किर्ते आरोपमा पक्राउ परेका महन्त ‘वैकुण्ठ’ सार्वजनिक

/assets/plugins/bower_components/fileman/Uploads/post_images/December/mahant_baikuntha_das.jpg

जनकपुरधाम- जनकपुरस्थित जनक हजारी विद्यापीठको जग्गा किर्ते गरेको आरोपमा पक्राउ परेका रत्नसागर मन्दिरका महन्त वैकुण्ठ तिवारी भन्ने बैकुण्ठ दास वैष्णवलाई प्रहरीले सार्वजनिक गरेको छ। बुधबार काठमाण्डौंको बागबजारस्थित एक होटलबाट पक्राउ परेका महन्त दासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले विहिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

जग्गा किर्ते गरेको आरोप लगाउँदै दासविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दर्ता भएको थियो। अदालतले पक्राउ गर्न आदेश जारी गरेपछि फरार भएका महन्त दासलाई प्रहरीले काठमाण्डौंबाट नियन्त्रणमा लिन सफल भएको थियो।

जनकपुरधाम उपमहानगरपालिका–८ स्थित विद्यापीठको भोगमा रहेको गुठी संस्थानको नाममा दर्ता रहेको सिट नम्बर १३५४–१४ किता नं ६२ को क्षेत्रफल ०-२-११ र सिट नं १३५४-१५ किता नं. २८ को क्षेत्रफल २–८–१४ भएको जग्गाको नक्कली जग्गा धनी दर्ता श्रेस्ता बनाई आफ्नो हो भनी सम्मानित उच्च अदालतमा समेत कागजात पेश गरेको सरकारी कागज किर्ते मुद्दामा दासलाई पक्राउ गरिएको धनुषाका एसपी गोविन्द थपलियाले बताए।

जनकपुरधाम–८ स्थित हजारी जनक विद्यापीठको नाउँमा रहेको जग्गा महन्त दास र उनका सहयोगी अशोक शर्माले मिलोमतो गरी किर्ते गरेको आरोप छ। दासका सहयोगी शर्मालाई प्रहरीले यसअघि नै पक्राउ गरी सकेको छ।

साढे दुई अर्बभन्दा बढी मूल्य बराबरको विद्यापीठले भोगचलन गर्दै आइरहेको गुठीको उक्त जग्गाको संरक्षक दास र मोही शर्मालाई बनाइएको छ।
हजारी जनक विद्यापीठले भोगचलन गर्दै आइरहेको साढे दुइ बिघा जग्गा महन्त दासले नक्कली लालपुर्जा बनाइ हडपेको भन्दै प्राचार्य विजय चौधरीले अदालतमा मुद्दा दायर गरेका थिए।
 



प्रतिक्रिया