सात कक्षाको त्यो एक दिन 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/December/Radha_Kandel_ns.png

'राधा बहिनी नमस्कार,
तपाईंले चार वर्षअगाडि दिएको मेसेन्जर सन्देशको उपहारले वल्ल अहिले आएर एउटा लेख नै लेख्ने जाँगर चल्यो।' यही पुस २८ गते शुक्रबार बेलुकी मेसेन्जरमा मुमाराम खनाल सरको सन्देश आयो। सन्देशसँगै उहाँको एउटा लेखको लिंक पनि पोस्ट गरिएको थियो। हतारहतार लेखको लिंक खोलें र पढ्न थालें- 'निम्छरो शिक्षाको माफिया स्वरूप।'

लेखको भूमिका र आफ्नै कथाले भावुक बनायो। पढेपछि मैले आफ्नै विगत सम्झिएँ। अनि आफ्नो शिक्षाको आधार। मनमा एक किसिमको छटपटी भयो। त्यति बेला आफूले भोगेका केही कुरा लेख्ने आँट गर्दैछु। 

२०५२ सालको कुरा हो। श्री महेन्द्रोदय माविमा एक जना शिक्षक आउनुभयो। म पनि उक्त विद्यालयमा कक्षा सातमा पढ्थें। हामीले फेरि एक जना नयाँ शिक्षक पाएका थियौँ। तर उहाँले कक्षा ९ र १० लाई मात्र विज्ञान र गणित विषय पढाउनुहुन्थ्यो। एक दिन 'टिफिन'पछि हाम्रो 'पिरियड' खाली थियो। चौरमा खेलिरहेका थियौँ। सायद नयाँ सर पनि खाली हुनुहुन्थ्यो क्यारे, एक्कासि हाम्रो कक्षामा छिर्नुभयो। हामी दगुर्दै कक्षाभित्र छिर्‍यौँ। नयाँ शिक्षकको नाम मुमाराम खनाल थियो।

कक्षामा पस्नेबित्तिकै सरले प्रश्न गर्नुभयो, परमाणु भनेको के हो? एकैछिन कक्षामा सन्नाटा छायो। मैले उत्तर दिएँ। साथीहरूले 'तिमीले भनेको त एटम हो' भन्दै प्रतिप्रश्न गरे। सरले भन्नुभयो, 'एटम र परमाणु भनेको एउटै हो, तिमीले भनेको ठीक हो।' मैले मात्र उत्तर मिलाउनुको पनि कारण थियो। हामी उतिबेला सकेसम्म पुराना किताब जम्मा गथ्र्यौं। नपुगेका किताबहरु मात्र किन्थ्यौँ। दिदी/दाइका धेरै वर्ष पुराना किताबहरु मसँग थिए। त्यसमा विज्ञानका धेरै शब्दावली नेपालीमा लेखिएको थियो। 

साथीहरूका किताब नयाँ संस्करणका थिए। विज्ञानका शब्दावलीलाई नेपालीकरण गरिएको थिएन। शिक्षकले पढाउँदा पनि अंग्रेजीका शब्द मात्र प्रयोग गर्नुहुन्थ्यो। बुझ्न निकै गाह्रो पथ्र्यो। साथीका नयाँ किताब हेरेर मात्र शब्दहरू लेख्थें। सधैं मेरो पुरानो किताब हुने भएकोले साथीहरूका अगाडि अलिकति हीनताबोध हुन्थ्यो। तर उक्त दिन प्रश्नको उत्तर दिन सकेकोमा मलाई आत्मसन्तुष्टि मिलेको थियो। 

हामीलाई उक्त दिन खनाल सरले चुम्बकीय शक्तिको बारेमा पढाउनुभएको थियो। उहाँले एक जनालाई आफैँले पैसा दिएर ब्याट्री किन्न पठाउनुभयो। तामाको तार, ब्याट्री र फलामको किला प्रयोग गरी चुम्बक बनाएर देखाउनुभयो। हामी छक्क पर्‍यौं। विज्ञानको किताबमा लेखिएका कुरा सही हुन् वा गलत हामीलाई थाहा थिएन। 

हामी साहित्यका कथाजस्तै विज्ञान पढ्थ्यौं। घोकेर परीक्षा पास गथ्र्यौं। कैयौं विद्यार्थीहरु अंग्रेजी, गणित र विज्ञानमा कहिल्यै पास नभई कक्षा उक्लिएका थिए। विज्ञानमा लेखिएको कुरा साँचो रहेछ भन्ने पहिलोपल्ट थाहा भयो। मनमनै उहाँले नियमित पढाए हुन्थ्यो भन्ने लाग्थ्यो। तर माविको शिक्षक हुनाले हामीलाई नियमित पढाउन पाउनु भएन।

ठूलो बुबाको छोरी अर्थात् मेरी दिदी गीता कणेल दश कक्षामा पढ्थिन्। घरमा उनले मुमाराम सरको निकै प्रशंसा गर्थिन्। मैले पनि हामीलाई एक दिन पढाउनुभएको कुरा गर्थेँ। एक दिन उहाँले हाम्रो स्कुलमा एफएम रेडियो प्रसारण गरेर देखाउनुभयो। दिदी/दाइ, गुरु र साथीहरूले गीत गाउनुभयो। हामीहरु चौरमा बसेर सुन्यौँ। त्यसपछि हामीले मुमाराम सरको नाम 'साइन्टिस्ट सर' राख्यौँ। 

विज्ञान र गणितको ट्युसन पढ्ने विद्यार्थीलाई सित्तैं पढाएका कुरा र ट्युसनको पैसा लिने सरहरूलाई 'आफैँले पढाउने विषयका बारेमा विद्यार्थीले बुझ्न खोज्दा पनि पैसा लिने' भनेर अन्य शिक्षकलाई भनेका कुरा आदि बारेमा खनाल सरको चर्चा हुन्थ्यो। हामी विद्यार्थीको मनमा एक किसिमको आशा पलाएको थियो- आइन्दा विज्ञान र गणितमा धेरै जना फेल हुँदैनन्। 

एक दिन अचानक उहाँ हराउनुभयो। खनाल सरले पनि स्कुल छोड्नुभयो भन्ने हल्ला चल्यो। हाम्रो झिनो आशा निराशामा बदलियो। विज्ञानलाई अक्षरमा मात्र पढ्ने पुरानै क्रम चलिरह्यो। शिक्षकले पहिलो पंक्ति वाचन गर्थे। हामीले त्यही दोहोर्‍याएर पुनः वाचन गथ्र्यौं। गणितका सूत्र र तरिका घोक्न सक्ने विद्यार्थी उत्तीर्ण हुन्थे, बाँकी अनुत्तीर्ण। 

२०४८ सालदेखि एसएलसीमा सहभागी भएको विद्यालयमा एक जना पनि प्रथम श्रेणीमा पास भएका थिएनन्। प्रायः विद्यार्थी गणित र विज्ञान विषयमा अनुत्तीर्ण हुन्थे। मुमाराम सर गएपछि गणित र विज्ञानका नयाँनयाँ सरहरू हेक्का राख्नसमेत नसक्ने गरी आउने/जाने क्रम चल्यो। एक/दुई महिना पढाउने अनि छोड्ने। कुनै शिक्षक लामो समय टिक्दैनथे। एक दुई महिना पुनः नयाँ शिक्षक खोज्न समय लाग्थ्यो।  

हामी नौ कक्षामा पुग्यौं। कुनै दाताले विद्यालयलाई विज्ञानका प्रयोगात्मक सामान उपहार दियो। सामान आए पनि प्रयोग भएन। विज्ञान र गणित पढाउन एक जना हरिकुमार राई सर आउनुभो। राई सरले पढाएको बुझिन्थ्यो। स्कुलको छुट्टै 'ल्याब' थिएन। उहाँले अफिस कोठामा प्रयोगात्मक कक्षा गराउनुहुन्थ्योे। उहाँले आलुबाट बिजुली निकालेर देखाउनुभयो। त्यसबारे विद्यालयको मुखपत्र 'मैदान'मा प्रकाशित भयो। एक वर्षसम्म उहाँले पढाउँदा पनि हामी उत्साहित थियौँ। हामी राम्रो नतिजाको आशामा थियौं। तर उक्त खुसी पनि एक वर्षभन्दा बढी टिकेन। 'एमएस्सी' परीक्षाको कारण देखाएर राई सरले पनि स्कुल छोड्नुभयो। हामी दश कक्षाका विद्यार्थी फेरि विज्ञान र गणित शिक्षकको प्रतीक्षा गर्न बाध्य भयौँ। 

मैले थर बिर्से। एक दिन विज्ञान र गणित पढाउन नयाँ पुष्प सर आउनुभयोे। उहाँले पढाएको बुझिँदैनथ्यो। विज्ञान प्रयोगात्मक अभ्यासले मात्र बुझिन्छ भन्ने ज्ञान हामीलाई भइसकेको थियो। उहाँलाई आग्रह गर्दा पनि विद्यालयमा सामग्री नभएको वहाना गर्नुहुन्थ्यो। तर दराजमा रहेका सामान हेर्नुहुन्नथ्यो। 

शिक्षकको अभावमा हामीहरु गणित अभ्यासका विभिन्न 'गाइड-बुक'को माध्यमबाट प्रश्नहरू स्वयं हल गथ्र्यौं। स्वयंले प्रयास गर्दा नसकेपछि मैले एउटा प्रश्न उहाँलाई सोधें। कक्षाको पूरै अवधिमा पनि पुष्प सरले उक्त प्रश्नको हल गर्न सक्नुभएन। 'तिमीले मेरो दिमागको परीक्षण गरेको?' भन्दै गाली गर्नुभयो। म छक्क परें। साथीहरूले समेत मलाई 'कोर्स' नसकिँदै बाहिरको प्रश्न सोधेर समय बर्बाद नगर्न भने। त्यसपछि सरलाई प्रश्न गर्न पनि छोडिदिएँ।

कारण थाहा भएन, एक दिन पुष्प सर पनि हराउनुभयो। हामी एसएलसी दिने विद्यार्थी फेरि अलपत्र पर्यौं। केही दिनपछि एकजना शिक्षक स्थायी नियुक्त भएर आउनुभयो। तर उहाँ सदरमुकाम गइराख्नुहुन्थ्यो। एकपटक सदरमुकाम गएपछि एक महिनासम्म फर्किनु भएन। विद्यार्थी उहाँसँग असन्तुष्ट थिए। उहाँ फर्केर आएपछि कसैले 'विद्यार्थीले तपार्ईंलाई कुट्न आँटेका छन्' भनेर सुनाइदिएछ। उहाँ रातारात फेरि गायब हुनुभयो। 

हाम्रो अन्तिम परीक्षा आउनै लागेको थियो। समय घर्केपछि उहाँ स्कुलमा हाजिर हुन आउनुभयो। प्रयोगात्मक कक्षाको त कुरै छोडौं, सरसरती विज्ञानको किताब वाचन गर्नसमेत भ्याइएन। पुरानो पाठ्यक्रमको अन्तिम 'ब्याच' भएकाले एसएलसी टेस्ट परीक्षामा कोही पनि अनुत्तीर्ण भएन। सबै उत्तीर्ण भए। २७ जनाले एसएलसी दिएकोमा जम्मा तीन जना पास भयौँ। म द्वितीय श्रेणीमा पास भएकी थिएँ भने अन्य दुई जना तृृतीय श्रेणीमा। अनुत्तीर्ण ९० प्रतिशत साथी गणित र विज्ञानमा अनुत्तीर्ण भएका थिए। 

गणित र विज्ञान शिक्षकको कारणले पछिसम्म धेरै विद्यार्थी एसएलसीमा अनुत्तीर्ण भइरहे। पछिल्ला धेरै कुरा सम्झनामा नआए पनि २०६१ सालमा त्यसै विद्यालयबाट अर्जुनहरि रिजालले विशिष्ट श्रेणीमा एसएलसी पास गरे। उनले पनि विद्यालयको सिकाइले भन्दा आफ्नै विशिष्ट क्षमताका कारण विशिष्ट श्रेणीमा प्राप्त गरेका थिए। अहिले उनी डाक्टर छन्। 

एसएलसी पास भएपछि म काठमाडौंमा आइकम पढ्न थालेँ। आइकम पहिलो वर्षको परीक्षामा काठमाडौँको निजी विद्यालयबाट प्रथम श्रेणीमा उत्तीर्ण भएका विद्यार्थी फेल भए। तर त्यस्तो विद्यालयमा अध्ययन गरेकी म राम्रो श्रेणीमा उत्तीर्ण भएकी थिएँ। त्यसले मेरो हौसला बढायो। म अझ मेहनत गर्दै गएँ। एमबिएसको दोस्रो वर्षसम्म पुग्दा मैले ७२ प्रतिशत अंकसहित उत्तीर्ण भएँ।

धेरै जना शिक्षकले पढाउनुभएको भए पनि मुमाराम सरले लिएको एकदिने कक्षा बिर्सिन सकेको थिइनँ। हामी नौ कक्षामा पुगेपछि थाहा पायौं- खनाल सर माओवादी पार्टीको सदस्य हुनुहुँदोरहेछ। कुनै शिक्षकले हामीलाई बताउनुभएको थियो। त्यतिबेला त्यस्तो राम्रो व्यवहार भएको शिक्षक पनि कसरी माओवादीमा लाग्नुभयो भनेर अचम्ममा परेकी थिएँ। २०६० सालतिर माओवादी शान्तिवार्तामा थियो। र, अर्को चरणको वार्ताको लागि मुमाराम खनाललाई छाड्नुपर्ने सर्त राखेको कुरा समाचारमा सुनें। म राजनीति बुझ्दैनथे। तर उहाँलाई राज्यले सकुशल छाडिदिए हुन्थ्यो भन्ने मनमा लाग्थ्यो। 

२०६२/०६३ सालको जनआन्दोलन सफल भयो। देशमा गणतन्त्र आयो। खनाल सरले माओवादी पार्टी परित्याग गर्नुभएछ। स्वतन्त्र राजनीतिक विश्लेषकका रूपमा मैले उहाँका टिभी र पत्रिकामा अन्तर्वार्ता हेर्थें र पढ्थें। उहाँको विचार असाध्यै मनपथ्र्यो। किनकि उहाँको विचार र व्यवहार एउटै हुन्थ्यो। 

एक दिन विद्यालयको बारेमा सोच्दै गर्दा झट्ट सरलाई सम्झिएँ। फेसबुकमा नाम खोजेँ र तत्कालै 'रिक्वेस्ट' पठाएँ। तर उहाँलाई 'रिक्वेस्ट' पठाउन नमिलेपछि 'मेसेज' पठाएँ। मैले एक दिनको कक्षाको बारेमा लेखें। खनाल सरले फ्रेन्ड-रिक्वेस्ट पठाउनुभयो। मैले झन्डै बीस वर्षअघिको 'साइन्टिस्ट सर' र अहिलेको खनाल सरको व्यवहारमा कुनै फरकपन देखिनँ। 

अन्त्यमा, मेरो उक्त सानो सामाजिक सञ्जालको सन्देशले शिक्षा र शिक्षणको विसंगतिका बारेमा मुमाराम सरले यति महत्त्वपूर्ण आलेख तयार गर्नुभएकोमा आफूलाई भाग्यमानी ठानेकी छु। शैक्षिक प्रणाली राम्रो हुनैपर्छ। त्यसको साथै शैक्षिक क्षेत्रमा संलग्न प्रत्येक व्यक्तिले आफ्नो भूमिका इमानदारीका साथ निर्वाह गरेमा पक्कै पनि शिक्षाको स्वरूप बदलिनेछ। 

(लेखक विश्वविद्यालय अनुदान आयोगकी लेखा अधिकृतको रुपमा कार्यरत छिन्)

 




प्रतिक्रिया