशा जगाउने गरी प्रगति गर्ने प्रतिबद्धता गरे। वैठकमा अध्ययन समितिका संयोजक राजन केसीले महालेखाको प्रतिवेदनमा वाइड बडी खरिदमा त्रुटि भेटिएको भन्दाभन्दै किन रकम पठाएको भनेर मन्त्री अधिकारीलाई सोधेका थिए। उपसमितिले २४२ टनको दुई वाइड बडी विमान ल्याउने सम्झौता भए पनि किन २३० को मात्रै ल्याएको, नयाँ खरिद गर्ने भनेर किन पुरानो खरिद गरेको, निगमले अहिलेसम्म किन रणनीतिक साझेदारी बनाउन नसकेको जस्ता प्रश्न मन्त्री अधिकारीलाई सोधेका थिए । 

सांसद प्रेम आलेले दुई वाइड बडी विमान लागतभन्दा अत्यधिक बढी मूल्यमा खरिद गरेको आरोप लगाए। ‘हामीलाई जानकारी भएअनुसार ८० मिलियन पर्ने जहाज १०८.२ मिलियन डलरमा खरिद गरिएको छ । विमानको मूल्यभन्दा आधा रकम जतिको आर्थिक अनियमितता देखिन्छ।’ उनले ती जहाज किनेभन्दा आधा मूल्यमा पनि बिक्री नहुने दाबी गरे। 

सांसद मीना सुब्बाले खोजी पसे निगममा अर्बौ रुपैयाँ आर्थिक अनियममितता भइरहेको भेटिने बताइन्। ‘अहिले निगमलाई दैनिक करोड रुपैयाँभन्दा बढी आर्थिक नोक्सानी भएको छ,’ उनले भनिन्, ‘यस्तै हो भने केही समयभित्रै निगम धराशयी हुने देखिन्छ।’

नेपाल वायु सेवा निगमले कात्तिक २९ गते निगम उच्च वित्तीय जोखिममा रहेको भन्दै श्वेतपत्र जारी गरेको थियो। श्वेतपत्रमार्फत निगमले नगद प्रवाह तथा तिर्नुपर्ने दायित्व ३२ अर्ब ८७ करोड रुपैयाँ पुगेको भन्दै सरकारसँग २० अर्ब रुपैयाँ सहायता मागेको थियो।  




प्रतिक्रिया